छोराछोरी पाल्न कार्गिलदेखि मुम्बईसम्म यातना खेपेकी अनिता
भारतको कार्गिलमा पति गुमाएर फर्किएकी जाजरकोटकी अनिता महर हातमुख जोर्ने उपाय नभेटेपछि कलिला तीन छोराछोरी टहरामा छाडेर फेरि मुम्बई जाँदै छिन्।
छोराछोरीको लालनपालनका लागि एउटी आमाले कतिसम्म दुःख बेसाउन सक्छिन्? २९ वर्षीया अनिता महरलाई जति कसलाई थाहा होला! जाजरकोटको नलगाड-१, चिउरी गाउँकी उनले जन्मेदेखि देखेको भनेकै गरीबी, दुःख र संघर्ष हो। गाउँकै नेपाल राष्ट्रिय प्राविमा पढ्दै गरेकी उनको गरीबीकै कारण पढाइ रोकियो। ३ कक्षाभन्दा माथि टेक्न पाइनन्। बुबाआमा ज्यालामजदूरी गर्न भारत जानुपरेकाले घर, गाईबाख्रा र दुई भाइबहिनी हेर्ने जिम्मा उनकै कलिलो काँधमा आइलाग्यो।
त्यही क्रममा २०६८ सालमा १६ वर्षको उमेरमा छिमेकीले ल्याएको प्रस्तावमा छिमेककै ललित महरसँग उनको बिहे भयो। एक वर्षपछि जेठी छोरी शर्मिला जन्मिइन् जो बोल्न सक्दिनन्। त्यसको एक वर्षपछि छोरा गोपाल जन्मिए। यतिन्जेल अनिता र ललित गाउँमै अरूको खेतीपाती गरेर गुजारा चलाइरहेका थिए।
२०७४ सालको एक दिन ललितलाई साथीहरूले भारतको कार्गिलमा बाटो खन्ने काम पाइने र कमाइ पनि राम्रै हुने कुरा सुनाए। उनी भोलिपल्टै कार्गिलतिर लागे। “महीनाको १० हजारसम्म कमाउनुहुन्थ्यो, हामीलाई लाउन-खान पुग्थ्यो। तर बारम्बार बिरामी भएपछि उहाँ केही महीनामै फर्किनुभयो,” अनिताले ६ वर्षअघिको घटना सुनाइन्।
छोराहरूसँग अनिता ।
त्यसपछि उनलाई बिरामी पतिलाई एक्लै कार्गिल पठाउन मन लागेन, आफू पनि सँगै गइन्। छोराछोरी माइतीको जिम्मा लगाइन्। २०७५ सालमा कान्छा छोरा खगेन्द्र जन्मिए।
त्यसको केही महीनापछि दम्पती अब त्यहाँ थप काम गर्न नसक्ने निष्कर्षमा पुगे। अनि छोरो च्यापेर गाउँतिर लागे। तर त्यही वेला कार्गिलमा यति धेरै हिउँ पर्यो कि बाटो नै हरायो। रातभर अन्धाधुन्ध हिंड्दा हिउँमा पुरिए। स्थानीय बासिन्दाले फेला पारेर अस्पताल त पुर्याएछन्। तर होश खुल्दा अनिताको संसार उजाडिइसकेको थियो।
छारे रोग रहेका पतिलाई चिसोले च्यापेछ र त्यहीं प्राण गएछ। छोरा जसोतसो जोगिए। बिरानो ठाउँमा अनिता एक्लैले पतिको अन्त्येष्टि गरिन्। यो घटना सम्झिँदा उनी एकोहोरिंदै भन्छिन्, “घरीघरी त लाग्दो छ, उनको ठाउँमा मै मरेको भए उनले यी छोराछोरीलाई राम्ररी पाल्थे होला। मैले पनि अनेक मान्छेको कुटाइ सहन पर्थेन।”
कार्गिलबाट फर्किएपछि छोराछोरीको पेट भर्न अन्नसम्म थिएनन्। सधैं माइतीलाई बोझ बनिरहन पनि उनलाई मन थिएन। त्यसैले अंशमा पाएको पाखोबारीमा जसोतसो टहरो हालेर बस्न थालिन्। जन्मजात बोल्न नसक्ने अपांगता भएकी छोरीलाई पढाउने स्कूल नजीक थिएन। जेठो छोरालाई चाहिं गाउँकै नेपाल राष्ट्रिय प्राविमा भर्ना गरिदिइन्।
