शहीदगेटमा नअटाएका लखन
१९९७ सालका चार शहीदले लखनले नै बालेको चेतनाको आलोकमा निरंकुश राणाशासन विरुद्ध संघर्ष गर्ने प्रेरणा पाएका हुन्, तर लखन शहीदगेटका शहीदहरूको पंक्तिमा अटाएनन्।
उमेश राना ‘गोर्खाली’
व्यक्तिगत स्वार्थ त्यागी देश र जनताका निम्ति प्राण उत्सर्ग गर्ने थोरै सपूतमध्ये पर्छन्, लखन थापामगर। त्यही त्यागका कारण उनी नेपालका पहिलो शहीदका रूपमा युग-युगसम्मलाई अमर बनेका छन्। जन्मथलो गोरखाको बुङ्कोटमा लखनले लडाकू सेना सहितको गढी बनाई १९३२ सालमा निरंकुश राणाशासन विरुद्ध हतियार उठाएका थिए। सदरमुकामबाट १२ किमी दक्षिण-पूर्वमा रहेको उक्त थलो हाल शहीद लखन गाउँपालिका-७ मा पर्छ।
अनेकौं षड्यन्त्रबाट शासनसत्तामा पुगेका राणा प्रधानमन्त्री जंगबहादुरको अधिनायकवादसामु कसैको केही चल्दैनथ्यो। सेनादेखि प्रशासनसम्मका उच्च ओहदा राणापरिवारमा सीमित पारिएका थिए। सर्वसाधारण पशु सरह बाँच्न विवश थिए भने राणाहरू देशको ढुकुटीमा हालीमुहाली गर्दै अत्यन्त विलासी जीवन बिताउँथे। देशमा न्याय र सुशासन थिएन।
१९१० सालमा जातव्यवस्थामा आधारित मुलुकी ऐन लागू गरिएपछि सामाजिक विभेद झन् बढ्यो। समाजलाई तागाधारी, मतवाली, पानी चल्ने/नचल्ने समूहमा बाँडियो। मतवालीमा पनि मासिन्या र नमासिन्या वर्ग थिए। मासिन्याले कसूर गरे मारिन्थे, बेचिन्थे। एकै अपराधमा जाति अनुसार बेग्लाबेग्लै दण्डसजाय हुन्थ्यो। यसले जातपात र छुवाछूतलाई अझ चर्कायो। यी बेथिति विरुद्ध सिंगो समाजलाई एकताबद्ध गराई सही बाटोमा डोर्याउन देशलाई सबल नेतृत्वको खाँचो थियो। त्यसैले जंगबहादुर जस्ता क्रूर शासक र तानाशाह विरुद्ध कठोरतापूर्वक उभिए, लखन।
भारतीय भूमिलाई उपनिवेश बनाउने अंग्रेजहरूको आडमा जंगबहादुर सर्वसत्तावादी बनेका थिए। परिवर्तनका लागि संघर्ष अपरिहार्य थियो। लखनले समयको माग र जनभावना बुझे, त्यसैको सम्बोधनलाई मुख्य लक्ष्य बनाए। सर्वसाधारणलाई जागरूक र संगठित बनाउन खोज्दा उनी सैन्य सेवाबाट हटाइए र बुङ्कोट फर्किए। त्यस वेला समाजमा रूढिवाद र अन्धविश्वास व्याप्त थियो। मानिसहरू ईश्वरप्रति गहिरो आस्था राख्थे। त्यही आस्थालाई उपयोग गर्दै लखनले आफूलाई रामशाहकालीन सिद्ध लखन थापाको अवतार भने। अनि जंगबहादुरको अन्त्य गरी आफैंले शासन चलाउन माता मनकामनाबाट आशीर्वाद पाएको बताए। तत्कालीन धर्मभीरु समाजलाई यसले आकर्षित गर्यो।
लखन थापा र जंगबहादुर राणा।
यसै क्रममा लखनले जनसमर्थन बटुली जोसमनी सम्प्रदाय गठन गरे अनि साधु बनेर त्यसैको प्रचारमा लागे। जोसमनी गोरखामै उत्पन्न भएको नेपालकै पुरानो सन्तपरम्परा हो। त्यसमा राजा–प्रजा समान मानिन्छन्। यो सम्प्रदाय धर्मको विरोधी थिएन, तथापि धर्मकै आडमा ल्याइएको जातीय भेदभाव, उचनीच र छुवाछूतको कडा निन्दा गर्थ्यो। मूर्तिपूजा र कर्मकाण्डलाई ठगिखाने धन्दा भन्थ्यो। जोसमनी दर्शनबाट निर्देशित लखनको मधुरवाणीमा भक्तहरूले असल जीवन र सुन्दर भविष्य देखे अनि क्रूर शासक विरुद्ध लड्न एकढिक्का हुँदै गए।
