किन नेपाल सबै कुरामा सिंगापुर नहोस्?
संसारका कैयौं मानिसका लागि सपनाको देशका रूपमा रहेको सिंगापुरबाट सिक्नुपर्ने कुरा थुप्रै भए पनि राजनीतिक, सामाजिक र सांस्कृतिक समस्या देख्दा नेपालले सिको नगरे हुन्थ्यो भन्ने अनुभूत हुन्छ।
नेपाललाई सिंगापुर बनाउनुपर्छ।
सिंगापुर शब्द आमनेपालीको कानमा ठोक्किन थालेको साढे तीन दशक नाघिसकेको छ। २०४६ सालपछि सत्तासीन प्रायः सबै नेताले नेपाललाई कहिले सिंगापुर त कहिले स्वीट्जरल्यान्ड बनाउने रट लगाए। चुनावी नारा बनाए।
सानैदेखि नाम सुनेकाले मलाई पनि सिंगापुरको सपनाको देश लाग्थ्यो। कस्तो होला भन्ने कौतूहल थियो। एकमहीने सिंगापुर बसाइपछि भने नेपालमा चर्चा गरे जस्तो सबै कुरामा पूर्ण रहेनछ, सिंगापुर। नेपालले सिंगापुरबाट सिक्नुपर्ने थुप्रै कुरा छन्, यससँगै सिको गर्न नहुने कुरा पनि उत्तिकै रहेछन्। पहिला सिंगापुरबाट सिक्न सकिने कुराको चर्चा गरौं।
केही समय अगाडि जब सिंगापुरको ‘लिटिल इन्डिया’ नजीकैको ‘हाउजिङ एन्ड डेभलपमेन्ट बोर्ड (एचडीबी)’ भित्र छिरे, पहिलो झमकमै बगैंचाले लोभ्याइहाल्यो। जुन आधा टुँडिखेल जत्तिको क्षेत्रमा फैलिएको थियो। बालबालिकादेखि वृद्धवृद्धासम्म खेल्न-टहल्न मिल्ने पदमार्ग मात्रै होइन, व्यायाम सामग्री, साइकल लेन, खेल क्षेत्र, ध्यान क्षेत्र चिटिक्क पारिएका थिए।
हाउजिङभित्र नियाल्दा झन् चकित बनें। जति घरमा मानिस थिए, ती सबैका ‘इन्टेरियर डिजाइन’ ले कसको मन नलोभ्याउँदो हो! भौतिक सम्पन्नता के हो भन्ने प्रश्नको उत्तर सिंगापुरका यी घरले दिन सक्छन्। ती घरमा प्रयोग भएका स्तरीय र ‘ब्रान्डेड’ सामग्रीले त्यहाँ बसोबास गर्ने मान्छेको सम्पन्नताको झल्को दिइरहेको थियो।
.jpg)
फराकिलो फ्ल्याट, अपांगता भएकादेखि अशक्त मान्छेलाई हिंडडुल गर्न सजिलो हुने गरी बनाइएको बेग्लै ‘वाक स्टेशन’, न भिडभाड न त होहल्ला। सबै आआफ्नै दिनचर्यामा दत्तचित्त र प्रसन्न देखिन्थे। महीनादिनमा चहारेका दर्जनौं ‘हाउजिङ’ क्षेत्रमा उस्ताउस्तै वातावरण पाएँ, जहाँ कसैले कुनै किसिमको कठिनाइ महसूस गर्न नपरोस्।
छुँदा पनि दाग लाग्ला कि जस्तो सफा र चिटिक्क परेका ‘हाउजिङ’ क्षेत्र कुनै वेला भने बर्खामा हिलैहिलो हुने नेपालका सडक जस्ता थिए। चिटिक्क परेका घर ठडिएका धेरैजसो हाउजिङ क्षेत्रमा ६५ वर्षअघि कतिपय सिंगापुरवासी पाल टाँगेर बस्थे। कतिपयका लागि घर भन्नु सडक र ओछ्यान शरीरमा रहेका लुगा हुने गर्थे।
सन् १९५० को दशकतिर अधिकांश सिंगापुरी भिडभाड भएका, जातिगत रूपमा अलग गरिएका अव्यवस्थित बस्तीमा बस्थे, जहाँ धेरै परिवार एकै छानामुनि बस्थे। घरहरू प्रायः काठका हुन्थे। अझ टाउको लुकाउने ठाउँ नपाएर कतिपय मानिस क्याम्पस, ब्यारेक र सडकमै सुत्थे। धेरै गरीब परिवार सुकुम्बासी शिविरमा बस्थे।
