फर्पिङको स्कूल बस दुर्घटनामा घाइते एक विद्यार्थी र चालकको मृत्यु
काठमाडौंको दक्षिणकाली नगरपालिका-३, फर्पिङमा स्कूल बस दुर्घटनामा घाइते भएका एक विद्यार्थी र चालकको मृत्यु भएको छ।
आइतबार अपराह्न जुनकिरी इङ्लिस स्कूलको बा १ क ५६६४ नम्बरको बस दुर्घटनामा परेको थियो। दुर्घटनामा घाइते भएका बस चालक ४० वर्षीय रामकृष्ण थापा मगर र एक विद्यार्थीको मृत्यु भएको काठमाडौं प्रहरी परिसरका प्रवक्ता प्रहरी उपरीक्षक (एसपी) अपिल बोहराले हिमालखबरलाई बताए।
मृत्यु भएका विद्यार्थीको नाम खुल्न बाँकी नै छ। एसपी बोहराका अनुसार काठमाडौंको ट्रमा सेन्टरबाट उपचारका क्रममा विद्यार्थीको मृत्यु भएको हो।
बसमा ५० विद्यार्थी सवार थिए। विद्यालय छुट्टी भएपछि विद्यार्थीलाई घर पुर्याउने क्रममा बस दुर्घटना भएको थियो। घाइते अन्य विद्यार्थीको उपचार भइरहेको प्रहरीले जनाएको छ।