मेचीपारि माइती भेट्दा
भारतका उत्तर-पूर्वी प्रान्त घुम्दा नेपाली भाषाप्रतिको अथाह माया र कदर देख्न सकिन्थ्यो। ठाउँ ठाउँमा भानुभक्तको शालिक, नेपाली लेखक-लेखिकाको नाममा सडक, चोक र विद्यालयहरूले नेपाली साहित्यकार र लेखनीप्रति गरेको सम्मान झल्काउँथ्यो।
रूपा जोशी
बुबा कमलमणि दीक्षित (दादा) नेपालीभाषीका लागि सेतु हुनुहुन्थ्यो भनेर सुनेका थियौं हामीले। थोरै अनुभव गरेका थियौं, थोरै बुझेका थियौं। तर हालसालै एक हप्ता लामो मेचीपारिको भ्रमणमा हामीले त्यो प्रत्यक्ष देख्न पायौं, महसूस गर्न सक्यौं। हामी धेरैलाई जोड्ने एउटा माध्यम नेपाली भाषा रहेछ भने अर्को माध्यम दादा र उहाँले खडा गरेका संस्थाहरू। ती सात दिनमा हामीले दादाले गाँसेको भाषा, संस्कृति र इतिहास संरक्षणको फराकिलो र गहिरो सम्बन्ध बुझ्ने मौका पायौं।
सिलिगुडीको सालबारीमा अवस्थित ‘बुकएन्ट’ ले
उत्तर-पूर्वी भारतमा किताब प्रकाशन तथा वितरण गर्दो
रहेछ। त्यहीको कार्यालयमा सजाइएका विभिन्न विधाका पुस्तक।
दादा बितेपछि हामी अलमलियौं। कोभिड महामारीले झनै अलमल्यायो। अनि बिस्तारै उहाँले गाँसेका पुराना सम्बन्धका गाँठाहरू खुकुला हुँदै गएका थिए। मदन पुरस्कार पुस्तकालय (मपुपु)मा किताबहरू आउने क्रम पनि पातलिंदै थियो। केही वर्षयता हामीले ती पुराना जेलिएका सम्बन्ध फुकाउन थाल्यौं। खोज्दै, सोध्दै, सम्बन्धको डोरो गाँस्न थाल्यौं। काम सजिलो थिएन। दादा एक जनाले भ्याएको सब काम हातका औंलाभरिका मानिसले पनि भ्याउन हम्मे हम्मे पर्ने रहेछ। मूल ‘सेतु’ को अभावले खुकुलिएका ती गाँठालाई अझै कसिलो त पार्नै पर्छ भन्ने अठोट थियो हाम्रो। दादाले कुँदेको भाषिक गोरेटो पच्छ्याउने जमर्को मदन पुरस्कार गुठी र पुस्तकालयले लिएपछि म पनि त्यो सानो टोलीसँगै गाँसिएँ।
हतारका आठ दिनमा म, दाइ कुन्द र मपुपुका दीपक अर्याल तथा राजीव सिंहको हाम्रो टोलीले सिलिगुडी, दार्जीलिङ, गान्तोक र गुवाहाटीमा केही साहित्यकार र प्रकाशकसित भेटघाट गर्ने मौका पायो। हामीले बुझ्ने मौका पायौं– उहाँहरूले के लेखिरहनुभएको छ, के छापिरहनुभएको छ। के सोचिरहनुभएको छ? उहाँहरू भाषा, साहित्य र संस्कृतिमा कति समर्पित हुनुहुन्छ? उहाँहरू, जो भन्नुहुन्छ, “हामी भारतमा बस्ने नेपालीभाषी हौं।” उहाँहरू, जो ‘प्रवासी नेपाली’ का रूपमा चिनिन चाहनुहुन्न, र भन्नुहुन्छ, “हाम्रो अरू जात छैन, नेपालीभाषी बाहेक।”
