रोकियो एमसीसीको अनुदान
अमेरिकी सहायता परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी)को अनुदान रोकिएको छ।
अमेरिकी सरकारको गत २० जनवरीको निर्णय अनुसार एमसीसीको अनुदान रोकिएको अर्थ मन्त्रालयले जनाएको छ। एमसीसीले फागुन २ गते इमेल मार्फत एमसीसी रोकिएको जानकारी दिएको हो। ‘नेपाल सरकार र उक्त निकायबीच संवत् २०७४ भदौ २९ मा सम्पन्न कम्प्याक्ट अन्तर्गत कार्यान्वयन भइरहेका आयोजनाहरूसँग सम्बन्धित एमसीसी फन्डबाट भुक्तानी हुने क्रियाकलापहरू अमेरिकी राष्ट्रपतिको जनवरी २०, २०२५ मा जारी ९० दिनको स्थगन सम्बन्धी कार्यकारी आदेशानुसार रोकिएको व्यहोरा सरोकारवालाहरूलाई जानकारी गराइन्छ,’ अर्थ मन्त्रालयले भनेको छ।
अर्थ मन्त्रालयको अन्तर्राष्ट्रिय आर्थिक सहायता समन्वय महाशाखाका उपसचिव डोलेन्द्र शर्माका अनुसार हालका लागि अस्थायी रूपमा यो सहायता रोकिएको हो। अमेरिकी संसद्बाटै पारित एमसीसी परियोजना कार्यान्वयन सम्बन्धमा दुई देशका सरकारबीच सम्झौता भएकाले ९० दिनपछि पनि निरन्तर रहला भन्ने आफूहरूको अनुमान रहेको उनले बताए। “संसारभरिको सहायता रोकिए अनुसार नै नेपालमा सञ्चालित एमसीसी सहायता पनि ९० दिनका लागि स्थगन गर्न पत्र आएको हो। त्यसपछि के हुन्छ, थप निर्णय होला,” उनले हिमालखबरसँग भने।
२०७४ सालमा तत्कालीन अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले अमेरिकाको वाशिङ्टन डीसीमा एमसीसीका कामु प्रमुख कार्यकारी अधिकृत जोनाथन नाशसँग ५०० मिलियन डलर अनुदान सहायता लिने सम्बन्धी द्विपक्षीय सम्झौतामा हस्ताक्षर गरेका थिए। एमसीसी नेपाल कम्प्याक्ट २०८० भदौदेखि कार्यान्वयन चरणमा प्रवेश (इन्ट्री इन टु फोर्स) गरेको थियो।