‘हनुमानी’ को अपराध साम्राज्य : पैसा दोब्बर पार्ने भन्दै ठगीदेखि बन्धक बनाउनेसम्म
हनुमानी भनेर चिनिने सप्तरीका रामबहादुर रजकले पैसा छापेर डबल पारिदिने, एक्स्काभेटर किन्ने र घरजग्गा बेच्ने नाममा लाखौं रुपैयाँ ठगेर सप्तरी र सुनसरीका धेरैलाई बिचल्लीमा पारेका छन्। प्रहरी अनुसन्धानमा पुगेपछि बल्ल उनका कर्तुत खुल्दै छन्।
सप्तरीको कञ्चनरूप नगरपालिका- ११ का ज्ञानेश्वरप्रसाद माझीका पुराना साथी हुन्, सन्तोष चौधरी। सप्तरीकै डाक्नेश्वरी नगरपालिका-४, कविलासामा घर भएका सन्तोष गत साउन अन्तिम साता ज्ञानेश्वरको घर आएका थिए। धेरै समयपछि भएको भेटमा दुई साथीबीच मन खोलेर दु:ख-सुखका गफ भए।
सन्तोषले समस्या केही छ कि भनेर सोधे। ज्ञानेश्वरकी श्रीमती हातखुट्टा दुख्ने समस्याले थलिएकी थिइन्। बनाउँदै गरेको घर पैसाको अभावले अचकल्टो अवस्थामा थियो। उनले श्रीमतीको उपचार गर्न र घर बनाउन पैसाको खाँचो परेको सुनाए।
ज्ञानेश्वरले बल्लतल्ल भेट भएका साथीसँग आफ्नो बह पोखेका थिए, तर त्यही नै उनका लागि थप दु:खको कारक बनिदियो।
घरायसी समस्या टार्न ज्ञानेश्वरले दुई लाख रुपैयाँ सापट मागे। तर सन्तोषले आफूसँग नभएको तर एक साथी मार्फत पैसाको व्यवस्था गरिदिने बताएर उनलाई जिल्लाकै तिलाठी कोइलाडी गाउँपालिका-७, बभनगामा पुर्याए। हनुमानी भनेर चिनिने रामबहादुर रजकको घरमा लगेर उनीसँग भेट गराए।
हनुमानी नै ती व्यक्ति थिए, जसले दोब्बर पारिदिने भन्दै उनीबाट पाँच लाख रुपैयाँ लिएर ठगे। प्रलोभनमा पर्दा उनी ठगिए।
पहिलो भेटमै हनुमानीले आफूले पैसा छाप्ने बताए। ज्ञानेश्वरको आँखासामु हजारको नोट छापेर चमत्कार नै देखाए।
हनुमानीले एउटा थालमा हजारको नोट आकारको सादा कागज राखे। एउटा झोलाबाट केमिकल भन्दै तीन वटा सानो बोतल झिके। दुई वटा बोतलबाट सेतो र एउटाबाट रातो पदार्थ कागजमा दले अनि हजारको नोटमा टाँसेर बेरे। करीब पाँच मिनेटपछि बेरेको कागज निकालेर फेरि केमिकल दलेर पानीमा धोए। अब कागज पैसा बन्यो, दुरुस्तै हजारको नोट।
जादू जस्तो दृश्य देखेर ज्ञानेश्वर छक्क परे। तर शुरूमा त शंका गरे। नक्कली पैसा बनाउन सके पनि ब्यांकमा नचल्ने बताए।
हनुमानीले उनलाई विश्वास दिलाउन उसैगरी १० वटा नोट बनाएर ब्यांकमा लगेर चेक गर्नू भनेर दिए। उनी कृषि विकास ब्यांकको कञ्चनरूप शाखा पुगे। ब्यांकले उक्त रकम सजिलै उनको खातामा जम्मा गरिदियो। पैसा ब्यांकमा चलेपछि नक्कली भए पनि पैसा छापेर चलाउन मिल्ने रहेछ भन्नेमा उनी विश्वस्त भए।
