गाउँलेले भत्काइदिएका टनेल उठाएर उद्यमी बनेका भोजबहादुर
गाउँलेहरूले भैंसी पसाएर भएभरका टनेल भत्काइदिंदा पनि हरेस नखाएका उनी अहिले चार जनालाई नियमित रोजगार दिने सफल कृषि–उद्यमी बनिसकेका छन्।
ढुंगाको काप फोरेर पनि उम्रन्छ पीपल।
सिर्जनाशक्ति संसारमा कहिल्यै हुँदैन विफल।।
राष्ट्रकवि माधवप्रसाद घिमिरेका यी हरफ ठ्याक्कै सुहाउँछन्, भोजबहादुर तामाङलाई। उनको संघर्ष ढुंगाकै कापभन्दा कम कठोर छैन। अनि सफलता त्यही काप छेडेर हुर्किएको पीपल जस्तै छ, झरिलो–भरिलो।
माछापुच्छ्रे गाउँपालिका‐४, कास्कीका ३३ वर्षीय भोजबहादुर अब आफ्नो गाउँठाउँ मात्र होइन, गण्डकी प्रदेशकै नामचिन किसानमा दरिएका छन्। सिर्जनाशक्तिको बलमा उनले व्यावसायिक कृषिकर्मलाई जुन उचाइ दिएका छन्, त्यो अरू थुप्रैका लागि प्रेरक बनिरहेछ। तर यो सफलता छुन उनले थोरै हन्डर–ठक्कर खाएका छैनन्।
पढाइमा मेधावी नै थिए, भोजबहादुर। १२ कक्षा प्रथम श्रेणीमा उत्तीर्ण भए, तर पारिवारिक कारणले थप अध्ययन गर्न पाएनन्। जिन्दगीमा केही गर्नुपर्छ भन्ने अठोट त थियो, तर लक्ष्य पहिल्याइसकेका थिएनन्। यस्तैमा साथीहरूसँग सरसापट मागेर पोखरा इन्जिनीयरिङ क्याम्पसभित्र चमेनागृह चलाए। त्यसमा मन अडेन अनि दुई लाख रुपैयाँमा बिक्री गरिदिए। त्यसपछि विदेश जाने रहर पलायो, कुवेत हानिए। विदेशमा राम्रो कमाइ हुने लोभले तानेको थियो। त्यहाँ होटलमा वेटरको काममा १२ घण्टा खटिनुपर्यो, सोचे जस्तो आम्दानी भने भएन। अनि लाग्यो– यतिको खटे त नेपालमै केही गर्न सकिएला नि! उनी १० महीनामै फर्किए। यो २०७४ सालको कुरा हो। जोस्सिएर फर्कन त फर्किए, कामको मेसो अझै समात्न सकेका थिएनन्।

एकदिन सोचे– यसै रल्लिनुभन्दा तरकारी खेती गर्नुपर्यो। यो काममा हात हाल्न किन सजिलो थियो भने उनका भिनाजु पहिल्यैदेखि तरकारी खेती गर्थे। त्यसपछि उनी माछापुच्छ्रे गाउँपालिका-९, सैंट्ठीघट्ट, इमुस्थित दिदीको घर गए। अनि त्यहीं बसेर सघाउन थाले।
तरकारी फलाउन सिकेपछि उनले त्यही ठाउँमा आफैंले आठ वटा टनेल हालेर छुट्टै खेती शुरू गरे। तर स्थानीय बासिन्दाले भैंसी पसाइदिएर भएभरका टनेल भत्काइदिए। “मैले कृषक बनेर राम्रो कमाएँ भने उनीहरूका छोराछोरी पनि विदेश नगई यही काम थाल्लान् भनेर भत्काइदिएका रहेछन्,” भोजबहादुर रुन्चे स्वरमा सुनाउँछन्, “कृषि पेशालाई यतिसम्म हेयभावले हेरेको देख्दा दुःख लाग्छ।”
