कर्मयोगी कृषिविज्ञ
उमेरले नौ दशक नजीक पुग्दा पनि कृषिविज्ञ शिवबहादुर नेपाली प्रधानको सक्रियता घटेको छैन भने कर्मलाई नै साधना ठान्ने उनी पाँचौं पुस्तकको तयारीमा छन्।
कामलाई पहिलो प्राथमिकतामा राख्ने हकी स्वभावका कृषिविज्ञ शिवबहादुर नेपाली प्रधानले गाह्रोसाह्रो पर्दा पनि कामप्रतिको निष्ठालाई छाडेनन्। ‘नबिराउने नडराउने’ स्वभावका प्रधान राजासँग बोल्न डराएनन्, मन्त्रीलाई पनि यथार्थ यस्तो हो भन्न हच्किएनन्। ८८ वर्ष पार गरेर ८९ वर्षमा हिंडिरहँदा पनि आश्चर्यलाग्दो उनको सक्रिय जीवन एक कर्मयोगीको साधना सरह छ। अहिले उनी चौथो पुस्तकको काम सकेर पाँचौं पुस्तकको तयारीमा छन्।
उमेरले ८८ वर्ष आठ महीना आठ साता आठ घण्टा पार गरेपछि नेवारी समुदायले मनाउँछ, तेस्रो जंकु। परिवार, समाज र देशका लागि धेरै काम गरिसकेको भन्ने ठानेर सम्मान र सुस्वास्थ्यको कामना गर्दै तेस्रो जंकु मनाउने गरिन्छ।
गत साता कृषिविज्ञ शिवबहादुर नेपाली प्रधानले पनि तेस्रो जंकु मनाए। यो उमेरमा आइपुग्दा समाज र देशका लागि गरेका काम त अनगिन्ती छन् नै, उमेरसँगै आर्जन हुने अनुभवका चाङ पनि छन्, प्रधानसँग।
२०१५ सालदेखि कृषि क्षेत्रमा लागेका उनको सक्रियता अहिले पनि कायमै छ। यो उमेरमा पनि उनको सक्रियताले धेरैलाई आश्चर्यचकित बनाउँछ। “म सानैदेखि काम गर्ने परिपाटीमा हुर्किएँ,” प्रधान थोरै बोल्छन्।
२०७२ चैतमा जीवनसँगिनी गौरीरानी प्रधानले बोल्दाबोल्दै छाडेर गएपछि उनी एक्लिए। श्रीमतीको निधनपछि विरक्तिएका उनले कलमको सहारा लिए। आफूले कृषि क्षेत्रमा बिताएका अनुभव लेख्न थाले। कृषिमा मेरो बाटो शीर्षकको पुस्तक २०७८ मा प्रकाशित भयो।
.jpeg)
त्यसपछि उनले श्रीमतीसँगको स्मरणलाई लिपिबद्ध गर्न थाले। पुस्तकको शीर्षक छ, ५ः२५। बिहान पाँच बजेर २५ मिनेट जाँदा नै गौरीरानीले संसार छोडेकी थिइन्। विषयगत किताबमा मात्रै लागिरहेका उनलाई श्रीमतीसँगको सम्बन्ध उतार्दा अर्कै खालको आनन्द आएको सुनाउँछन्। केही बेर सोचमग्न हुँदै प्रधान भन्छन्, “जब किताब लेखिसकियो, तब कपास झैं हलुका भएँ।”
बैठक कोठाको दक्षिणी भित्तामा गौरीरानीको तस्वीर फ्रेममा राखेका छन्। सधैं धूप जलाउँछन्। उनलाई लाग्छ, शारीरिक विछोड भए पनि गौरीरानीसँगको आत्मिक सम्बन्ध यथावत् छ।
त्यसपछि उनी नेपालको विकास किन भएन भन्ने विषयमा घोत्लिन थाले। जति प्राकृतिक स्रोत, उर्वर भूमि र जलस्रोतको उपलब्धता छ, त्यस हिसाबले नेपाल अविकासको बाटोमा अलमलिनुपर्ने होइन भन्ने उनलाई लाग्छ। त्यही सोचले नेपाल कहाँ चुक्यो र के गर्दा अघि बढ्न सकिएला भन्ने उनको कृषि दृष्टिकोणमा आधारित विश्लेषण सँगालिएको पुस्तक आयो, नेपाल स्पीक्स।