सरकारी विद्यालयमा पढाइ निःशुल्क भए पनि कापीकलम र पोशाक किन्नै पर्यो। तर ज्यालादारीको काम समेत नपाउँदा साँझबिहान हातमुख जोर्नै मुश्किल परिरहेथ्यो। त्यसैले अनिताले फेरि घर छाड्ने निर्णय लिइन्। “कापी सकिंदा किन्ने पैसा भएन। छोराछोरी बिरामी नै भए त कसरी उपचार गर्ने भनेर डर लाग्यो,” उनी भन्छिन्, “त्यसैले टहरा र छोराछोरी हजुरआमाको जिम्मामा छाडेर भारत गएँ।”
छोरीसँग अनिता ।
चिनजानकै व्यक्तिले अनितालाई मुम्बईको ठाणेमा घरायसी काम खोजिदिए। मासिक १० हजार नेपाली रुपैयाँमा उनी राति २ बजेसम्म खटिन्थिन्। घर पुछ्ने, खाना बनाउने, भाँडा माझ्ने, लुगा धुने, साहुका छोराछोरीलाई सरसफाइ गरिदिने, तिनका जुत्ता पालिस गरिदिनेसम्मका यावत् काम गर्नुपर्थ्यो। शुरूशुरूमा राम्रै थियो। बिस्तारै मालिकले गर्ने व्यवहार परिवर्तन हुन थाल्यो। पाँच महीनाजति बितेपछि एक दिन साहुनीले एक्कासि कपालमा समातेर लडाइदिइन्। कारण उनलाई आजसम्म थाहा छैन। साहुनी अरू कुराले तनाव हुँदा पनि उनैलाई झर्कन्थिन्। “छोराछोरी बिरामी भए पनि मैलाई दोष दिन्थिन्। त्यस दिन कुटाइ नै खाएपछि काम लगाइदिने दाइलाई त्यहाँ बस्न सक्दिनँ भनें। उहाँले फेरि अर्को घरमा लगाइदिनुभयो,” अनिता भन्छिन्।
घर फेरिए पनि उनलाई हुने व्यवहार फेरिएन। त्यहाँ त ज्यान जोगाउनै मुश्किल पर्यो। उनलाई यकीन ठाउँ र मालिकहरू को हुन् थाहा छैन। थाहा छ त मुम्बईको कुनै अपार्टमेन्टको २५औं तला अनि त्यहाँ काम गर्दा आउने मासिक १० हजारबाट आफूलाई केही खर्च राखेर बाँकी घर पठाउने कुरा। तर नयाँ घरमा समयमा पैसा पाइनन्। उल्टै काम थालेको तीन महीनामै साहुनीले झाडुले हान्न थालिन्। कारण फेरि पनि थाहा छैन। उनलाई लाग्छ- धनी मानिसले अरूको रिस गरीबलाई पोखेका हुन्।
यसरी हिंसामा पर्दा उनलाई पतिको याद आउँथ्यो। दुई जना मिलेर गरेको मिहिनेत सम्झन्थिन्। साहुको घरमा पाहुना आउँदा उनको तनाव झन् बढ्थ्यो। पाहुनाले पनि काम गर्ने महिलालाई हप्कदप्की नै लगाउँथे। धेरै पाहुना हुँदा हलमा ओछ्यान लगाइदिनुपर्थ्यो। त्यही हलको एउटा कुनामा उनको ओछ्यान थियो। त्यसैले पाहुना आएका दिन उनी डरले जाग्राम बस्थिन्। उनको भागमा प्रायः बासी खाना पर्थ्यो। त्यसले कैयौं पटक पखाला चल्थ्यो। तापनि छोराछोरी हुर्काउने बाध्यताले सब कष्ट सहिरहेकै थिइन्।
एक दिन त अति नै भयो। साँझतिर अनिता भुइँ पुछिरहेकी थिइन्, साहुनीले एक्कासि गर्धन थिचिन्। उनले “म्याम, मै ने कुछ गलत किया है क्या?” भन्दै याचना गरिन्। तर साहुनीले लछार्दै लगेर उनी सुत्ने हलको भित्तासम्म हुर्याइदिइन्। घरमा अरू कोही थिएन। अनितालाई लाग्यो- ‘अब यही घडी अन्तिम रहेछ। मलाई मार्ने नै भई। छोराछोरी देख्न नपाउने भएँ, तिनको बेहाल हुने भो।’
