स्वर्गद्वारी गुठीपीडितसँग वार्ता गर्न सरकारले बनायो समिति
दाङको देउखुरीबाट आएर काठमाडौंमा आन्दोलनरत स्वर्गद्वारी गुठीपीडित मोही किसानहरूलाई सरकारले वार्तामा बोलाएको छ।
भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारण मन्त्रालयले स्वर्गद्वारी गुठीपीडित संघर्ष समितिको आन्दोलनप्रति गम्भीर ध्यानाकर्षण भएको उल्लेख गर्दै वार्ताका लागि मन्त्रालयका सहसचिव मदन कोइरालाको संयोजकत्वमा तीन सदस्यीय समिति गठन गरेको छ। मंगलबार मन्त्रालयले जारी गरेको प्रेस विज्ञप्ति अनुसार, वार्ता समितिमा उपसचिव महेन्द्रप्रसाद साँखी र गुठी संस्थानका कानून अधिकृत जनक पोखरेल सदस्य छन्।
मन्त्रालयले संघर्षरत पक्षबाट पनि वार्ता टोली बनाई संवादका लागि आउन भनेको छ। "मन्त्रालयले विगतमा भएको सहमति कार्यान्वयनका लागि आवश्यक कारबाही अगाडि बढाइसकेको व्यहोरा अनुरोध गर्दै आन्दोलनका क्रममा हाल उठाइएका विषयवस्तुलाई संवादको माध्यमबाट सम्बोधन गर्न संघर्षरत पक्षलाई वार्तामा आउन हार्दिक आह्वान् गर्दछ," विज्ञप्तिमा उल्लेख छ।
गुठीपीडित संघर्ष समितिले गत माघ २० गतेदेखि माइतीघर मण्डलमा धर्ना दिँदै आएको छ। गुठीपीडित मोही किसानले मोहियानी हकको माग गर्दै गत वर्ष आन्दोलन गरेपछि २०८० चैत ७ मा भूमि व्यवस्था मन्त्रालयले उनीहरूसँग वार्ता गरी सहमति गरेको थियो। तर उक्त सहमति कार्यान्वयन नभएको भन्दै मोही किसान यस वर्ष पनि काठमाडौं आएर आन्दोलनरत छन्।
गत वर्ष भएको सहमतिमा स्वर्गद्वारी आश्रमको जग्गामा बसोबास गर्ने मोही किसानको मागलाई सम्बोधन हुने गरी सरकारले नयाँ एकीकृत कानून बनाउने उल्लेख थियो। तर एक वर्ष पुग्न लाग्दा पनि सरकारले कानून निर्माणको प्रक्रिया थालेको छैन।