‘जिब्रोको स्वादमा रमाउँदा मुटुरोगी बढिरहेका छन्’
‘स्वस्थ जीवनशैली के हो भनेर सबैलाई थाहा छ, व्यवहारमा ल्याउन नसकेको मात्रै हो। अस्वस्थ खानपान र आफ्नै अव्यवस्थित जीवनशैलीका कारण रोग उब्जिने हो।’
धुलिखेल अस्पतालका मुटुरोग विशेषज्ञ हुन्, डा. राजेन्द्र कोजु। २८ वर्षदेखि उक्त अस्पतालमा कार्यरत उनले मुटुको स्वास्थ्यबारे वेलाबखत सञ्चारमाध्यममा लेख लेख्दै आएका छन्। पछिल्लो समय त उनले किताब नै प्रकाशन गरेका छन्, मुटुको कथा।
यसमा उनले आफ्नो उपचार-अनुभवसँगै मुटुरोगका कारक पक्ष, मुटुको स्वास्थ्यमा खानपान र जीवनशैलीको भूमिका लगायत विषय समेटेका छन्। हिमालखबरको प्रस्तुति किताबका कुरामा लेखक डा. कोजुसँग शमशाद अहमदले गरेको कुराकानीको सम्पादित अंश :
लामो समयदेखि मुटुरोगीको उपचार गरिरहनुभएकै थियो, किताब लेख्नुपर्छ भन्ने किन लाग्यो?
मैले हेल्थ असिस्टेन्टदेखि एमबीबीएस हुँदै मुटुरोग विशेषज्ञ भएर चिकित्सा सेवामा काम गर्न थालेको करीब ४० वर्ष भयो। मुटुरोगको उपचार सेवामा धेरैजसोलाई औषधि मात्र दिएर पुग्दैन। बिरामीले आफ्नो स्वास्थ्यको जानकारी आफैं राखून् र सजग होऊन् भनेर के गर्न हुन्छ, के गर्न हुँदैन बताइराख्नुपर्छ। यो कुरा अस्पतालमा आएका एक-एक व्यक्तिलाई मात्र भन्नुभन्दा धेरै जनामा पुर्याउनुपर्छ भन्ने लागेर पत्रपत्रिकामा लेखहरू लेख्न थालें। केही लेख छापिंदा राम्रा प्रतिक्रिया आएपछि किताब लेख्नुपर्छ भन्ने महसूस भयो।
मुटुरोगबाट बच्न के खाने र नखाने, कति खाने भनेर किताबमा सुझाव दिनुभएको छ। बिरामीहरूको अनुभवमा मुख बार्ने काम कत्तिको गाह्रो हो?
स्वास्थ्यका लागि मुख बार्नु जरूरी हुन्छ, जुन सबैभन्दा गाह्रो काम हो। स्वादको पछि लाग्दा हाम्रो स्वास्थ्य बिग्रेको छ। किताबमा ‘जिब्रो भन्छ गुलियो चिल्लो, मुटु भन्छ नाइँ’ शीर्षकले भने जस्तै हामीलाई जिब्रोको स्वादले भुल्याएको छ। खानपान र शारीरिक व्यायाममा ध्यान नदिंदा मुटुरोग हुने हो। गुलियो, चिल्लो, अमिलो, नुनिलो सबै मन पर्छ हामीलाई। जिब्रोले मीठो मानुन्जेल स्वाद मानीमानी खान्छौं। पेट भरिए पनि अझै खाने हाम्रो बानी हुन्छ। जसले गर्दा शरीरलाई असर पर्छ। खान नहुने कुरा त केही पनि छैन, तर अत्यधिक खान हुँदैन। अत्यधिक खाए केकस्ता असर पर्छन् भन्ने कुरा किताबमा लेखेको छु।
मुख बार्न त मुटुरोग मात्रै होइन, अरू रोगमा पनि जरूरी हुन्छ नि!