आवासको समस्या समाधान गर्न सन् १९६० को दशकमा सिंगापुर सरकारले ‘फ्ल्याट’ को व्यवस्थापन शुरू गर्यो। त्यसका लागि ‘हाउजिङ एन्ड डेभलपमेन्ट बोर्ड (एचडीबी)’ स्थापना भयो। त्यसअघि पनि ‘सिंगापुर इम्प्रुभमेन्ट ट्रस्ट’ ले सन् १९४७ देखि १९५९ सम्म २० हजार ९०७ वटा फ्ल्याट बनाएको तथ्यांक छ। तर त्यति वेला आवासको समस्या झेलिरहेका १६ लाख सिंगापुरवासीलाई ती फ्ल्याट पर्याप्त थिएन। त्यसैले धेरैजसो मानिस झोपडीमै थिए।
सरकारले बनाएका आवासीय भवन।
सन् १९५९ पछिका तीन वर्षमा एचडीबीले मात्रै ३१ हजार ३१७ फ्ल्याट निर्माण गर्यो। जसले धेरै हदसम्म आवास संकट समाधान भयो। सिंगापुर सरकारले सन् १९६४ मा ल्याएको ‘होम अनरशिप फर द पिपल स्कीम’ ले नागरिकलाई घर किन्न प्रोत्साहन दियो। सरकारले ‘सेन्ट्रल प्रोभिडेन्ट फन्ड (सीपीएफ)’ स्थापना गरेर ‘डाउन पेमेन्ट’ र मासिक किस्ताबन्दीमा फ्ल्याट लिन सकिने बाटो खोलिदियो।
यसरी समयसँगै सुविधा तथा सहुलियत दिंदै अघि बढेको आवास योजनाले सिंगापुरका नागरिकको जीवनशैली नै फरियो। सन् २०१७ सम्म आइपुग्दा ८० प्रतिशत सिंगापुरवासी फ्ल्याटमा बसेको सरकारी तथ्यांक छ।
यस योजनाको रिपोर्ट अनुसार यी फ्ल्याट यति सर्वसुलभ छन् कि सिंगापुरवासीले आफ्नो कमाइको एकचौथाइ हिस्सा खर्च गरे पुग्छ। यो छिटोछरितो काम, प्रशासनिक चुस्तता र सरकारले नागरिकको विश्वास जित्न सकेको परिणाम थियो। जसको श्रेय तत्कालीन प्रधानमन्त्री ली कुआन यु र उनको टोलीलाई जान्छ। यसरी सिंगापुरले अव्यवस्थित बसोबासलाई ६ दशकमा संसारका अरू देशका लागि पनि ‘ड्रीम हाउजिङ’ बनाउन सक्यो।
सिंगापुरका ‘हाउजिङ’ क्षेत्र चहार्दा मेरो दिमागमा भने थापाथलीस्थित बागमती छेउको सुकुम्बासी बस्तीको चित्र झल्झली आइरह्यो। घर-अफिस गरिरहँदा आँखा ठोक्किने सुकुम्बासीको अव्यवस्थित बसोबास देख्न थालेको वर्षौं भयो। अझ पूर्व-पश्चिम राजमार्ग छेउछाउ यस्ता थुप्रै बस्ती देखिन्छन्। भूमि समस्या समाधान आयोगका अनुसार भूमिहीन दलित, सुकुम्बासी र अव्यवस्थित बसोबासी गरेर झन्डै ११ लाख मानिस आवासको समस्यासँग जुधिरहेका छन्। अधिकारकर्मी यो संख्या अझ धेरै रहेको दाबी गर्छन्।
कहिले सुकुम्बासी बस्ती त कहिले भूमिहीनका विषयले आवासको समस्या उठिरहेकै हुन्छ। तर दिगो समाधानका लागि सरकारको यथोचित प्रयास देखिंदैन। त्यसैले नेपालले सिंगापुरको आवास योजनाको गहिरो अध्ययन गर्नुपर्ने देखिन्छ।
सिंगापुरका आवासीय क्षेत्र चहार्दा कुनै कोठाबाट अत्तर त कुनै कोठाबाट धूपको बासना नाकमा ठोक्कियो। कहीं ढोकामा गणेशको तस्वीर त कहीं चिनियाँ तोरण टाँगिएका थिए। अझ कुनै ढोकामा क्रसको चिह्न देखिन्थे त कुनै ढोका छेउछाउ हिजाब झुन्ड्याइएका थिए।