त्यसैगरी, नेपाल जस्तो पहाडी मुलकको कृषि विकासका लागि कस्तो खाका उपयुक्त हुन्छ भनेर उनले लेखेको शोधग्रन्थलाई पनि पुस्तकाकार दिने काम सकेका छन्। यो पुस्तक मुद्रणको तयारीमा छ। हाल उनी विभिन्न जर्नल तथा पुस्तकमा प्रकाशित आफ्ना अंग्रेजी तथा नेपाली लेखको संग्रह प्रकाशनको तयारीमा जुटिरहेका छन्।
-1.jpeg)
आखिर उनलाई के कुराले प्रेरणा दिइरहेको छ? प्रधान भन्छन्, “पहिल्यैदेखि काम गर्ने परिपाटीमा हुर्किएँ। पहिला नर्सरी र ब्याडको काममा व्यस्त भएँ, अहिले कागज र कलम समाएर काम गर्दै छु।”
उनलाई लाग्छ, समयको जतिसक्दो उपयोग गर्नुपर्छ। विषयगत अनुभव त हाम्रो जस्तो देशमा अझ धेरै उपयोगी हुन्छ। “आफ्नो अनुभव ‘शेयर’ गर्नुपर्छ। मैले गरेको पनि त्यही हो,” सानो स्वरमा बोल्छन्।
प्रधानले कोलम्बो प्लान अन्तर्गत छात्रवृत्तिमा २०१५ सालमा भारतको पुनास्थित पुना कृषि कलेजबाट स्नातक गरे। नेपाल फर्केपछि तत्कालीन ग्राम विकास कार्यालयमा कृषि विकास अधिकृतको जागीर पाए। समयक्रममा त्यही कार्यालयको माथिल्लो निकाय कृषि विभागको महानिर्देशक पनि बने। पछि नेपाल कृषि अनुसन्धान परिषद्को सदस्यसचिव भए। यी दुवै कृषि क्षेत्रका उच्च पद हुन्।
साढे ६ दशकअघि सरकारी जागीर खाँदा तीन तहको तलब थियो। राजपत्रांकितको २०० रुपैयाँ, राजपत्र अनंकितको १०० रुपैयाँ र सहायक स्तरको पिउनको ७० रुपैयाँ। विकास अन्तर्गत काम गर्ने राजपत्रांकित कर्मचारीले थप ५० रुपैयाँ पाउँथे। यसरी मासिक २०० रुपैयाँबाट काम थालेको उनलाई हिजो जस्तै लाग्छ।
त्यति वेलाको तलबको तुलना गर्दै उनी एक तोला सुनको भाउ १०० रुपैयाँ रहेको सुनाउँछन्। घ्यू आठ रुपैयाँ धार्नी थियो भने चामल मानाको २० पैसा। एक ग्यालन पेट्रोलको मोल पाँच रुपैयाँ पर्थ्यो।
साढे ६ दशकअघिको धनकुटा यात्रा
शुरूआती दिनमा ग्राम विकासमा काम गर्न गोकर्णमा खटिए। एक दिन बिहानै गाई ब्याउन नसकेर छटपटाइरहेको खबर आयो। उनी सहायक कर्मचारी नरेन्द्र थापालाई लिएर किसानको घर पुगे।
एन्टिसेप्टिक, लुब्रिकेन्ट केहीको चलन थिएन। जेटीए थापाले साबुनपानीले हात धोए र तानेर बाछी निकाले। भेला भएका सबै चकित परेको उनी सुनाउँछन्।
यस्ता कैयौं अनुभव छन्, उनीसँग। ती घटना सम्झँदा र अहिलेको अवस्था हेर्दा विकास भएको महसूस गर्छन्। “हाम्रा पालामा सेवासुविधा केही थिएन, न त केही सरसामान नै थियो। तर काम गर्ने जाँगर र उत्साह थियो,” प्रधान पुराना दिन सम्झिँदै भन्छन्, “हामीलाई डर पनि थियो। अहिले धेरै कुरा पाए पनि कर्मचारीमा काम गर्ने जाँगर र उत्साह देख्दिनँ।”
