केबलकारको पक्षमा बोल्दा मोसो दलियो, अधिकारकर्मी भन्छन्- अमानवीय कार्य
पाथीभरा केबलकारको पक्षमा बोलेकै कारण मोसो दलेको घटनालाई अधिकारकर्मीले अमानवीय र आततायी भनेका छन्।
याक्थुङ चुम्लुङका उपाध्यक्ष पदम चेन्जी माबाेलाई हातपात गर्दै माेसाे दलिएकाे भिडिओ सार्वजनिक भएकाे छ। आइतबार धरानमा याक्थुङ चुम्लुङको महाधिवेशन भएको थियो। त्यसबारे जानकारी दिन याक्थुङ चुम्लुङ केन्द्रीय कार्यसमितिले आयोजना गरेको पत्रकार सम्मेलनमा सहभागी हुन माबो धरान आएका थिए।
पाथीभरा केबलकारको विरोध गरिरहेको मुक्कुमलुङ (पाथीभरा) संरक्षण संयुक्त संघर्ष समितिमा आबद्ध व्यक्तिहरूले माबोलाई मोसो दलेको जिल्ला प्रहरी कार्यालय, सुनसरीले जनाएको छ। ‘नो केबलकार’ पक्षधरहरूले मोसो दलेर हातपात गर्न खोजेपछि प्रहरीले माबोलाई सुरक्षा दिएको थियो। उनलाई इलाका प्रहरी कार्यालय, धरानमा लगिएको थियो।
‘नो केबलकार’ पक्षले भने केबलकारको पक्षमा नबोल्न चेतावनी दिंदै आएका छन्। सांकेतिक रूपमा माबोलाई मोसो दलिएको मुक्कुमलुङ संरक्षण संयुक्त संघर्ष समितिको एक घटक पहिचानवादी मोर्चाका कोशी प्रदेश संयोजक जेन्टल लावतीले बताए। “पैसा कमाउने उद्देश्य राखेर सामाजिक सञ्जालमा निरन्तर केबलकारको पक्षमा बोल्दै आएका कारण समितिकै निर्णयमा कार्यकर्ताले मोसो दलेका हुन्। सांकेतिक रूपमा सुधार गर्न अपेक्षा सहित अहिले मोसो मात्रै दलिएको छ,” लावतीले भने।
मानव अधिकारकर्मीले भने यसलाई अमानवीय कार्य भनेका छन्। विपक्षमा बोलेकै आधारमा मोसो दल्नु र हातपात गर्नु गलत भएको उनीहरूको भनाइ छ।
हरेक व्यक्तिले आफ्नो धारणा राख्न पाउनु, स्वतन्त्र अभिव्यक्ति दिन पाउनु नैसर्गिक अधिकार भएको अधिकारकर्मी चरण प्रसाईंको भनाइ छ। “शान्तिपूर्वक आन्दोलन गर्न पाउनु र स्वतन्त्र अभिव्यक्ति राख्न पाउनु मानिसको अधिकार हो,” प्रसाईंले भने, “फरक मत राखेकै आधारमा मोसो दल्नु मानवीय संवेदनशीलता विपरीत आततायी कार्य हो।”
प्रसाईंले यस्ता घटना अमानवीय र हिंसात्मक गतिविधिका रूपमा रहेको उल्लेख गर्दै यसले ‘नो केबलकार’ आन्दोलनप्रति सद्भाव कम हुँदै जाने बताए। अमानवीय कार्यमा संलग्न हुनबाट आन्दोलनलाई बचाउन उनले आग्रह गरेका छन्।
त्यस्तै, राष्ट्रिय मानव अधिकार आयोगका प्रवक्ता टीकाराम पोखरेलले पक्ष वा विपक्षमा बोल्दैमा अभद्र कार्य गर्नु गलत भएको बताए। “कुनै पनि विषयको पक्ष वा विपक्षमा विचार राख्न पाउनुपर्छ र विचार राखेकै आधारमा मोसो दल्नु मानव अधिकारको मर्म र मूल्यमान्यता विपरीतको कार्य हो,” पोखरेलले भने।
‘नो केबलकार’ पक्षले उनलाई उजुरी नगर्न पनि धम्की दिएको छ। पहिचानवादी मोर्चाका प्रदेश संयोजक लावतीले भने, “पदम चेन्जीले उजुरी दिएमा झन् कार्यकर्तालाई नियन्त्रण गर्न सकिंदैन। यो सांकेतिक हो, उहाँले सुधार गर्नुपर्छ।”
आइतबार साँझसम्म प्रहरी कार्यालयमा बसे पनि माबोले उजुरी दिएका छैनन्। जिल्ला प्रहरी कार्यालय, सुनसरीका प्रहरी निरीक्षक दिनेश अधिकारीले उजुरी नआएकाले कसैलाई नियन्त्रणमा नलिइएको बताए। “उजुरी आएमा मोसो दल्नेहरूलाई नियन्त्रणमा लिन्छौं,” अधिकारीले भने।
मुक्कुमलुङ (पाथीभरा) संरक्षण संयुक्त संघर्ष समितिको अगुवाइमा विभिन्न राजनीतिक दल र संघसंस्था केबलकारको विरोधमा आन्दोलित छन्। उनीहरूले फागुन ९ गतेसम्म विभिन्न आन्दोलनका कार्यक्रम पनि घोषणा गरेका छन्।
किरातहरूको साझा संस्था हुँदाहुँदै समानान्तर संस्था चलाउन खोजेकाले पनि विरोध गर्नु परेको एक अभियन्ताको भनाइ छ। पहिलेदेखि नै किरात याक्थुङ चुम्लुङ संस्था छ।
सुरक्षाका लागि इलाका प्रहरी कार्यालय लगिएका माबाेलाई घर फर्काइएको जिल्ला प्रहरी कार्यालय, सुनसरीका प्रहरी निरीक्षक अधिकारीले बताए। “सुरक्षाका लागि प्रहरी कार्यालयमा ल्याएका थियौं। साथीहरूसँगै जान्छु भनेर फर्किनुभएको छ,” अधिकारीले भने।
यो पनि पढ्नुहोस् :