तिनैको मद्दतले काहुलेमा युद्धकिल्ला ठडियो, युवालाई सैन्य तालीम दिइयो। केही हातहतियार भेला पारी एक हजार ५०० जति व्यक्तिको फौज तयार भयो। यसबाट आन्दोलनकारीको हौसला झन् बढ्यो। अनि लखनले ‘नेपाली सेनाको नेतृत्व गरी राजधानी प्रवेश गर्ने, जंगबहादुरको हत्या गरी उनको सत्ता अधीन पारेर सुनौलो युग आरम्भ गर्ने’ उद्घोष गरे। यो कुरा जंगबहादुरकै साहिंला छोरा पद्मजंग राणाको कृति जंगबहादुरको जीवनयात्रामा लेखिएको छ।
लखनको उद्घोष राज्यसत्ताका निम्ति चुनौती बन्यो। तराईको शिकारबाट फर्कंदा देउरालीमै मार्ने विद्रोही योजना थाहा पाई अर्कै बाटोबाट राजधानी पुगेका जंगबहादुरले १९३२ चैतको आखिरमा विरोधीलाई दमन गर्न देवीदत्त पल्टन खटाए। बुङ्कोटमा दुवै पक्षबीच भिडन्त भयो। सीमित हतियारका कारण विद्रोही धेरै बेर टिकेनन्। उनीहरूलाई पक्राउ गरी सैन्य शिविर लगियो, खुलेर विद्रोहमा लागेका १२ जना बाहेक अरू छाडिए। विद्रोहका नायक लखन थापालाई नेल–हत्कडी सहित बाँसको कोक्रामा राखेर अनि अन्यलाई हिंडाएर राजधानी पुर्याइयो। मुद्दा संगीन भएकाले जंगबहादुर यसको गहिराइमा पुग्न चाहन्थे।
त्यही वेला जोसमनी विचारधाराका सन्त ज्ञानदिलदास (लामिछाने थरका ब्राह्मण)लाई रुम्जाटारबाट पक्राउ गरियो र जमलमा ६ महीना थुनामा राखियो। लखनसँगको भित्री सम्बन्ध केलाएपछि उनलाई निर्दोष भनी छाडियो। यता, बन्दीगृहमा नौ महीनादेखि यातना भोगिरहेका बुङ्कोटेहरूको मुद्दा बल्लतल्ल छिनियो। तीमध्ये पाँच जना सामान्य समर्थक मात्र भएकाले मुक्त गरिए भने सात जनालाई राजद्रोहको अभियोग लगाइयो।
बुङ्कोटस्थित लखन थापाको शालिक र विद्यालय।
भनिन्छ, सजाय तोक्नुअघि जंगबहादुरले सोधेका थिए– मृत्युदण्ड रोज्छस् कि आजीवन कारावास? प्रत्युत्तरमा लखनले भने, “तिम्रो नुन खाएर आजीवन बाँच्नु छैन, बरु बुङ्कोटै लगेर मेरा जनतासामु झुन्ड्याऊ!” १९३३ पुस ७ मा उनीहरूकै किल्लाको मनकामनाथान सामु पहिले लखन, त्यसपछि उनका ६ जना कट्टर समर्थक जयसिंह चुमी, पलसिंह अछामी, विराज थापा, जुठ्या थापा, जितमान गुरुङ, अजपसिंह थापालाई बलेंसीमा झुन्ड्याइयो। भनिन्छ, बुङ्कोटमा सेनाको घेराबन्दी तोडेर विद्रोहीहरू भाग्न सक्थे, तर भागेनन्। क्षमा मागे ज्यान जोगिन सक्थ्यो, त्यसो पनि गरेनन्। उनीहरूले हाँसीहाँसी मृत्यु स्विकारे, देशको स्वतन्त्रता र स्वाधीनताका लागि लड्न सबैलाई अभिप्रेरित गरे।