माछापुच्छ्रे गाउँपालिका–९ का तत्कालीन वडाध्यक्ष दुर्गाबहादुर क्षत्री पनि त्यो प्रसंग सम्झन्छन्। उनका अनुसार भोजबहादुरको तरकारी खेतीमा गाउँका पाँच जनाले भैंसी पसाइदिएका रहेछन्। भोजबहादुर र उनका भिनाजुले चार लाख रुपैयाँ क्षतिपूर्ति माग्दै प्रहरीमा जाहेरी दिएका थिए। “पछि पाँचै जना मिलेर ८० हजार दिने गरी मेलमिलाप भएको थियो,” उनी भन्छन्।
भोजबहादुर भने टनेल मात्र भत्काइएको होइन, ज्यान मार्ने धम्की समेत आएको बताउँछन्। त्यति वेला २६ वर्ष रहेका उनी यो घटनाले केही हताश भए, तर रोकिएनन्। अब उनले लक्ष्य भेटिसकेका थिए, कृषिमै केही गरेर देखाउने। तर यो घटनापछि उनी त्यो ठाउँमा बसेनन्। आफ्नै गाउँ नजीक जग्गा भाडामा लिए। २३ वटा टनेलमा खेती गर्न थाले।

२०७५ सालमा उनलाई सिक्दै कमाउँदै कार्यक्रम अन्तर्गत इजरायल जाने मौका मिल्यो। खेतीकिसानीको प्राविधिक ज्ञान हासिल गर्ने यो मौका उनले गुमाउन चाहेनन्। त्यसैले टनेल भान्जाको जिम्मा लगाएर हिंडे। इजरायलमा कृषिकर्म पढ्न जाने नेपालीको ठूलै समूह थियो। त्यसैमा थिइन्, बुटवलकी शान्ति भट्टराई। त्यहाँ एउटै कलेजमा भर्ना भएकी भट्टराईसँग भोजबहादुरको प्रेम बस्यो। “नेपाल आएपछि हामीले विवाह गर्यौं। अन्तरजातीय विवाह भएकाले केही समय उनको माइतीमा समस्या भयो, पछि बिस्तारै ठीक भयो,” दुई वर्षीया छोरी काखमा खेलाउँदै भोजबहादुर सुनाउँछन्।
इजरायलमा ११ महीना बसेर आउँदा भोजबहादुरको हातमा १० लाख रुपैयाँ थियो। त्यतिले ठूलो परिमाणको व्यावसायिक खेती गर्न पुग्दैनथ्यो। त्यसैले उनी ऋण पाइन्छ कि भनेर विभिन्न ब्यांक धाए। तर धितो र नियमित आम्दानी विना ऋण नमिल्ने जवाफ पाए। यो अप्ठेरोमा उनलाई साथ दियो, लाहाचोक साना किसान कृषि सहकारी संस्थाले। उक्त सहकारीले एशियाली विकास ब्यांकको ‘ग्रामीण उद्यमशील कर्जा’ कार्यक्रमबाट नौ प्रतिशत ब्याजमा पाँच वर्षसम्मलाई ३२ लाख रुपैयाँ उपलब्ध गरायो। अब उनीसँग आफू र पत्नीले इजरायलमा कमाएको १०-१० लाख समेत गरी ५२ लाख जम्मा भयो। थप जग्गा भाडामा लिएर व्यावसायिक खेती थाले।
सहकारीले ग्रामीण उद्यमशील कर्जा अन्तर्गत भोजबहादुर सहित चार जनालाई गरी डेढ करोड रुपैयाँभन्दा बढी प्रवाह गरेको छ। “कृषिमा भविष्य खोज्नेहरूलाई यो कर्जा दिने गरेका छौं,” सहकारीकी प्रमुख कमलाकुमारी सुवेदी पौडेल भन्छिन्।

समुद्री सतहबाट १७ सय मिटर उचाइको लाहानचोकमा अन्नबाली खासै सप्रँदैन। अर्कातिर पक्की सडक आदि सुविधा नहुँदा मानिसहरू काठमाडौं, पोखरा, भारततिर झरेका थिए। रित्तो गाउँमा भोजबहादुरले १०४ रोपनी जमीन भाडामा लिए। अनि सञ्चालन गरे– ग्रामीण घर अर्गानिक कृषि तथा पशुपन्छी फार्म। उनले ६० प्रतिशत जमीनमा घाँस लगाएका छन् भने ४० प्रतिशतमा साग, मूला, गोलेभेंडा, बन्दा, काउली आदि तरकारी र तिनका बीउ रोपेका छन्। ५८ वटा खसीबाख्रा पालेका छन्। “पोहोर साल ५० वटा बेचें, अहिले हेरौं कति हुन्छ?” उनी मुस्काउँदै भन्छन्।