हामी सानो छँदा ज्वरो आयो भने चिल्लो बार्नुपर्ने सिकाइएको थियो। पछिल्लो समयमा हाम्रो खानपान र अस्वस्थकर जीवनशैलीबाटै धेरै रोग लाग्ने गरेका छन्। मुटुरोग जस्तै हृदयाघात, उच्च रक्तचाप हाम्रो खानपान र खराब जीवनशैलीका कारण हुन्छ।
मुटुरोगबारे मानिसहरूमा विभिन्न भ्रम छन् भन्नुभएको छ। केकस्ता भ्रम छन्?
हाम्रो समाजमा चिकित्सकले उच्च रक्तचापमा औषधि खान सिफारिश गर्दा ‘औषधि खाएँ भने त जीवनभर खानुपर्छ’ भन्ने गरिन्छ, जुन गलत बुझाइ हो। उच्च रक्तचाप र मधुमेहलाई औषधि होइन, अन्य माध्यमबाट नियन्त्रणमा राख्छु भन्नेहरू पनि धेरै छन्। जबर्जस्ती औषधि बाहेकको कुराको सहारा लिने गरेको देखिन्छ। यस्तै, मुटुरोग लागेको मानिस कुनै हलचल नगरी बसिराख्नुपर्छ, शारीरिक व्यायाम गर्नै हुँदैन भन्ने खालका भ्रम छन्। जबकि मुटुरोगीले चिकित्सकको सल्लाहमा निश्चित मात्रामा व्यायाम गर्न मिल्छ।
रोग लागेपछि अब केही गर्न सकिंदैन, सबै सक्कियो भन्ने हुँदैन, रोगलाई त नियन्त्रण गर्ने हो। हामीमाझ मधुमेहका रोगीले औषधि खाएर सरल जीवनयापन र व्यापार-व्यवसाय गरिरहेका छन्। कतिपय चिकित्सकले औषधि खाएर काम गरिरहेका छन्। राजनीतिकर्मीहरूले उपचार गराएर नेतृत्व गरिरहेका छन्। खासमा रोगी र बिरामी कोही पनि हुँदैन। शरीरमा केही तलमाथि भयो भने त्यसलाई रोकथाम र नियन्त्रण गर्नुपर्छ।
लेखक डा. राजेन्द्र कोजु। तस्वीरहरू: सुमन नेपाली/हिमालखबर
विश्वव्यापी रूपमै मानिसको मृत्युको प्रमुख कारण बनिरहेको छ, मुटुरोग। हृदयाघातका लक्षण के हुन्?
छातीमा असह्य पीडा हुनु नै हृदयाघातको लक्षण हो। त्यस्तो पीडा केही सेकेन्ड होइन, २०-३० मिनेटसम्म भइराख्यो भने त्यो हृदयाघात हुन सक्ने प्रबल सम्भावना हुन्छ। धेरैजसो छातीको बीच भागमा दुख्छ, यदाकदा बायाँ हाततिर, पछाडितिर, पेटतिर वा घाँटीतिर दुख्ने पनि हुन सक्छ। यस्तो अति दुखाइसँगै रिंगटा लागेर लडिएला जस्तै भयो र पसिना चिटचिट आयो भने हृदयाघातको लक्षण सम्झनुपर्छ। चिसोमा हिंडिराख्दा पीडा भएर, भर्याङ चढ्दा सास फेर्न गाह्रो भएर, बसिराखेको मान्छेलाई पनि हृदयाघात भएको छ। छातीको पीडा बाहेक कहिले सास फेर्न गाह्रो हुने, कहिले चिसोमा कक्रक्क परेको जस्तो हुने र पेट भारी हुने लक्षण देखिएर पनि हृदयाघात भएको पाइन्छ।
पछिल्लो समय त युवा अवस्थामा हृदयाघात हुनेको संख्या बढ्दो पाइन्छ। यसको कारण के होला?
