भव्य बनाउने ध्याउन्नमा भएको चूक
सामान्य तरीकाले भ्रमण वर्ष उद्घाटन गर्न सकिन्थ्यो, तर पोखरामा कार्यक्रम भव्य बनाउने ध्याउन्नमा सामान्य सतर्कता पनि नअपनाउँदा अर्थमन्त्री र मेयर घाइते हुने गरी दुर्घटना भयो।
डिजिटल तरीकाले पानसमा दियो बाल्न ‘स्वीच अन’ गर्न भन्दै उद्घोषकले अर्थमन्त्री विष्णु पौडेललाई स्टेज अगाडि निम्त्याए। साथैमा थिए, पोखरा महानगरका मेयर धनराज आचार्य। सबै अतिथि मञ्चमा लामबद्ध भएर उभिए।
‘पोखरा भ्रमण वर्ष, २०२५’ उद्घाटन गर्न पोखराको प्रदर्शनी केन्द्रमा आयोजित कार्यक्रमको दृश्य हो, यो। सामान्य रूपमा अघि बढिरहेको कार्यक्रममा यसपछि जे भयो, त्यो कसैले सोचेका थिएनन्।
दियो जलाएपछि भ्रमण वर्षको लोगो अनावरणको कार्यक्रम हुन्छ। त्यत्तिकैमा मेयर आचार्य ब्यानर राखिएको बेलुन उडाउने कार्यक्रम भएको उद्घोषकलाई इशारा गर्छन्। आफ्नो स्थानतर्फ फर्किरहेका अर्थमन्त्री पौडेललाई पनि बेलुन उडाउन आग्रह गर्छन्।
डिजिटल पानसमा बलिरहेको दियोबाट आगोका झिल्का आइरहेका हुन्छन्। मञ्चको अगाडि आगोका झिल्का फ्याँक्ने विद्युतीय ‘स्पार्किङ मशिन’ बलिरहेको थियो। त्यत्तिकैमा हाइड्रोजन भरिएका बेलुनका दुई मुठा लिएर अर्थमन्त्री पौडेल र मेयर आचार्यलाई दिइन्छ।
मेयर आचार्य र अर्थमन्त्री पौडेलले समाउन खोज्दा नै आगोको झिल्काले बेलुनलाई भेट्छ र बेलुन पड्किन्छन्। हाइड्रोजन भरिएका बेलुन पड्किंदा निस्केको आगोको ज्वालाले मेयर आचार्यको कपाल र अनुहार तथा अर्थमन्त्री पौडेलको हात जल्छ।
अर्थमन्त्री विष्णु पौडेल र मेयर धनराज आचार्यले उडाउन खोजेका बेलुनमा लागेको आगोको झिल्को।
यति वेला दुवै जनाको काठमाडौंस्थित कीर्तिपुर अस्पतालमा उपचार भइरहेको छ। अस्पतालका निर्देशक डा. किरणकिशोर नकर्मीका अनुसार प्रारम्भिक मूल्यांकनमा दुवै जनाको शरीरको पाँचदेखि ६ प्रतिशत जलेको देखिएको छ। तर अनुहारमा जलन भएकाले श्वासनली र फोक्सोमा असर पर्ने सम्भावना रहेकाले उच्च निगरानीमा राखिएको निर्देशक नकर्मी बताउँछन्।
अर्थमन्त्री लगायत व्यक्तिहरू भएको कार्यक्रममा लापरवाही गरिएको भन्दै सामाजिक सञ्जालमा टीकाटिप्पणी भइरहेको छ। यति ठूलो कार्यक्रममा सामान्य सुरक्षाको पनि ख्याल नगरिएको भन्दै महानगरको आलोचना भइरहेको छ। पोखराका नागरिक अभियन्ता रामबहादुर पौडेलले सार्वजनिक समारोह, मेला-महोत्सव र विवाहमा गरिने पटाका-आतिसबाजीलाई प्राथमिकता दिन नहुने बताएका छन्।
अर्का, सामाजिक सञ्जाल प्रयोगकर्ता सुदीप घिमिरे लेख्छन्, ‘हाइड्रोजन भरिएको बेलुन आगोको नजीक पर्दा पोखरा भ्रमण वर्षको उद्घाटनमा दुर्घटना : सामान्य सुरक्षाको ख्याल पनि भएन?’
आगो सल्केर बेलुन पड्किंदा निस्केको ज्वालाको बीचमा अर्थमन्त्री विष्णु पौडेल र मेयर धनराज आचार्य।
त्यस्तै, जलनपीडितका पक्षमा पैरवी गर्दै आएका उज्ज्वलविक्रम थापाले लेखेका छन्, ‘आज पनि दुई नेपाली नागरिक जलेर अस्पताल पुगे। ठूलै नागरिक परेछन्, हेलिकोप्टरमा आए। आगोले पक्षपात गर्दैन भनेको दशकौं भयो, अब त पत्याउने होलान्। शीघ्र स्वास्थ्यलाभको कामना सहित जलन अस्पताल बनाउनुपर्ने ज्ञान प्राप्त होस्।’
पोखरामा दुवै जनाको उपचार सम्भव नभएपछि हेलिकोप्टर मार्फत कीर्तिपुर अस्पताल लगिएको हो। घटना भए लगत्तै पौडेललाई गण्डकी मेडिकल कलेज शिक्षण अस्पताल र आचार्यलाई फिस्टेल अस्पताल लगिएको थियो। दुवै अस्पतालले रिफर गरेपछि उनीहरूलाई पोखराबाट काठमाडौं पुर्याइएको छ।
लापरवाही कि अज्ञानता?
