स्कूल बस : खुकुलो नियमनले बढाउँदै दुर्घटना
स्कूल बसलाई सुरक्षित र भरपर्दो बनाउन निर्देशिका छ, तर यसका मापदण्डको पालना नहुँदा र विद्यार्थी बोकेको भनेर ट्राफिक प्रहरीको चेकिङमा छूट दिइँदा कलिला बालबालिका सवार बसको यात्रा असुरक्षित बनिरहेको छ।
गत माघ २७ गते काठमाडौंको दक्षिणकाली नगरपालिका-३, फर्पिङमा ५० जना विद्यार्थी सवार जूनकिरी इङ्लिश स्कूलको बस दुर्घटना भयो। बस सडकबाट करीब १५० मिटर तल खस्दा दुई जनाको ज्यान गयो। मृत्यु हुनेमा कक्षा २ का विद्यार्थी विपिन श्रेष्ठ र बस चालक रामकृष्ण थापा मगर थिए। अन्य विद्यार्थी घाइते भए।
फर्पिङको घटना सेलाउन नपाउँदै काठमाडौंमै अर्को स्कूल बस दुर्घटना भयो। माघ ३० गते वनभोज खाएर फर्केका विद्यार्थी बोकेको चाबहिल मैजुबहालस्थित सत्यसाई एकेडेमीको बस शंखरापुर नगरपालिका-५ मा दुर्घटना हुँदा तीन विद्यार्थीको मृत्यु भयो। ४० विद्यार्थी घाइते भए। ब्रेक फेल भएर उक्त दुर्घटना भएको काठमाडौं प्रहरी परिसरका प्रवक्ता अपिल बोहराले बताए।
त्यसअघि गत साउन १४ गते पोखराको छरछरेमा एलपी देवकोटा मेमोरियल स्कूलको बस दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको थियो भने २८ जना घाइते भए। बस सडकबाट ५० मिटर तल खस्दा ३३ वर्षीया आरती विक र उनका छोरा ६ वर्षीय प्रिन्स विकको ज्यान गएको थियो। आरती स्कूलमै कार्यरत थिइन् भने प्रिन्स यूकेजीमा अध्ययनरत थिए।
पछिल्लो समय एकपछि अर्को स्कूल बस दुर्घटनामा परिरहेका छन्। यसले कलिला विद्यार्थीको ज्यानसँग जोडिएको विषयमा मापदण्ड पालना, बस र चालकको अवस्था र निगरानीमा कत्तिको ध्यान दिइएको छ त भनेर संवेदनशील बनाएको छ।
मापदण्डमाथि सहुलियत हावी!
सरकारले शिक्षण संस्थाहरूको यातायात सेवालाई सुरक्षित, आरामदायी र भरपर्दो बनाउन स्कूल बस निर्देशिका, २०७४ जारी गरेको थियो। यातायात व्यवस्था विभागले जारी गरेको निर्देशिकामा चालक र सहचालकसँगै विद्यालय, अभिभावक र विद्यार्थीको दायित्वबारे उल्लेख छ।
निर्देशिकाले विद्यार्थी ओसारपसार गर्ने सवारीसाधन पहिचानको मापदण्ड तोकेको छ। जस अनुसार स्कूल बसको रङ पहेंलो हुनुपर्ने, बसको अगाडि र पछाडिको भागमा स्पष्ट देखिने गरी ‘स्कूल बस’ लेख्नुपर्ने, बस भाडामा लिएको भए स्कूलको नाम सहित ‘अन स्कूल ड्यूटी’ लेखिएको ब्यानर वा बसको अगाडि र पछाडि ‘स्कूल बस’ लेखिएको प्लेट राख्नुपर्ने व्यवस्था गरेको छ।
बसको सीट क्षमताभन्दा अत्यधिक विद्यार्थी बोक्न नहुने पनि निर्देशिकामा भनिएको छ। १२ वर्षभन्दा मुनिका विद्यार्थी भए बसको सीट क्षमताभन्दा डेढ गुणा बालबालिका बोक्न सकिने र १२ वर्षभन्दा माथिका विद्यार्थी सीट बराबर मात्रै राख्नुपर्ने तोकिएको छ। यस्तै, प्रतिघण्टा ४० किलोमिटरभन्दा बढी गतिमा स्कूल बस हाँक्न नपाइने व्यवस्था पनि निर्देशिकामा छ। तर विद्यालयहरूले आफ्ना बसमा यी अधिकांश मापदण्ड पालना गर्दैनन्।
