क्हफुचे हिमतालले गरेको संकटको संकेत
अन्नपूर्ण दोस्रो हिमालको फेदमा बनेको क्हफुचे हिमतालले स्थानीय बासिन्दाका लागि अवसर सिर्जना गरे पनि तटीय क्षेत्रमा जोखिम बढाएको छ भने हिमाली क्षेत्रमा बढ्दै गएको वातावरणीय संकटको संकेत गरेको छ।
भैंसीगोठको मेलोमेसोसँगै हुर्के-बढेका चन्द्रप्रसाद गुरुङ (४०)को दिनचर्या पछिल्लो चार वर्षयता फेरिएको छ। बाबुबाजेले गरिरहेकै काम पछ्याउँदै भैंसीगोठ नै राखेका थिए, लेकमा।
त्यो लेक थियो, कास्कीको पर्यटकीय गाउँ सिक्लेसभन्दा माथिको हुगुगोठ। समुद्री सतहबाट दुई हजार १०० मिटरको उचाइमा रहेको हुगुगोठको चौरमा कुनै समयमा गुरुङ २० वटा भैंसीका गोठाला थिए। एकाएक क्हफुचे हिमताल बनेसँगै उनको दिनचर्या बदलियो। “क्हफुचे हिमताल हेर्न आउने मान्छेलाई खानबस्न मिलाउन थालें,” उनी भन्छन्, “एक दिन, दुई दिन गर्दागर्दै होटलतिर लागें।”
स्थानीय बासिन्दा चन्द्रप्रसाद गुरुङ। तस्वीरहरू: दुर्गा राना मगर/हिमालखबर
साढे दुई दशकअघि मात्रै अस्तित्वमा आएको हिमतालले आन्तरिक तथा बाह्य पर्यटकलाई आकर्षित गर्यो। उनीहरूका लागि खाना तथा वासको जोहो गरिदिंदा आम्दानी पनि हुन थाल्यो। त्यसपछि भने हुगुगोठबाट क्हफुचे उक्लिएर व्यावसायिक रूपमा होटल शुरू गरे। भैंसीगोठ छाडेर होटल व्यवसाय शुरू गरेका गुरुङ भन्छन्, “सुबिस्ता त यसैमा भयो, भैंसीगोठमा दुःख हुन्थ्यो।”
क्हफुचे नामको कथा
हिमताल जन्मनुअघि मादी गाउँपालिका-१, सिक्लेसस्थित क्हफुचे हिउँले ढाकिएको समथर चउर थियो। अन्नपूर्ण दोस्रो (७,९३७ मिटर) र लमजुङ (६,९८३ मिटर) हिमालले घेरेर बसेको क्हफुचेमा उहिल्यै बाजेबुबाहरूसँग शिकार खेल्न आएको गुरुङ सम्झिन्छन्। कहिले साथीहरूलाई त कहिले बुबाहरूलाई पछ्याउँदै क्हफुचे पारि गएको उनी सुनाउँछन्। “हिउँ नै हिउँ थियो, बिस्तारै बिस्तारै हिउँमा टेक्दै पारि जान्थ्यौं,” गुरुङ भन्छन्।
बाजे पुस्ताले नै यस ठाउँको नाम गुरुङ भाषामा क्हफुचे राखिदियो। जसमा ‘क्ह’ को अर्थ हिउँको ढिक्का, ‘फु’ को अर्थ भत्किने र ‘चे’ को अर्थ समथर ठाउँ, यसरी हिउँ भत्किएर बनेको समथर ठाउँ अर्थात् क्हफुचे।
अन्नपूर्ण दोस्रो र लमजुङ हिमालको दोसाधमा रहेको क्हफुचे हिमताल।
उनी जस्तै क्हफुचे हिमताल जन्मनुअघि त्यहाँ पुगेका सिक्लेसीहरू क्हफुचेको वारपार नै गरेको रोमाञ्चक कथा सुनाउँछन्। केही तल पानी देखिएको भए पनि क्हफुचेमै भने हिउँ नै हिउँ रहेको उनीहरू बताउँछन्। हिउँ पग्लिएर नै ताल देखिएको स्थानीय बासिन्दाको भनाइ छ।
