दलहरूभित्रको नेताराज अन्त्य गर्न नागरिक अभियन्ताको आह्वान
नागरिक अभियन्ताले ठूलो बलिदान र संघर्षबाट स्थापना भएको लोकतान्त्रिक गणतन्त्रमा दलहरूमा व्यक्तिविशेषको दबदबा मौलाएको भन्दै नागरिक हितभन्दा भ्रष्टाचार र सत्तास्वार्थमा केन्द्रित नेताराज अन्त्य गर्न आह्वान गरेका छन्।
मंगलबार मार्टिन चौतारीमा पत्रकार सम्मेलनमा बृहत् नागरिक आन्दोलनका अभियन्ताले नेताराजको विषवृक्ष ढाल्न, भ्रष्टाचार र सत्तास्वार्थको जालो मिल्काउन, राजनीतिलाई निष्पक्ष र अर्थपूर्ण बनाउन नागरिकहरू फेरि देशैभर जाग्ने समय आएको बताए।
लेखक खगेन्द्र संग्रौलाले अहिलेको राजनीति जनताको अधिकार सुनिश्चित गर्नभन्दा पदप्राप्तिमा केन्द्रित भएकाले शासकहरूलाई खबरदारी गर्न आन्दोलित हुनुपर्ने बताए।
त्यस्तै, प्राध्यापक तथा राजनीतिक विश्लेषक कृष्ण खनालले राजनीतिक दललाई जनउत्तरदायी, पारदर्शी र भ्रष्टाचार विमुख बनाउन आन्दोलन आवश्यक रहेको बताए।
बृहत् नागरिक आन्दोलनले जारी गरेको विज्ञप्तिमा दलका आन्तरिक चुनावदेखि प्रत्यक्ष वा समानुपातिक उम्मेदवारको चयन, दलीय भागबन्डा र लेनदेनको नियुक्तिमा शीर्ष नेतृत्व निर्णायक रहेको र यस्तो अलोकतान्त्रिक, अपारदर्शी व्यवहारले बेथितिलाई बढावा दिएको उल्लेख छ। ‘सबै थरी निकाय चरम दलीयकरणको चपेटामा जनताप्रति जिम्मेवार छैनन्। राज्यको जराजरामा आर्थिक अपचलन, घूसखोरी र शोषण संस्थागत हुँदै छ। यी आपत्तिजनक प्रवृत्तिको जड दलहरूभित्रको विकराल नेताराज हो, तानाशाही व्यवहार हो,’ विज्ञप्तिमा भनिएको छ।
संविधानको मूल्यमान्यता अनुसरण गर्न राजनीतिक दलहरूमा संस्कार र व्यवहारको कमी देखिएको समेत नागरिक आन्दोलनले ठहर गरेको छ।
विज्ञप्तिमा राजनीतिक दल, संसद् र सरकारसँग विभिन्न माग समेत गरिएको छ। जसमा दलहरूको बेथिति रोक्न विद्यमान राजनीतिक दल सम्बन्धी कानूनमा गम्भीर पुनरावलोकन गरिनुपर्ने, दलको आर्थिक पारदर्शिताका लागि कानूनी कदम चाल्नुपर्ने, सार्वजनिक संस्थामा अति दलीयकरण नियन्त्रण गरिनुपर्ने लगायत छन्।
नागरिक आन्दोलनले अबको एक महीना सरोकारवालासँग छलफल गर्ने र अर्को महीना सडक आन्दोलन गर्ने योजना बनाएको जनाएको छ।