गुवाहटीमा खोतलिएको पाटन-आसाम सम्बन्धको जरा
गुवाहटीमा हालै आयोजित संगोष्ठीमा पाटन र आसामका प्रतिनिधिले मत्स्येन्द्रनाथले जोडिदिएको शताब्दीऔं पुरानो सांस्कृतिक सम्बन्धका आयामहरू केलाए।
नेपाल-भारतको कूटनीतिक सम्बन्धभन्दा पनि पुरानो छ, पाटन र आसामको सम्बन्ध। एक हजार ५०० वर्षअघि पानीले प्याकप्याक परेको काठमाडौं उपत्यकाको प्यास आसामले मेटाइदिएको ऐतिहासिक गाथा भेटिन्छ। यसैको कारण हो, अहिलेसम्म पाटनमा वार्षिक रूपमा मनाइँदै आएको मत्स्येन्द्रनाथको रथयात्रा।
यही सम्बन्धले पाटन र आसामका पछिल्लो छिमलका प्रतिनिधिलाई हालै आसामको राजधानी गुवाहटीमा संगोष्ठी मार्फत एकजुट गराइदिएको छ, जहाँ उनीहरूले सम्बन्ध थप मजबूत बनाउने उपायबारे चर्चा गरे।
‘भारत-नेपाल सम्बन्धको जरामा फर्कंदा : गुरु मत्स्येन्द्रनाथको परिप्रेक्ष्य’ शीर्षक दुईदिने गोष्ठीमा उनीहरूले यसै हप्ता जलवायु परिवर्तन र जैविक विविधता ह्रासबाट उत्पन्न वर्तमान समस्यालाई प्राचीन काठमाडौंमा परेको त्यही १२ वर्षे खडेरीसँग तुलना गरे। अनि राजा नरेन्द्रदेवले आसामको कामरूपकामाक्षबाट मत्स्येन्द्रनाथलाई निकै संघर्षपूर्वक बुंगमती ल्याएर खडेरी हटाएको, मत्स्येन्द्रनाथ भमराको रूप लिएर आएको कथा पुनर्जागृत गरे।
किंवदन्ती अनुसार काठमाडौं उपत्यकामा अनिकाल लाग्नुको कारण थियो, योगी गोरखनाथले यहाँका नागहरूमाथि आसन कसेर ध्यान बस्नु। उनै गोरखनाथका गुरु हुन् मत्स्येन्द्रनाथ। राजालाई कसैले यो भयंकर समस्याबाट मुक्ति पाउन मत्स्येन्द्रनाथलाई नेपाल ल्याउनुपर्ने भनी सुझायो।
त्यसैले राजा नरेन्द्रदेव लामो र कष्टपूर्ण यात्रा गरी आसाम पुगे र बिन्ती गरेर मत्स्येन्द्रनाथलाई नेपाल ल्याए। नभन्दै गुरुलाई देख्नासाथ ध्यानस्थ गोरखनाथ जुरुक्क उठे। तब उनले आसन जमाएका नागहरू मुक्त भई वर्षा गराइदिए।
बन्जर बनेको काठमाडौं उपत्यकाको भूमिलाई उर्वर बनाइदिएको खुशियालीमा स्थानीयले मत्स्येन्द्रनाथलाई शहरभरि रथयात्रा गराउन थाले। यही उत्सव एक हजार ५०० वर्षदेखि नियमित छ। अहिले पनि प्रत्येक वर्ष रातो मत्स्येन्द्रनाथको मूर्ति बुंगमतीबाट पाटन ल्याई महीनादिनसम्म रथयात्रा गराइन्छ र हरेक १२ वर्ष बुंगमतीबाटै रथमा ल्याउने चलन छ। यसलाई बुंगद्य: वा करुणामय जात्रा पनि भनिन्छ।
मत्स्येन्द्रनाथको रथ बनाउन उति वेला आसामबाटै शिल्पकारहरू झिकाइएका थिए जसलाई बाराही भनिन्थ्यो। उनीहरू कुनै पनि किला नठोकी बेतले बाँधेर विशाल रथ तयार पार्न सक्थे। त्यसैले मत्स्येन्द्रनाथको रथ बाँध्न अहिले पनि आसामको जंगलबाट बेत ल्याइन्छ।
![chiribabu-and-asamese-1-1739268759.jpg](https://www.himalkhabar.com/uploads/posts/chiribabu-and-asamese-1-1739268759.jpg)
गुवाहटी विश्वविद्यालयका खगेन शर्माका अनुसार मत्स्येन्द्रनाथको यो परम्पराले आसाम र नेपालबीचको गहिरो सांस्कृतिक सम्बन्ध प्रस्ट्याउँछ। “यो परम्परा ऐतिहासिक नाता, धार्मिक क्रियाकलाप र सांस्कृतिक आदानप्रदानले दुई देशबीचको कूटनीतिक सम्बन्ध कसरी सुदृढ बनाउँछ भन्ने ज्वलन्त उदाहरण हो,” गोष्ठीका संयोजक रहेका शर्माले भने।