सर्वस्वहरणमा परेकाले शहीदका परिवारहरू बाध्यतावश बुङ्कोटबाट पलायन भए। लखनका सन्तति भारतको दार्जीलिङमा भेटिए भने जयसिंह र पलसिंहका खलक निकैपछि मात्र बुङ्कोट फर्किएका थिए। अन्य शहीद परिवार अझै गुमनाम छन्। यो विद्रोहले जनतालाई पहिलो पल्ट शासक विरुद्ध एकढिक्का बनायो र आन्दोलित गरायो। गोरखाको दूरदराजमा भएको यो विद्रोह नेपाली इतिहासमै अद्भुत प्रकृतिको मानिन्छ। नेपालमा प्रजातान्त्रिक आन्दोलनको अध्याय यहींबाट शुरूआत भएको देखिन्छ। यसअघि पनि ‘बगावत’ नभएका होइनन्, तर ती देश र जनताको पक्षमा नभई पद, प्रतिष्ठा र प्रतिशोधमा केन्द्रित षड्यन्त्र मात्र थिए। बुङ्कोटको घटना स्वतन्त्रता, मुक्ति र स्वाधीनतासँग जोडिएर आएको सशक्त विद्रोह थियो। लखन निर्विवाद रूपमा राणशासन विरुद्धका पहिलो र सच्चा क्रान्तिकारी थिए। त्यसैले बुङ्कोट विद्रोही भावना र चेतनाको मुहान बन्यो, जनआन्दोलनको प्रारम्भबिन्दु भयो।

जंगबहादुरका छोरा पद्मजंग त्यस बखत सैन्य जनरल मात्र थिएनन्, कतिपय घटनाका साक्षी पनि थिए। जहानियाँ शासन विरुद्ध ‘लखन थापाको सुनौलो युग फर्काउने परिकल्पना थियो’ भनी उनले त्यसै लेखेनन्। त्यस वेला ‘प्रजातन्त्र’ शब्द प्रचलनमै नरहेकाले सुनौलो वा सत्ययुगलाई उदार र भेदभावरहित शासन व्यवस्थाका रूपमा बुझ्नुपर्छ। अहिलेकोे लोकतन्त्र त्यसैको आधुनिक स्वरूप हो जसका लागि कठोर संघर्ष गर्दा सात जनाले ज्यान गुमाए। त्यो शहादतको मूल्यांकन राज्यले ढिलै भए पनि गर्यो। २०७२ असोज ३ गते संविधान जारी भएकै दिन राष्ट्रिय विभूतिका हकदार लखन थापामगरलाई ‘प्रथम शहीद’ को दर्जा दिइयो, तर उनीसँगै मारिएका अरू सपूतलाई शहीद मान्न कन्जुस्याइँ गरियो। तिनको जीवन पनि कम मूल्यवान् थिएन। त्यसैले बुङ्कोटमा मारिएका सबैले शहीदको सम्मान पाउनुपर्छ। गुमनाम रहेका तिनका परिवार खोजिनुपर्छ।
लखनहरूले झैं शुक्रराज, धर्मभक्त, गंगालाल र दशरथचन्दले पनि प्रजातन्त्रका लागि सङ्घर्ष र बलिदान गरेका थिए। लखनले जनअधिकारको कुरो गरे, शुक्रराजहरूले नागरिक अधिकार भने। त्यो घटना गोरखाको दुर्गममा भयो, यो राजधानी जस्तो सुगममा भयो। त्यो सशस्त्र संघर्ष थियो, यो शान्तिपूर्ण आन्दोलन थियो, तर दुवैको मकशद एकै थियो– राणाशासनको समाप्ति र प्रजातन्त्रको बहाली!
भनिन्छ, हरेक पुस्ताले अग्रजबाट प्रेरणा लिन्छ। लखनले सबैभन्दा पहिले चेतनाको दियो बाले, त्यसैको आलोकमा अरूले बाटो पहिल्याए। राणा विरुद्ध संगठित संघर्ष गर्ने प्रेरणा त्यहींबाट पाएर शुक्रराज लगायत देशभक्त मैदानमा उत्रिएका थिए। यो जनजागृतिको उद्गम निश्चय नै बुङ्कोट थियो। बुङ्कोट विद्रोहकै जगमा उठेको राणा विरोधी चेतनाले १९९७ सालको शहादतसँगै २००७ सालमा राणाहरू परास्त भई देशमा प्रजातन्त्र आयो। त्यसैको स्मृतिमा शहीदगेट बन्यो, तर त्यहाँ प्रथम शहीद लखन अटाएनन्। जबकि लखन, शुक्रराज, धर्मभक्त, गंगालाल र दशरथ एकै कोटिका सपूत हुन्। यिनलाई समान पंक्तिमा राख्नुपर्छ। यसमा विमति राख्नुपर्ने कुनै कारण छैन।