यसको अर्थ सिंगापुरमा एकै छतमुनि हिन्दू, मुस्लिम, क्रिश्चियन, बौद्धमार्गी र अन्य धर्म अपनाउने मानिस मिलेर बसेका छन् भन्ने हो। एकदिन त आवासीय क्षेत्र घुम्दै जाँदा चिनियाँ पात्रो अनुसार ‘हंग्री घोस्ट फेस्टिभल’ चलिरहेको थियो। जहाँ बाटो र ढोकामा भूतको आकृति बनाएर खानेकुरा चढाइएको थियो। जहाँ सबै समुदायका बालबालिका रमाइरहेका देखिन्थे।
अझ रमाइलो त सिंगापुरमा एकातिर हिन्दू देवीदेवताको मन्दिरमा घण्टी बजिरहेको हुन्छ भने नजीकै मस्जिदमा नमाज पढिरहेको देख्न र सुन्न सकिन्छ। एकातिर चर्च देखिन्छ भने छेउमै अर्कातिर बुद्ध मुस्कुराइरहेका हुन्छन्। यसरी अनेक धर्म, जातजाति र समुदायका मानिस सँगसँगै बसेर रमाइरहेका छन्। उनीहरूका आस्थाका धरोहर वरिपरि नै हुन्छन्।
कतिपय ठाउँमा त बाटो वारि शाकाहारी भोजनालय त पारि ‘बीफ’का परिकार मजाले पकाइरहेका देखिन्छन्। सिंगापुरका पत्रकार र अध्येतासँग जिज्ञासा राख्दा कसैले पनि अरूको धर्म, संस्कार वा परिकार, पहिरनलाई टिप्पणी नगर्ने गरेको थाहा पाएँ। हो, वास्तवमा सिंगापुरबाट यस्तो कुरा पो सिकोस् नेपालले, अनि संसारले।
सहअस्तित्व झल्काउने कलाकृति।
हामीले मानसिकता परिवर्तन गर्नुपर्ने अर्को विषय देखें, सिंगापुरमा। त्यो हो, बुढ्यौलीलाई लिएर गर्ने खिसीटिउरी। नेपाली समाजले ६० वर्ष पुगेका व्यक्तिलाई बूढाबूढीको संज्ञा दिइहाल्छ। जागीरबाट अवकाशपछिको जीवन त आराम गर्नलाई मात्रै हो भन्ने सोचिन्छ। अझ ६० कटेका आमाबुबालाई बोझका रूपमा लिइन्छ।
सिंगापुरका अनेक होटल र मल धाउँदा नेपालमा वृद्धवृद्धा भनेर सामाजिक सुरक्षा भत्ता बुझ्ने उमेरका व्यक्ति सबैभन्दा धेरै कामदारका रूपमा देखें। बुझ्दै जाँदा त थाहा भयो, यो उमेर समूहका मानिसको श्रमले सिंगापुरलाई टेको नै दिएको रहेछ। सिंगापुरको द स्ट्रेट टाइम्सका अनुसार ज्येष्ठ नागरिकको रोजगारमा सहभागिता झन् झन् बढ्दो छ।
तीन वर्षअघि ६५ देखि ६९ वर्षसम्मका ४७.५ प्रतिशत व्यक्ति रोजगारमा रहेछन्। त्यस्तै, ५५ देखि ६४ वर्षका व्यक्तिको रोजगार दर सन् २०१९ मा ६७.६ प्रतिशत रहेकामा सन् २०२२ मा बढेर ७०.६ प्रतिशत पुगेको रहेछ।
अझ, सन् २०२२ को सेप्टेम्बरमा मात्रै चार लाख ६० हजार ज्येष्ठ नागरिकले रोजगारबाट ४५० मिलियन डलर पाएको तथ्यांक छ। यसको अर्थ ज्येष्ठ नागरिकले ‘पार्ट टाइम’ होस् या ‘फुल टाइम’ काम गरेर देशको अर्थतन्त्र चलायमान बनाउन सघाइरहेका छन्।