एक वर्षमै गोकर्णबाट पूर्वी नेपालको धनकुटा सरुवा भए। “सूर्यप्रसाद श्रेष्ठलाई कार्यालयको जिम्मा लगाएर आउनु भनी मलाई खटाइयो,” उनी भन्छन्।
त्यो वेला धनकुटा जान सजिलो उपाय भनेको काठमाडौंबाट विराटनगरसम्म हवाईजहाज र त्यहाँबाट धूले बाटो थोत्रो बसमा धरान जानुपर्थ्यो। अनि ठाडो उकालो चढेर धारापानी हुँदै ओरालो ओर्लिएर भोलिपल्ट लेउती खोला तरेर धनकुटा पुगिन्थ्यो।
अझै के बिर्सेका छैनन् भने फुस्रेको डाँडा पुग्दा मध्यदिन भएको थियो। त्यहाँको एउटै छाप्रो जस्तो पसलमा चिया र पानी मागे। पसलेले ल्याइदिएको एक गिलास पानीले हिंड्दाहिंड्दा हपहप भएको ज्यानलाई शीतल पार्न मुख धोए। मुख धोएको देखेपछि ‘कहाँदेखिन् पानी बोकेर ल्याउनुपर्छ, यसै खेर फाल्ने? चियासिया केही बन्दैन अब’ भनेर होटलवालाले हपारे।
पानीको दुःख छ भन्ने उनलाई के थाहा? पसलेलाई नरम भाषामा अनुरोध गर्दै ‘पानीको पैसा लिनुस् न त’ भन्दा उल्टै गाली खाएको उनी सुनाउँछन्। “पसलेले ‘पानीको पनि पैसा लिन्छ कोही? अब चियासिया बन्दैन’ भनेर थर्काए। बल्लतल्ल फकाइफुल्याइ पारें,” प्रधान भन्छन्।
धनकुटामा पुग्दा पनि पानीको दुःखै रहेछ। पछि सिंधुवाबाट पाइप बिच्छ्याएर पानी ल्याइयो। तर बाटो हिंड्नेले पानीको पाइपलाई खुकुरीले काटेर त्यत्तिकै छाड्दा रहेछन्। त्यसैले धनकुटामा सधैं पानीको समस्या हुने रहेछ। पछि सबै पाइपलाई तीन फिट जमीनमुनि गाडेपछि सुरक्षित भएको उनी बताउँछन्।
उनको कार्यालय ग्राम विकास केन्द्रमा काम गर्ने ग्रामसेवक तथा जेटीएहरूलाई के कुरामा सचेत गराइएको थियो भने, गाउँघरमा काम गर्दा महिलालाई नजिस्क्याउनू, रक्सी नखानू, गाउँलेको कुनै पनि सामान जबर्जस्ती नलिनू। एक पटक धनकुटाको तान्खुवा गाउँमा ग्रामसेवक तथा जेटीएहरूले सहयोग गर्दा स्थानीय बासिन्दा खुशी भएर छ्याङ पिउन दिएछन् र साथमा एउटा कुखुरा पनि कोसेली।
माथिको उर्दी अनुसार कर्मचारीले गाउँलेले दिएको कोसेली लिन मानेनन्। आफूले दिएको कोसेली नलिएपछि गाउँले ‘तिमीहरू हाम्रा मानिस होइन रहेछौ’ भनेर रिसाएछन्। त्यसपछि भने छ्याङ पिएछन्, र कुखुरा पनि लिएर आएछन्। “हामीले त्यसरी काम गरेका थियौं, तर अहिले त एउटा सिफारिश लिन आउने निमुखा किसानले पनि निकै खुसामद गर्नुपर्छ भनेको सुन्दा साह्रै दुःख लाग्छ,” उनी निराश सुनिन्छन्।
अहिले जैविक खेतीको कुरा गरिन्छ, तर नेपालीहरूले शुरूमै बाटो बिराएको उनी ठान्छन्। नेपाली कृषि परम्परामा जैविक खेती पनि फस्टाएकै थियो र साथै बहुबाली खेतीको परम्परा पनि थियो, तर आधुनिकताले ती सबै हराए। “सबै कुरा आयातीत भए,” उनी भन्छन्।
.jpeg)