क्हफुचे हिमतालबारे गरिएका विभिन्न अध्ययनले सन् २००१ अघिसम्म हिमताल नरहेको देखाएका छन्। त्यसपछिका वर्षहरूमा सानो आकारमा रहेको हिमतालले सन् २००८ मा ठूलो आकार लिएको थियो। क्रमश: विस्तार हुँदै अहिलेको स्वरूपमा देखिन थालेको हो।
सामान्यतया उच्च हिमाली भेग अर्थात् चार हजार २०० देखि पाँच हजार ८०० मिटरको उचाइमा हुने ताललाई हिमतालका रूपमा चिनिने गरिएको छ। क्हफुचे भने त्यो मापदण्डभन्दा झन्डै आधा कम दुई हजार ४५० मिटरको उचाइमा अस्तित्वमा आएको छ। जसले गर्दा यसलाई हिमताल भन्ने कि नभन्नेमै लामो बहस पनि भएको थियो।
क्हफुचे हिमतालमा खसिरहेको हिमपहिरो।
अध्ययनहरूका अनुसार कुनै समय अन्नपूर्ण दोस्रोबाटै क्हफुचेमा खसेको हिमपहिरो बरफका रूपमा जम्न पुग्यो। समयसँगै जलवायु संकटले तापक्रम बढ्दै जाँदा हिउँ पग्लिँदै गयो। पछि हिमताल पनि अस्तित्वमा आएका कारण क्हफुचेलाई हिमतालकै रूपमा परिभाषित गर्न सकिने विज्ञहरूको तर्क छ। अहिले क्हफुचे संसारकै कम उचाइमा रहेको हिमताल मानिएको छ।
कसरी जन्मियो हिमताल?
पछिल्लो पटक सन् २०२२ मा क्हफुचेको विकास र गहिराइबारे हिमनदीका अनुसन्धाता नितेश खड्का, अध्येताहरू सुशीला कँडेल, ध्रुव तिवारी, विवश श्रेष्ठ र केदार रिजालले अध्ययन गरेका थिए। भू-उपग्रहबाट लिइएका तस्वीरहरूमा पहिलो पटक सन् २००१ मा ताल देखिएको र सन् २००५ सम्म तालको आकार बढ्दै गएको अध्ययनमा पाइएको छ।
सन् २००८ मा क्हफुचे हिमताल।
सन् २००५ देखि सन् २०१० सम्म क्हफुचे हिमतालको क्षेत्रफल तीव्र रूपमा बढ्न पुग्यो। २० वर्षको अवधिमा तालको आकार र स्वरूपमा व्यापक परिवर्तन आएको अध्ययनमा उल्लेख छ। अध्ययनले भनेको छ, ‘तालको क्षेत्रफल ०.१२ वर्गकिलोमिटर छ, तर यो +०.०१५ वर्गकिलोमिटरले फरक हुन सक्छ। तालको अधिकतम गहिराइ दक्षिण-पूर्वी क्षेत्रमा ३२ मिटर छ। तालको समग्र परिधि ० देखि १० मिटरसम्म छ, जसमा उत्तर-पूर्वी भागमा १५ मिटरसम्मको गहिराइ छ।’
त्यस्तै, क्हफुचे हिमतालमा पानीको मात्रा करीब १४ लाख २० हजार घनमिटर रहेको अनुमान छ।
सन् २०१७ मा क्हफुचे हिमताल।