शुरूआतको डिजिटल उद्घाटनमा स्टेजमा अर्थमन्त्री पौडेल, मेयर आचार्य सहित अन्य कर्मचारी, पत्रकारको भीड थियो। बेलुन उडाउँदा भने सबै टाढा गएका थिए, आकाशमा उडेको हेर्न। जसले गर्दा घाइते हुनबाट धेरै मानिस जोगिए।
पोखरा महानगरका प्रवक्ता मोतीलाल तिमिल्सिना यसमा केही कमजोरी भएको स्विकार्छन्। उनी यसलाई प्राविधिक त्रुटि बताउँछन्। “यस्तो किसिमको नियमित नै गरिंदै आएको थियो। यो भव्य तरीकाले गर्न खोजेका थियौं, त्यसका लागि डिजिटल सामग्री प्रयोग भएको थियो,” प्रवक्ता तिमिल्सिना भन्छन्, “तर यस्तो प्राविधिक त्रुटि हुन पुग्यो। यो भवितव्य नै भएको हो।”
घाइते भएका मेयर धनराज आचार्य।
डिजिटल उद्घाटनको प्रविधि काठमाडौंबाट मगाइएको थियो। पोखरा महानगरका कार्यक्रममा अति प्रज्वलनशील ग्यासलाई बेलुनमा राखेर उडाएको यो पहिलो पटक होइन। महानगरले गरेका प्रायः कार्यक्रममा बेलुन उडाउने काम नियमित रूपमै गरिंदै आएको छ। तर आवश्यक सतर्कता अपनाउने गरेको देखिंदैन।
पोखरास्थित पृथ्वीनारायण क्याम्पसको रसायन विज्ञान विभागका प्रमुख एवं सहायक प्राध्यापक कमलराज सापकोटा आजको दुर्घटनामा लापरवाही र प्राविधिक ज्ञानको कमी देखिएको बताउँछन्। सापकोटाका अनुसार बेलुनमा हाइड्रोजन ग्यासको प्रयोग जोखिमपूर्ण हुन्छ। सुरक्षालाई ध्यानमा राखेर हेलियम ग्यास प्रयोग गरिन्छ। तर पोखरामा बेलुनमा हाइड्रोजन ग्यास मात्रै प्रयोग गरिएको थियो।
“बेलुनमा प्रयोग गर्न हेलियम ग्यास सुरक्षित हो। हाइड्रोजन पनि अन्य ग्यासमा मिसाउँदा कम जोखिम हुन्छ,” सापकोटा भन्छन्, “बेलुनमा पूरै हाइड्रोजन प्रयोग गरिएको देखियो। हाइड्रोजन ग्यास भरिएको बेलुन तातो हुँदा पनि जल्छ।”
भ्रमण वर्ष उद्घाटन समारोहमा त डिजिटल पानस र स्टेज वरिपरि राखिएका डिजिटल बोर्डबाट आगोका झिल्का निस्किरहेका थिए। सतर्कता अपनाएको नदेखिएको बताउँदै सापकोटा भन्छन्, “प्राविधिक ज्ञान कम भएको मान्छेले प्रयोग गरिएको देखियो।”
कीर्तिपुर अस्पतालमा अर्थमन्त्री पौडेल र मेयर आचार्यको उपचारमा संलग्न टोलीका सदस्य डा. विशाल कार्की पनि हाइड्रोजन ग्यास भरिएका बेलुन जोखिमपूर्ण हुने बताउँछन्। हाइड्रोजन भरिएका बेलुन प्रयोग गर्दा आगलागी र जलनका घटना बढिरहेको डा. कार्की बताउँछन्। गत साता मात्र पार्टीमा यस्तै घटना हुँदा घाइते भएका व्यक्ति अस्पताल पुगेको उनी सुनाउँछन्। “अहिले विशेषत: पार्टी, जन्मदिन मनाउने लगायतका कार्यक्रममा बेलुनको प्रयोग र त्यसमा पनि अनुहार नजीकै लैजाने गरिएको छ। यसमा जोखिम हुन्छ,” डा. कार्की भन्छन्।
उनी हाइड्रोजन भरिएका बेलुन प्रयोग नगर्न सुझाउँछन्। यस्तो घटना भइहालेमा तत्कालै १०-१५ मिनेट धाराको पानी खोलेर जलेको ठाउँमा थाप्ने र त्यसपछि अस्पताल लैजानुपर्ने बताउँछन्।
यस्ता किसिमका घटनामा घाइतेलाई दुई वटा जोखिम हुने उनी सुनाउँछन्। “एक, अनुहारमा जलन हुने भएकाले श्वासनलीमा समस्या आएर निमोनिया हुन सक्छ,” डा. कार्की भन्छन्, “अर्को, कुनै बिरामीमा तीन-चार दिनपछि जलन गहिरिन सक्ने भएकाले अपरेशन नै गर्नुपर्ने हुन्छ।”
पोखराको दुर्घटनामा घाइते भएका अर्थमन्त्री पौडेल र मेयर आचार्यलाई पनि त्यस्तै जोखिम हुन सक्ने अस्पतालले जनाएको छ। कीर्तिपुर अस्पतालका निर्देशक डा. नकर्मीले भनेका छन्, “प्रारम्भिक मूल्यांकन अनुसार ५-६ प्रतिशत जलेको, तर अनुहारमा जलन भएकाले श्वासनली र फोक्सोमा असर पर्न सक्ने सम्भावना रहेकाले उच्च निगरानीमा उपचार गर्नुपर्ने आवश्यकता देखिन्छ।” त्यसैले दुवै जनालाई आईसीयूमा राखेर चार वटा विशेषज्ञ टोलीले निगरानी गरिरहेका छन्।