स्कूल बसहरूले नियमको खिल्ली उडाएको सडकमा नियमितजसो देख्न पाइन्छ। क्षमताभन्दा बढी विद्यार्थी कोचेर बोक्दा कलिला बालबालिकाले सास्तीपूर्ण यात्रा गर्नुपर्ने अवस्था छ। अर्कातिर, बसले यसरी क्षमताभन्दा बढी बालबालिका बोक्दा दुर्घटनाको जोखिम र दुर्घटनामा धेरै क्षतिको सम्भावना पनि हुने भयो। माघ २७ गते फर्पिङमा दुर्घटनामा भएको जूनकिरी स्कूलको बसले पनि ५० विद्यार्थी बोकेको थियो। उक्त दुर्घटनामा मृत्यु भएका विद्यार्थी विपिनका बुबा भीमबहादुर श्रेष्ठ बसले क्षमताभन्दा बढी विद्यार्थी बोेकेको आरोप लगाउँछन्।
अर्कातिर, कतिपय स्कूल बस तोकिएभन्दा बढी गतिमा हुइँक्याएको देखिन्छ। विद्यार्थी ओसार्न विद्यालयबाट ढिलो निस्किने र हतार गरेर तीव्र गतिमा कुदाउने प्रवृत्ति छ। काठमाडौं उपत्यकाभित्रकै कुरा गर्दा एउटा छेउमा रहेको विद्यालयले अर्को छेउमा बस्ने विद्यार्थी ओसार्छ। यसले बालबालिकाले लामो यात्रामा भोग्ने सास्ती, दुर्घटना र सवारी जाम सिर्जना गरिरहेको छ। यिनै समस्याका कारण विद्यालयले स्थानीय क्षेत्रभन्दा धेरै टाढाका विद्यार्थी भर्ना गर्न नहुने, अभिभावकले पनि रोजाइको विद्यालय छान्ने नाममा आफ्ना बालबालिकालाई टाढा पढाउन नहुनेबारे वेलावेला बहस र चिन्ता हुने गरे पनि यसप्रति विद्यालय र अभिभावक गम्भीर देखिंदैनन्।

क्षमताभन्दा बढी विद्यार्थी बोके पनि, तीव्र गतिमा गुडाए पनि स्कूल बसमा ट्राफिक प्रहरीको हत्तपत्त आँखा पर्दैन। स्कूल बसलाई ट्राफिक चेकिङमा सहुलियत दिने गरिएको र यसकै कारण यस्ता बसले नियम मिच्ने र लापरबाही गर्ने गरेको ट्राफिक तथा यातायात इन्जिनीयर आशिष गजुरेल बताउँछन्। “जाम हुँदा विद्यार्थी बोकेका बस समयमै विद्यालयमा पुग्न सक्दैनन् भनेर ट्राफिक चेकिङमा सहुलियत दिएको देखिन्छ। स्कूल बस भनेर यस्तो छूट दिइँदा नियम नै पालना नगरी चलाइरहेका हुन्छन्,” उनी भन्छन्।
नेपाल प्रहरीमा रहँदा लामो समय ट्राफिक प्रहरीका रूपमा काम गरेका र हाल ललितपुर नगरपालिकाका नगर प्रहरी प्रमुख रहेका सीताराम हाछेथु स्कूल बसले नियम पालना नगरेको देख्दादेख्दै पनि गन्तव्यमा पुग्न ढिला हुन्छ भनेर बेवास्ता गरिने स्विकार्छन्। “ट्राफिक नियम उल्लंघन गरेको देखे पनि म आफैंले कति पटक छोडिदिएको छु, स्कूल बसले यसको गलत फाइदा उठाउन थाले,” उनी भन्छन्।
हाछेथुका अनुसार स्कूल बसका चालकले मापसेका साथै लापसे (लागूपदार्थ सेवन) गरेको पनि भेटिने गरेको छ। यस्तै, १० जना अट्ने भ्यानमा २० जनासम्म विद्यार्थी बोकेको देखिन्छ। यसैले सवारीसाधन जाँचमा अरूलाई सरह स्कूल बस र भ्यानलाई पनि कडाइ गरिनुपर्ने उनको भनाइ छ।
निर्देशिकाले स्कूल बसको गति ४० किमी प्रतिघण्टा निर्धारण गरेकामा यसलाई पनि घटाइनुपर्ने गजुरेलको मत छ। “विकसित देशमा स्कूल बसको गति ३० किमी प्रतिघण्टा तोकिएको हुन्छ, सडक असुरक्षा भएको देशमा गति झनै कम हुनुपर्छ,” उनी सुझाव दिन्छन्।
