बाह्रै महीना फलाउन सकिने भक्तपुरे काँक्रो
वर्षमा चार पटक फलाउन सकिने भक्तपुरे काँक्रो लोप हुनबाट जोगाएर व्यावसायिक उत्पादन गर्न सघाउने हो भने किसानको आम्दानी बढाउन र विदेशबाट हुने आयात रोक्न सकिन्छ।
जीवनप्रसाद राई
आजभोलि काँक्रो खानुभएको छ? अझ हिउँद याममा काँक्रो खान थालेको कहिलेदेखि हो, याद छ? तीन दशकअघि भने काँक्रो खानका लागि सिजन नै पर्खिनुपर्थ्यो। अझ हरियो तथा हल्का पहेलो रंगको काँक्राका लागि त असार-भदौ नै कुर्नुपर्थ्यो।
कृषि प्रविधिको विकाससँगै ‘हाइब्रिड’ काँक्राको उत्पादनले बाह्रै महीना स्वाद फेरिदिएको छ। वर्षैभरि काँक्रो खान पाउने समयको शुरूआत भने २०५० सालयतै भएको हो। शुरूआतमा काठमाडौं तथा पोखरा जस्ता ठूला शहर र होटलमा काँक्रो पाइन थाल्यो। अहिले त साना शहर र गाउँघरमा पनि बेमौसमी काँक्रो पुगिसकेको छ।
कृषि प्रविधिको विकासले काँक्रो मात्रै होइन, अन्य बेमौसमी तरकारीको उत्पादन पनि बढ्दै गएको छ। बेमौसमी तरकारी खेतीको शुरूआत २०४८ सालमा धनकुटाको सिंधुवामा भएको थियो। गैरसरकारी संस्था सिप्रेडले शुरू गरेको बेमौसमी तरकारी उत्पादन नेपालका लागि ‘तरकारी क्रान्ति’ नै बनिदियो। त्यति वेला धरान-वसन्तपुर राजमार्ग आसपासका महिला कृषकका लागि आयमूलक आयोजनाका नामबाट शुरू भएको बेमौसमी तरकारी उत्पादनले देशभर प्रचारप्रसार पायो।
त्यस्तै, २०५१ सालबाट अरनिको राजमार्ग वरपरका महिला कृषकका लागि आयमूलक आयोजनाको नामबाट बेमौसमी तरकारी खेती शुरू भयो। त्यति वेला भक्तपुरे काँक्राको प्रयोग गरिएको थियो। भक्तपुरे काँक्राको व्यावसायिक विकासमा त्यो आयोजनाले योगदान दियो।
२०४० सालअघि नै टिस्टुङ, पालुङ तथा भक्तपुर क्षेत्र तरकारी खेतीका लागि प्रख्यात थिए। यी ठाउँमा उत्पादित तरकारीले नाम कमाएको थियो। भक्तपुर क्षेत्रलाई त जापानी सहयोग नियोग जाइका र अन्य अन्तर्राष्ट्रिय दातृनिकायले तरकारीमा परीक्षणस्थलका रूपमा प्रयोग गरेका थिए।
उनीहरूले कुसुले जातको काँक्रालाई व्यावसायिक बनाउने प्रयास गरे। यो काँक्रो मंसीर-पुसमा पनि फलाउन सकिन्थ्यो भने थाक्राको आवश्यकता पर्दैनथ्यो। तर हिजोआज कुसुले काँक्राको खेती कम गरिनाले यो जात लोप हुने अवस्थामा छ। पृथ्वी राजमार्ग आसपासको धादिङका केही क्षेत्रमा भने खेती गरेको पाइन्छ।
कुसुलेभन्दा अझ राम्रो भक्तपुरकै काँक्रो छ, भक्तपुरे। यसको विकासको यकीन इतिहास पाइएको छैन। तैपनि भक्तपुरका किसानले सदियौंदेखि लगाउँदै आएको पाइन्छ। बाह्रै महीना फलाउन सकिने भएकाले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाले भक्तपुरे काँक्रो खेतीमा जोड दिए। जसले काँक्रो उत्पादनमै विविधता ल्याइदियो।
कस्तो छ भक्तपुरे काँक्रो?
