‘वार्ता हैन, रत्यौली चल्यो’
सरकारसँग भएको तीन चरणको वार्ता असफल भएपछि मुक्कुमलुङ/पाथीभरामा केबलकार निर्माण रोक्न संघर्षरत समूहले सोमबार पत्रकार सम्मेलन गरी आन्दोलनको नयाँ कार्यक्रम घोषणा गरेको छ।
गृह मन्त्रालयका सहसचिव प्रेमप्रसाद भट्टराई संयोजक रहेको सरकारी टोली र आन्दोलनकारी समूहबीच माघ २२ मा भएको दोस्रो चरणको वार्तामा ६ बुँदे सहमति भएको थियो। सहमतिमा आन्दोलनकारीले आफ्ना कार्यक्रम फिर्ता लिने र सरकारले वार्ता अवधिभर केबलकार निर्माण रोक्ने र हिरासतमा रहेकालाई निशर्त रिहा गर्ने उल्लेख थियो।माघ २५ गते आन्दोलनकारीले विज्ञप्ति जारी गरी सरकारले सहमतिको पालना नगरेको र सचिवस्तरीय टोलीले वार्तालाई निष्कर्षमा पुर्याउन नसक्ने भन्दै मन्त्रीस्तरीय वार्ता टोली गठन गर्न माग राखिएको थियो। नभन्दै माघ २७ गते भएको तेस्रो चरणको वार्ता निष्कर्षमा पुग्न सकेन। पौने घण्टा चलेको वार्ता विषयवस्तुमा प्रवेश नै नगरी सकियो।
आन्दोलनकारीले सोमबार पत्रकार सम्मेलन गरी चरणबद्ध आन्दोलनको घोषणा गरेका छन्। मुक्कुमलुङ/पाथीभरामा आन्दोलनकारीमाथि माघ १२ गते सुरक्षाकर्मीले गोली चलाउँदा र धरपकड गर्दा तीन जना गम्भीर घाइते भएका थिए। त्यसपछि माघ १५ गतेदेखि नौ जिल्लामा अनिश्चितकालीन यातायात बन्द गरिएको थियो। झडपमा केही प्रहरी पनि घाइते भएका थिए। घटनापछि सरकारले चार सदस्यीय वार्ता समिति गठन गरेको थियो भने आन्दोलनकारीका तर्फबाट अमर तुम्याहाङको संयोजकत्वमा चार सदस्यीय वार्ता सहजीकरण टोली गठन गरिएको थियो।
वार्तामा आन्दोलनकारीका तर्फबाट केबलकार खारेजीको माग गरिएको थियो भने सरकारी वार्ता टोलीका संयोजक भट्टराईले ‘केबलकार नबनाउने सहमति गर्ने काम आफ्नो बुताभन्दा बाहिरको कुरा रहेको’ तर्क दिने गरेका थिए। आन्दोलनकारीको वार्ता टोलीका संयोजक तुम्याहाङका अनुसार सरकार गम्भीर नहुँदा वार्ता सफल भएन। उनी भन्छन्, “सरकार जसरी पनि केबलकार बनाउन चाहन्छ, हामी जसरी पनि रोक्न चाहन्छौं। त्यसैले सहमति हुन सकेन। अब आन्दोलनले नै यसको टुंगो लगाउनेछ।”
६ वर्षदेखि ‘नो केबलकार' भन्दै आन्दोलनमा उत्रिएका आन्दोलनकारी र सरकारबीच चलेको वार्ता भाँडिएपछि अब के हुन्छ? वार्ता किन र कसका कारण असफल भयो? आन्दोलनकारीलाई सहमतिमा आउन केले रोकेको छ? यिनै विषयमा केन्द्रित रहेर वार्ता टोलीका संयोजक प्रा. अमर तुम्याहाङसँग हिमालखबरका लागि जेबी पुन मगरले गरेको भिडिओ संवाद :