अहिले २४/२५ वर्षका युवालाई पनि हृदयाघात हुने गरेको छ। यसको प्रमुख कारणमा वंशाणुगत कारण पनि एक हो। लैंगिक आधारमा पुरुष हुनु अर्को कारण हो। यो पक्ष हामी परिवर्तन गर्न सक्दैनौं, तर आफ्नो जीवनशैलीलाई सही दिशामा रूपान्तरण गर्न सक्छौं। अत्यधिक धूमपान गर्ने, शारीरिक व्यायाम गर्दै नगर्ने, शरीर अधिक मोटो भएका, वेलावेला उच्च रक्तचाप भइराख्ने, खराब चिल्लो धेरै भएका व्यक्तिलाई हृदयाघातको जोखिममा हुन्छन्।
अहिले बच्चा वेलादेखि नै खराब जीवनशैली भित्रिएको छ। खेलकूद र शारीरिक गतिविधि कम छ। फास्टफूड र बजारिया खानेकुरातिर स्वाद बसेको छ, जसले प्रशस्त मात्रामा नुन, चिनी र चिल्लो पदार्थ शरीरभित्र पुर्याइदिएको छ। यसले ‘मेटाबोलिक सिन्ड्रोम’ हुन्छ, अर्थात् मुटुबाट शरीरमा रगत पुर्याउने नली (धमनी) साँघुरिंदै जान्छ। सानै उमेरदेखि धमनीहरू साँघुरिंदै गए कुनै दिन बन्द हुन सक्छ।
तपाईंले अस्वस्थ जीवनशैलीका कारण रोग उब्जिने बताउनुभयो। कस्तो जीवनशैलीलाई स्वस्थ भन्ने?
खासमा स्वस्थ जीवनशैली के हो भनेर सबैलाई थाहा छ, व्यवहारमा ल्याउन नसकेको मात्रै हो। हामीलाई सानैदेखि स्वस्थ जीवनशैली सिकाइएकै हो। बिहान छिटै उठौं। व्यायाम गरौं। बिहानी नित्यकर्म सकेपछि हल्का नास्ता खाऔं। शरीरलाई आवश्यक पर्ने मात्र भोजन गरौं। सागसब्जी बढी भएको सन्तुलित खाना खाऔं। फलफूल खाऔं। प्रोटिनका लागि अन्डा र मासु पनि खाने गरौं। दिनभरि शारीरिक सक्रियताका काम गरौं। दैनिक एक घण्टा जति दौडिने, साइकल चलाउने, छमछमी नाच्ने गरेर पसिना बगाऔं। बेलुका हल्का भोजन गरेर वेलैमा सुतौं। धूमपान र मद्यपान नगरौं, त्यस्तो बानी भए त्यागौं। आफ्नो शरीरलाई उचित तौलमा राखौं। शरीरमा बोसो जम्मा हुन नदिऔं। आफ्नो रक्तचाप र शरीरमा चिनीको मात्रा नियमित जाच्ने गरौं। हामीले स्वस्थ रहन यो जीवनशैली अपनाउनुपर्छ।
अर्को पक्ष, चिन्ता, पीर र तनावले पनि रोग बढाउँछ। समाजमा अहिले प्रतिस्पर्धाको भावना बढ्दा मानिसहरू तनावमा छन्। आफूले चाहेका कुरा नपाउँदा, अरूलाई जित्न नसक्दा तनावमा जाने गरेका छन्। तनावले शरीरमा नकारात्मक असर गर्छ।
अहिले धेरै बालबालिकालाई पत्रु खानाको बानी लागेको छ। अभिभावकले पनि यसलाई सामान्य मानेको र अझ आफैंले किनेर प्रोत्साहन गरेको पाइन्छ। अर्कातर्फ, शारीरिक सक्रियता हुने खेलकूदभन्दा कोठाभित्र डिजिटल डिभाइसमा रमाउने प्रवृत्ति देखिन्छ। यसबारे के भन्नुहुन्छ?