मल र कीरा मार्ने औषधिको धेरै प्रयोग गर्दा स्वास्थ्यमा असर परेको छ। क्यान्सर रोग बढ्नुको एउटा कारण मल र विषादीको प्रयोगलाई पनि लिइएको छ। “लामखुट्टे तथा कीरा मार्ने प्रयोग गरिने ‘फलिडल’ कति कडा थियो भने त्यसको प्रत्यक्ष-अप्रत्यक्ष असरले काग, गिद्ध, स्याल, बाघ मरेका थिए,” उनी ६ दशकअघिको कुरा सुनाउँछन्।
पछि यो विषादीलाई प्रतिबन्ध लगाइयो। यद्यपि स्वास्थ्यका लागि हानिकारक अनेकौं औषधि तरकारी तथा फलफूल उत्पादनमा व्यापक उपयोग भइरहेकै छन्, जसको अनावश्यक र अत्यधिक उपयोगमा रोक लगाउन अवेला भइसकेको उनको भनाइ छ।
जन्मस्थान पुग्दा खुशी
धनकुटापछि उनी जन्मथलो इलाम सरुवा भए। १९९३ साल ज्येष्ठ शुक्ल अष्टमीका दिन इलाममै जन्मिएका थिए। त्यति वेला उनका बुबा मालपोतका कर्मचारी थिए। काठमाडौंको गणेशस्थान पुर्ख्यौली थलो भएका उनी तीन वर्षको हुँदासम्म इलाममै बसे। त्यसपछि बुबाको सरुवासँगै धुलिखेल पुगे। “इलाम छोडेको २० वर्षपछि ग्राम विकासको अधिकृत भएर फर्किएको थिएँ,” यति बोल्दा उनको अनुहार प्रफुल्ल देखियो।
ग्राम विकास अन्तर्गत उनले इलाममा भारतको कालिम्पोङबाट सुन्तला जातका बिरुवा ल्याएर कृषकलाई वितरण गर्ने कार्यक्रम चलाए। त्यस्तै, कलकत्ताको हरिणघाटा फार्मबाट कुखुराका चल्ला र बंगुर ल्याएर किसानलाई वितरण गरेर आत्मनिर्भर र उत्पादनमुखी हुने वातावरण बनाए। “इलामको सलकपुरमा डाँडै पहेंलपुर हुने गरी सुन्तला उत्पादन हुने गरेको थियो, तर अहिले मासियो,” उनी भन्छन्, “कृषिप्रधान देश भन्छौं, तर कृषि कसरी ओरालो लागिरहेछ भन्नेतर्फ ध्यान दिंदैनौं। अब सचेत हुनुपर्छ।”
२०१७ पुस १ मा उनी इलामस्थित ग्राम विकास केन्द्रमा महीनावारी प्रगति समीक्षा र भावी कार्यक्रमको छलफलमा थिए। एक जना स्टाफ रेडियो सुनेर बसिरहेका रहेछन्। उनले एक्कासि बैठक चलिरहेको ठाउँमा आएर भनेछन्, “राजाबाट देशको बागडोर सम्हालिबक्स्यो।” त्यो क्षण स्मरण गर्दै प्रधान भन्छन्, “हामी सबै स्तब्ध भयौं। बैठक सकियो। अब के हुने हो, कसो हुने हो अन्योल भयो।”
त्यो दिन बेलुकाको खाना खान प्रहरीका हाकिमले बोलाएका थिए। त्यहाँ त पक्कै केही सूचना आएको होला भन्ने अनुमान लगाएँ, तर नयाँ कुरा केही थाहा लागेन।
साँझ राजाको कदम विरुद्ध मसाल जुलूस निस्क्यो। भोलिपल्ट दिउँसो हवाईजहाजले ‘श्री ५ महाराजाधिराजले देशको शासनसत्ता सम्हालिबक्सेको जानकारी पत्र’ छरेर गयो।
उनले सोचे- अब विकासको कामले गति लिन गाह्रो छ। अनि काठमाडौं फर्किएर ग्राम विकासबाट प्राविधिक अनुसन्धानतर्फ काम गर्ने निर्णय गरे। त्यसपछि उनको जीवनको अधिकांश समय कृषि अनुसन्धान र कृषि विकासमै बित्यो।