अरू सवारीसाधनलाई जस्तो स्कूल बसलाई नियमन र निगरानी नगरिंदा चालक र बसको अवस्था के छ भन्ने पनि थाहा हुँदैन। यसले दुर्घटनाको जोखिम बढाउँछ। स्कूल बस कस्तो अवस्थाका चालकले चलाइरहेका छन् भन्ने दृष्टान्त हो, पछिल्लो समय स्कूल बस दुर्घटना बढेपछि काठमाडौं उपत्यका ट्राफिक प्रहरीले बढाएको निगरानीले देखाएको नतीजा। माघ २८ यता जाँच गर्दा मापसे गरेर स्कूल बस चलाउने र ट्राफिक नियम उल्लंघन गर्ने २९ चालकलाई कारबाही गरेको र ५४ चालकलाई सम्झाइबुझाइ गरेको काठमाडौं उपत्यका ट्राफिक प्रहरीका प्रवक्ता सञ्जयबहादुर राउतले हिमालखबरलाई जानकारी दिए।
स्कूल बसमा मापसे जाँच गर्ने ट्राफिक प्रहरीको अभियानले निरन्तरता पाउने गरेको छैन। यस्तो मौसमी निगरानीका कारण दुर्घटनाको जोखिम घट्न सकेको छैन।
जिम्मेवार छैनन् विद्यालय
बालबालिकाको जीवनसँग जोडिएको कुरा हो, स्कूल बस। सानो यान्त्रिक गडबडी र मानवीय त्रुटिले दुर्घटना र क्षति निम्त्याउन सक्छ। तर यस्तो गम्भीर विषयमा विद्यालयहरू संवेदनशील देखिंदैनन्।
धेरै विद्यालयले विद्यार्थी ओसार्न भाडाका माइक्रोबस र मिनीबस प्रयोग गर्ने गरेका छन्। स्कूल बस निर्देशिकाले विद्यालयहरूले भाडाका बस पनि प्रयोग गर्न पाउने प्रावधान त राखेको छ, तर स्कूल बस दुर्घटना हुनुमा भाडाको बसको प्रयोग पनि एउटा कारण भएकाले स्कूलको आफ्नै बस हुनुपर्ने नियम लागू गरिनुपर्नेे विज्ञहरू बताउँछन्।
यातायात इन्जिनीयर गजुरेल दिनभरि यात्रु बोक्ने बस दिउँसो या साँझमा बालबालिकालाई छोड्न प्रयोग गरिनु जोखिमयुक्त हुने बताउँछन्। “भाडाको गाडी प्रयोग गरिंदा पूर्व तयारी र पार्टपुर्जा जाँच नगरिने भएकाले सवारीको अवस्थाबारे थाहा हुँदैन,” उनी भन्छन्, “विद्यार्थीबाट शुल्क लिएर बस सञ्चालन गरेपछि व्यवस्थित र सुरक्षित रूपमा गन्तव्यमा पुर्याउने जिम्मा विद्यालयको भएकाले त्यसै अनुसार संवेदनशील हुनुपर्छ।”
गजुरेलको भनाइमा हाछेथु पनि सहमत छन्। दिनभर अन्यत्र काम गरेर चालक थाकेको हुने र बसको अवस्था जाँच नगरिने भएकाले जोखिम हुने उनी बताउँछन्। “सार्वजनिक बस प्रतिस्पर्धामा गुडिराखेका हुन्छन्, साना बच्चा बोकेका बस यसरी चलाउँदा थप असुरक्षा बढेको छ,” उनी भन्छन्।
भाडाका बसको बनोट र सीट बालबालिकाका लागि अनुकूल नहुने पनि उनको भनाइ छ। विद्यालयहरूले बसको सेवालाई व्यापारका रूपमा हेर्दा खर्च कम हुने भएकाले भाडाको गाडी प्रयोग गर्ने गरेको उनी बताउँछन्। नाम चलेकै विद्यालयको आफ्नो बस नभएको उनको दाबी छ।
वरिष्ठ ट्राफिक स्वयंसेवक आनन्दराज जोशी पनि भाडाका सार्वजनिक बस स्कूल बसका लागि प्रयोग गर्नु गलत भएको बताउँछन्। “स्कूल जस्तो संवेदनशील क्षेत्रमा जसले पनि बालबालिका बोक्ने हो?” उनी प्रश्न गर्छन्।
नेपाल राष्ट्रिय अभिभावक संघका अध्यक्ष केशव पुरी अनुभवी र असल चालचलन भएको चालक नराख्नु र चालकको अवस्था नबुझ्नु विद्यालय व्यवस्थापनको कमजोरी भएको आरोप लगाउँछन्। “विद्यालयको अभिभावक भेलामा हामीले चालकहरूले मापसे र लापसे गरेर स्कूल बस चलाइरहेको गुनासो गर्दा खासै वास्ता गर्दैनन्,” उनी भन्छन्, “बस कुन अवस्थामा छ, चालकको अवस्था के छ भने विद्यालयले खोजीनिती गर्नुपर्छ र स्कूल बसको यात्रा सुरक्षित हुने सुनिश्चित गर्नुपर्छ।”
