मधेशी मोर्चामा नअटाएका दलको छुट्टै गठबन्धन
मधेशकेन्द्रित आठ दलको मधेशी मोर्चामा नअटाएका अन्य दलहरूले छुट्टै गठबन्धन बनाउन लागेका छन्।
उनीहरूले गठबन्धनका लागि छलफल अघि बढाएका छन्। यसै क्रममा माघ ३० गते धनुषाको ढल्केबरमा बैठक बसेको थियो।
राजनीतिक दलसँगै नागरिक समाजलाई पनि समेटेर मधेश आन्दोलनको मर्म अनुसार संघर्ष गर्न महाभियान सञ्चालन गर्ने उनीहरूले बताएका छन्। नयाँ गठबन्धन बनाउन अग्रसर पूर्व गृह राज्यमन्त्री मोहम्मद रिजवान अन्सारीले मधेशमा पनि उत्पीडनमा पर्दै आएका समाज र वर्गबीच मोर्चाबन्दी गर्न लागिएको बताए।
विचार र व्यवहार मिल्ने राजनीतिक दल र नागरिक समाजलाई जोड्दै अगाडि बढ्ने उनको भनाइ छ। “काठमाडौंमा रहेका मधेशी दलहरूले मधेशको मुद्दा विसर्जन गरेका छन्, उनीहरूले सत्तासँग समर्पण गरेका छन्,” अन्सारीले भने, “अब मधेशमा छुट्टै गठबन्धनको आवश्यकता पहिल्याएर नै हामी अगाडि बढिरहेका छौं।”
नयाँ गठबन्धन बनाउन आयोजित बैठकमा नेपाली जनता दलका अध्यक्ष तथा संविधानसभा सदस्य हरिचरण साह, नेपाल संघीय समाजवादी पार्टीका अध्यक्ष पूर्व गृह राज्यमन्त्री रिजवान अन्सारी, प्रदेश सभा सदस्य विमलाकुमारी अन्सारी, नेपाल सद्भावना पार्टीका अध्यक्ष रामकुमार महतो र महासचिव पवनकुमार साह सहभागी थिए। बहुजन एकता पार्टीका वरिष्ठ नेता राजाराम पासवान, ऐतिहासिक जनता पार्टीका बद्रीनारायण ठाकुर, जनअधिकार पार्टीका अध्यक्ष इम्दाद गद्दी, राष्ट्रिय मुक्ति पार्टीका नेपालका केन्द्रीय सदस्य सञ्जयकुमार सिंह र नेपाली जनता पार्टीका धूपलाल प्रसाद सहनी बैठकमा सहभागी थिए।
![madeshi morcha_2 (1).jpg](https://www.himalkhabar.com/uploads/editor/Politics/madeshi morcha_2 (1).jpg)
त्यस्तै, नागरिक समाजका प्रतिनिधि पनि नयाँ गठबन्धन बनाउने बैठकमा सहभागी थिए। स्वाधीन मधेश अभियन्ता विपिन अधिकारी, सञ्जय यादव, कोमल यादव र विजयकुमार महासेठ लगायत अगुवा सहभागी भएको जनाइएको छ।
नयाँ गठबन्धन बनाउन लागेका मधेशकेन्द्रित साना दलहरूले संविधानमा पूर्ण समानुपातिक निर्वाचन प्रणाली, कार्यकारी राष्ट्रपति, अधिकार सम्पन्न संघीयता, एक मधेश प्रदेश जस्ता विषयलाई प्राथमिकतामा राखेर अघि बढ्ने बताएका छन्। यसमा सहमत हुने राजनीतिक दलसँग कार्यगत एकता तथा मोर्चाबन्दी गर्दै जाने अन्सारीको भनाइ छ।
काठमाडौंमा बनेको मधेशकेन्द्रित आठ दलको मधेशी मोर्चाको घटक जनता प्रगतिशील पार्टीका उपाध्यक्ष शिवजी यादव अन्य दललाई पनि समेट्दै लैजाने बताउँछन्। विधि-प्रक्रिया पूरा गरेर विचार मिल्ने दलहरूलाई समेट्दै जाने यादवको भनाइ छ।
नयाँ गठबन्धन बनाउन लागेका साना दलहरूले भने ठूला दलले विभेद गरेकाले छुट्टै एकजुट हुनुपरेको बताएका छन्। राजनीतिक विश्लेषक राजेश विद्रोही पनि मधेशी मोर्चामा सीमान्तीकृत समुदायका मान्छेले नेतृत्व गरिरहेका अन्य साना दल अटाउन नसक्नुमा विभेदको स्वरूपको निरन्तरता रहेको बताउँछन्। “जातीय, क्षेत्रीय पार्टीहरूमा अझै एकअर्कालाई हेप्ने, गिज्याउने र समाजमा रहेको उत्पीडित वर्गको नेतृत्वलाई अस्वीकार गर्ने पश्चगामी परम्परा कायम छ। त्यसैले साना दल मधेशी मोर्चामा अटाउन नसकेका हुन्,” विद्रोही भन्छन्।
काठमाडौंमा गठन भएको मधेशी मोर्चामा उपेन्द्र यादव नेतृत्वको जसपा, नेपाल, महन्थ ठाकुर नेतृत्वको लोसपा, अशोक राई नेतृत्वको जनता समाजवादी पार्टी, राजेन्द्र महतो नेतृत्वको राष्ट्रिय मुक्ति पार्टी, नेपाल, सीके राउत नेतृत्वको जनमत पार्टी, रेशम चौधरी नेतृत्वको नागरिक उन्मुक्ति पार्टी, वृषेशचन्द्र लाल नेतृत्वको तराई मधेश लोकतान्त्रिक पार्टी र हृदयेश त्रिपाठी नेतृत्वको जनता प्रगतिशील पार्टी नेपाल छन्। मधेशको अधिकार तथा पहिचानका लागि साझा अजेन्डामा संघर्ष गर्न मोर्चा बनाइएको उनीहरूको भनाइ छ।