क्हफुचे तालको उत्पत्ति अरू हिमताल जसरी नै भएकाले यसलाई हिमतालकै रूपमा परिभाषित गर्न सकिने अनुसन्धाता खड्का बताउँछन्। हाल उनी चीनको ‘चाइनिज एकेडेमी अफ साइन्स’ मा विद्यावारिधि गरिरहेका छन्। उनका अनुसार शुरूआतमा दुई ताल देखिएका थिए। “हिमताल बन्ने प्रक्रिया जस्तै पहिले क्हफुचेमा ससाना दुई वटा ताल देखिएका थिए,” खड्का भन्छन्, “केही समयपछि दुवै ताल गाभिएर क्हफुचेको अहिलेको स्वरूपमा आएको हो।”
अहिले क्हफुचे हिमताल।
अवसर र संकट
लेकमा हिमताल बनेसँगै सिक्लेसीका लागि नयाँ अवसरको ढोका खुल्यो। आन्तरिक तथा बाह्य पर्यटक आउन थाले। आगन्तुकको संख्या बढेसँगै अहिले क्हफुचेमा ६ वटा अस्थायी होटल सञ्चालनमा छन्। चन्द्रप्रसाद गुरुङ जस्तै यस क्षेत्रका बासिन्दा पनि परम्परागत पेशा छाडेर होटल-होमस्टे व्यवसायमा लागेका छन्।
सिक्लेस हुँदै क्हफुचे पुग्ने पदमार्ग बनेको छ। पदमार्गको विकास र प्रवर्द्धनसँगै क्हफुचे घुम्न पुग्नेहरू बढेका छन्। यसले सिक्लेस र आसपासका गाउँलाई पनि आर्थिक तथा सामाजिक लाभ पुगेको छ। क्हफुचे हिमताल रहेको मादी गाउँपालिका-१ का वडाध्यक्ष देवीजंग गुरुङ भन्छन्, “विशेषतः सिक्लेसदेखि क्हफुचे पदमार्गमा रहेका होटल, टी-शपहरूका साथै क्हफुचेमै रहेका होटलमा युवाका लागि रोजगारीको अवसर मिलेको छ।”
क्हफुचेमा खुलेका अस्थायी होटल।
क्हफुचे हिमताल छोटो समयमै पर्यटनका लागि राम्रो गन्तव्य बनेको वातावरणविद् डा. हुम गुरुङ सुनाउँछन्। उनी पनि सिक्लेसकै बासिन्दा हुन्। ४८ वर्षअघि क्हफुचे पुग्दा बरफ जमेको फाँटका रूपमा देखेको उनी सम्झिन्छन्। “अहिले क्हफुचे हिमताल बनेकाले राम्रो पर्यटकीय गन्तव्य बनेको छ,” डा. गुरुङ भन्छन्, “घुम्ने जानेसँगै जैविक विविधता र वातावरणीय अध्ययनका लागि यो क्षेत्र उपयोगी हुनेछ।”
क्हफुचे हिमतालले थुप्रै अवसर सिर्जना गरेको भए पनि दीर्घकालीन रूपमा हुन सक्ने जोखिमबारे वेलैमा सचेत हुनुपर्ने उनी बताउँछन्। यसबारे पर्याप्त अनुगमन पनि नभएको उनको भनाइ छ।
अन्तर्राष्ट्रिय पर्वतीय विकास केन्द्र (इसिमोड) र संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (यूएनडीपी)ले सन् २०२० मा हिमतालबारे संयुक्त अध्ययन गरेका थिए। अध्ययनमा कोशी, गण्डकी र कर्णाली जलाधार क्षेत्रका ४७ वटा हिमताल विस्फोट हुने जोखिममा रहेको देखिएको छ।
यी तीन वटै नदीका जलाधारमा तीन हजार ६२४ हिमताल छन्। क्हफुचे हिमतालको जोखिमबारे पर्याप्त अध्ययन नभए पनि यसलाई कम जोखिमयुक्त हिमतालका रूपमा मानिएको छ।
क्हफुचे हिमताल।