पञ्चायती व्यवस्था लागू भएपछि नयाँ प्रशासनिक संयन्त्र बन्यो। उनले काम गर्ने ग्राम विकास केन्द्रहरू पञ्चायत विकास केन्द्रमा परिणत भए। पछि जिल्ला प्रशासन कार्यालयमा रूपान्तरित भए।
अर्कातर्फ, हरेक विभागले जिल्ला जिल्लामा आआफ्ना कार्यालय खोले। समन्वयको अभाव भयो। “विकेन्द्रीकरणका नाममा जिल्लामा स्थापित कार्यालय र विभागसँग प्राविधिक सम्पर्क नै छुट्दा विकास छिन्नभिन्न हुन पुग्यो,” उनको बुझाइ छ।
इलामबाट फर्किएर कीर्तिपुरस्थित बागवानी अनुसन्धान केन्द्रमा स्थापनाकालदेखि लगातार ६ वर्ष काम गरे। बागवानीको जग्गा विश्वविद्यालयसँगै लिनुको कारणबारे उनका हाकिम शम्भुमान सिंहले सुनाएका थिए- अनुसन्धानका साथै विश्वविद्यालयसँग समन्वय गरेर बागबानी विषय अध्ययन गराउन सकिन्छ। “सोचे अनुसारको काम हुन सकेन, किनभने कृषि विभागको यस्तो कार्यक्रम नै थिएन,” उनी भन्छन्।
कीर्तिपुर बागवानी अनुसन्धानमा तीन विषयमा काम हुन्थ्यो- फलफूल, तरकारी, केही मात्रामा फूल र सुनगाभा संरक्षण। यसका साथै बागवानीमा नयाँ अधिकृतहरू भर्ना हुँदा र बाहिर काम गर्न जानुअघि तीन महीना बागवानी सम्बन्धी तालिम दिइन्थ्यो। “बेलायतको प्रख्यात मालिङ स्टेशनमा अध्ययन गरेर आउनुभएका बागवानी शाखा प्रमुख शम्भुमान सिंहले तरकारीका उन्नत बिरुवा विकास गर्न बिरुवाको प्रजनन कार्य नेपालमा शुरू गर्नुभएको थियो। जसको सबैजसो काम कीर्तिपुरमा हुन्थ्यो,” उनी सुनाउँछन्।
.jpeg)
अहिले नर्सरी कार्यक्रम, काँटछाँट कार्यक्रम र यस सम्बन्धित तालीम कम भएको उनको भनाइ छ। सात इन्चभन्दा तल नै कलमी गर्दा बिरुवाहरू चाँडै मर्ने गरेका छन्। कलमी गरेर उत्पादन गर्नुपर्ने बिरुवा बीउबाट उत्पादन गर्ने, संख्या पुर्याउनका लागि मात्र बिरुवा उत्पादन भएको जस्तो उनलाई लाग्छ।
बागवानी अनुसन्धान केन्द्रको इन्चार्ज हुँदा उनले काठमाडौं बाहिरका ककनी, धुनिबेसी, त्रिशूली, पोखरा, धनकुटा, जनकपुर, परवानीपुर, यज्ञपुरी, चितवन, जुम्ला, मुस्ताङका कृषि केन्द्रहरूको समन्वय गरे। ती ठाउँ पनि गए।
बाँसका कटेरोमा वास
कीर्तिपुरबाट २०१८ सालमा एक्कासि धनकुटा पुगे। धनकुटा पारिपात्लेमा सिट्रस (सुन्तला जात) अनुसन्धान केन्द्र स्थापना गर्न अर्का अधिकृत केशवबहादुर राजभण्डारी जग्गा अधिग्रहणको काममा खटिएका थिए। “उहाँको बिहे हुन भएकाले म १५ दिनका लागि काजमा खटिएँ,” उनी सुनाउँछन्।
धनकुटा पुग्दा जग्गा अधिग्रहणको काम भइरहेको थियो। उनी दिनहुँ धनकुटा बजारबाट पारिपात्ले आउजाउ गर्थे। बिहान खाना खाएर गयो, दिनभरि पारिपात्लेमा काम गर्यो, साँझ फर्कियो। बाटो झन्डै दुई घण्टाको थियो। अफिस खडा गर्नु थियो। कर्मचारीमा उनी र अर्को एक जना चौकीदार थिए। अरू प्राविधिक आउने क्रममा थिए।