यसलाई युवा अवस्थामा बढिरहेको हृदयाघातको सन्दर्भमा जोडेर हेरिनुपर्छ। बालबालिका डिजिटल डिभाइसको लतमा पर्दा शारीरिक व्यायाम हुँदैन र खाएको कुरा पाचन पनि हुँदैन। बजारको खानेकुरामा चिनी, नुन र चिल्लोपन धेरै हुने भएकाले शरीरका लागि स्वस्थकर मानिंदैन।
अर्को कुरा, बजारका प्याकेटका खानेकुरा लामो समय बिग्रिनबाट जोगाउन कृत्रिम ‘प्रिजर्भेटिभ’ प्रयोग गरिएको हुन्छ। त्यो पनि शरीरलाई हानिकारक हुन्छ। अहिलेको व्यस्त जीवनमा मान्छेसँग हरेक कुरा उपलब्ध छ, तर आफ्नै लागि समय छैन। यसले गर्दा खाना पकाएर खाने र खुवाउने अभ्यास कम हुँदै छ। घरको स्वस्थ र पोषिला खाना छाडेर बाहिरको क्षणिक स्वाद दिने तर स्वास्थ्यलाई घात गर्ने खाना किनेर खाने प्रवृत्ति देखिन्छ।
बालबालिकाको हातहातमा मोबाइल र ट्याब्लेट छन्। घर बाहिर खेल्न, उफ्रिन पनि सबै स्थानमा खुला ठाउँ छैन। मोबाइलमा खेलिने हातगोडा नचल्ने खेल खेल्नुको कुनै अर्थ हुँदैन। बरु डिजिटल दुनियाँमा एकोहोरिंदा शारीरिक निष्क्रियता हुनुका साथै मानसिक र मनोसामाजिक असर पनि गर्छ। यसर्थ हरेक अभिभावकले आफ्ना बालबालिकालाई पसिना बग्नेगरी शारीरिक व्यायाम गर्ने वातावरण बनाइदिनुपर्छ। सकेसम्म बाहिरको पत्रु खानाबाट टाढा राख्नुपर्छ।

मुटुरोगबारे चर्चा गर्दा किताबमा बजारदेखि विज्ञापनसम्मको भूमिका केलाउनुभएको छ। मुटुरोग बढ्नुमा बजारको भूमिका कस्तो देख्नुहुन्छ?
अहिले बजारमा तयारी र प्याकेटका खानाले विज्ञापनमा स्थान पाइरहेका छन्। उदाहरणका लागि, हामी पहिले घरमै भुटेको मकै खान्थ्यौं, तर अहिले बजारको ‘पपकर्न’ किनिरहेका छौं। त्यसमा पनि नुन र चीज थपेर खान्छौं। बजारका धेरै खानामा क्यालोरी बाहेक केही छैन। प्याकेटमा मिनरल्स र भिटामिन पाइने लेखिए पनि हुँदैन।
अर्को कुरा, युवाहरूको जमघट हुने कार्यक्रम तथा कन्सर्टहरूमा मदिरा र बियरको विज्ञापन धेरै देखिन्छ। विज्ञापन गरेर संस्कार स्थापित गर्ने कुरा होइन यो। त्यसैले यी वस्तुको विज्ञापन रोकिनुपर्छ। मद्यपानका लागि धेरै उक्साउनु ठीक होइन। ठीक मात्रामा खाने चलन कतिपय समुदायविशेषमा छ। तर यसलाई धेरै प्रोत्साहन नगरेकै राम्रो हुन्छ। अहिले चुरोटको विज्ञापन नदेखिए पनि सर्वत्र उपलब्ध छ। चुरोट, खैनी, गुट्खाले हामीलाई कुनै हिसाबले फाइदा गर्दैन। तर यी वस्तु हरेक पसलमा झुन्डिरहेका हुन्छन्। चुरोट, सुर्ती कतिपय मुलुकमा सार्वजनिक स्थानमा राख्न पाइँदैन, विद्यालय र अस्पतालको वरिपरि बेच्न पाइँदैन। तर हामीकहाँ छ्यापछ्याप्ती छ। यी कुरालाई शून्यमा ल्याउन नसके पनि सरकारले न्यूनीकरणतर्फ लैजानुपर्छ।
चिकित्सकहरूले हरियो सागसब्जी बढीभन्दा बढी खानुपर्छ भन्नुहुन्छ। तर बजारमा पाइने सागसब्जी पनि विषादीका कारण खानै डरमर्दो छ नि!
