नरोकिएको सालक तस्करी
पूर्वी नेपालको मकालु वरुण राष्ट्रिय निकुञ्ज क्षेत्रबाट वर्षदिनअघि ३५० भन्दा बढी सालकको खपटा बरामद भएको घटनाको मुख्य पाटो अहिलेसम्म पनि खुलेको छैन।
हिउँदका दिनमा संखुवासभाको हिमाली गाउँ च्याम्ताङ साँझ ७ बजे नै मध्यराति जस्तै सुनसान भइसक्छ। यही वेला गस्तीमा निस्किएको प्रहरी टोलीले केही पर झल्याकझुलुक सेतो वस्तु चलमलाएको ठम्याउँछ। प्रहरी टोली बिस्तारै सेतो वस्तु देखिएतिर लम्कन्छ।
नजीक पुग्नै लाग्दा पिठ्युँमा बोकेको सेतो वस्तु फालेर केही मानिस एकाएक अलप हुन्छन्। प्रहरीले सात वटा बोरा मात्र फेला पार्छ। बोराभित्र सालकको खपटा (आखेटोपहार) भेटिन्छ, जसको तौल २०८ किलो ७६ ग्राम हुन्छ। यो नेपालमा एकसाथ बरामद भएको अहिलेसम्मकै ठूलो परिमाणको हो।
यो घटना २०८० पुस ११ गतेको हो। त्यसको आधा घण्टापछि प्रहरीले च्याम्ताङबाटै ३९ वर्षीय छिरिङ भोटेलाई पक्राउ गर्यो। छिरिङ भोटखोला गाउँपालिका-२, रिदाकका बासिन्दा हुन्। च्याम्ताङदेखि अरुण खोला तरेर जानुपर्ने रिदाक गाउँको बाटो हुँदै आखेटोपहारलाई चीन पुर्याउने योजना थियो।
यसअघि २०७४ सालमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट १६३ किलोग्राम सालकको खपटा बरामद गरेको थियो। विमानस्थलमा बरामद गरिएको आखेटोपहार अफ्रिकी मुलुक कंगोबाट ल्याइएको अनुसन्धानमा खुलेको थियो। कंगोबाट टर्की, नेपाल हुँदै चीन पुर्याउन खोजिएको थियो।
वन्यजन्तु संरक्षणविद् एवं अनुसन्धाता कुमार पौडेलका अनुसार यति ठूलो परिमाणको खपटा बटुल्न कम्तीमा पनि ३५० सालक मार्नुपर्छ। अझ झस्काउने कुरा यो छ कि बरामद भएका सबै सालक नेपालमै मारिएका हुन सक्ने अनुसन्धानले देखाएको छ।
संखुवासभाको च्याम्ताङ गाउँमा बरामद भएको सालकको खपटा।
पक्राउ परेका छिरिङले शुरूआतमा प्रहरीसँग आफूलाई एक बालिकाले बोराको सामान चिनियाँ सिमानासम्म पुर्याएमा पैसा दिने बताएपछि बोकिदिएको बयान दिएका थिए। भोलिपल्टै पक्राउ परेकी बालिकाले पनि त्यही कुरा दोहोर्याइन्। “त्यो कुनै कोणबाट पनि पत्यारिलो थिएन,” त्यति वेला संखुवासभा प्रहरी प्रमुख रहेका प्रहरी नायब उपरीक्षक (डीएसपी) घनश्याम श्रेष्ठ सम्झन्छन्, “संगठित समूह नै सक्रिय भएको अनुमान गरेर अनुसन्धान अघि बढायौं।”
संगठित जालो
प्रहरीलाई आफू भरिया मात्र रहेको भनेर अलमल्याउन खोजेका छिरिङको मोबाइलमा भने केही यस्ता ‘कनेक्सन’ भेटिए, जसले तस्करीमा एउटा सिपालु र अनुभवी समूह सामेल भएको संकेत गर्थ्यो। नभन्दै केही दिनपछि नै छिरिङले प्रहरीसँगको बयानमा १७ वर्षीया बालिका सहित अन्य पाँच जना बालकलाई आखेटोपहारको बोरा चीनको नाकासम्म पुर्याउन जिम्मा दिएको स्विकारे।
