सुप्रिम सहकारी ठगी मुद्दामा पूर्व डीआईजी जोशी जेल चलान
बुटवलको सुप्रिम सहकारीको रकम अपचलन सम्बन्धी मुद्दामा गोर्खा मिडिया नेटवर्कका तत्कालीन उपाध्यक्ष एवं पूर्व डीआईजी छविलाल जोशी पुर्पक्षका लागि जेल चलान भएका छन्।
जिल्ला अदालत, रुपन्देहीले सोमबार थुनछेक बहसपछि जोशीलाई पुर्पक्षका लागि जेल चलान गर्न आदेश दिएको हो। उनी थुनछेक बहसका लागि सोमबार नै अदालतमा हाजिर भएका थिए।
बहसपछि न्यायाधीश वशिष्ठकुमार घिमिरेको एकल इजलाशले सहकारी ठगी तथा संगठित अपराध मुद्दामा जोशीले जानी जानी अभियोग भार अनुसार कसूर नगरेको भन्ने विश्वाश गर्नुपर्ने मनासिव आधार नरहेको भन्दै मुलुकी अपराध संहिता, २०७४ दफा ६७ अनुसार कारागारमा पठाउन आदेश दिएको हो।
आदेशमा प्रमाण परिक्षण गर्दा ठहर बमोजिम हुने भएकाले तत्काल स्थानीय कारागारमा पठाउन भनिएको छ। अदालतका श्रेष्टेदार यज्ञमूर्ति ज्ञवालीले अदालतको आदेशअनुसार, जोशीलाई सोमबार नै कारागार चलान गरिएको बताए।
जोशीको थुनछेक बहसमा सरकारी पक्षबाट जिल्ला न्यायाधिवक्ता प्रेमराज पौडेल र सहायक जिल्ला न्यायधिवक्ता गोकर्णराज घिमिरेले बहस गरेका थिए। यस्तै जोशीका तर्फबाट अधिवक्ता महेशकुमार चौधरी र अपूर्व खतिवडाले बहस गरेका थिए।
यसअघि राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई भने जिल्ला अदालतले एक करोड रुपैयाँ धरौटीमा छाडेको थियो। सुप्रिम सहकारीको रकम अपचलनमा लामिछाने सहित २२ जना विरुद्ध माघ ६ गते जिल्ला अदालत, रुपन्देहीमा मुद्दा दर्ता भएको थियो। त्यसपछि लामिछाने माघ ९ गते अदालतमा उपस्थित भएका थिए।
लामिछाने सहित २२ जना विरुद्ध एक हजार ८३१ बचतकर्ताको ८६ करोड १८ लाख २३ हजार ७५४ रुपैयाँ हिनामिना गरेको अभियोग छ।