‘जनयुद्ध दिवस’ मा बिदा नदिन सर्वोच्चको अन्तरिम आदेश
सर्वोच्च अदालतले ‘जनयुद्ध दिवस’ मा बिदा नदिन अन्तरिम आदेश दिएको छ।
माघ २८ मा रुकुम पश्चिमको बाफिकोट गाउँपालिकाले ‘जनयुद्ध दिवस’ का लागि भनेर फागुन १ गते सार्वजनिक बिदा दिने निर्णय गरेको थियो। त्यस विरुद्ध स्थानीय बासिन्दा चन्द्रशेखर केसीले माघ २९ मा सर्वोच्च अदालतमा रिट दायर गरेका थिए। उनी द्वन्द्वपीडित हुन्।
केसीले दायर गरेको रिटमाथि बुधबार सुनुवाइ गर्दै सर्वोच्च अदालतका न्यायाधीश नित्यानन्द पाण्डेयको एकल इजलासले सार्वजनिक बिदा दिने निर्णय कार्यान्वयन नगर्न आदेश दिएको हो। सार्वजनिक बिदा नदिन र नियमित रूपमा सरकारी कार्यालय सञ्चालन गर्न अन्तरिम आदेश आएको रिट निवेदक केसीले बताए।
यससँगै सर्वोच्च अदालतले कारण देखाउ आदेश पनि दिएको छ। सर्वोच्च अदालतले ‘यसमा के-कसो भएको हो? निवेदकको माग बमोजिमको आदेश किन जारी हुनुनपर्ने हो? जारी हुनुनपर्ने भए आधार कारण’ पेश गर्न भनेको छ।
यसअघि पनि सर्वोच्च अदालतले ‘जनयुद्ध दिवस’ मा बिदा नदिन आदेश दिएको थियो। नेपाल सरकारले ‘जनयुद्ध दिवस’ का अवसरमा दिएको सार्वजनिक बिदा सर्वोच्चले बदर गरेको थियो।