बालबालिकालाई शंका नगर्ने र पक्राउ परिहालेमा पनि सजाय कम हुने भएकाले सामान ओसार्न छिरिङले १८ वर्षमुनिका बालबालिकालाई प्रयोग गर्दै आएको अनुसन्धानमा खुल्यो। बरामद सामान आफ्नो भएको स्विकारेमा आफू सहित परिवारलाई जिन्दगीभर आइपर्ने समस्या ‘हेरिदिने’ भनेर छिरिङले फकाएको अनुसन्धान प्रतिवेदनमा उल्लेख छ।
जिल्ला अदालतमा दर्ता अभियोगपत्रमा सालक तस्करीको मुख्य व्यक्ति छिरिङ रहेको दाबी गरिएको छ। छिरिङ र भोटखोला गाउँपालिका-३, हुङगुङका छुम्बी तार्छे (छुम्बी तार्चे भोटे) सहितको समूहले संगठित तवरले सालक तस्करी गर्दै आएको प्रहरीको भनाइ छ।
हुङगुङ गाउँका छुम्बी सुनसरीको इटहरीमा बस्छन्। छुम्बीको बौद्धस्थित रामहिटीमा चमर (चौंरीको पुच्छरको फुर्को) पसल पनि छ। एक वर्षअघि त्यही पसलमा भेट हुँदा छिरिङले आफूलाई सालकको खपटा खोज्न भनेको छुम्बीले अनुसन्धानका क्रममा बताएका छन्।
त्यसपछि छुम्बी सिन्धुली, रामेछाप, दोलखाबाट सालकको आखेटोपहार संकलन गर्न थाल्छन्। उनले सिन्धुलीका खिलबहादुर सुनुवार र दोलखाका राजुकुमार तामाङलाई पनि सालकको खपटा खोज्न अह्राउँछन्। उनीहरूलाई अग्रिम रकम भनेर नौ लाख रुपैयाँ समेत दिन्छन्।
खिलबहादुर र राजुकुमारले गाउँमा सालक खोज्ने र मार्ने कामका लागि अरू मान्छेलाई पनि जोड्छन्। खड्गबहादुर मगर, पुष्कर तामाङ, होमबहादुर मगर र डम्बरबहादुर सुनुवार लगायत स्थानीय बासिन्दा सालक खोज्न गाउँ गाउँ खटिएको अभियोगपत्रमा उल्लेख छ।
त्यति वेला छिरिङ, छुम्बी, खिलबहादुर र राजुकुमार पक्राउ परेका थिए। पुष्कर, होमबहादुर, डम्बरबहादुर र मोने मगर भने फरार छन्। पक्राउ परेका नाबालिग बाहेक सबै पुर्पक्षका लागि थुनामा छन्।

उनीहरूले सिन्धुली, रामेछाप र दोलखा क्षेत्रबाट ७५ किलोग्राम सालकको खपटा छुम्बीलाई दिएको अभियोगपत्रमा खुलाइएको छ। स्थानीय एजेन्टले ६ हजार ५०० रुपैयाँदेखि १२ हजार रुपैयाँमा छुम्बीलाई खपटा बेचेको प्रहरी अनुसन्धानमा देखिएको थियो।
यसरी संकलित सालकको खपटा लिन छुम्बी कहिले सिन्धुली पुग्थे त कहिले काठमाडौंको बौद्धमा ल्याइदिन आग्रह गर्थे। कहिले संकलकले नै इटहरीमा रहेको छुम्बीको घरमै पुर्याइदिन्थे। उनले खपटा राख्न इटहरीमा एउटा शटर भाडामा लिएर गोदाम बनाएका थिए। घरधनी महेश ढकालसँग अलैंचीको कारोबार गर्ने भन्दै मासिक दुई हजार रुपैयाँमा तीन महीनाका लागि शटर भाडामा लिएका थिए।
सालकको आखेटोपहार बरामदीको कीर्तिमानी घटनाको अनुसन्धानबाट उद्घाटित पाटो मात्र हो, यो।
अनुद्घाटित पाटो
छुम्बीले सालकको ७५ किलोग्राम आखेटोपहार सिन्धुली, रामेछाप र दोलखाबाट संकलन गरेको पाइएको थियो। तर बाँकी करीब १३४ किलोग्राम कहाँबाट ल्याइयो भन्ने प्रहरी अनुसन्धानले खुलाउन सकेन।
अभियोगपत्र अनुसार बाँकी सबै सालकको आखेटोपहार धनकुटाकी छेसाङ भोटेले छुम्बीलाई बिक्री गरेकी हुन्। ६२ वर्षीया छेसाङलाई फरार अभियुक्तको सूचीमा राखिएको छ। छेसाङ नातामा जेठीसासू रहेको छुम्बीले प्रहरीसँग बताएका छन्। तर यो संगठित अपराधमा छेसाङको भूमिका कस्तो र कत्रो हो भन्ने प्रहरी अनुसन्धानबाट खुल्दैन।
