पौडेल र आचार्यलाई उच्च निगरानीमा राखेर उपचार
आगो सल्किएर बेलुन पड्किंदा घाइते भएका अर्थमन्त्री विष्णु पौडेल र पोखराका मेयर धनराज आचार्यलाई उच्च निगरानीमा राखेर उपचार भइरहेको छ।
पोखरा भ्रमण वर्ष उद्घाटन समारोहमा बेलुन पड्किंदा शनिबार मध्याह्नतिर अर्थमन्त्री पौडेल र मेयर आचार्य घाइते भएका थिए। दुवै जनाको कीर्तिपुर अस्पतालको सघन उपचार कक्ष (आईसीयू)मा उपचार भइरहेको अस्पतालका निर्देशक डा. किरणकिशोर नकर्मीले जनाएका छन्।
निर्देशक नकर्मीका अनुसार प्रारम्भिक मूल्यांकनमा ५-६ प्रतिशत जलेको देखिएको छ। अनुहारमा जलन भएकाले श्वासनली र फोक्सोमा असर पर्न सक्ने जनाइएको छ।
अस्पतालले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘प्रारम्भिक मूल्यांकन अनुसार ५-६ प्रतिशत जलेको, तर अनुहारमा जलन भएकाले श्वासनली र फोक्सोमा असर पर्ने सम्भावना रहेकाले उच्च निगरानीमा उपचार गर्नुपर्ने आवश्यकता देखिन्छ।’
दुवै जनाको उपचारमा चार वटा टोली खटिएको अस्पतालले जनाएको छ। प्रा.डा. बीडी झा र डा. प्रवीण गिरी सहित सघन उपचार कक्षको टोली, प्रा.डा. शंकरमान राई, डा. विशाल कार्की र डा. मनीष यादव सहित जनल विशेषज्ञहरूको टोली, डा. प्रयुस अर्याल लगायत आकस्मिक उपचार टोली तथा रिना गौचन, निर्मला कुँवर र तृष्णा महर्जन सहित नर्सिङ टोली उपचारमा संलग्न रहेको अस्पतालका निर्देशक नकर्मीले जानकारी दिएका छन्।
पोखरा सभागृहमा शनिबार मध्याह्न भ्रमण वर्ष २०२५ को उद्घाटन गर्न रिमोटबाट दीप प्रज्वलन गरिएको थियो। त्यसपछि बेलुन उडाउने क्रममा आगाको झिल्काले समातेको थियो। आगाको झिल्काले समात्ने बित्तिकै अर्थमन्त्री पौडेल र मेयर आचार्यको हातमा रहेका बेलुन पड्किएका थिए।
त्यसबाट निस्केको आगाको ज्वालाले जलेर अर्थमन्त्री पौडेल र मेयर आचार्य घाइते भएका हुन्। पौडेललाई उपचारका लागि गण्डकी मेडिकल कलेज शिक्षण अस्पताल लगिएको थियो। चिकित्सकले उनलाई थप उपचारका लागि काठमाडौं रिफर गरेका हुन्। मन्त्री पौडेलका दुवै हात, अनुहार र घाँटी आसपास जलेको छ।
त्यस्तै, मेयर आचार्यलाई उपचारका लागि फिस्टेल अस्पताल लगिएको थियो। प्राथमिक उपचारपछि उनलाई काठमाडौं रिफर गरिएको हो। उनको अनुहार र गाला जलेको छ। पोखरामा उपचार हुन नसकेपछि दुवै जनालाई थप उपचारका लागि हेलिकोप्टरबाट काठमाडौं ल्याइएको हो।