अस्वस्थताका कारण आराम गर्नु एउटा पाटो भयो, तर उमेरकै कारण ‘बूढो’ ठानेर काम गर्नु हुँदैन भन्ने धारणा गलत रहेछ। यसले उनीहरूलाई नै बोझका रूपमा मनोविज्ञान विकास गराउँदो रहेछ। फेरि, घरमा एक्लै टोलाएर बस्नुभन्दा काममा व्यस्त हुनु ज्येष्ठ नागरिकै स्वास्थ्यका लागि पनि राम्रो हुन्छ।
सिंगापुरमा रोजगारी गरिरहेका ज्येष्ठ नागरिक काममा रमाइरहेका देखिन्थे। आफू जस्तै साथी बनाएको, काम गर्दै गफगाफ गर्न पाएको र शारीरिक रूपमा पनि स्वस्थ महसूस गरेको उनीहरूसँगको कुराकानीबाट थाहा पाइन्थ्यो।
.jpg)
ज्येष्ठ नागरिकलाई ‘अब केही गर्ने उमेर गयो’ भनेर निराश बनाउनुभन्दा सिंगापुरको सिको गर्दा राम्रो हुन्छ। झन् अहिले त नेपालले सामाजिक सुरक्षा भत्तामा हरेक वर्ष अर्बभन्दा बढी रकम खर्च गरिरहेको छ। चालू आर्थिक वर्ष २०८१/८२ को बजेटमा सामाजिक सुरक्षा भत्ताका लागि एक खर्ब १६ अर्ब छुट्याइएको छ। ज्येष्ठ नागरिकलाई भत्ताभन्दा पनि सिंगापुरले जस्तो रोजगार बनाउने योजना ल्याउन सकियो भने ज्येष्ठ नागरिकका लागि मात्रै होइन, देशलाई पनि फाइदा हुन्छ।
सिंगापुरको सम्पन्नता मात्रै होइन, यस्तै नागरिकको दिनचर्यासँग जोडिएका विषयले संसारका मानिसलाई आकर्षित गर्छ। तर केही यस्ता कुरा पनि छन्, जसले मन खिन्न बनाउँछ।
म जस्तै विकासोन्मुख देशका युवतीका लागि सिंगापुर सपनाको देश हो। अनि नेपालमा सिंगापुरका कुरा सुन्दा लाग्थ्यो, सपनाको देशमा सपनामा जस्तै बाँच्न पाइन्छ। अझ सोच्थें, सपनाको देशमा त हाम्रा जस्तो सामाजिक समस्याले चिमोट्दैन होला। तर सोचे जस्तो रहेनछ, सिंगापुर। जब नजीकबाट सिंगापुरको समाज र व्यवस्था हेरें, लाग्यो विकसित देशका कुरूप अनुहार मुखुन्डोले छोपिएका हुँदा रहेछन्।
गत साउन १९ मा सिंगापुरको चांगी विमानस्थलबाट ‘ओरेन्ज ग्रोभ रोड’ तिर जाँदै गर्दा मानिसलाई लरीमा पशु झैं कोचिएको देखें, जसरी ट्रकमा हुलेर राँगालाई काठमाडौं ल्याइन्छ। मालवाहक लरीमा झन्डै ३० जना जति मानिस खाँदाखाँद गरेर बसिरहेका थिए, घुँडा खुम्च्याएका थिए। उनीहरूसँग सरसफाइका सामान, बेल्चा, झाडु पनि थिए। के महिला, के पुरुष सबैको हालत उस्तै थियो।
लरीमा काम गर्ने क्षेत्रमा जाँदै मजदूर।
किन यसरी राखेका छन्, को हुन् भनेर ट्याक्सी चालकलाई सोध्दा जवाफ पाएँ- मजदूर हुन्। आधा घण्टाको यात्रामा पनि कामदार बसेका आठ-दश लरी गइरहेको देखें। ती लरीमा निर्माण कम्पनीका नाम फरक फरक थिए। सबै लरीमा रहेका कामदारको बसाइ उस्तै थियो। कति त लरीमा राखिएका बिजुलीका सामग्री, फलामका छड, तार, पाइप समाएर बसिरहेका थिए।
यो दृश्य देख्दा लाग्यो- देश धनी हुँदैमा जनताले दुःख पाउँदैन भन्ने नहुँदो रहेछ। हुनत सिंगापुरमा निर्माण क्षेत्रमा काम गर्ने धेरैजसो मजदूर बाहिरी देशका हुन्छन्। त्यसैले उनीहरूको सुरक्षाको पाटोलाई बेवास्ता गरिएको पो हो कि!