छेसाङ धरान उपमहानगरपालिकामा बस्दै आएकी थिइन्। घटना लगत्तै उनी भारत भागेको खबर आएको डीएसपी श्रेष्ठ बताउँछन्। उनलाई खोज्न भने प्रहरीले तदारुकता देखाएन।
त्यस्तै, बौद्धमा छुम्बीसँग भेट गराइदिने एक पात्रबारे पनि प्रहरी अनुसन्धानबाट खुल्दैन। आरोपपत्र अनुसार दोलखाका राजुकुमार तामाङ अलैंचीको व्यापार गर्थे। त्यही क्रममा उनी झापामा तेह्रथुमका छेतेन भोटेलाई भेट्छन्। छेतेनको घर बौद्धमा पनि छ। पछि अम्रिसोको कुचो बेच्न काठमाडौं आएका वेला राजुकुमार छेतेनको घर पुग्छन्।
छेतेनले राजुकुमारलाई चियाखाजा खान घरछेउको होटलमा लैजान्छन्। त्यही वेला छुम्बी पनि आइपुग्छन्। राजुकुमार र छुम्बीको चिनजान हुन्छ। छेतेन निस्कन्छन्। राजुकुमार र छुम्बी भने होटलमै गफ गरेर बस्छन्। गफगाफकै क्रममा छुम्बीले सालक पाएदेखि किन्ने प्रस्ताव गर्छन्।
पछि दोलखा फर्किएर राजुकुमार सालकको शिकार गर्ने मानिस खोज्छन्। “मैले पटक पटक गरी ३५ केजी सालकको खपटा काठमाडौं पुर्याइदिएको हो,” राजुकुमारले प्रहरीसँगको बयानमा भनेका छन्।
तर राजुकुमार र छुम्बीलाई होटलमा भेट गराइदिने छेतेनलाई प्रहरीले अनुसन्धानको दायरामै ल्याएन। बयान कागज मात्र गराएर छोडिदियो। छेतेनले गरेको बयान कागजमा आफूले राजुकुमार र छुम्बीको भेट नगराएको दाबी गरेका छन्। “मैले निज (राजुकुमार)लाई घरमा बोलाएको थिएँ। हामी दुई जनाको मेरो घरमा भेट भएपछि म पैसा लिन मोटरसाइकलमा निस्किएँ,” छेतेनले भनेका छन्, “निज (राजुकुमार) मेरो घर नजीकैको चिया पसलमा बसेको हुँदा म पनि त्यहीं गई निजलाई अलैंचीको पैसा दिई हिसाब चुक्ता गरिदिएँ। म गएपछि राजुकुमार र छुम्बीको भेट भएको थियो कि थिएन, मलाई थाहा भएन।”
यद्यपि छुम्बी आफ्नो गाउँले ज्वाइँ भएकाले चिनजान रहेको बताएको छेतेनले प्रहरीमा गरेको कागजमा उल्लेख छ।
त्यस दिनको भेटबारे छेतेनले बयान कागजमा भनेका कुरा र राजुकुमारको बयानबीच विरोधाभास देखिन्छ। छेतेनले राजुकुमार आफ्नो घरमा अलैंची बेच्न आएको दाबी गरेका छन्। तर राजुकुमारले सुकेधाराको एउटा गोदाममा कुचो बेचेपछि छेतेनको घरमा भेटघाट गर्न गएको बताएका छन्। छेतेनको भूमिका शंकास्पद देखिए पनि प्रहरी अनुसन्धानमा केही खुल्दैन।
अन्तरदेशीय सञ्जाल
अदालतमा दर्ता भएको अनुसन्धान प्रतिवेदनबाट ३५० भन्दा बढी नेपालकै सालक मारेर खपटा चीन पुर्याउन खोजिएको देखिन्छ। तर पुर्पक्षका लागि थुनामा रहेका छुम्बीसँग भारतीय सिमकार्ड पनि भेटिएको थियो, जसले सालक तस्करीको तार छिमेकी देशसँग जोडिने आधार देखाएको थियो। छुम्बीले चार वटा सिमकार्ड चलाउँथे, जसमध्ये एउटा भारतीय भोडाफोनको थियो। यो फोनको कनेक्सन केलाउन भने प्रहरीले जाँगर चलाएन।