कार्यालय बन्ने ठाउँ नजीकै रहेको गोठ उनले अफिसका लागि भाडामा लिन खोज्दा महीनाकै एक हजार बहाल मागे। त्यहाँ पैसा लगानी गर्नुका साटो उनले खरले छाएको बाँसको टहरा बनाउने र राति वासको पनि जोहो हुने ठाने। “बाँसको टहरा र खाट बनाएर हामी दुई त्यहीं बस्न थाल्यौं। लालटिनको उज्यालोमा गुजारा गर्थ्यौं,” उनी भन्छन्, “राति कस्तो सन्नाटा र एकलास हुन्थ्यो भने हुचिलको आवाज साह्रै चखिलो लाग्थ्यो।”
एक रात मुसलधारे पानी दर्कियो। छाएको खर राम्ररी कसिएको रहनेछ। सुत्ने ठाउँमा पानीको धारा लाग्यो। उनले आफूसँग भएको बर्सादीले सुत्ने र लगाउने कपडा तथा सरकारी कागजपत्र जोगाए। आफू भनेर रातभर भिजे। “अनि भोलिपल्ट बिहानै धनकुटा गएर छाना राम्ररी कस्न मान्छे लिएर आएँ,” हाँस्दै सुनाउँछन्।
समयक्रममा अरू कर्मचारी आउँदै गए। केशवबहादुर राजभण्डारीको ठाउँमा हरिप्रसाद गुरुङ गए। उनको १५ दिने काज तीन महीना लम्बियो।
मन्त्रीको अगाडि बोल्दा
धनकुटाबाट फर्किएको दिन उनी सोझै सिंहदरबारको पुतली बगैंचामा रहेको कृषि विभाग पुगे। निर्देशक जानकीप्रसाद प्रधान बाल्कोनीमा थिए। उनले तलैबाट नमस्कार गरे। निर्देशकज्यूले उनलाई अंग्रेजीमा भने, “हामी कुरा गर्दैनौं, काम गर्छौं।”
उनले पनि तत्काल जवाफ फर्काए, “कहिलेदेखि?”
१५ दिनका लागि काज पठाएर तीन महीना खटाएको विषयमा उनले निर्देशकलाई पत्र लेखेका रहेछन्। सोही पत्रले निर्देशक जानकीप्रसाद प्रधानलाई बिझाएको रहेछ। अनि नमीठो वचन खानुपर्यो। तर उनी हाकिमसँग मात्रै होइन, राजा र मन्त्रीका अगाडि पनि आफ्ना कुरा हाकाहाकी राख्थे।
२०२३ सालमा उनी कृषि विभागको बालीतर्फको उपमहानिर्देशक भएका वेला एक दिन मन्त्रालयमा भएको एउटा बैठकमा ‘कृषिमा जति लगानी गरे पनि कुनै उपलब्धि देखिएन’ भन्ने कुरा उठ्यो। बैठकमा अर्थमन्त्री भेषबहादुर थापा र कृषिमन्त्री खड्गबहादुर सिंह उपस्थित थिए। त्यो कुरा उठ्दा सबै चूप लागेर बसे। कसैले केही जवाफ दिन नसकेपछि उनले बोल्ने अनुमति मागे र केही तथ्य सुनाए।
२०१५ सालमा एक हेक्टर जमीनबाट १०० देखि २०० किलो गहुँ उत्पादन हुन्थ्यो। अहिले औसत उत्पादन एक हजार केजी पुगेको छ। धान, मकै, गहुँ बालीमा अनुसन्धान जारी छ, उत्पादकत्व बढाउने आधार छन्।
हामीले जागीर शुरू गर्दा कुखुराको अन्डा खान कि जन्मदिन आउनुपर्थ्यो कि त चाडबाड कुर्नुपर्थ्यो। अहिले कुखुरापालन व्यवसायले गर्दा सक्नेले दिनको दुई वटा अन्डा खान सक्छन्। यस्तै, बंगुरपालन, गाईपालन, भेडा-बाख्रापालन फस्टाउँदै छ।