उनले केही समयपछि फिर्ता गर्ने शर्तमा हनुमानीसँग एक लाख रुपैयाँ मागे। “तर कागज र केमिकल ब्याङ्लोरबाट मगाउनुपर्छ, बरु तिमीले एक लाख दियौ भने दुई-तीन दिनमै दुई लाख बनाएर दिन्छु भने,” ज्ञानेश्वरले हिमालखबरसँग भने।
तिलाठी कोइलाडीको बभनगामा ग्रामीण भेगमा पर्छ। गाउँमा हनुमानीको तीनतले आलिशान घर छ। त्यो घर देखेर ज्ञानेश्वरलाई पैसा छापेरै यति ठूलो घर बनाउन सकेको होला भन्ने लाग्यो। केही पैसा दिएर डबल भयो भने आफ्नो सबै समस्या समाधान हुन्छ भन्ने सोचे। प्रलोभनमा परिहाले।
सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका-७, बभनगामामा रहेको हनुमानीको पक्की घर।
शुरूमा ज्ञानेश्वरले अढाई लाख रुपैयाँ दिने सोच बनाएका थिए। तर त्यतिले केमिकल किन्न पुग्दैन भनेर हनुमानीले पाँच लाख रुपैयाँ नै मागे। सन्तोष ज्ञानेश्वरलाई बारम्बार फोन गरेर पैसा जुटाउन भन्थे। हनुमानीलाई दिनकै लागि उनले लघुवित्तबाट रु. पाँच लाख ऋण लिए।
पैसा लिन मंसीर १२ गते हनुमानी र सन्तोष उनको घरमै आए। “७२ घण्टा अर्थात् तीन दिनमै पाँच लाखको डबल रकम दिने बताएर पैसा लगे,” उनले भने।
तर तीन दिनमा उनले पैसा पाएनन्। फोन गर्दा हनुमानी र सन्तोषले केमिकल र कागज आएको छैन भन्ने जवाफ दिन्थे। भरेभोलि भन्दै टारेर निकै दिन बितेपछि उनी हनुमानीको घरै पुगे। तर हनुमानी भेटिएनन्।
ज्ञानेश्वर पैसा माग्न तारन्तार हनुमानीको घर जाँदा थाहा पाए, अरू मानिस पनि उसैगरी ठगिएका रहेछन्। ठगिएपछि अहिले उनलाई लाग्छ, ब्यांकमा लगेर जाँच्न भन्दै हनुमानीले दिएको १० हजारका नोट नक्कली नभई सक्कली थिए।
ज्ञानेश्वर जस्तै ठगिएका व्यक्ति हुन्, सप्तरीकै खडक नगरपालिका-११, बनौलीका अटो चालक विजयकुमार रजक। उनी हनुमानीसम्म छिमेकी अटो चालक तुलसी माझी मार्फत पुगेका हुन्। विजयका अनुसार गत भदौ १६ गते तुलसीले घुम्न जाऔं भन्दै मारुती भ्यान लिएर आएका थिए। तुलसीले उनलाई राजविराज हुँदै हनुमानीको घर भएको बभनगामा पुर्याए।
हनुमानीले ज्ञानेश्वरलाई जस्तै गरी विजयको अगाडि पैसा छापेर देखाए। नक्कली नोट भए पनि सबै ठाउँमा चल्ने र दिएको रकमको डबल दिने भन्दै फकाए। गाउँले छिमेकी तुलसीले झनै जोडबल गरे। विश्वास दिलाउन सिटिजन्स ब्यांकको आफ्नो चेकबूक थमाए। खातामै रकम हाल्दिने भनेर खाता नम्बर पनि लगे। गाउँकै मान्छेले विश्वास दिलाएपछि के फरक पर्ला र भनेर उनी राजी भए। तुलसीले सापट लगेर अघिल्लो दिन मात्रै फिर्ता गरेको ५० हजार नगद उनले साथमै बोकेका थिए। “अटो चलाउने मान्छे गरीबको जिन्दगी कति बाँच्ने भन्दै छिमेकीले फकाए, मलाई पनि हो जस्तो लाग्यो र साथमा बोकेको रकम दिएँ,” विजयले भने।