हरेक जातका काँक्राका आआफ्नै गुण र विशेषता हुन्छन्। कुनै स्वादका कारणले मन पर्ने हुन्छन् त कुनै फल्ने सिजनले। नेपालमा उपलब्ध काँक्राका पनि थुप्रै जात छन्। हरियो लामो, पोइन्ट सेट, असारे, कुसुले, भक्तपुरे, डल्लो हरियो, पहेंलो स्थानीय आदि चलनचल्तीका जात हुन्।
भक्तपुरे काँक्राको गुण र विशेषता भने अन्यभन्दा बेग्लै छ। प्रायः काँक्रो वर्षमा एक सिजन मात्रै खेती हुन्छ। भक्तपुरेलाई उचित तापक्रम मिलाउन सकियो भने सालमै चार पटकसम्म खेती गर्न सकिन्छ। समय र तापक्रमलाई मिलाउने हो भने बेमौसमी र बाह्रै महीना नै उत्पादन गर्न सकिने सम्भावना पनि छ।
अन्य काँक्रो बोट ठूलो भएपछि मात्रै फल्ने गर्छन्। भक्तपुरे काँक्रामा भने सानो बोटमै अर्थात् १० देखि १२ पाते भएपछि फुल्न र चिचिला लाग्न थाल्छ। प्रत्येक आँख्लामा फुल्ने र फल्ने क्षमताको हुन्छ। यसलाई सानैमा पनि टिप्न सकिन्छ।
छिटो बढ्ने गुण बोकेको भक्तपुरे काँक्राको स्वाद बेग्लै हुन्छ। स्वादिलो हुने भएकाले होटल तथा रेस्टुरेन्टमा यसको माग पनि बढ्दो छ। लम्बाइ १० इन्च र गोलाइ आठ इन्चसम्म हुँदा बिक्री गर्न उपयुक्त हुन्छ। त्योभन्दा सानो पनि खान त सकिन्छ, तर तौलको हिसाबले किसानलाई कम नाफा हुन्छ। निश्चित दूरी राखेर खेती गर्ने हो भने किसानलाई यसबाट फाइदा हुन्छ। उपभोक्ताले पनि बाह्रै महीना स्वादिलो काँक्रो खान पाउँछन्।
प्राविधिक पाटो
कुसुले जातको काँक्रो बाक्लो रोपेर फलाइन्छ। थाक्रा नचाहिने भएकाले यसलाई बाक्लो रोप्ने गरिन्छ। अन्य सबै जातका काँक्रालाई थाक्रा चाहिन्छ। त्यसैले लाइनको दूरी दुई मिटर र बोटको दूरी एक मिटर हुनुपर्छ।
भक्तपुरे काँक्राका लागि त्यही नियम लागू हुन्छ। बेमौसमी काँक्रो उत्पादन गर्न पोलिब्यागमा बिरुवा तयार गरेर प्राविधिकले सिफारिश गरेको दूरीमा बिरुवा रोप्नुपर्छ। गर्मी शुरू भइसकेपछि भने सीधै खेतमा रोप्दा पनि हुन्छ। जाडो महीनामा चाहिं प्लास्टिक टनेलको उपयोग गर्नुपर्छ।
बीउ उत्पादनका लागि दूरी बनाएर रोप्नुपर्छ। प्राविधिकको सल्लाह अनुसार सिंचाइ र मलखाद पनि प्रयोग गर्नुपर्छ। यसलाई बेस्कन झांगिन र पर्याप्त मात्रामा फलाउन थाक्राको राम्रो प्रबन्ध मिलाउनुपर्छ।
त्यस्तै, शुरू र अन्तिमतिर फलेको काँक्राको बीउ गुणस्तरीय हुँदैन। राम्रो आकार नभएको र बांगोटिंगो काँक्रालाई हटाउनुपर्छ। यसको बीउलाई केही संस्था र कम्पनीले ब्रान्डिङ गरेको भए पनि ताजा काँक्रालाई भने ब्रान्डिङ गरेर बजारमा बेच्ने गरिएको छैन। त्यसैले आफैंले बीउ उत्पादन गर्दा राम्रो हुन्छ।
कस्तो छ बजार?