हामीले सुझाव दिंदा बजारबाट कीराले खाएको सागसब्जी किन्नुस् भन्ने गरेका छौं, त्यसमा रसायन कम होला भनेर। तर रायो, चम्सुर, पालुंगोको सागमा विषादी राखिन्छ जस्तो लाग्दैन। मुलामा कसैले राख्दैन। काँक्रो, गोलभेंडामा कीरा लाग्छ भनेर राख्छन् होला। तर अहिले विषादीमुक्त सागसब्जी खानुपर्छ भनेर चेतना बढेको छ। त्यसले गर्दा विषादीमा केही हदसम्म नियन्त्रण पनि भएको छ।
हरियो सागसब्जी खाँदा क्यालोरी धेरै हुँदैन, पेट पनि भरिन्छ, र शरीरलाई चाहिने भिटामिन, मिनरल्स पर्याप्त मात्रामा प्राप्त हुन्छ। चामल र गहुँबाट बनेका खानेकुरामा क्यालोरी बढी हुन्छ। यस्ता बढी क्यालोरी हुने खाना कम खाए राम्रो हुन्छ।
मुटुरोगको नियन्त्रणमा सरकारले के गर्दा प्रभावकारी हुन्छ?
पहिलो कुरा, म कसरी स्वस्थ्य रहन सक्छु र मुटुरोग भइहाल्यो भने मैले के गर्नुपर्छ भन्ने चेतना नागरिकमा फैलाउनुपर्छ। दोस्रो, सरकारले मुटुरोगको उपचारमा दिंदै आएको सेवा थप विस्तार गर्नुपर्छ र सबैतिर पुर्याउनुपर्छ। कतिपय अवस्थामा बिरामीलाई एक-दुई लाख रुपैयाँले उपचार सम्भव हुँदैन र सरकारसँग अपेक्षा बढेर जान्छ। त्यो स्थितिमा सरकारले उपचार सेवा दिने अवस्था बन्नुपर्छ।
मुटुरोगको उपचार कति खर्चिलो हुन्छ?
अरू रोगभन्दा मुटुरोगको उपचार महँगो भए पनि पहिलाभन्दा सहज हुँदै गएको छ। साधारणतया ब्याट्री मात्रै राख्दा डेढदेखि दुई लाख रुपैयाँसम्म खर्च हुन्छ भने एआईसीडी (अटोमेटिक इम्प्लान्टेबल कार्डियोवर्टर डिफाइब्रिलेटर) राख्नुपर्यो भने पाँच लाख रुपैयाँभन्दा बढी हुन्छ। त्यस्तै, धमनीहरू बन्द भएको उपचार गर्दा एउटा मात्रै स्टेन्टको डेढ लाख रुपैयाँ पर्छ। आईसीयूमा राखेर उपचार गर्दा वा शल्यक्रिया गर्नुपर्दा धेरै खर्च लाग्छ।
मुटुरोगको उपचार गराउन कतिपय बिरामी विदेश पनि जाने गरेका छन्। यो रोगको सबै किसिमका उपचार यहाँ उपलब्ध नभएर हो?