हनुमानीले त्यो रकम लिएर चित्त बुझाएनन्। त्यति रकमले केमिकल र कागज ल्याउन नपुग्ने भन्दै थप पैसा जोहो गर्न लगाए। विजयले दिदीसँग दुई लाख रुपैयाँ ऋण लिएर दिए।
“दुई-तीन दिनमै साढे दुई लाखको डबल रकम खातामा हाल्दिने भने पनि पैसा आएन। तुलसीसँग ताकेता गर्दा हनुमानीसँग पैसा मागिदिए जस्तो गर्दै टारे,” विजयले भने, “घरसम्म पुगेपछि हनुमानीले ‘अर्को कोही मान्छे ल्याऊ, म त्यसलाई पनि फसाउँछु अनि मात्रै पैसा पाउँछौ’ भने। तर जानीजानी अरूलाईं फसाउन मन मानेन।”
एक्स्काभेटर खरीद र घरजग्गा बेच्ने नाममा पनि ठगी
हनुमानीको ठग्ने शैली पैसा डबल गरिदिने भन्नेमा मात्र सीमित थिएन। उनले मान्छेपिच्छे फरक फरक तरीकाले ठगी गरेका छन्। व्यवसायी महेशकुमार यादवलाई व्यावसायिक तरीकाले ठगेको पाइएको छ।
सुनसरी इनरुवाको महेन्द्र चोकमा गाडी खरीद-बिक्री गर्ने महेशको कम्पनी एम.ए.एन. कन्स्ट्रक्शन छ। महेन्द्र चोकमै मदिरा पसल चलाउने समिना खातुन र महेशको कम्पनीमा काम गर्ने निजाम मियाँबीच पुरानो चिनजान थियो। कम्पनीमा आउजाउ गरिरहने समिनालाई निजाम भाउजू सम्बोधन गर्थे।
महेन्द्रका अनुसार एकदिन समिनाले भारतीय ठेकेदार कम्पनीका दुई वटा पुराना एक्स्काभेटर बिक्रीमा रहेको र किन्ने भए सस्तोमा मिलाइदिने बताइन्। समिनाको साथमा महेश र निजाम त्रियुगा खोलामा गएर एक्स्काभेटर हेरे।
हनुमानीकी सहयोगी रहेको आरोप लागेकी समिना खातुन ।
महेशले किन्ने सोच त बनाए, तर दुवै एक्स्काभेटरका कागजपत्र थिएनन्। त्यस वेला समिनाले भारतीय निर्माण कम्पनीले नेपालमा काम गर्न एक्स्काभेटर भारतबाटै लिएर आएकाले यिनको कागजात नभएको बताइन्। महेशले उनको भनाइमा विश्वास गरे।
हनुमानी कतिसम्म चलाखी गर्थे भने, आर्थिक लेनदेनको अभिलेख नरहोस् भनेर ब्यांकिङ प्रणालीबाट कारोबार गर्दैनथे। सोही अनुसार समिनाले एक्स्काभेटरको पैसा नगद नै दिनुपर्ने पनि महेशसँग बताइन्।
रु. २९ लाख ७५ हजारमा किनबेच गर्ने छिनोफानो भएपछि जेठ १५ गते समिनाले एक्स्काभेटरको मालिककहाँ लैजाने भन्दै महेश र निजामलाई बभनगामाका उनै हनुमानीको घर पुर्याइन्। महेशले बैनास्वरूप रु. २० लाख दिए। उनले खरीद गर्न रकम दिएकोबारे कागज गर्नुपर्ने कुरा राख्दा समिनाले कागजको जरूरी नपर्ने र आफूले जिम्मेवारी लिने बताएपछि त्यो विषय टर्यो।