इसिमोडले नै सन् २०११ मा प्रकाशन गरेको हिमताल र हिमताल फुट्दा सिर्जित बाढी सम्बन्धी अध्ययन प्रतिवेदनमा क्हफुचेमा दुई पटक यस्ता घटना घटेको उल्लेख छ। जसमा २०६० र २०६१ सालको साउनमा हिमताल फुटेको हुन सक्ने अनुमान गरिएको छ। तर त्यसबारे थप जानकारी उल्लेख छैन।
त्यस्तै, अन्नपूर्ण दोस्रोमा हिमपहिरोको अनुपातबारे गरिएको अध्ययनले सन् १९८८ देखि सन् २०२१ सम्म २७० हिमपहिरोको पहिचान गरेको छ। जसमा मुख्यतः नोभेम्बर र मार्च महीनामा हिमपहिरो गएको देखाएको छ। सन् १९८८ मा १० पटक र सन् २०२० मा २७ पटकसम्म हिमपहिरो गएको पाइएको थियो।
भू-उपग्रहका तस्वीरलाई आधार मानेर गरिएको अध्ययनले हिमपहिरो गएपछि जम्मा हुने क्षेत्र ७० प्रतिशतले घटेको देखाएको छ। सन् १९८८ मा हिमपहिरोको अवशेषले तीन लाख ४८ हजार वर्गमिटर क्षेत्र ओगटेको थियो। सन् २०२० मा आइपुग्दा घटेर एक लाख २० हजार वर्गमिटरमा खुम्चिएको अध्ययनमा देखिएको छ।
क्हफुचे हिमताल माथिको हिमाली संरचना।
यसको अर्थ हिमपहिरो संख्यामा बढ्दै गएको भए पनि यसले ल्याउने हिउँ र बरफ भने घट्दै गएको देखाउँछ। झन् पछिल्लो समय त तापमान वृद्धिले हिमाली क्षेत्रमा सबैभन्दा बढी प्रभाव परेको छ। यसले पनि हिमपहिरोको संख्या बढ्दै गएको वैज्ञानिकहरूले बताउँदै आएका छन्।
इसिमोडको अध्ययन अनुसार पृथ्वीको औसत तापक्रम १.५० डिग्री सेल्सियसले मात्रै बढे पनि हिमाली क्षेत्रमा यसको प्रभाव थप ०.३ डिग्री सेल्सियसले बढ्ने गरेको छ। हिन्दूकुश पर्वतीय क्षेत्रमा सन् २०५० सम्म करीब १ देखि २ डिग्री सेल्सियसले बढ्ने अनुमान छ, जबकि केही स्थानमा ४ देखि ५ डिग्री सेल्सियससम्म पनि बढ्न सक्ने जनाइएको छ।
जलवायु संकट, वायु प्रदूषण, तापक्रम वृद्धि लगायत कारणले हिउँ पग्लिने क्रम बढ्दो छ। हिमालमा हिउँ छिटो पग्लिंदै जानुले भविष्यमा हुने खाद्य संकट र बढ्दो प्राकृतिक प्रकोपलाई इंगित गर्छ।
जरूरी पूर्व तयारी
क्हफुचे हिमतालमा पनि ससाना हिमपहिरो खसिरहने गरेको स्थानीय बासिन्दा बताउँछन्। यसैका कारण तालको आकार पनि बढ्दै गएको उनीहरूको भनाइ छ। “हिउँ खसिरहन्छ। पहिले सानो ताल थियो। हिउँ खस्दै आएपछि ठूलो हुँदै गएको छ,” स्थानीय बासिन्दा चन्द्रप्रसाद गुरुङ भन्छन्।
अन्नपूर्ण संरक्षण क्षेत्र आयोजनाले पनि क्हफुचेमा हिमपहिरोबारे तथ्यांक राख्न थालेको छ। यसका लागि तीन जना स्थानीय बासिन्दा खटाएको छ। जसमा कति पटक, कुन समयमा, कति ठूलो वा सानो हिमपहिरो आयो भन्ने तथ्यांक राखिरहेको आयोजना प्रमुख संग्राम कार्की बताउँछन्। यसले क्हफुचे हिमतालको थप अध्ययन-अनुसन्धानमा सघाउ पुग्ने कार्कीको भनाइ छ।
