फणीश्वरनाथको ‘नेपाली क्रान्ति-कथा’ नेपालीमा
प्रख्यात भारतीय लेखक फणीश्वरनाथ रेणुको ‘नेपाली क्रान्ति-कथा’ पुस्तक नेपालीमा आएको छ।
प्रजातन्त्र आगमनको ७५ वर्षको पूर्व सन्ध्यामा पब्लिकेशन नेपालयले यसलाई सात सालको कथा नाम दिएर नेपालीमा प्रकाशन गरेको हो। यसलाई तुलसी भट्टराईले नेपालीमा अनुवाद गरेका हुन्।
भारतको बिहारमा जन्मेका लेखक रेणु राणाशासन विरुद्धको क्रान्तिमा सहभागी भएका थिए। २००७ सालको क्रान्तिमा सहभागी भएका उनले रिपोर्ताज शैलीमा पुस्तक लेखेका हुन्।
पुस्तक सार्वजनिक गर्दै अध्येता भास्कर गौतमले रेणु यो देश र त्यो देश भनेर नछुट्याउने उदार मानवीय लेखक भएको बताए। “रेणुका हरेक सिर्जनामा मानवता र मुक्त अस्तित्व प्रखर रूपमा आएको हुन्छ,” गौतमले भने, “चुरेदेखि गंगासम्मको जनजीवन, प्रकृति र संस्कृतिलाई उनी साझा रूपमा हेर्ने दलीय-देशीय सोचभन्दा माथि उठेका लेखक हुन्।”
लेखक फणीश्वरनाथ रेणु।
विराटनगरमा कोइराला परिवारमा हुर्केबढेका रेणुलाई बीपी कोइराला आफ्ना भाइ नै ठान्थे। कोइराला दाजुभाइमध्ये तारिणीप्रसाद कोइरालाका सहपाठी र समवयी रेणुको पुस्तक तारिणी परिवारकै सदस्य इन्दिरा कोइरालालाई हस्तान्तरण गर्दै लोकार्पण गरिएको हो।
अनुवादक भट्टराईले रेणुको व्यापकता एउटा भाषा वा संस्कृतिको ज्ञानबाट मात्र बुझ्न नसकिने बताए। “नेपाली क्रान्ति-कथाले स्वतन्त्रता आन्दोलनको सजीव चित्र प्रस्तुत गरेकाले २५ वर्षअघि नै अनुवाद गर्दै छापेको थिएँ,” उनले भने।
धेरै पहिले छापिएको पुस्तकको सान्दर्भिकता अझ बढेको भए पनि बजारमा अप्राप्य रहेकाले अनुवाद पुस्तक प्रकाशन गरेको पब्लिकेशन नेपालयका सम्पादक विमल आचार्यले बताए। १२० पृष्ठको पुस्तकको मूल्य ३४५ रुपैयाँ छ।