बेलुनमा ग्यास भर्नेलाई अभद्र व्यवहारको मुद्दा
पोखरा भ्रमण वर्षको उद्घाटन कार्यक्रममा बेलुन पड्किएको घटनामा पक्राउ परेका कमलेश कुमारलाई अभद्र व्यवहारको कसूरमा हिरासतमा राखिएको छ।
भारतीय नागरिक कुमारलाई जिल्ला प्रहरी कार्यालय, कास्कीले फागुन ६ गते पक्राउ गरेको थियो। फागुन ३ गते पोखराको सभागृहमा भ्रमण वर्ष उद्घाटन गर्दा हाइड्रोजन ग्यास भरिएको बेलुनलाई पानसमा बलिरहेको बत्तीबाट निस्केका झिल्काले भेट्दा दुर्घटना भएको थियो।
बेलुन पड्किंदा अर्थमन्त्री विष्णु पौडेल र पोखर महानगरपालिकाका मेयर धनराज आचार्य घाइते भएका थिए। दुवै जनाको अनुहार जलेको छ। दुवैलाई त्यही दिन हेलिकोप्टर मार्फत थप उपचारका लागि काठमाडौं ल्याइएको थियो।
कीर्तिपुर अस्पतालमा उपचारपछि पौडेल फागुन ६ गते डिस्चार्ज भइसकेका छन् भने आचार्यको उपचार भइरहेको छ।
मानव स्वास्थ्यका लागि घातक मानिने हाइड्रोजन ग्यास भरिएको बेलुन प्रयोग हुँदा दुर्घटना भएको थियो। घातक बेलुन प्रयोग गरेको भन्दै प्रहरीले ४१ वर्षीय कुमारलाई पक्राउ गरेको हो।
उनलाई जिल्ला प्रशासन कार्यालय, कास्कीबाट अभद्र व्यवहारको कसूरमा अनुसन्धानको अनुमति लिइएको कास्कीका प्रहरी प्रमुख एसपी श्याम ओलियाले बताए। “पक्राउ परेको व्यक्ति आफैंले हाइड्रोजन ग्यास बनाउने गरेको समेत पाइएको छ,” एसपी ओलियाले हिमालखबरसँग भने, “कुन कुन कसूर आकर्षित हुन्छ भन्ने अनुसन्धान भइरहेको छ। अहिलेलाई जिल्ला प्रशासनले अभद्र व्यवहारमै हिरासतमा राख्ने अनुमति दिएको छ।”
कुमारको कोठाबाट हाइड्रोजन ग्यास बनाउने कच्चा पदार्थ समेत बरामद भएको एसपी ओलियाले बताए। उनले हाइड्रोजन ग्यास बनाउने अनुमति समेत नलिएको एसपी ओलियाको भनाइ छ।
बरामद कच्चा पदार्थको प्रयोगशाला परीक्षणका लागि प्रहरीको केन्द्रीय विधि विज्ञान प्रयोगशाला पठाइएको छ। त्यसको रिपोर्ट आएपछि कुन कसूर लगाउने भन्ने निर्क्योल हुने उनले बताए। “अहिले हामी अनुसन्धानकै चरणमा छौं,” ओलियाले भने।
लापरवाहीपूर्वक कार्यक्रम सञ्चालन गरेको भन्दै कास्कीका प्रमुख जिल्ला अधिकारी भरतमणि दुवाडीको अध्यक्षता गृह मन्त्रालयले छानबिन समिति गठन गरेको छ। समितिले पनि घटनाबारे छानबिन गरिरहेको छ।
यो पनि पढ्नुहोस् : भव्य बनाउने ध्याउन्नमा भएको चूक