क्हफुचे हिमतालमाथि हिउँ नहुँदा देखिएका कालोढुंगा।
उसो त केही वर्षदेखि क्हफुचेमा हिउँ नै कम हुँदै गएको छ। क्हफुचे वरिपरि पनि कालो चट्टान देखिन थालेको छ। स्थानीय बासिन्दा चन्द्रप्रसाद गुरुङ पनि अघिल्ला वर्ष जम्मा हुने गरेको क्हफुचे तालमाथिका सेता बरफहरू अहिले पग्लिएर कालो ढिक्का भएको सुनाउँछन्।
हुन पनि क्हफुचे तालमाथि जम्मा हुने बरफका ढिक्काहरू काला चट्टान जस्ता देखिएका छन्। जलवायु संकटका कारण विश्वव्यापी तापक्रममा वृद्धि भएरै सबैभन्दा कम उचाइमा हिमताल देखिनु र हिमताल क्षेत्रमा गत २५ वर्षमा आएको परिवर्तनले यसको प्रभावलाई प्रस्ट देखाउँछन्।
नेपालका हिमतालबारे अध्ययन गर्दै आएका खड्का पनि जलवायु संकटको प्रभाव स्पष्ट रूपमा देखिन थालेको बताउँछन्। नेपालमा हिमताल फुट्ने जोखिमलाई कम गर्न केही अभ्यास भएको बताउँदै क्षति कम गर्न सचेतना र पूर्व सूचना प्रणालीको व्यवस्था गर्नुपर्नेमा अनुसन्धाता खड्काको जोड छ। “एक त हिमतालहरूमा भौतिक रूपमा गरिने ‘इन्टर्भेन्शन’ जस्तै तालको पानी कम गराउनुपर्छ, अर्कातर्फ यसबारे सचेतना र सजगता अपनाउनुपर्छ,” उनी भन्छन्।
मादी खोलाको शिर हो, क्हफुचे हिमताल। मादी खोलामाथि र यसको सेरोफेरोमा अहिले सात वटा जलविद्युत् आयोजना छन्। केही निर्माण भइसकेका छन् भने केही निर्माणाधीन छन्। मादी खोलाकै तिरमा पनि बस्तीहरू छन्।
२०६९ वैशाख २३ मा सेती नदीमा आएको बाढीले विध्वंस मच्चाएको थियो। बाढीमा परेर ७२ जनाले ज्यान गुमाएका थिए। कतिपय त अझै बेपत्ताको सूचीमा छन्।
अन्नपूर्ण चौथो हिमाल (७,५२५ मिटर)मा आएको हिमपहिरो र खसेको चट्टानले बाँध फुटेकाले सेती नदीमा बाढी आएको थियो। अन्नपूर्ण चौथोसँगै जोडिएको अन्नपूर्ण दोस्रोमा पनि जोखिम छ। अन्नपूर्ण दोस्रोबाट खस्ने हिमपहिरोको प्रभाव क्हफुचे हिमताल र यससँग जोडएको मादी खोलामा पर्ने विज्ञहरू बताउँछन्।
क्हफुचे हिमतालबाट प्राप्त आर्थिक र सामाजिक लाभसँगै वातावरण संरक्षणमा पनि ध्यान दिनु आवश्यक छ। क्हफुचे हिमतालकै सेरोफेरोबाट सेती बाढीको घटना, हिमताल फुटेरै सोलुखुम्बुको थामेमा आएको बाढी लगायत घटनाबाट सिकेर अहिलेदेखि नै जोखिम कम गर्न सचेत हुनु जरूरी छ।