अनलाइन जुवा खेलाउने २३ भारतीय पक्राउ
काठमाडौंको बुढानीलकण्ठबाट अनलाइन जुवा खेलाउने २३ जना भारतीय नागरिक पक्राउ परेका छन्।
बुढानीलकण्ठ नगरपालिका-३ गैरीगाउँस्थित दोर्जे शेर्पाको घरमा अनलाइन जुवा खेलाइरहेको भन्ने गोप्य सूचनाको आधारमा गएको प्रहरी टोलीले आइतबार उनीहरूलाई प्रकाउ गरेको मंगलबार आयोजित पत्रकार सम्मेलनमा जिल्ला प्रहरी परिसर, काठमाडौंका प्रहरी उपरीक्षक अपिलराज बोहोराले जानकारी दिए।
पक्राउ परेकाहरूको साथबाट ८१ हजार रुपैयाँ, विभिन्न कम्पनीका ८८ थान मोबाइल, १० थान ल्यापटप, ५० थान भारतीय सिमकार्ड, १५ जनाको भारतीय आधारकार्ड, नौ थान भारतीय एटिएम, तीन थान भारतीय ड्राइभिङ लाइसेन्स बरामद गरेको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार, पक्राउ पर्नेहरू १८ देखि ५० वर्ष उमेरसम्मका छन्।
उनीहरूलाई सट्टाबाजी गर्न नहुने सम्बन्धी कसूरमा काठमाडौं जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरी अनुसन्धान भइरहेको छ।