मुटुरोगको उपचारका लागि विदेश जानेको संख्या पहिले धेरै थियो। स्टेन्ट हाल्ने शल्यक्रिया र रोग निदान गर्न सक्ने सबै प्रविधि नेपालमै उपलब्ध भएकाले पछिल्लो समय उपचारका लागि विदेश जाने संख्या घट्दै गएको छ। यद्यपि जटिल अवस्थामा मानिसहरू विदेश गइरहेका छन्। मुटुरोगको सबै किसिमको उपचारको व्यवस्थापन नेपालमै गर्नुपर्छ भनेर सबै विशेषज्ञ लागिरहेका छन्।
कार्डियाक सोसाइटी अफ नेपालले विदेशीहरूलाई आमन्त्रित गरेर अनुभव साटासाट गर्ने गरेको छ। शहीद गंगालाल राष्ट्रिय हृदय रोग केन्द्र, धुलिखेल अस्पताल तथा पोखरा, चितवन, धरान, विराटनगर, बिर्तामोड, वीरगन्ज लगायत ठाउँमा विशेषज्ञहरूको निगरानीमा उपचार विस्तार हुँदै छ। सरकारले पनि सहयोग गरिरहेको छ।
अन्त्यमा, मुटु कसरी जोगाउने?
हाम्रो शरीरमा प्राकृतिक रूपमै मुटु र दिमाग हाडहरूको बीचमा सुरक्षित छ। प्राकृतिक रूपमा सुरक्षित राखिएको मुटुलाई हामीले आफ्नो खराब आहारविहार र बानीव्यहोराले बिगारिरहेका छौं। मुटुलाई माया गर्नुको सट्टा जिब्रोलाई माया गरिरहेका छौं। जिब्रोको स्वादका लागि मुटुलाई असर पार्ने खाना खाइरहेका छौं।
चुरोटले असर गर्छ भन्ने थाहा हुँदाहुँदै खाएका छन्। शारीरिक व्यायाम, योग, ध्यान र हिंडडुलका लागि दैनिक एक घण्टा समय छुट्याउनुपर्छ। यसो गर्दा मुटुले पनि हामीलाई माया गर्छ, नत्र यसले साथ छोड्छ।
किताबका कुराका थप सामग्री
- ‘दक्षिणएशियाको तुलनामा पूर्वी एशियाका मुस्लिम महिला बढी स्वतन्त्र छन्’
- भोगटे साँधेको वर्णन गर्दा मुख रसाइदिन सक्ने आख्यान बन्नुपर्छ
- ‘मनलाग्दी तरीकाले गरिरहेको विकासले अन्ततः हामीलाई नै पिर्नेछ’
- ‘सबै आन्दोलन असफल भएपछि यो किताब लेख्न बाध्य भएँ’
- ‘इतिहास बंग्याउने शासकहरूको इतिवृत्तान्त लामो छ’
- ‘हिन्दूत्वको बहानामा भारतीय हस्तक्षेप स्वीकार्य हुँदैन’
- ‘बुबालाई आज या भोलि झुन्ड्याउँछन् भन्ने परिस्थितिमा हुर्किएँ’
- ‘आक्रामक चीन र भारतलाई नबुझेमा दुवैले ठड्याइरहेका आर्थिक टावरले च्यापिनेछौं’
- ‘कर्णालीबाट काठमाडौं पनि उत्तिकै दुर्गम छ’
- ‘नेपालमा कविताका समीक्षक नै छैनन्’
- ‘एकैसाथ धेरै किताब प्रकाशन गर्दैमा गुणस्तर नहुने भन्ने हुँदैन’
- ‘हाम्रो राजनीतिले सद्भाव नसिकाउँदा समाजमा असहिष्णुता झाँगिइरहेछ’
- ‘मेरा कविताले मलाई पनि व्यंग्य गर्छन्’
- ‘काठमाडौंको सभ्यता जोगाउने श्रेय ज्यापू समुदायलाई दिनुपर्छ’