वातावरण संरक्षणविद् पौडेल नेपालमै यति धेरै सालक मारेर खपटा संकलन गर्न सजिलो नदेखिने बताउँछन्। “२०८ किलो खपटा नेपालकै सालक मारेर संकलन गरिएको भन्नेमा शंका लाग्छ,” उनी भन्छन्, “सालक अन्य जन्तु जस्तो बथानमा पाइने प्रजाति होइन। यत्रो सालकको खपटा भेला पार्न वर्षौं लाग्छ। सात जनाले यति धेरै खपटा संकलन गर्न लगभग असम्भव नै मान्छु म।”
कालो सालक। तस्वीर : तुलसीलक्ष्मी सुवाल
त्यस्तै, कल डिटेल रिपोर्ट (सीडीआर)मा छिरिङको मोबाइलबाट चिनियाँ नम्बरमा कुराकानी भएको देखिएको थियो। छुम्बीले भने अदालती बयानमा आफू पाँच वर्षअघिसम्म चौंरीपालक रहेको र तिब्बतमा चौंरी बेचबिखन गर्दाको हिसाबकिताब बाँकी रहेकाले सम्पर्क गरेको दाबी गरेका छन्।
छुम्बीबाट भारतीय सिमकार्ड बरामद भए पनि त्यसको सम्पर्क जालो नकेलाउँदा सालक तस्करीका अन्तर्राष्ट्रिय कारोबारीको तार छिनेको देखिन्छ। उनले फरार छेसाङ भोटेसँग १३३ किलो खपटा किनेको बताएका छन्।
संरक्षणविद् पौडेलका अनुसार बरामद भएको चिनियाँ सालक (कालो सालक) नेपालको काठमाडौं आसपासदेखि पूर्वी भेग र दक्षिण भारतमा धेरै पाइन्छ। यस्तै, सिन्धुली, रामेछाप र दोलखामा पनि यो प्रजातिका सालक पाइने पौडेल बताउँछन्। तीनै जिल्लाबाट ७५ किलो खपटा संकलन गरिएको थियो।
अन्तरदेशीय कारोबारीको सञ्जाल छिचोल्न नसकिए पनि देशभित्रको बलियो गिरोह समाप्त पारिएको डीएसपी श्रेष्ठको भनाइ छ। यस गिरोहमा ११ जनाको समूह सामेल रहेको अभियोग छ। जसमध्ये पाँच जना पक्राउ परेका छन् भने ६ जना फरार छन्। पक्राउ परेकामध्ये एक जना नाबालिग हुन्। उनलाई जिल्ला अदालत, संखुवासभाले सफाइ दिएको छ।
पक्राउ परेका छिरिङ, छुम्बी, खिलबहादुर र राजुकुमारले अदालतमा इन्कारी बयान दिएका थिए। प्रायः आरोपीले अनुसन्धानका क्रममा अपराध कबोल गर्ने भए पनि अदालतमा भने अस्वीकार गर्छन्। तर बालिकाले बरामद खपटा छिरिङको रहेको अदालतमा बयान दिएकी थिइन्। यो मुद्दा जिल्ला अदालतमा विचाराधीन छ।
यसअघिका घटनामा पनि प्रहरीले अनुसन्धानलाई अन्तरदेशीय सञ्जालसम्म पुर्याएको देखिंदैन। २०७७ सालमा धादिङबाट काठमाडौं ल्याइएको जिउँदो सालक सहित उपराष्ट्रपति कार्यालयमा कार्यरत सशस्त्र प्रहरी बलका सिपाही भीमबहादुर थापा र ध्रुवबहादुर मगर पक्राउ परेका थिए। थापा तत्कालीन उपराष्ट्रपति नन्दबहादुर पुनका सवारीचालक थिए। यस घटनाको पनि गहिराइमा अनुसन्धान भएको थिएन।
सीडीआरमा घटनाको आसपास पक्राउ परेका थापासँग अर्को एक व्यक्तिको नम्बरमा १३७ पटकसम्म कुराकानी भएको देखिएको थियो। तर डिभिजन वन कार्यालय, भक्तपुरले न प्राविधिक विश्लेषण गर्यो न त त्यो नम्बर लिने व्यक्तिको खोजबिन नै। जसले गर्दा तस्करीको माथिल्लो तह पत्तो लाग्नै सकेन। थापा र मगरलाई भने जिल्ला अदालत, भक्तपुरले दोषी ठहर्याएको थियो।
सालक संरक्षण किन?