नत्र सिंगापुर सरकारले प्रवासी कामदारलाई लरीमा ओसारपसार गर्न दिने थिएन होला। जबकि प्रवासी कामदार धेरै भएका यूएई, कतार, बहराइन, मलेशिया जस्ता देशमा कामदारलाई लरीमा राख्न नपाइने कानून छ। फेरि लरी यात्रुवाहक होइन, सामान ओसार्ने साधन हो।
यस्तै असुरक्षित यात्राका कारण सिंगापुरमा सन् २०११ देखि २०२० सम्म लरीमा सवार ५८ कामदारको ज्यान गएको द डिप्लोम्याटले समाचार लेखेको छ। त्यस्तै, चार हजार ७६५ जना घाइते भएका छन्।
अनि सोचें, के नेपालका नेताहरूले सिंगापुरको यस्तो दृश्य देखेका होलान्। देख्थे भने नेपाललाई सिंगापुर बनाउँछु कसरी भन्थे?
अर्को दिन मजदूरसँगै कुराकानी गर्न गएँ। लरीबाट उत्रिरहेका एक मजदूरलाई सोधे, “यसरी लरीमा बसेर आउजाउ गर्न डर लाग्दैन?”
उनी धेरै बोल्न त चाहेनन्। यत्ति भने, “इट इज रिक्स। रिक्स इन वर्क, बट ओके। फाइन।”
उनले ‘ओके, फाइन’ भने पनि अनुहारमा पीडा झल्किरहेको थियो। भारतको चेन्नाईका उनी सिंगापुर बंगला इन्डिया चाइनिसा ब्रिमाइस कम्पनीमा मेकानिक्सका रूपमा काम गर्थे। लरीको कष्टकर यात्राबारे बोल्दाबोल्दै घाँटीमै अड्किएका शब्दले सिंगापुरमा कामदारका लागि गरिएको निकृष्ट व्यवस्था झल्काउँथ्यो।
अनि लाग्यो, धनी देशमा गगनचुम्बी भवन बनाउने कामदारको स्थान चाहिं भुइँमै छुटिगएछ। हो, धनी र गरीब मजदूरबीचको यस्तो असमान व्यवहारको नेपालले सिको गर्नु हुँदैन।
यस्तै, सिको गर्नै नहुने कुरा अर्को पनि छ भन्ने सिंगापुरको गेइलाङ क्षेत्र घुमेका र बुझेका मानिसलाई महसूस हुन्छ। यो क्षेत्र सिंगापुरमा ‘रेड लाइट डिस्ट्रिक्ट’ का नामले चिनिन्छ। यसबारे जानकार गाइडका अनुसार दर्ता गरेर मात्र यस्तो व्यवसाय चलाइन्छ। यौनकर्मी राख्नुअघि स्वास्थ्य जाँच गर्नुपर्ने नियम छ। गर्भवती भएको खण्डमा तत्काल उनीहरूलाई स्वदेश फर्काइँदो रहेछ।
सिंगापुरको गेइलाङ क्षेत्रमा ग्राहक पर्खिरहेकी यौनकर्मी।
उनीहरूले सिंगापुरमा पर्यटकका रूपमा घुमफिर गर्न पाउँदैनन्। सिंगापुरका नागरिकसँग विवाह गर्न अनुमति पनि दिइँदैन। यसो गरेमा सजायको भागीदार हुनुपर्ने भनी गाइडले सुनाएपछि झसंग भएँ। गेइलाङका सडकछेउ उभिएर यौनकर्मीहरूले ग्राहकलाई आकर्षित गरिरहेको देख्दा उनीहरूलाई वस्तुका रूपमा प्रयोग गरिएको भान हुन्थ्यो।
यी दृश्य देख्दा नेपालमा पनि वेलावेला ‘रेड लाइट एरिया’ बारे हुने बहस सम्झिएँ। मान्छेलाई मान्छे जस्तो व्यवहार नहुने ‘रेड लाइट एरिया’ ले सिंगापुरको सम्पन्नता र वैभवलाई गिज्याइरहेको भान भयो। जहाँ मानवता मरिरहेको महसूस भयो।