नेपालबाट ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनको नेतृत्वमा १६ सदस्यीय टोली सम्मेलनमा भाग लिन गुवाहटी पुगेको छ। टोलीमा रथ बनाउने र सञ्चालन गर्नेहरूसँगै सम्पदा र संस्कृतिका जानकारहरू पनि सहभागी थिए।
उनीहरूले संगोष्ठीको प्राविधिक सत्रमा विभिन्न शोधपत्र प्रस्तुत गरे। त्यस्तै, आसामतर्फका सहभागीले नेपाल-भारत सम्बन्धको दार्शनिक आधार, आसाम र नेपालबीचको चर्या नृत्यको साझा परम्परा र हठयोग प्रचारप्रसारमा गुरु मत्स्येन्द्रनाथको योगदानबारे चर्चा गरे।
गुवाहटी विश्वविद्यालयका कुलपति ननी गोपाल महन्तले आसाम र नेपालबीचको सम्बन्ध स्वाभाविक र जैविक रहेको बताए। “यो सम्बन्धले इतिहास विभाजित नभई निरन्तर रहने कुराको प्रमाण दिन्छ,” उनले भने, “सांस्कृतिक र सामाजिक–आर्थिक सम्बन्धले सभ्यताहरूबीचको संवादका लागि नयाँ सम्भावना सिर्जना गरेको छ।”
आसामतर्फका सहभागीले मत्स्येन्द्रनाथको समयका धेरै दुर्लभ कागजात र अभिलेख भारतमा नष्ट भइसके पनि काठमाडौंको राष्ट्रिय अभिलेखालयमा सुरक्षित रहेकामा खुशी व्यक्त गर्दै भारतीय विद्वान्हरूले पनि आफ्नो अध्ययन–अनुसन्धानमा तिनलाई प्रयोग गर्ने गरेको सुनाए।
सांस्कृतिक अध्येता विधु कायस्थ मत्स्येन्द्रनाथको किंवदन्तीलाई मानव र प्रकृतिबीचको सन्तुलन मिलाउन लिनुपर्ने नेतृत्वको प्रतीक मान्छन्। “यसले सांस्कृतिक र वातावरणीय सन्तुलनबाट मात्र जलवायु संकट समाधान गर्न सकिने सन्देश दिन्छ। त्यस्तै, भमराको अवतारले प्रकृति र कृषिमा कीटहरूबाट हुने परागसेचनको महत्त्व झल्काउँछ,” उनी भन्छन्, “यो कुरा वर्तमान समयमा झनै महत्त्वपूर्ण बनिरहेछ।”
गोष्ठीमा ललितपुरका मेयर महर्जनले प्रत्येक वर्ष वैशाख-जेठमा हुने रथजात्रामा पाटन र आसामको साझा इतिहास प्रत्यक्ष अनुभव गर्न सकिने भन्दै आसामवासीलाई जात्रामा सहभागी हुन निम्तो दिए। संगोष्ठीले आसाम र नेपालबीचको सम्बन्धको खोजी गर्दै यी दुई क्षेत्रलाई एकसूत्रमा बाँध्ने मत्स्येन्द्रनाथको किंवदन्तीलाई थप गहिरिएर अध्ययन गर्ने प्रतिबद्धता झल्काएको उनले बताए। “यस अर्थमा यो संगोष्ठी महत्त्वपूर्ण कोशेढुंगा हो,” उनले भने।
कार्यक्रममा ललितपुर महानगरपालिकाबाट रेखादास श्रेष्ठ, मत्स्येन्द्रनाथका मूल पुजारी यज्ञरत्न शाक्य, ज्यापू समाजका प्रतिनिधि सन्तराम महर्जन, गुठी संस्थानका शालिकराम सुवेदी, अमूर्त सांस्कृतिक सम्पदाका विज्ञ सल्लाहकार बदनलाल न्याच्छों र त्रिभुवन विश्वविद्यालयका राजाराम सुवेदी प्रमुख वक्ता थिए।
आसाम र नेपालबीच भाषिक सम्बन्ध पनि छ। आसाममा २० लाखभन्दा बढी मानिस नेपालीलाई मातृभाषाका रूपमा प्रयोग गर्छन्। नेपाली भाषालाई सन् १९९२ मा भारतीय संविधानको आठौं अनुसूचीमा समावेश गरिएको थियो।