‘एचपीभी खोप सुरक्षित छ, ढुक्क भएर लगाऔं’
पाठेघरको मुखको क्यान्सरबाट जोगाउन एचपीभी खोप महत्त्वपूर्ण रहेको जनस्वास्थ्यविद्ले बताएका छन्।
सरकारले माघ २२ गतेदेखि एचपीभी खोप अभियान सञ्चालन गरेको छ। कतिपयले खोपको प्रभावकारिताका सम्बन्धमा टीकाटिप्पणी पनि गरेका छन्।
तर एचपीभी खोप एकदम सुरक्षित र प्रभावकारी रहेको जनस्वास्थ्यविद् डा. समीरमणि दीक्षित बताउँछन्। “एचपीभी खोप लगाउने किशोरीमा पाठेघरको मुखको क्यान्सरको जोखिम एकदमै न्यून हुन्छ,” डा. दीक्षित भन्छन्।
महिलाको पाठेघरको मुखको क्यान्सरलाई रोकथाम गर्ने उद्देश्यले सरकारले एचपीभी खोप अभियान शुरू गरेको हो। माघ २२ मा शुरू भएको अभियान फागुन ६ गतेसम्म चल्नेछ। अभियानका क्रममा कक्षा ६ देखि १० सम्मका र विद्यालय बाहिर रहेका १० देखि १४ वर्षसम्मका बालिकालाई खोप लगाइँदै छ।
महिलामा स्तन र पाठेघरको क्यान्सर बढी देखिने गरेको छ। “नेपालमा मुख्यतः ‘एचपीभी-१६’ र ‘एचभीपी-१८’ प्रजातिको भाइरसबाट बढी संक्रमण हुने गर्छ,” डा. दीक्षित भन्छन्, “पाठेघरको मुखको क्यान्सरबाट बचाउनु नै यो खोपको विशेषता हो।”
कुनै किसिमको भ्रममा नपरी सरकारले सञ्चालन गरेको निःशुल्क खोप अभियानमा सामेल हुन जरूरी रहेको उनी बताउँछन्। “एचपीभी खोप सुरक्षित छ, कुनै भ्रममा नपरी खोप लगाउन अनुरोध गर्दछु,” डा. दीक्षित भन्छन्।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर १८ हजार ९०० माध्यमिक तहका विद्यालय र आठ हजार २०० स्वास्थ्य केन्द्रलाई खोप केन्द्र तोकिएको छ। सबै खोप केन्द्रमा सहज रूपमा खोप दिने व्यवस्था गरिएको छ।
नेपालमा दैनिक ६ जनामा पाठेघरको मुखको क्यान्सरको संक्रमण देखिने गरेको सरकारी तथ्यांक छ। जसका कारण दैनिक चार जनाको ज्यान जाने गरेको पाइएको छ।