‘वरिष्ठ पत्रकार’ उपाधि कति उचित?
प्रेस काउन्सिल नेपालले अन्य क्षेत्रको सिको गर्दै पत्रकारलाई ‘वरिष्ठ’ उपाधि दिने तयारी गरेको छ। तर पत्रकार र यस सम्बद्ध संस्थाका प्रतिनिधि यो अनावश्यक र गलत अभ्यास भएको बताउँछन्।
प्रेस काउन्सिल नेपालले गत मंसीर १८ गते सदस्य हरिप्रसाद जोशीको नेतृत्वमा तीन सदस्यीय कार्यदल गठन गर्यो। कार्यदल बनाउनुको उद्देश्य थियो, ‘वरिष्ठ पत्रकार’ को उपाधि दिनेबारे सरोकारवालासँग छलफल गरी अध्ययन प्रतिवेदन तयार पार्नु। कार्यदलले गत माघ पहिलो साता प्रतिवेदन काउन्सिलमा बुझाइसकेको छ। जसमा पत्रकारिता पेशाको प्रतिष्ठा र सम्मानका लागि वरिष्ठ पत्रकार उपाधि दिइनुपर्ने र यस सम्बन्धी कार्यविधि निर्माण गरिनुपर्ने सुझाव दिइएको छ।
प्रतिवेदनले पत्रकारिता पेशालाई समाजमा अझ बढी सम्मानित बनाउन ‘वरिष्ठ पत्रकार’ उपाधि दिनुपर्ने सुझाव दिएको काउन्सिलका प्रवक्ता दीपक खनाल बताउँछन्। “सर्वोच्च अदालतले कानूनी क्षेत्रमा गरेको योगदानस्वरूप वकीललाई वरिष्ठ अधिवक्ताको उपाधि दिए जस्तै समाजमा पत्रकारको विशिष्ट हैसियत स्थापित गर्न र सिंगो पत्रकारिता पेशाकै गरिमा बढाउन वरिष्ठ पत्रकार उपाधिको अभ्यास गर्न जरूरी रहेको प्रतिवेदनले औंल्याएको छ,” उनी भन्छन्।
प्रवक्ता खनालका अनुसार २०७३ सालमा काउन्सिलले ‘पत्रकारको योग्यता परीक्षण सम्बन्धी प्रतिवेदन’ तयार पारेको थियो। त्यसमा आएको वरिष्ठ पत्रकारको उपाधि दिने सुझावका आधारमा उपाधि दिने प्रक्रिया अगाडि बढाइएको उनको भनाइ छ।
पत्रकार भने यस्तो उपाधि जरूरी नभएको बताउँछन्। वरिष्ठ पत्रकारको उपाधि दिने अभ्यास थालिए यसले पत्रकारिता पेशाको सम्मान बढाउनुको साटो उल्टै गरिमामा ठेस पुर्याउने उनीहरूको टिप्पणी छ।
पत्रकार बबिता बस्नेत पत्रकारिता क्षेत्र अरू पेशा-व्यवसाय जस्तो नभएको बताउँदै वरिष्ठको मापदण्ड बनाउनु गलत अभ्यास हुने मत राख्छिन्। “पत्रकारले आफ्नो क्षमता पटक पटक प्रमाणित गर्नुपर्छ। आफैंसँग प्रतिस्पर्धा गरिरहनुपर्ने पेशा भएकाले वरिष्ठ या कनिष्ठ भन्ने उपाधिको आवश्यकता नै छैन,” उनी भन्छिन्।
द काठमान्डु पोस्टका पूर्व सम्पादक सञ्जीव सत्गैंया पनि पत्रकारलाई वरिष्ठ भनेर उपाधि दिन आवश्यक देख्दैनन्। उनी भन्छन्, “यस्तो उपाधि दिने अभ्यास थालिए पत्रकारिता पेशामा गलत प्रवृत्ति स्थापित हुनेछ। पत्रकारले एकअर्कालाई मानसम्मान गर्नु व्यक्तिगत कुरा हो, तर यस्ता काममा प्रेस काउन्सिल लाग्नु उपयुक्त हुँदैन।”

अर्की पत्रकार नम्रता शर्मा सरकारी निकाय प्रेस काउन्सिलले दिने उपाधिमा राजनीति या सत्ताको छाया पर्न सक्ने जोखिम देख्छिन्। “उपाधि दिंदा वा दिएपछि राजनीतिक प्रभाव हावी हुन सक्छ, त्यसले पत्रकारिताको विश्वसनीयतालाई चुनौती दिन्छ,” उनी भन्छिन्।
पत्रकारिताकै लागि समस्या
