पाथीभरामा ‘नो केबलकार’ पक्षद्वारा फेरि आन्दोलन घोषणा
पाथीभरामा निर्माणाधीन केबलकारको विरोध गर्दै आएका संघसंस्था र राजनीतिक दलले फेरि आन्दोलनको घोषणा गरेका छन्।
वार्ताबाट समस्या समाधान गर्न सरकार इमानदार नभएको भन्दै उनीहरूले आन्दोलनको घोषणा गरेका हुन्। उनीहरूले सोमबार पत्रकार सम्मेलन गरी माघ २९ गतेदेखि आन्दोलन गर्ने जनाएका छन्।
पाथीभरामा केबलकार निर्माण शुरू भएपछि उनीहरूले विरोध जनाएका थिए। त्यही क्रममा माघ १२ गते प्रहरीसँग झडप भएको थियो। झडपका क्रममा प्रहरीको गोली लागेर दुई जना घाइते भएका थिए। काठमाडौंमा उनीहरूको उपचार भइरहेको छ।
त्यसको विरोधमा आन्दोलनरत पक्षले कोशी प्रदेशमा आमहडताल गरेको थियो। जनजीवन प्रभावित भएपछि सरकारले वार्ता टोली गठन गरेको थियो।
पटक पटक वार्ता गर्दा पनि सहमति नजुटेपछि उनीहरू फेरि आन्दोलनमा उत्रिने भएका हुन्। माघ २७ मा दुई पटक छलफलमा बस्दा पनि सरकारी पक्ष गम्भीर नदेखिएको उनीहरूको आरोप छ।
उनीहरूले माघ २७ गते बेलुकासम्म उच्चस्तरीय वार्ता टोली गठन गर्न माग गरेका थिए। सरकारले माग सम्बोधन नगरेकाले फेरि आन्दोलनका कार्यक्रम घोषणा गर्नुपरेको मुक्कुमलुङ (पाथीभरा) संरक्षण संयुक्त संघर्ष समितिका संयोजक श्रीप्रसाद लिम्बूले बताए।
उनीहरूले माघ २९ देखि फागुन ९ गतेसम्म बहिष्कार आन्दोलन गर्ने जनाएका छन्। केबलकार निर्माण गरिरहेको आईएमई समूहसँग कारोबार नगर्ने अभियान चलाउने पत्रकार सम्मेलनमा चेतावनी दिइएको छ।
त्यस्तै, फागुन ६ देखि ८ गतेसम्म ‘मुक्कुमलुङ बचाऔं पदयात्रा’ सञ्चालन गर्ने भएका छन्। केबलकारको अनुमति तथा सम्झौता खारेजीका लागि दबाब दिन फुङलिङ नगरपालिकाको कार्यालय घेराउ, केबलकार निर्माण सामग्री ढुवानी नगर्न आग्रह, काठमाडौं, इटहरी र बिर्तामोडमा विरोध सभा गर्ने भएका छन्।
यससँगै केबलकारको सम्झौता खारेजीका लागि कोशी प्रदेशका सबै जिल्ला प्रशासन कार्यालय मार्फत ज्ञापनपत्र बुझाउने, प्रदर्शन गर्ने पनि उनीहरूले तय गरेका छन्। त्यसपछि अनिश्चितकालीन यातायात बन्द र आमहडताल गर्ने चेतावनी दिएका छन्।
![pathibhara_1-1.jpg](https://www.himalkhabar.com/uploads/editor/social/pathibhara_1-1.jpg)
![pathibhara_2.jpg](https://www.himalkhabar.com/uploads/editor/social/pathibhara_2.jpg)