फलफूलतर्फ पनि बगैंचा विस्तारको काम तीव्र हुँदै छ। सुन्तला खेती बढाउन वर्षमा ३०० नर्सरी स्थापना भएका छन्।
उनले यति के भनेथे, अर्थमन्त्री थापाले ‘यी कुरा तपाईंहरूलाई थाहा छ/छैन भनेर नै कृषिमा लगानी अनुसार कृषि उत्पादन बढेन भनेर तपाईंका सामु कुरा उठाएको हो’ भन्दै कुरा मोडे। “मैले कृषिको बचाउ गर्दै भए/गरेका कामको विस्तार गर्दा कृषिमन्त्री खड्गबहादुर सिंह भने धेरै खुशी हुनुभएको थियो,” उनी सम्झन्छन्।
राजासँगको त्यो सवाल-जवाफ
त्यस्तै, २०३५ सालमा कृषि विभागको महानिर्देशक भएका वेला राजा वीरेन्द्रको पश्चिमाञ्चल विकास क्षेत्रको भ्रमणका क्रममा उनी पोखरामा थिए। राजा वीरेन्द्रका सामु मुख्यसचिवले कृषिमा लगानी अपुग भएको अवगत गराए। प्रधानले मुख्यसचिवलाई गरेको ‘ब्रिफिङ’ का आधारमा राजासामु ती कुरा राखिएका थिए।
राजाका अघि त्यस्तो भनिएपछि प्रधानमन्त्री कीर्तिनिधि विष्ट, कृषिमन्त्री रवीन्द्रनाथ शर्मा, कृषिसचिव, योजना आयोगका उपाध्यक्ष सबैले एकअर्काको अनुहार हेरे, कसैले केही बोल्न सकेनन्। उनले भने राजासँग बोल्न अनुमति मागेर बोले, “यदि कुनै हिसाबमा २० पैसा खर्च गर्दा ४० पैसा आउने तय छ भने कहिले २० पैसाको ठाउँमा १० त, कहिले पाँच पैसा खर्च गरेमा १० पैसा फिर्ता आउला। कहिले भएको लगानी नै डुब्न सक्छ। त्यसैले कृषिमा लगानी नपुग्दा कृषि उत्पादन बढ्न सकेको छैन।”
राजाले सोधे, “तिमी भएको भए के गर्थ्यौ त?”
उनले भने, “पहिला त कृषि उत्पादन बढाउन के-के समस्या छन्, कृषिविज्ञले बुझ्नुपर्यो। त्यो थाहा पाउन प्रत्येक गाउँ पञ्चायतमा कृषि समिति हुनुपर्यो। त्यो समितिले निराकरण गर्ने संयन्त्र विकास गर्न सक्दा उत्पादन र आय दुवै बढ्छ।”
राजाले ‘ल त्यसै गर्नू’ भन्ने आदेश दिए।
पोखराबाट फर्केर आएपछि तीन हजार गाउँ पञ्चायतमा तीन हजार कृषि समिति बनाउने खाकामा काम हुँदै थियो, तर मन्त्रालयले ‘अग्रगामी’ भएको देखाउन प्रत्येक वडामा कृषि समिति खडा गर्ने निर्णय गर्यो। “मैले तीन हजार कृषि समिति बनाउन चुनौती देखिरहेको थिएँ। मन्त्रालयले प्रत्येक गाउँ पञ्चायतमा नौ वटाका दरले २७ हजार कृषि समिति गठन गर्ने निर्णय गर्दा सम्पूर्ण सोच हावामा उड्यो। काम भएन,” उनी भन्छन्।
.jpeg)
नेपालमा कामभन्दा कुरा बढी हुन्छ भन्ने उदाहरण यसैलाई दिन्छन्। यो प्रवृत्ति पहिलादेखि अहिलेसम्म उस्तै रहेको उनको बुझाइ छ। उनलाई लाग्छ, समस्या छ भन्ने सबैलाई थाहा हुन्छ। समस्याको समाधान यो यो हुन सक्छ भन्ने विचार गर्न सक्ने थोरै हुन्छन्। अनि समस्यालाई निराकरण गर्न लागिपर्ने एक वा दुई जना मात्र हुन्छन्।
