मलेशियाबाट छोरीको शव ल्याउन १० महीनादेखि सरकारी कार्यालय धाइरहेकी आमा
मलेशियामा हत्या गरिएकी छोरीको शव नेपाल ल्याउन गुहार माग्दै ७० वर्षीया आमा १० महीनादेखि सरकारी कार्यालय धाइरहेकी छन्।
नवलपरासी (बर्दघाट सुस्तापूर्व)को कावासोती नगरपालिका-४ की ७० वर्षीया धनमाया सार्कीको आँखा १० महीनादेखि ओभानो भएको छैन। रोजगारीका लागि मलेशिया गएकी छोरीको हत्या भएको खबर सुनेदेखि उनी पीडामा छिन्।
गत वैशाख २६ गते मातातीर्थ औंशीको दिन मलेशियाबाट छोरी तिलमाया सार्कीले गरेको फोन नै अन्तिम थियो। त्यसको एक हप्तापछि अर्को फोन आयो र थाहा भयो, २५ वर्षीया छोरी तिलमायाको हत्या भयो भनेर। त्यसयता उनी बेचैन छन्।
६ वर्षीया छोरीलाई आमाको जिम्मा लगाएर मलेशिया उडेकी तिलमायाको हत्या भएको १० महीना बितिसकेको छ, तर हालसम्म न शव आएको छ न त राहत रकम नै। लामो समय अनेक प्रयास गर्दा पनि शव नेपाल ल्याउन नसक्दा वृद्धा आमा पीडामा छिन्। छोरीको शव ल्याउन आमा धनमाया १० महीनादेखि वडा कार्यालय र नगरपालिका धाइरहेकी छन्।
शव झिकाउन सबै कागजी प्रक्रिया पूरा गरेर मलेशिया पठाए पनि कुनै सुनुवाइ नभएको उनले सुनाइन्। “शव आउला भन्ने आश गर्दागर्दै १० महीना बितिसक्यो, तर आएको छैन,” उनी भन्छिन्, “म यो नातिनी लिएर अझै कहाँ कहाँ धाउनुपर्ने हो, मेसो पाउन सकेकी छैन।”
तिलमायाको हत्या भएको खबर पाए लगत्तै सम्पूर्ण कागजात मिलाएर आप्रवासन केन्द्रमा शव झिकाउन आग्रह गर्दा पनि सुनुवाइ नभएको तिलमायाकी दिदी नीलमाया सार्कीले बताइन्। “समयमै शव वा कागजात नआउँदा राज्यबाट प्राप्त हुने राहत नै पाइँदैन कि भन्ने चिन्ता पनि थपिएको छ,” उनले भनिन्, “जे हुने भइहाल्यो, केही राहत पाए त यो छोरीको लालनपालनमा सहयोग हुने थियो।”
सुरक्षित आप्रवासन केन्द्र (सामी परियोजना)की परामर्शदाता रञ्जना लम्सालले मृत्युको खबर आउने बित्तिकै नाता प्रमाणित गरी आवश्यक कागजपत्र मलेशिया पठाइए पनि अझै शव नेपाल ल्याउन नसकिएको बताइन्। “दूतावासका अनुसार अनुसन्धानले अन्तिम टुंगो नलागी शव नेपाल पठाउँदा मुद्दा किनारा लाग्न समस्या हुन्छ भनेर नपठाएको जानकारी पाएका छौं। मुद्दा किनारा लाग्न ढिलो हुँदा नाबालिकाले पाउने राहत गुम्ला कि भन्ने चिन्ता छ,” उनी भन्छिन्।
वैदेशिक रोजगार बोर्डको नियम अनुसार मृत्यु भएको मितिले एक वर्षभित्र आर्थिक सहायताका लागि निवेदन पेश गरिसक्नुपर्छ। तिलमायाको हत्या आरोपमा एक पाकिस्तानी युवामाथि मुद्दा चलेको र शवलाई पनि अनुसन्धान गर्नुपर्ने भएकाले ढिला भएको वैदेशिक रोजगार बोर्डका प्रवक्ता टीकाराम ढकालले बताए। “शव पहिचानमा नै लामो समय लागेको दूतावासले जानकारी गराएको थियो,” ढकालले भने, “शव पहिचान भएपछि नेपाल ल्याउन पहल गर्दा पनि अस्पतालमै रहेको र अस्पतालले मृत्यु प्रमाणपत्र प्रमाणित पनि नगरेको जानकारी पाएका छौं।”
सुरक्षित आप्रवासन केन्द्रको तथ्यांक अनुसार नवलपरासी (बर्दघाट सुस्तापूर्व)बाट वैदेशिक रोजगारीमा गएकामध्ये चालू आर्थिक वर्षको माघ मसान्तसम्म १८ जनाको मृत्यु भएको छ। यो अवधिमा मृत्यु भएकामध्ये तीन जनाको शव नेपाल आउन बाँकी छ। (रासस)