साना स्तनधारी प्राणीमा पर्ने सालकलाई अन्तर्राष्ट्रिय प्रकृति संरक्षण संघ (आईयूसीएन)ले जोखिमपूर्ण र लोपोन्मुख प्रजातिको सूचीमा राखेको छ। वन्यजन्तुको अवैध व्यापार सम्बन्धी महासन्धि (साइटिस)ले सालकको व्यापार तथा ओसारपसारलाई अपराध मानेको छ। राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले २६ वटा संरक्षित वन्यजन्तुमा सालकलाई पनि राखेको छ।
कालो सालक।
कीरा, धमिरालाई प्राकृतिक तरीकाले नियन्त्रण गर्ने भएकाले सालक मानिसका लागि हितकारी जन्तु मानिन्छ। यो माटोमुनि दुलो बनाएर बस्छ। सालक नेपालका ४३ जिल्लामा पाइन्छ।
नेपालमा दुई प्रकारका सालक पाइन्छन्, तामे सालक (इन्डियन प्यांगोलिन) र कालो सालक (चाइनिज प्यांगोलिन)। संखुवासभामा बरामद भएको कालो सालकको खपटा हो। राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु विभागका अनुसार नेपालमा कालो सालक करीब पाँच हजारको संख्यामा रहेको अनुमान छ।
चोरी शिकार तथा अवैध व्यापारका कारण कालो सालक सन् २०४० सम्म ८० प्रतिशतले घट्न सक्ने आईयूसीएनको आकलन छ। तामे सालकको संख्या घट्ने दर भने ५० प्रतिशत रहेको उल्लेख छ।
तामे सालक नेपाल, पाकिस्तान, बाङ्लादेश, भारत र श्रीलंकामा पाइन्छ भने कालो सालक नेपाल, भारत, चीन, बाङ्लादेश, भूटान, हङकङ, लाओस, म्यानमार, ताइवान, थाइल्यान्ड र भियतनाममा पाइन्छ। चीन वन्यजन्तुको आखेटोपहारको प्रख्यात बजार मानिन्छ। परम्परागत औषधिजन्य कार्यका लागि वन्यजन्तुको आखेटोपहार प्रयोग गरिन्छ।
संरक्षणविद् पौडेलका अनुसार गैंडाको खाग र सालकको कत्लामा सेराटिन नामक तत्त्व पाइन्छ, जुन चीनमा औषधिका लागि प्रयोग गरिन्छ। २०७६ सालको अन्तिमतिर फैलिएको कोभिड-१९ का कारण चीनले आफ्नो परम्परागत चिकित्सा पद्धतिको सूचीबाट सालकलाई हटाएको थियो।
औपचारिक रूपमा कारोबार नखोले पनि चीनतिर सालकको तस्करी हुने क्रम भने रोकिएको छैन। “चीनले परम्परागत औषधि पद्धतिबाट सालकलाई हटाएको नीति यथावतै छ,” पौडेल भन्छन्, “चीनले आफूसँग भएको ‘स्टक’ बाटै औषधिको काम गरिरहेको बताए पनि त्यो ‘स्टक’ कति छ भन्ने कसैलाई थाहा छैन। यस्तै अवैध बाटोबाट आपूर्ति भइरहेको हुन सक्छ।”