प्रहरीलाई कुटपिट गर्ने अखिलका नेता जोशी पक्राउ
ड्यूटीमा रहेका प्रहरीलाई कुटपिट गर्ने सत्तारूढ दल नेकपा (एमाले)को भ्रातृ संगठन अनेरास्ववियुका नेता कमलराज जोशीलाई प्रहरीले पक्राउ गरेको छ।
शुरूआतमा प्रहरीले नै जोगाएको आरोप लागेका जोशीलाई काठमाडौं जिल्ला प्रहरी परिसरले नयाँ बानेश्वरबाट आज पक्राउ गरेको हो। जोशी सहितको समूहले माघ २४ गते ठमेलमा दरबारमार्ग वृत्तका क्वीक रेस्पोन्स टीम (क्यूआरटी)का प्रहरी हवल्दार जगुलाल चौधरी र जवान नर्गेन्द्रराज विष्टलाई आक्रमण गरेको थियो।
यसअघि माघ २७ मा ताप्लेजुङका दिनश सिग्देल र डडेल्धुराका रमेश फुलारा पक्राउ परेका थिए। सीसीटीभी फूटेज हेर्दा घटनामा पाँच जना संलग्न देखिए पनि प्रहरीले जोशीलाई भने अनुसन्धानको दायरामै ल्याएको थिएन। उक्त फूटेजमा जोशीले प्रहरीलाई कुटपिटबाट जोगाउन खोजेको भन्दै उन्मुक्ति दिने प्रयास गरेको थियो।
सत्ताको आडमा कारबाही नगरिएको भन्दै आलोचना भएपछि प्रहरीले फेरि पक्राउ पुर्जीको माग गर्दै जिल्ला प्रशासन कार्यालयमा पत्राचार गरेको थियो। उनीहरूलाई अभद्र व्यवहारको कसूर लगाइएको छ। पक्राउ परेकाहरूले जोशीको उक्साहटमा प्रहरीलाई कुटपिट गरेको सोधपुछका क्रममा बताएका छन्।