हिमालखबरकर्मी विश्वकर्मा र रानामगरलाई आईसीएफजेको पुरस्कार
दी इन्टरन्याशनल सेन्टर फर जर्नालिस्ट्स (आईसीएफजे)को ‘सडक सुरक्षा रिपोर्टिङ प्रतिस्पर्धा र अवार्ड, २०२४’ मा नेपालबाट हिमालखबरकर्मी धनु विश्वकर्मा विजेता भएकी छन्। सडकको निर्माण र डिजाइनमा घुम्ती व्यवस्थापन नगरिँदा सवारी दुर्घटना बढेको विषयमा हिमालखबरमा प्रकाशित उनको रिपोर्ट ‘सडक दुर्घटनाः सडक चौडा, घुम्ती उस्तै’ ले प्रथम पुरस्कार पाएको हो।
प्रतिस्पर्धामा अर्की हिमालखबरकर्मी दुर्गा रानामगर उपविजेता भएकी छन्। हिमालखबरमा प्रकाशित फिर्के पुल बन्यो ‘डेन्जर जोन’ शीर्षकको रिपोर्टबाट उनले पुरस्कार पाएकी हुन्। यस्तै, स्वतन्त्र पत्रकार राजु झल्लु प्रसाद पनि उपविजेता भएका छन्।
आईसीएफजेले यस प्रतिस्पर्धाका लागि नेपालसहित भारत, नाइजेरिया, मेक्सिको र ब्राजिलका पत्रकारबाट रिपोर्ट आह्वान गरेको थियो। यी पाँच मुलुकका तीन-तीन जना पत्रकार पुरस्कृत भएका हुन्।
विश्व स्वास्थ्य संगठन र बेलायती संस्था एफआईए फाउन्डेशनको सहकार्यमा आयोजना भएको यस प्रतिस्पर्धाका विजेताले एक हजार अमेरिकी डलर र उपविजेताले ५०० डलर पाउनेछन्। पुरस्कृत पत्रकारहरूलाई तथ्यांकमा आधारित अनुसन्धान तथा सडक दुर्घटनाका कारण र चुनौती विषयमा तालीम पनि दिइने आयोजकले उल्लेख गरेको छ।