खर्च बचाउने र फाइदा मात्रै हेर्ने प्रवृत्तिका कारण धेरै विद्यालयले आफ्नै बस नराखेको उनको आरोप छ। “स्कूल बस राखे चालक, सहचालक राख्नुपर्ने, पार्किङ क्षेत्रको व्यवस्था गर्नुपर्ने र वेलावेला बसको मर्मत गर्नुपर्ने हुँदा खर्च बढ्छ। जता फाइदा उतै ध्यान छ, सुरक्षामा कसैको चासो छैन,” उनी भन्छन्।
विद्यालयहरूले जाडो याममा पिकनिक वा कतै भ्रमणमा लैजाने परम्परा जस्तै बनेको छ। तर पिकनिक र भ्रमणमा जाने कता हो, त्यहाँ जाने सडक कस्तो छ, ठाउँ कस्तो छ भनेर विद्यालयले पूर्व जानकारी नलिने र त्यस अनुसार पूर्व तयारी नगर्ने हाछेथु बताउँछन्।
“नयाँ चालक छ भने जान लागेको ठाउँ कस्तो छ, बाटो कस्तो छ भनेर थाहा हुँदैन र दुर्घटनाको जोखिम हुन्छ,” उनी भन्छन्, “बाटोको अवस्था राम्रो छैन भने अर्को गन्तव्य रोज्न सकिन्छ। तर सुझबुझतिर ध्यान नदिइने भएकाले लापरवाहीमा चालकसँगै विद्यालय पनि उत्तिकै जिम्मेवार छन्।”
निजी तथा आवासीय विद्यालय संघ (प्याब्सन)का अध्यक्ष डिके ढुंगाना भने सबै विद्यालयले आफ्नै बस सञ्चालन गर्ने अवस्था नरहेको बताउँछन्। भाडाको बस प्रयोग गर्दा विद्यालयले बस र चालकको अवस्थाबारे जानकारी भने लिनुपर्ने उनको भनाइ छ। उनका अनुसार काठमाडौं उपत्यकामा करीब चार हजार स्कूल बस सञ्चालनमा छन्।
आफ्ना विद्यार्थीको सुरक्षित यात्रामा विद्यालयहरूले कुनै सम्झौता नगर्ने ढुंगाना जिकिर गर्छन्। उनी स्कूल बसमा समस्या देखिनुमा चालक र ट्राफिक प्रहरीलाई दोष दिन्छन्। कुन विद्यालयका चालकले मापसे र लापसे गरेर बस चलाइरहेका छन् भने ट्राफिक प्रहरीले जानकारी दिनुपर्नेमा नदिएको उनको भनाइ छ।
“एक वर्षमा ट्राफिक प्रहरीसँग हाम्रो एक दर्जन पटक छलफल भएको छ, तर त्यस्तो जानकारी गराएको पाइँदैन,” ढुंगाना भन्छन्, “चालकले मापसे र लापसे गरेर स्कूल बस चलाएको भेटिए सम्बन्धित विद्यालय र चालकलाई निष्कासन गर्छौं, यसबारे हाम्रो नीति नै छ।”
ललितपुर महानगरका नगर प्रहरी प्रमुख हाछेथुलाई विगतमा ट्राफिक प्रहरीका रूपमा काम गरेको नाताले वेलावेला कतिपय विद्यालयले चालकलाई सचेतना दिन बोलाउँछन्। त्यस क्रममा उनले धेरैजसो विद्यालयमा अनुभवी र पाको उमेरका व्यक्तिभन्दा चिनजानको र आलोकाँचो उमेरकालाई चालक राखेको देखे। “विद्यालयहरू कम पैसामा जतिसक्दो नयाँ र कम उमेरको चालक राख्न खोज्छन्। तर सवारी हाँक्न जान्ने भएर मात्रै हुँदैन, परिपक्व हुनुपर्छ र बालबालिकासँग असल व्यवहार गनुपर्छ।” उनी स्कूल बसमा ३५ वर्षभन्दा माथिका चालक राखिनुपर्ने सुझाव दिन्छन्।
विद्यालयहरू आफैंले ट्राफिक प्रहरीसँग समन्वय गरेर सडक सुरक्षाबारे चालक र विद्यार्थीलाई तालीम दिनुपर्ने उनी बताउँछन्। “स्कूल बस चलाउने मान्छेलाई विद्यार्थी बोकेर यात्रा गर्नु भनेको संवेदनशील जिम्मेवारी हो, तिमी बालबालिका बोकिराखेका छौं भनेर बुझाउनुपर्छ,” उनी भन्छन्।
याे पनि: कसरी सुधार्ने सरकारी विद्यालय?