- ‘आप्रवासनले छुट्याएका दम्पतीको यौन-भोक र छटपटी जस्तो देखें, त्यस्तै लेखें’
- ‘संगीत विरोधी थिएनन् पृथ्वीनारायण शाह’
- ‘यौन, प्रेम र अपराध जनावरको संसारमा पनि छ’
- ‘डोरबहादुर विष्ट फर्केपछि पुस्तकको अनुवाद देखाउँला भनेको, फर्कनु नै भएन’
- ‘क्षमता छ भने कसैले पनि रोक्न सक्दैन’
- “म ‘पर्फेक्सनिस्ट’ होइन, छरिएको लेखक हुँ”
- ‘अभिभावक आफूलाई किताब किन्छन्, छोराछोरीलाई चटक्कै बिर्सन्छन्’
- “पाठकले ‘साला देशमें क्या है’ लेख्नुस् भन्न थालेका छन्”
- ‘बाँच्ने काइदा राउटेबाट सिक्नुपर्छ’
- ‘बीपीको जस्तोसुकै व्यस्त समयमा पनि किताब पढ्ने बानी रहेछ’
- ‘हजुरआमा पुस्ताले संघर्ष नगरेको भए नातिनी पुस्ताले यत्तिको स्वतन्त्रता पाउँदैनथ्यो’
- ‘प्रेम विनाको यौन अपराध हो’
- ‘बुद्ध जातिवाद विरोधी थिए, समान आर्थिक अधिकार हुनुपर्छ भन्ने मान्यता राख्थे’
- ‘सुवर्णशमशेरको पैसा नभएको भए प्रजातन्त्र ढिलो आउन सक्थ्यो’
- ‘गाउँदेखि शहरसम्म विकासको मानक नै उल्टो भयो’
- ‘उपचारको व्यवस्था नहुँदा थुप्रै वन्यजन्तु गुमाइरहेका छौं’
- ‘समुदायलाई वन हस्तान्तरण गर्दा पुरस्कार होइन, तिरस्कार पाएँ’
- ‘बीपीको साहित्य उच्च कोटिको छ, राजनीति असफल’
- ‘सबैभन्दा धेरै पढ्नुपर्ने शिक्षकले हो, तर पढ्दैनन्’
- ‘हाम्रा शासक थेत्तरो होइन, पाखण्डी छन्’
- ‘भैरव अर्यालको छुटेको जीवनी भग्न भैरवमा छ’
- ‘युवराज दीपेन्द्रले हाम्रो घरमा आउँदा धानका बोरा बोकेर भित्र राखेछन्’
- ‘भविष्यमा बाआमा अझै एक्ला हुनेछन्’
- ‘फरुवा बोकेर जनतासँगै पहाड फोड्ने नेताको खाँचाे छ’
- ‘नतीजा खोज्न राजनीतिमै घुस्नुपर्छ’
- ‘सामाजिक पागलपन झन् झन् चुलिंदै गएको छ’
- ‘प्रेम र यौन मानिसबाट अलग गर्न सकिंदैन’
- २५ वर्ष लगाएर लेखिएको पुस्तकमा के छ?
- ‘ढिलोचाँडो समाज पुस्तकमै फर्किन्छ’
- ‘किताब पढ्नु मेरो लागि ध्यान गर्नु जस्तै हो’
- ‘निकुञ्ज क्षेत्रमा भएको बाटो सूर्योदयदेखि सूर्यास्तसम्म मात्रै खोल्नुपर्छ’
- ‘लुकीछिपी विदेश गइरहेका मान्छेलाई जिउँदै समुद्रमा फालेको पनि देखें’
- ‘नेपाल र भारतमा विद्यापति जस्ता कवि अर्का जन्मिएका छैनन्’
- ‘द्वन्द्वका दागबारे लेख्न र बोल्न छाड्नु हुन्न’
- ‘उमेर जति बढ्दै गयो त्यति नै बीपीको लेखनले प्रभावित पार्दै गयो’
- ‘मुन्धुम मानव सभ्यताको इतिहास हो’