हामीले देख्यौं- धेरैजसो लेखक-लेखिका नेपाली मात्र नभई, हिन्दी, बङ्ला, असमिया भाषामा पनि उत्तिकै कलम चलाउनुहुँदो रहेछ। साहित्य, भाषा र संस्कृतिका अनेकौं पुस्तक तयार हुँदै रहेछन्। किताब पसल र प्रकाशन गृहमा नयाँ किताबका खात देख्यौं। पुराना किताबको पुनर्मुद्रण पनि भइरहेको छ। कति नयाँ साहित्यकार र लेखकबारे बुझ्यौं। उहाँहरूले आफ्ना विचार र भावना मुद्रण तथा सामाजिक सञ्जालबाट सर्वत्र बाँडिरहनुभएको छ। साहित्यिक भेटघाट र कार्यक्रमले निरन्तरता पाइरहेका रहेछन्।
सिलिगुडीको ‘शब्द समय’ को भेटघाटमा साहित्यकारहरूका माझ मपुपुको टोली।
सिलिगुडीमा ज्ञानेन्द्र खतिवडाजीले नियमित आयोजना गर्ने शब्द समय, दार्जीलिङको नेपाली साहित्य सम्मेलन, र गोर्खा दुःख निवारक सम्मेलन गान्तोकको नेपाली साहित्य परिषद् जस्ता संस्थाले नेपाली भाषाका पुस्तक प्रकाशन गर्ने, भाषाको प्रवर्द्धन गर्ने, नियमित कार्यक्रम गर्ने तथा नयाँ साहित्यकारलाई प्रेरणा दिने काम गरिरहेका छन्।
सन् १९९७ मा गान्तोकको नेपाली साहित्य परिषद्मा दादाले लेखेको मन्तव्य देख्दा र पढ्दा एकदमै आनन्द महसूस गर्यौं।
भारतका यी उत्तर-पूर्वी प्रान्त घुम्दा नेपाली भाषाप्रतिको अथाह माया र कदर देख्न सकिन्थ्यो। ठाउँ ठाउँमा भानुभक्तको शालिक, नेपाली लेखक-लेखिकाको नाममा सडक, चोक र विद्यालयहरूले नेपाली साहित्यकार र लेखनीप्रतिको गरेको सम्मान प्रस्ट्याउँथ्यो। नेपालीभाषी बढी भएको क्षेत्रका शैक्षिक संस्थानमा नेपाली भाषा अनिवार्य गरिएको रहेछ। गुवाहाटीमा नेपाली भाषाले मात्र काम नचले पनि नेपालको पूर्वी सिमानाका कैयौं थलोमा नेपाली नबोल्ने र नबुझ्ने कमै भेटिन्थे। सिलिगुडी, दार्जीलिङ र सिक्किममा नेपाली लवज सुनिनु सामान्य नै लाग्ने रहेछ। बिहेको लगन परेको वेला थियो। लाउड स्पीकरमा ‘रुकुम मैकोट’, ‘कैले आउँछौ माया घरको बार्दलीमा’ जस्ता चर्चित गीत घन्किइरहेका थिए। सीमा वारिपारिका समुदायलाई नेपाली गीतले बलियो बन्धनमा गाँसेको रहेछ।
गोर्खा दुःख निवारक सम्मेलनको सभाकक्षमा टाँगिएको भानुभक्तको तैलचित्र।
नेपालीभाषीमाझ हामीले हार्दिकता पायौं। मैले त झन् ‘गुरुआमा’ को पदवी नै पाएँ, किनकि वयस्क महिला सबैलाई उहाँहरूले आदरपूर्वक ‘गुरुआमा’ भन्नुहुँदो रहेछ।
‘कमल दीक्षित’ को नामले त झन् जादू नै गर्दो रहेछ। दादाले नेपाली भाषा र साहित्यमा गरेको योगदानको प्रशंसक कति रहेछन् मेचीपारि! हामी कमल दीक्षितका छोरा र छोरी भन्ने चिनारी पाउनासाथ उहाँहरूको मुहारमा श्रद्धा र मायाको चमक छाउँथ्यो। कति जना त ‘ओहो!’ भन्दै जुरुक्क उठेर नमस्कार गर्दै हात मिलाउन आउनुहुन्थ्यो। अनि दादाले नेपाली भाषा-साहित्यमा पुर्याएको बहुमूल्य योगदानबारे र दादासित भएका पुराना भेटघाटका प्रसंगबारे कुरा राख्नुहुन्थ्यो। दादाको नामले आत्मीयताका धेरै ढोका खुले हाम्रा लागि। हामीलाई कति जना साहित्यकारले नै पथप्रदर्शकको काम पनि गरिदिनुभयो। अरू साहित्यकारलाई भेटाउन, यताउति लगिदिन स्वतस्फूर्त रूपमा मद्दत गरिदिनुभयो। दार्जीलिङमा लेखक अमला सुब्बा, गान्तोकमा उपन्यासकार पारसमणि दंगाल, गुवाहाटीमा कवि नीता गुरुङ र लेखक/प्रकाशक अमृतकुमार उपाध्यायले हामीलाई धेरै गुन लगाउनुभयो।
दादालाई तीन महीनाको बिमारीपछि अपर्झट कालले खोसेर लग्दाको हाम्रो सुषुप्त तर अझै आलो घाउमा स्नेहको मह्लमपट्टी लगाउनुभयो धेरै जनाले। मलाई त दादासित नजीक हुनुभएका व्यक्तित्वसित भलाकुसारी गर्न पाउँदा माइत पुगेर दादासँग गफ गरिरहेको भान भयो।
सिलिगुडी सालबारीको एउटा फ्ल्याटको बैठकमा श्री कृष्णसिंह मोक्तानज्यूलाई भेट्न गयौं। दाइ कुन्द उहाँसित कुरा गर्दै हुनुहुन्थ्यो। म चाहिं उहाँलाई हेरेर कता कता हराएँ। कहिले नभेटेको व्यक्ति, तर कस्तो चिरपरिचित जस्तो लाग्ने। अनुहारमा दादाकै झल्को आउने। उही उमेरले टाटा पारेको गाला, लाम्चो कान, उस्तै खाले चश्मा। उहाँको शिरमा ढल्केको कालो भुइँमा ससाना सेता छिर्का परेको टोपी हेरें। दादाको पनि यस्तै टोपी थियो भनेर सम्झँदै ‘हजुरको त मुहार मात्र होइन, टोपी पनि दादाको जस्तै रहेछ’ भन्दा उहाँले भेद खोलिदिनुभयो, “यो त बनारसमा कमल दीक्षितजीले मलाई आफ्नै टोपी झिकेर लगाइदिनुभएको हो! आज दराजमा खोजेर लगाएको!”
हामी दाजुबहिनी चकित! आफ्ना बाबुको टोपी बाबु जस्तै लाग्ने व्यक्तिको शिरमा देख्दा भावविभोर भयौं। माया लागेर आयो। आफ्नै ‘दादा’ भेट्यौं भन्ने लाग्यो। हातमा ढोगिदियौं र आशीर्वाद लियौं।
कृष्णजीले दादासित रहेको दाजुभाइको सम्बन्धबारे चर्चा गर्दै भन्नुभयो, “हामी त अति नजीक थियौं। ‘मलाई सर भन्ने होइन, तपाईं मेरो भाइ, म दाइ। अनि हामी दुवै जना बङ्ला बोल्ने भएकोले भेट हुँदा बङ्लामै बोल्ने है भाइ’ भन्नुहुन्थ्यो।”
अनि बङ्लामै उहाँले दादालाई अति विद्वान् भाषा र साहित्यविद्, अति प्रिय, सुन्दर र खूब चरित्रवान् व्यक्ति भन्दा हाम्रो मन गद्गद भयो। दादालाई यति माया गर्ने मान्छे भेट्नु हाम्रो सौभाग्य थियो।