भोजबहादुरको अनुभवमा बेमौसमी तरकारी खेती गरे तरकारी र पैसा दुवैको अभाव हुँदैन। त्यसैले अहिलेसम्म उत्पादन नबिकेर फ्याँक्नुपरेको छैन। उनले दैनिक २०० देखि ३०० किलोसम्म तरकारी पोखरा बजार पुर्याउने गरेका छन्। “थाइल्यान्डको सागको बीउलाई स्थानीय मार्फाको रायोसँग क्रस गरेर निकालेको साग पनि बिक्री गरिरहेको छु। यो प्रतिकिलो १६० रुपैयाँसम्म बिक्री हुन्छ। पोलेको मासुसँग खूब मीठो हुन्छ,” उनी सुनाउँछन्।
बालीका लागि आवश्यक पानी व्यवस्थापन गर्न उनले थोपा सिंचाइ प्रणाली जडान गरेका छन्। आफू र पत्नी बाहेक थप चार जनालाई नियमित रोजगार दिइरहेका छन्, प्रतिव्यक्ति मासिक २० हजार रुपैयाँमा। उत्पादनको मुख्य सिजनमा त २० जनासम्म कामदार चाहिन्छ।
भोजबहादुर कृषिकर्मबाटै वार्षिक १८ लाख रुपैयाँ कमाएको दाबी गर्छन्। “वार्षिक ५० लाखभन्दा बढीको कारोबार हुन्छ, तर मल, बीउ, ज्याला आदि खर्च कटाउँदा मासिक डेढ लाख जति बच्छ,” उनी भन्छन्।
कृषिमा उनको रुचि र समर्पण कतिसम्म छ भने प्राविधिक सीप तथा व्यावसायिक तालीम परिषद्बाट १८ महिने जेटीए तालीम समेत लिएका छन्। तालीममा सहभागी टोलीमा शुरूमा १८ जनासम्म थिए, अन्तिममा उनी मात्र बाँकी रहे। “अरूले छाडे पनि मैले एक्लै कोर्स पूरा गरें, अब तरकारीमा रोग लागे आफैं उपचार गर्न सक्ने भएको छु। अन्त पनि बोलाउँछन्, त्यसबाट थप आम्दानी गरिरहेछु,” भोजबहादुर भन्छन्, “मैले अहिलेसम्म तरकारीमा विषादी हालेको छैन।”

उनको क्षमता र मिहिनेतलाई अहिले सरकारले पनि पहिचान गरेको छ। गण्डकी प्रदेशको कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालयले उनलाई ‘उत्कृष्ट किसान २०८०’ बाट सम्मानित गरेको छ।
भोजबहादुरसँग अब केही योजना छन्– पत्नी र छोरीलाई पोखरामा डेरा खोजेर राखिदिने। त्यहाँ छोरीलाई पढाउने अनि एउटा पसल पनि खोल्ने। त्यही पसलबाट तरकारी पनि बेच्ने। आफू चाहिं गाउँमै बसेर तरकारी फलाइरहने।
वैदेशिक रोजगार विभागको तथ्यांकमा पुसमा मात्र ६७ हजार २५८ जनाले श्रम स्वीकृति लिएका छन्। पुस महीनामा तीन लाख ९३ हजार ६७ जना विदेशिएका छन्। यसो हुनुमा विदेश जानुलाई सम्मानजनक मान्ने र कृषिकर्म गर्नेलाई हेयदृष्टिले हेर्ने प्रवृत्तिलाई कारण मान्छन् भोजबहादुर। उनी भन्छन्, “यस्तो प्रवृत्ति नहटुन्जेल नेपालका युवाले कृषिकर्मलाई प्राथमिकतामा राख्दैनन्।”