फेरि उठ्याे सिद्धिलक्ष्मी
वि.सं. १७२९ मा राजा जगतप्रकाश मल्लले बनाउन लगाएको सिद्घिलक्ष्मी मन्दिर भूकम्पले भत्किएको चार वर्षपछि पुनर्निर्माण भएको छ।
-गाैरीबहादुर कार्की
बेलायती खोजकर्ता इ.ए पावेलले आफ्नो पुस्तक ‘द लास्ट होम अफ मिस्ट्री’ मा वि.सं. १९८६ मै भनेका थिए, “आधा विश्व भ्रमण गर्नुभन्दा नेपालको प्राचीन भादगाउँको दरबार परिसर जानु मूल्यवान् हुन्छ ।” यसबाट भक्तपुर दरबार परिसरको महत्त्व बोध हुन्छ ।
युनेस्कोको विश्वसम्पदा सूचीमा सूचीकृत सात नेपाली सम्पदामध्ये भक्तपुर दरबार क्षेत्र पनि एक हो । १२ र २९ वैशाख २०७२ मा गएको भूकम्पले यो क्षेत्रका धेरै मन्दिरमा क्षति पु¥यायो । त्यतिवेला क्षतिग्रस्त सिद्धिलक्ष्मी मन्दिरको पुनर्निर्माण भर्खरै सकिएको छ ।
भक्तपुर दरबार परिसरमा ढुङ्गाका ग्रन्थकुट अर्थात् शिखर शैलीका तीन मन्दिर छन् । तीमध्ये सिद्धिलक्ष्मी एक हो । यो मन्दिरका ढुङ्गामा बुट्टा कुँदिएका छन् । ढुङ्गैढुङ्गाको भएकाले यसलाई स्थानीय नेवारी भाषामा लोहँ देग अर्थात् ढुङ्गे मन्दिर भनिन्छ । यहाँका मल्लकालीन मूर्ति र कलाकारिताको विदेशी विद्वान्ले पनि प्रशंसा गरेका छन् ।
सिद्धिलक्ष्मीलाई सिद्धिवत्सला पनि भनिन्छ । वत्सला भनेकी देवी हुन् । लक्ष्मीलाई पनि महिषमर्दिनी देवीकै रुपमा मानिएको छ ।
नेपाल संवत् ७९२ अर्थात् वि.सं. १७२९ मा राजा जगतप्रकाश मल्लले यो मन्दिर बनाउन लगाएका हुन् । यसको गर्भगृहमा पूर्ण कलश र सुन्दर मूर्ति स्थापना गरिएको छ । दक्षिणाभिमुख यो मन्दिरको माथिल्लो बाह्य खण्डमा चारैतिर मातृका देवीहरूका सुन्दर र कलात्मक मूर्ति छन् ।
यो मन्दिर वि.सं. १८९०, १९६५, १९९० को महाभूकम्पबाट भने जोगिएको थियो । वि.सं. २०४५ र २०६८ को भूकम्पमा पनि खास क्षति भएन । वि.सं. २०७२ सालको भूकम्पमा पनि यो मन्दिर ढलेन तर चर्किएर ढल्कियो ।
मन्दिरमा जमीनको सतहमाथि पाँच तहको पेटी छ । पेटीलाई नेवारीमा फः भनिन्छ । धेरैजसो प्राचीन मन्दिरमा पेटीको तह बिजोर– एक, तीन वा पाँच तहको हुन्छ । न्ह्यातपोल मन्दिरमा पनि पाँच तहकै पेटी छ । पेटीमा प्रायः भगवान वा मन्दिरका रक्षक राखिएका हुन्छन् । यो मन्दिरमा पनि खुट्किलामा रक्षक राखिएका छन् । पहिलो पेटीमा सिक्रीले कुकुर डो¥याएको महिला र पुरुष, दोस्रोमा घोडा, तेस्रोमा गैंडा, चौथोमा नरसिंह र पाँचौंमा ऊँट छ ।
कुकुर पाल्ने चलन त्यतिवेला पनि रहेछ । हाम्रो धर्मशास्त्रमा कुकुरलाई भैरवको बाहन मानिन्छ । तिहारमा कुकुर पूजा गरिन्छ ।
घोडालाई परापूर्वदेखि नै सवारी साधनको रुपमा प्रयोग गरेको देखिन्छ । गैंडालाई पनि पेटीको एक तहमा राखिएबाट जङ्गली जनावरप्रतिको प्रेम बुझ्न सकिन्छ । ऊँटलाई पेटीको माथिल्लो तहमा राखिएकाले मरुभूमिको जनावरबारे पनि त्यतिवेला ज्ञान रहेको देखिन्छ । फोटोग्राफी आविष्कार नै नभएको बेलामा तत्कालीन कलाकारले अरुले भनेको भरमा ऊँटको मूर्ति बनाएका रहेछन् । त्यतिवेलाको समाजमा पशु र मनुष्यको राम्रो मिलन यी प्रस्तर मूर्तिबाट देखिन आउँछ । मन्दिरको चौथो तलाको बाहिरी भागमा चारैतिर प्रस्तरकै उड्ने सिंह छन् । शिलु महादेव र नृत्य वत्सलामा पनि यस्तै सिंह थिए ।
बाहिरी स्वरुप प्रष्ट देखिएको मन्दिरलाई भत्काएर बनाइएकोले पुनर्निर्माण धेरै सजिलो भयो । मन्दिरको पूर्व र दक्षिणतिर तबा सत्तल छ । सत्तलको दक्षिण पश्चिमको केही भाग भत्किएको थियो ।
अहिले पुनर्निर्माण सकिने अवस्थामा पुगेको छ । भक्तपुरका वि.सं. १८९० र १९९० का भूकम्पमा भत्केका मन्दिर पनि पुनर्निर्माण गर्न बाँकी छन् । अब ती मन्दिर पनि पुनर्निर्माण र जीर्णोद्धारमा पुरातत्त्व विभाग तथा भक्तपुर नगरपालिकाले पहल गरे हाम्रा सम्पदा ठडिरहने मौका पाउने थिए ।