समस्याको निराकरण गरेरै छोड्छु भनेर लागिपर्ने नेतृत्वदायी क्षमता भएको व्यक्ति समाजमा हतपती भेटिन्न, न त कुनै शिक्षालयबाट तयार गर्न सकिन्छ। त्यसैले नेतृत्वको महत्त्व छ भन्ने गरिएको उनी सुनाउँछन्। “हाम्रोमा न नेतृत्वको महत्त्व बुझ्ने मान्छे छन् न त नेतृत्व बनाउने वातावरण छ,” उनी थप्छन्, “सजिलो काम भनेको कुरा काट्ने हो, धेरैले त्यसैमा आफूलाई व्यस्त बनाएका छन्।”
कृषिमा भित्रिएको भद्रगोल
२०३४ वैशाखमा एकदिन कृषिसचिव दीर्घराज कोइरालाले कृषिमन्त्री रवीन्द्रनाथ शर्माको उपस्थितिमा उनलाई कृषि विभाग राम्ररी चल्न नसकेकाले विभागको जिम्मा लिनुपर्यो भने। उनले आफूभन्दा सिनियर १०-११ जना कर्मचारी रहेको र बिस्तारै आफ्नो पालो आइहाल्ने कुरा राखे। तर दुवै जनाले ‘तपाईंसँग राय लिन खोजिएको होइन, तपाईं महानिर्देशकको जिम्मा लिने कि नलिने’ भनेर सोधे।
जिम्मा लिने, तर केही शर्त रहेको सुनाए। दुवै जनाले लेखेर दिन भने। तीन पृष्ठको प्रस्ताव लेखेर बुझाएको तीन महीनापछि कार्यवाहक महानिर्देशक तोकिए। आफूले सकेको काम गर्दै गए र गोरखा दक्षिण बाहु पनि पाए। जनमत संग्रहपछि भने उनी जगेडामा परे। २०१७ सालपछि जस्तै निराश भए। यो निराशालाई चिर्न भने पढ्न बेलायत हुइँकिए।
बेलायतको रेडिङ युनिभर्सिटीमा उनले पहाडी क्षेत्रको विकासको खाका कस्तो हुनुपर्छ भन्ने विषयमा अध्ययन गरे। सात महीनामा अध्ययन पूरा भयो। उनी विद्यावारिधि गर्न चाहन्थे। तर उनलाई भनियो- महानिर्देशक भइसकेको मान्छेलाई पीएचडी चाहिन्न।
त्यसपछि विश्व खाद्य कार्यक्रम (डब्लूएफपी)मा ‘म खाली छु, कुनै काम छ कि?’ भनेर लेखी पठाए। डब्लूएफपीले खुशीसाथ तुरुन्तै बोलायो। सन् १९८१ देखि १९९२ सम्म काम गरे। त्यसपछि नेपाल फर्किए।
कृषिविज्ञ प्रधानलाई लाग्छ- २०४६ सालमा बहुदलीय प्रजातन्त्रको पुनर्बहालीसँगै कृषि क्षेत्रमा भद्रगोल शुरू भयो। यद्यपि नयाँ विषयविज्ञ नआएका होइनन्, तर प्रभावकारी रूपमा अघि आउन सकेका छैनन्। “प्राविधिकहरू कहाँ पैसा बढी आउँछ र कहाँ सुविधा पाइन्छ भनेर एक विषयको विशेषज्ञ अरू नै विषयको विशेषज्ञ भएर काम गरिरहेका छन्,” उनी भन्छन्, “कृषि विकासका लागि यो दुःखदायी कुरा हो।”
यही दुःखदायी कुरा चिर्न ८८ वर्षको उमेरमा पनि सक्रियताका साथ खटिइरहेका छन्। कहिले नेपाल हर्टिकल्चर सोसाइटीका कार्यक्रममा सहभागी भइरहेका हुन्छन् त कहिले नेपाल कृषि अनुसन्धान परिषद्को समीक्षा बैठकमा पुग्छन्। कृषिको विकासका लागि हुने कुनै पनि पहल वा कसैले केही गर्ने जमर्को गर्दा उनी प्रोत्साहन दिन पुग्ने गर्छन्। प्रधान भन्छन्, “काम नगरी बाँच्नुको के अर्थ!”