त्यसैगरी, गुवाहाटीमा दादा बित्नुभन्दा केही महीनाअघि मात्र, २०७३ सालको दशैंमा काठमाडौंमा जगदम्बा-श्री सम्मान समारोहमा सम्मानित लीलबहादुर क्षेत्रीज्यूसित भेट हुँदा हामीलाई त्यस्तै अनुभूति भयो। अबको दुई सातामा ९३ वर्ष पुग्न लाग्नुभएका लीलबहादुरजीको आँगनमा पुग्दा हामी सबैको मन पग्लियो। कोठाबाट बैठकमा आउँदा बिस्तारै सहारा लिंदै छिर्नुभएको थियो पद्मश्री विभूषित लीलबहादुरजी। मलिनो स्वरमा ‘अस्वस्थ छु’ भन्दै दादाका बारे, नेपाली साहित्यका बारे, आफ्नो कृतिहरूका बारे कुरा गर्दागर्दै उहाँको स्वर तेजिलो हुँदै गयो, सम्झनाको दराज खोल्दा ऊर्जा पाए जस्तै।
लीलबहादुर क्षेत्रीसँग कुराकानी सुन्दै, फोनमा भिडिओ कैद गर्दै मपुपुको टोली।
उहाँको स्मरणशक्तिलाई उमेरले खोस्न सकेको रहेनछ। हिंडडुलमा ब्रेक लागेपछि कसलाई सुनाऊँ, भन्नु कति छ जस्तै हुने रहेछ। ६-७ दशकअघिका कुरा सम्झी सम्झी बाँड्नुभयो हामीसित। कसरी बसाइँको पाण्डुलिपि हतारमा तयार पारेर दादालाई छाप्न पठाउनुभएको थियो। कसरी पारसमणि प्रधानज्यूलाई मदन पुरस्कार अर्पण गर्न जगदम्बा रानी आफैं मेचीपारि आउँदाको चाँजोपाँजो मिलाउनुपरेको थियो। कता खाने, कता बस्ने। अनि आफ्नो प्रिय पुस्तक ब्रह्मपुत्रको छेउछाउबारे र १ मार्चमा आफ्नो जन्मदिनको अवसरमा लोकार्पण हुने नयाँ किताबका बारेमा पनि कुरा गर्नुभयो। उहाँकी बुहारी कल्पनाले बताए अनुसार एक्लिएको वेला आगन्तुकसितको वार्तालाप नै लीलबहादुरजीको ओखती हुन पुगेको छ!
आफ्नो ‘जंगल’ माझ लीलबहादुर क्षेत्री।
अलग्गिने वेला हामीले उहाँलाई ढोग्यौं र आफ्नो किताब नै किताबले भरिएको उहाँले ‘मेरो जंगल’ भन्न रुचाउने निजी कोठामा पुर्यायौं। उहाँ त्यो ‘जंगल’ का किताबसित राति गफ गर्छु पनि भन्नुहुँदो रहेछ। तर उहाँ त्यो कोठामा बस्न मान्नुभएन। लौरोको सहाराले टुकुटुकु हिंड्दै हामीलाई ढोकासम्म बिदा गर्न आउनुभयो। अमीले ढोग गरेछाड्न नै गाह्रो हुने!
डा. गोकुल सिन्हालाई नेपाली पत्रिकाका केही संस्करण प्रदान गर्दै कुन्द दीक्षित।
त्यसैगरी, गान्तोकमा पुग्दा दादा जस्तै भाषाका चिन्तक डा. गोकुल सिन्हालाई तादोङस्थित नरबहादुर भण्डारी कलेज (विश्वविद्यालय)को फ्ल्याटमा भेट्यौं। भाषाको मौलिकता र सरलतालाई जोड दिने व्यक्ति हुनुहुँदो रहेछ, अनि त दादासित घनिष्टता पनि बढी भएको रहेछ। उहाँ अहिले पनि उत्तिकै रफ्तारमा सिर्जनामा होमिनुभएको छ- साहित्य कोर्दै, अनुवाद गर्दै, समीक्षा गर्दै, शब्द केलाउँदै।
सिक्किममा छँदा दादासित एकदमै घनिष्ट अर्का व्यक्तिसित हाम्रो भेट हुन पाएन। सुवास दीपकज्यू बिरामी हुनुभएको रहेछ। दादाले उहाँको निकै आदर र प्रशंसा गर्नुहुन्थ्यो। कारण, उहाँ पनि दादा जस्तै, र शायद अझ बढी नियमित लेखन, सम्पादनमा समर्पित साहित्यकार हुनुहुँदो रहेछ। दशकौंदेखि विचार साप्ताहिक पत्रिका सम्पादन/प्रकाशन गर्नुका साथै एक कुशल कवि, उपन्यासकार तथा अब्बल अनुवादक पनि हुनुहुँदो रहेछ। उहाँसित बसेर उहाँको कुरा सुन्न नपाउँदा हाम्रो मन खिन्न भयो।