आन्तरिक र बाह्य पर्यटकको चहलपहल बढेसँगै काँक्राको माग पनि बर्सेनि बढ्दै गएको छ। बाह्रै महीना सहज रूपमा उपलब्ध गराउन सकियो भने अझ खपत बढ्छ। अहिले पनि पहाडी क्षेत्रका होटल, रेस्टुरेन्ट तथा खाजाघरमा सिजनको काँक्रो मात्रै सलादका रूपमा चलाउनुपर्ने बाध्यता छ। ठूलो शहरका राम्रा होटलमा विदेशबाट आयातीत काँक्रो खुवाउने गरिएको छ।
भन्सार विभागका अनुसार चालू आर्थिक वर्ष २०८१/८२ को पहिलो ६ महीनामा अर्थात् साउनदेखि पुससम्म नौ लाख ७० हजार किलोग्राम काँक्रो विदेशबाट आएको छ। दुई करोड ४७ लाख रुपैयाँको काँक्रो आयात गरिएको हो।
बाह्रै महीना खेती गर्ने हो भने विदेशबाट आयात गर्नुको सट्टा नेपालमै उत्पादित काँक्राले आपूर्ति धान्छ। यसका लागि भक्तपुरे काँक्रो उपयुक्त हुन्छ। सहजै खेती गर्न सकिन्छ भने उत्पादन पनि राम्रो दिन्छ।
प्रदेशले गर्नुपर्ने प्रयास
मुलुक संघीय प्रणालीमा गएपछि बनेका तीन तहका सरकारले विकास निर्माणदेखि लिएर अन्य कार्यक्रम गरिरहेका छन्। एकात्मक प्रणालीमा कृषि क्षेत्रमा जति काम हुन्थे, संघात्मक भएपछि त्यति हुन भने सकेका छैनन्।
प्रदेश सरकारले कृषिका लागि झन् काम गर्नुपर्ने हो। तर अहिले प्रदेशको हालत ‘न बकुल्लाको जस्तो न त कागको जस्तो’ छ। हरेक वर्ष बजेट आउँछ, विकास निर्माणको चर्चा हुन्छ, कृषिका पनि कुरा हुन्छन्, नतीजा भने देखिंदैन।
भक्तपुरे काँक्रालाई प्रदेशको उत्पादनका रूपमा प्रवर्द्धन गर्न बागमती प्रदेश सरकारले अभियान नै चलाउनुपर्ने हो। यसको पहिलो स्रोत बीउ उत्पादन गर्न पहल गर्नुपर्ने हो। तर प्रदेश सरकारले यसमा ध्यान पुर्याएको देखिंदैन।
बागमती प्रदेश सरकारले वास्ता नगर्दा अन्य प्रदेश सरकारले पनि पहल गर्न सक्छन्। आफ्नो प्रदेशको कुन जिल्लामा कसरी उत्पादन गर्न सकिन्छ भनेर अध्ययन गराउन सक्छन्। किसानलाई प्रोत्साहन गर्न सकियो भने त व्यावसायिक उत्पादन शुरू भइहाल्छ।
काँक्राको व्यावसायिक खेती गर्ने किसान छनोट गरेर सहयोग गर्न सकिन्छ। उत्पादित काँक्रालाई देशभर पुर्याउन शुरूआतमा ढुवानीमा सहजीकरण गरिदिन सकिन्छ। काठमाडौं, पोखरा, भरतपुर, विराटनगर, वीरगन्ज, हेटौंडा, धनगढी लगायत शहरमा भक्तपुरे काँक्राले बजार पाउन सक्छ। यसका लागि प्रदेश सरकारका अधिकारीमा इच्छाशक्ति हुनुपर्छ।
स्वादिलो र बेमौसममा फल्ने गुण तथा बढी फल्न सक्ने क्षमताका कारण भक्तपुरे काँक्राले आर्थिक वृद्धिमा पनि राम्रो योगदान दिन सक्छ। तराईका गाउँघरमा फलाउन सकियो भने त भारततिर निर्यात पनि गर्न सकिन्छ। योजनाबद्ध रूपमा खेती गर्ने समूह तथा सहकारी, विदेशबाट फर्केर युवाका लागि भक्तपुरे काँक्रो वरदान सावित हुन सक्छ।