चोटले अचेत भएकी उनका आँखा मध्यरातमा खुले। आफू जिउँदै रहेकोमा धन्य मानिन्। अनि उज्यालो हुनासाथ जसोतसो भागेर नजीकै नेपाली केटीसाथी काम गर्ने ठाउँ पुगिन्। तिनै साथीले अनितालाई घरसम्म पुग्ने टिकट काटिदिइन्। भारत जाँदा ६५ किलोकी रहेकी उनी अघिल्लो वर्ष असोज २८ गते जाजरकोट आइपुग्दा जम्मा ५२ किलो थिइन्। “त्यसरी काम गर्दा पनि सबै महीनाको तलब पाइनँ। उताबाट फर्किंदा जम्मा ४० हजार रुपैयाँ साथमा थियो,” उनी भन्छिन्।
![anita 2.jpg](https://www.himalkhabar.com/uploads/editor/Social-lifestyle/anita/anita 2.jpg)
एक वर्ष काम गरेर ल्याएको त्यो पैसाले उनले पतिको काजकिरियाका लागि लिएको ऋण केही घटाइन्। ६० हजार अझै तिर्न बाँकी छ। गाउँ फर्किएको २० दिन मात्र भएको थियो, कात्तिक १७ गते जाजरकोटमा भूकम्प गयो। टहरो ढल्यो, उनी र छोराछोरी धन्न जोगिए।
सरकारले दिएको अनुदानको पहिलो किस्ता २५ हजार रुपैयाँमा ११ हजार ऋण खापेर उनले जसोतसो टिनले बारेको टहरो हालेकी छन्। छोरी शर्मिला सामान्य लेख्न सक्छिन्। गाउँमा अपांगता भएकालाई पढाउने विद्यालय नहुँदा उनले थप सिक्न पाएकी छैनन्। छोराहरू गोपाल र खगेन्द्र गाउँकै विद्यालयमा कक्षा ५ र ३ मा पढ्दै छन्। गाउँमा कमाउने बाटो छैन। कक्षा चढ्दै गएका छोराहरूको खर्च भने बढ्दो छ। ७१ हजार रुपैयाँ ऋणको भारी पनि छ। अनिता मनमा गाँठो पार्दै भन्छिन्, “मेडम, घरीघरी त यी दुई छोरालाई कसैले पढाइदिए पनि उपकार हुन्थ्यो भन्ने लाग्छ। तर फेरि सम्झिन्छु, आफ्ना छोराछोरी कसरी अरूलाई जिम्मा लगाउनु! हुर्केपछि यिनीहरूले आमा पनि नभन्लान् कि?”
विकल्प केही नभएपछि अनिताले फेरि मुम्बई जाने निर्क्योल गरेकी छन्। अबको चिट्ठा कस्तो पर्छ थाहा छैन। अघिल्लो घटनाले अझै तर्साइरहेकै छ। तर छोराछोरी भोकभोकै तड्पिएको देख्नुपर्ला कि भन्ने डर त्यो भन्दा ठूलो छ। मन भारी बनाउँदै भन्छिन्, “मेडम, पाँचै हजार महीनामा कमाए पनि म जान्दो नहीं। तर यहाँ भित्तो कोतारेर पैसा आउँदैन। त्यसैले कुटाइ खाए पनि सहिजाउँला। अर्को उपाय पनि त नाइँ।”
चिउरी गाउँबाट घरेलु श्रमिक बनेर भारत जाने एक्ली महिला होइनन् अनिता। ती सबैसँग तीतामीठा अनुभव छन्। कतिले सुनाए, कतिले मनमै पोको पारे। तर अनिता आफ्नो भोगाइ सुनाउँदा मन हलुंगो भएको अनुभूति गर्छिन्। यो अनुभूति त क्षणिक न हो। उनले फेरि पनि पाइला गह्रौं बनाएर गाउँ छाड्नु नै छ। उनी भन्छिन्, “उताबाट छोडेर आउँदा अब कहिल्यै त्यहाँ जान्नँ हुन्छ। तर एक-दुई महीना बसेपछि उही अभाव हुन्छ। अनि कहाँ जानु त? सबैलाई यस्तै हुँदो हो कि मैलाई मात्र है मेडम?”