यस्तै, अर्को दृश्यले पनि दु:खी बनायो। सडकछेउमा खुलमखुला लागूपदार्थ बेच्न राखिएका थिए, नाङ्लोमा तरकारी राखे झैं। यौनक्षमता बढाउनेदेखि लागूपदार्थले भरिएका सिरिन्ज बिक्री गर्न युवा बसेका थिए। विक्रेता आफैं नशामा धूत देखिन्थे।
सडक छेउमा लागूपदार्थ बिक्री गरिरहेका युवक र फालिएका सिरिञ्ज।
यो दृश्य देख्दा काठमाडौंको याद आयो। काठमाडौं महानगरपालिकाले नाङ्लोमा तरकारी समेत बेच्न दिएको छैन।
काठमाडौं उपत्यका जस्तै सिंगापुरमा पनि सडकछेउका कतिपय भित्तामा चित्र कोरिएका थिए। त्यसमध्ये एउटा चित्रले भने बहस छेडेको थियो। चाइना टाउनको एउटा घरको भित्तामा समसुई महिलाको चित्र बनाइएको थियो। समसुई महिला भनेर तिनलाई जनाउँछ, जो निर्माण क्षेत्रमा काम गर्न पहिलो पटक चीनबाट सिंगापुर पुगेका थिए। उनीहरू प्रायः अविवाहित र एकल थिए।
उनीहरूलाई जनाउने चित्रमा हातमा चुरोट छ। समसुई महिलाको हातमा चुरोट देखाइएको भन्दै सिंगापुर सरकारको शहरी पुनर्विकास प्राधिकरणले चित्रलाई के गर्ने भनेर छलफल गरिरहेको थियो। केही युवा समसुई महिलाको इतिहास बोल्ने चित्र भएकाले सुरक्षित राख्नुपर्ने पक्षमा लागेका थिए भने कतिले खुलेर चुरोट खाएको, परिश्रम गरेको, बलियो महिलाका रूपमा चित्रण गरिएकाले चित्र मेटाउनुपर्ने तर्क गरिरहेका थिए।
भित्तामा बनाइएको समसुई महिलाको चित्र।
मेरा लागि भने यो एउटा कला हो। जसरी कल्पनाशीलताको सीमा हुँदैन, कलाको पनि कुनै सीमा हुँदैन। फेरि त्यो इतिहास सम्झाउने चित्र थियो। सिंगापुर सरकार र सरोकारवालाले मेट्ने तयारी गरिरहेको देख्दा कलामा पनि नियन्त्रण रहेको महसूस भयो।
यी र यस्ता कैयौं कुरा देखेपछि त्यहाँको विकास योजना र सहिष्णुताको नेपालले सिको गरोस् भन्ने पनि लाग्यो। तर कतिपय यस्ता कुरा छन्, जो सिंगापुरबाट सिको गर्नै नपरोस्। नेपालले समानता, वाक्-स्वतन्त्रता, प्रेस स्वतन्त्रता र सूचनाको हकलाई सुरक्षित गरेको छ। यसमा नेपालले सिंगापुर बन्न नपरोस्।
फेरि देशको विकासमा लाग्ने प्रेरणा भने सिंगापुरका नेताबाट सिक्नै पर्छ, जसका योजना र कामले माझी बस्ती भनेर चिनिने सिंगापुरलाई केही दशकमै दहबाट महलको सुखसुविधा उपभोग गर्न मुलुक बनायो। परिणाम, सिंगापुर विश्वकै बढी आय भएका मुलुकको सूचीको आठौं स्थानमा छ।