असार १ गते फेरि समिनासँगै हनुमानीको घर गएर बाँकी रु. नौ लाख ७५ हजार पनि बुझाए। हनुमानीले दुई-तीन दिनमा एक्स्काभेटर लिएर गए हुन्छ भनेको दुई दिनपछि महेशले ट्रकको व्यवस्था गरेर एक्स्काभेटर लिन मान्छे पठाए। तर त्यहाँ एक्स्काभेटर थिएनन्। पठाएका मान्छेले ठाउँ नचिनेको हो कि भनेर उनी आफैं गए। आफैं पुगेर पनि एक्स्काभेटर नदेखेपछि उनलाई छाँगाबाट खसे झैं भयो। “उतैबाट हनुमानीको घर जाँदा उनी त भेटिएनन्। तर उनले पैसा डबल गरिदिन्छु भन्दै अन्य धेरैलाई ठगेको थाहा पाएपछि आफू पनि ठगिएको थाहा पाएँ,” महेशले भने।
त्यसपछि हनुमानी र समिना सम्पर्कविहीन भएको उनले सुनाए।
सप्तरीको सुरुंगा नगरपालिका-४, कदमाहाका सन्तोष चौधरी भने जग्गा किन्ने नाममा हनुमानीबाट ठगिए। मदिराको डिलर व्यवसाय गर्ने उनले साथी मार्फत डाक्नेश्वरीका सन्तोष चौधरीसँग भेटेका थिए। डाक्नेश्वरीका सन्तोष तिनै हुन्, जसले पैसा डबल पार्ने भन्दै ज्ञानेश्वरप्रसाद माझीलाई हनुमानीसम्म पुर्याएका थिए। नाम एउटै परेकाले उनले मीत भनेर बोलाउन थालेका थिए।
गत कात्तिक अन्तिम साता एजेन्ट सन्तोषले उनलाई आफ्ना साथी हनुमानीलाई पैसाको खाँचो परेकाले जग्गा बेच्न लागेको बताए। सप्तरीकै कठौना बजारमा रहेको घरजग्गा र त्यसको कागजात समेत देखाए। व्यवसायी सन्तोषले जग्गा किनिराखे मूल्य बढ्दै जाने सोचेर किन्न राजी भए। ४५ लाख रुपैयाँमा घरजग्गा किन्ने पक्का भयो। उनले ब्यांकबाट ऋण लिएर कात्तिक २२ गते रु. ३० लाख नगद बुझाएर कागजात लिए।
जग्गा पास गरिदिन आग्रह गर्दा हनुमानीले श्रीमती बिरामी भएको र उपचार गरेर ल्याएपछि पास गरिदिने बहाना बनाए। श्रीमतीको उपचार गर्न कहिले विराटनगर कहिले भारतका अस्पताल लैजाने भन्दै बाँकी १५ लाख रुपैयाँ पनि लिए। तर घरजग्गा पास गरिदिएनन्। “हनुमानीको बारेमा सोधखोज गर्दा थाहा पाएँ, उनले त धेरैलाई पैसा डबल गरिदिन्छु भन्दै ठगिरहेका रहेछन्,” सन्तोष सुनाउँछन्।
उनले माघ १ गते हनुमानी विरुद्ध जिल्ला प्रहरी कार्यालय, सप्तरीमा ठगीमा जाहेरी दिए।
पैसा फिर्ता माग्न जाँदा बन्धक
असार ८ गते महेशकुमार यादव एक्स्काभेटर किन्न बुझाएको रकम फिर्ता माग्न सात/आठ जना साथी लिएर हनुमानीको घर गए। तर हनुमानी भेटिएनन्। त्यस वेला समिना खातुन, हनुमानीका दुई श्रीमती र अन्य पुरुष गरी करीब २५ जनाको हुल थियो। महेशका अनुसार उनले हनुमानीलाई झिकाइहाल्नू भनेर कराएका के थिए, हनुमानीका मान्छेहरू उनीहरूमाथि खनिए। उनका साथीहरू त त्यहाँबाट भागे, उनी भाग्न पाएनन्। उनलाई समातेर हनुमानीका मान्छेले कोठामा थुने। कुटपिट गर्दै चार घण्टासम्म आफूलाई थुनेर राखिएको उनले बताए।