पत्रकारिता पढाउने गुरु र पत्रकारका संस्थाका प्रतिनिधिको भनाइमा स्वतन्त्र रहनुपर्ने पत्रकारिता पेशामा कुनै पनि नाममा सरकारी निकायको दखल उचित हुँदैन।
त्रिभुवन विश्वविद्यालयको पत्रकारिता तथा आमसञ्चार केन्द्रीय विभागका प्रमुख कुन्दन अर्याल पत्रकारलाई वरिष्ठ उपाधि दिने सुझाव पत्रकारिता क्षेत्रको प्रतिकूल रहेको बताउँछन्। “सरकारी निकायको दखलले पत्रकारको स्वतन्त्रता, आलोचनात्मक चेत र विश्वसनीयतालाई समस्यामा पार्न सक्छ,” उनी भन्छन्, “पत्रकारिता ‘पेन पावर’ हो, यस्तो उपाधि भविष्यमा पत्रकारलाई लोभ्याउने औजारका रूपमा विकसित हुन सक्छ।”
पत्रकारको छाता संस्था नेपाल पत्रकार महासंघका पूर्व अध्यक्षहरूको भनाइमा पनि वरिष्ठ उपाधिको अभ्यास शुरू गरिए त्यसले पत्रकारिताको विश्वसनीयता घटाउँछ।
नेपाल पत्रकार महासंघका पूर्व अध्यक्ष शिव गाउँले पत्रकारलाई कुनै उपाधिको जरूरी नहुने र यस्तो उपाधि दिन प्रेस काउन्सिलसँग कानूनी अधिकार पनि नभएको टिप्पणी गर्छन्। “पत्रकार के-कस्तो हो भनेर पछिल्लो बाइलाइनमै परिभाषित भइरहेको हुन्छ, त्यसैले उसलाई वरिष्ठ या कनिष्ठ उपाधिको आवश्यकता हुँदैन। यसका साथै पत्रकारलाई कानूनी रूपमा वरिष्ठ उपाधि दिने अधिकार काउन्सिलसँग नभएकाले त्यतातिर नलागेकै बेस,” उनी भन्छन्।
पत्रकार महासंघका अर्का पूर्व अध्यक्ष विष्णु निष्ठुरी प्रेस काउन्सिल नसुहाउने कामतिर लागेको बताउँछन्। पत्रकारलाई उपाधि दिनेतिर लाग्नुभन्दा पत्रकारले आचारसंहिता पालना गरेका छन् कि छैनन् भन्ने नियमन गरेर पत्रकारितालाई मर्यादित र विश्वसनीय बनाउन केन्द्रित हुनुपर्ने उनी सुझाव दिन्छन्। “पेशागत मर्यादा पालना गर्नेलाई पुरस्कृत र नगर्नेलाई दण्डित गरिनुपर्छ। तालीमको व्यवस्था र सल्लाह-सुझावबाट पत्रकारको क्षमता बढाएर पत्रकारिता कर्म विश्वसनीय बनाउन सकिन्छ,” उनी भन्छन्।
काउन्सिलले वरिष्ठको उपाधि बाँड्दैमा गुणात्मक पत्रकारिता भइहाल्ने र नामको अगाडि वरिष्ठ जोड्नासाथ जनताले पत्याउँछन् भन्ने मान्यता राख्नु अपरिपक्व सोच भएको निष्ठुरी बताउँछन्।
प्रेस काउन्सिलका पूर्व अध्यक्ष राजेन्द्र दाहाल वरिष्ठ उपाधि बाँड्ने काउन्सिलको तयारीलाई अपरिपक्वताको संज्ञा दिन्छन्। “यस्ता केटाकेटीको पाराको कुरामा मैले केही भन्नु छैन,” उनी भन्छन्।
काउन्सिलद्वारा गठित कार्यदलका संयोजक जोशी भने विभिन्न देशमा पत्रकारलाई विशेष दर्जा दिएर सम्मान गर्ने प्रचलन रहेको र नेपालमा पनि त्यस्तै अभ्यास गर्न लागेको बताउँछन्। उनका अनुसार वरिष्ठ पत्रकारको उपाधिका लागि लगातार ३० वर्ष पत्रकारिता गरेका, ४५ वर्ष नाघेका, खोजमूलक रिपोर्टिङ गरेका जस्ता मापदण्ड बनाउनुपर्ने सुझाव प्रतिवेदनमा दिइएको छ। प्रतिवेदनबारे काउन्सिलले फागुन ८ गते बिहीबार पत्रकार महासंघका पूर्व अध्यक्ष र वर्तमान पदाधिकारी, काउन्सिलका पूर्व पदाधिकारी र बार काउन्सिलका सदस्यहरूसँग छलफल गर्ने उनी बताउँछन्।