हामी सबैतिर घुम्दा नयाँ पुस्ताले के पढिरहेको छ भनेर सोध्ने गर्थ्यौं। हातमा फोन र सामाजिक सञ्जालको पहुँच भएको युवा पुस्ताले नेपाली त बोल्छ नै, तर पढ्ने र लेख्ने चाहिं कमैले गर्छन् भन्ने उत्तर पाइन्थ्यो। सिक्किममा नेपाली अखबारको प्रकाशन र पाठक दुवै घट्दै गएको भन्ने सुनियो। र अझै लेखकले आफ्नो किताब बाँड्नुको साटो ती कृति बिक्री गर्ने बानी बसाले साहित्यकार मर्कामा पर्ने थिएनन् भन्ने सुझाव पनि सुनियो।
कविता, कथा, निबन्ध, उपन्यासमा कलम चलाउनुहुने डा. इन्दु प्रभा देवी गुवाहाटीमा मपुपुलाई आफ्ना कृति हस्तान्तरण गर्न आउनुभएको थियो। उहाँ असाम नेपाली साहित्य सभाका कार्यकारी अध्यक्ष हुनुहुँदो रहेछ। (तस्वीर : दीपक अर्याल)
सामाजिक सञ्जालले निम्त्याएको विकृतिको कुराका साथसाथै त्यसको व्यापकताको फाइदा उठाएर नेपाली साहित्यलाई टेवा पुर्याउन सकिने उदाहरण पनि भेट्यौं हामीले। कोभिडको वेला हम्मे हम्मे गरी ज्यान जोगिएपछि कविता लेखन शुरू गर्नुभएका पुरुषोत्तम उपाध्याय दाहाल (गोठाले अन्तरे)को फेसबूक पेजले हजारौं श्रोतालाई तान्दो रहेछ। आफ्ना र अरूका साहित्यिक कृति वाचन गर्ने, आफूलाई जचेका व्यक्तिको फोनबाट छोटा छोटा अन्तर्वार्ता गरेर पोस्ट गर्ने। आफू मात्र होइन, अरूले पनि चम्किन पाऊन्, ओझेल नपरून् भन्ने भावनाले प्रेरित हुनुहुँदो रहेछ। नयाँ प्रविधि प्रयोग गरेर नेपाली भाषालाई नेपालीभाषीमाझ लोकप्रिय बनाउने यो पनि राम्रै तरीका हो।
मपुपुका भाइहरू लेखक, प्रकाशकहरूसित पुस्तकालयमा आइनपुगेका नेपाली किताबबारे छलफलमा व्यस्त हुनुहुन्थ्यो। साहित्यकारलाई उहाँका किताब मपुपुको किताबको सूचीमा भएको/नभएको वेबसाइट नै खोलेर देखाइदिनुहुन्थ्यो। चारवटै शहरमा प्रकाशकका दराज र तखता नियाल्दा नौला कृति देखेर भाइहरूको आँखा चम्किन्थ्यो। तर मेची तरेर मपुपुमा कति कृति लाने, कसरी लानेले नै तगारो हाल्थ्यो। तर मलाई लाग्छ, मपुपुले दादाको कामलाई निरन्तरता दिइरहेको समयमा हाम्रो भेटघाटले साहित्यकारसँगको सम्बन्ध विस्तार गर्न मद्दत पुर्याएको छ। यसरी नै भेटघाट भइरहे पुस्तकको संकलन गर्ने चाँजोपाँजो पनि अवश्य मिल्दै जानेछ र यसरी नै दादाको सपना साकार भइरहनेछ।
सिलिगुडीमा जनपक्ष प्रकाशनका पुण्यप्रसाद र गीताश्री शर्माका साथ मपुपुको टोली।