त्यहाँबाट फुत्किएर भागेका साथीहरूले केही व्यक्तिलाई गुहारेर ल्याएपछि मात्र आफू छुटेको महेशले बताए।
“हनुमानीका मान्छेले यो गाउँमा फर्केर आइस् भने तेरो ज्यान जान्छ, प्रहरी प्रशासन सबैलाई पैसा दिएका छौं, कसैले केही गर्न सक्दैन भन्दै धम्क्याए,” उनले भने।
उनले प्रहरीमा जाहेरी दिने सोच बनाए पनि हनुमानीलाई पैसा दिएको प्रमाण र एक्स्काभेटरको कागजात नभएकाले प्रमाण विना आफैं गलत भइने डरले हच्किएको बताए।
पैसा डबल गरिदिने भनेर ठगिएका सप्तरी तोपाका भरतकुमार ठाकुरले पनि पैसा फिर्ता माग्न जाँदा आफूलाई कुटपिट गरिएको बताए। “हनुमानीका मान्छेहरू मेरो घरमै आएर पैसा मागिस् भने मारेर कोशीमा फाल्दिन्छु भन्दै धम्क्याए,” उनले भने।
स्थानीयका अनुसार एक दशकदेखि हनुमानीले पैसा डबल गरिदिने भन्दै धेरैलाई ठग्दै आएका थिए। तर उनले पैसा दिएर प्रहरी, प्रशासन र शक्तिलाई आफ्नो हातमा राखेकाले उनको विरुद्ध कसैले बोल्ने आँट नगरेको उनीहरू बताउँछन्। कतिपयले भने पैसा दिएको प्रमाण आफूहरूसँग नभएको, समाजमा इज्जत जाने भन्दै जाहेरी दिन डराएको बताएका छन्।
गत कात्तिक २८ गते पूर्व सिंचाइमन्त्री उमेशकुमार यादवले फेसबूक स्टेटसमा तिलाठी कोइलाडी-७ मा एक जनाले पैसा दोब्बर गर्ने नाममा दुई दशकदेखि ठगी गरेको लेखेका थिए। पैसा माग्न जाँदा गुन्डा प्रयोग गरेर उल्टै थर्काउने र प्रहरी-प्रशासनमा गुहार माग्न जाँदा ठगहरूसँग मिलेर पीडितलाई दु:ख दिने गरेको उनले लेखेका थिए।
हनुमानीको ठगी गिरोहमा रहेको आरोप लागेका वैद्यनाथ यादव ।
जिल्ला प्रहरी कार्यालय, सप्तरीका अनुसार हनुमानीबाट विभिन्न प्रकृतिमा ठगिएकाहरूको १८ वटा उजुरी परेको छ। सबैभन्दा धेरै उजुरी पैसा डबल गरिदिने भन्दै ठगी गरेको भनेर परेको छ। ठगी गिरोहका प्रमुख हनुमानी र उनका सहयोगी सहित २४ जना विरुद्ध जाहेरी परेको छ।
पीडितहरूको जाहेरीपछि हनुमानीलाई गत पुस २१ गते प्रहरीले प्रक्राउ गरेको छ। हनुमानीलाई सघाएको आरोपमा समिना खातुन र सप्तरीका पत्रकार एवम् नेपाल पत्रकार महासंघ, सप्तरीका पूर्व उपाध्यक्ष वैद्यनाथ यादव पनि प्रहरी हिरासतमा छन्। पत्रकार यादवले पीडितहरू पैसा माग्न हनुमानीको घर जान लाग्दा उनलाई पहिल्यै खबर गरिदिने, ठगिएकाहरूलाई सञ्चारकर्मीकोमा जान नदिने र हनुमानीका प्रतिनिधि भएर प्रहरी-प्रशासनलाई पैसा दिने गरेको पीडितहरूको आरोप छ।
हनुमानी सहित पक्राउ परेकाहरूमाथि अनुसन्धान जारी रहेको सप्तरीका प्रहरी नायब उपरीक्षक जितेन्द्र बस्नेतले बताए।