कोटिहोमलाई लिएर स्थानीय सरकार र विवादित धर्मगुरुबीच जुहारी
चौताराका रूख ठुटो पारेर आलोचना खेपिरहेका विवादित धर्मगुरु विजय कृष्णमूर्तिले स्थानीय सरकारले अनुमति नदिए पनि पोखरामा कोटिहोम लगाइछाड्ने चेतावनी दिएका छन्।
कृष्णमूर्ति संस्थापक रहेको संस्था मानव सेवा फाउन्डेशनले आगामी २०८२ वैशाख १७ देखि जेठ २६ गतेसम्म पोखराको बाराहीघाटमा कोटिहोम सञ्चालन गर्ने तयारी गरिरहेको छ। कोटिहोम सञ्चालन गर्न आवश्यक काठका लागि पोखराका ऐतिहासिक चौतारीका रूपमा रहेका वरपीपलका रूख नै काटिएका छन्। जसले गर्दा उनी विवादमा तानिएका हुन्।
पोखरा महानगरले भने कोटिहोम सञ्चालनको अनुमति दिएको छैन। मनपरी रूख काटेका कारण चौतर्फी आलोचना भएपछि महानगरले पनि कोटिहोम सञ्चालनका लागि अनुमति नदिने जनाएको छ। तर कृष्णमूर्तिले स्थानीय सरकारले अनुमति नदिए पनि कोटिहोम गरिछाड्ने बताएका छन्।
हाँगा छिमल्ने नाममा ठुटो पारिएको रूख। तस्वीर : हेमन्त ढकाल
फाउन्डेशनले भने अनुमति लिएरै पोखराका चौतारा र अन्य ठाउँका रूख काटेको दाबी गरेको छ। शहर क्षेत्रका रूखका हाँगा छिमल्ने नाममा ठुटै पारिएको छ। यसरी काटिएका रूखको काठलाई पोखरा महानगरपालिका-६ स्थित नेपाल ट्रस्टको जग्गा रहेको रत्न मन्दिरभित्रै थुपारिएको थियो।
काठ थुपार्न ट्रस्टको जग्गा भाडामा लिइएको फाउन्डेशनले जनाएको छ। जसका लागि वडा नं ६ को कार्यालयबाट अनुमति लिएको कृष्णमूर्तिको भनाइ छ।
पोखरा महानगरपालिका-६ को कार्यालयले दिएको अनुमतिपत्र।
वडा कार्यालयले फाउन्डेशनलाई दिएको पत्रमा भनिएको छ, ‘महायज्ञ सम्पन्न गर्नका निमित्त नेपाल ट्रस्टको कार्यालय कमलादी, काठमाडौं र पर्यटन, उद्योग, वाणिज्य तथा उपभोक्ता हित संरक्षण निर्देशनालय पोखरा, नेपालले समेत उक्त कार्यक्रम गर्न पोखरा-६ बैदामस्थित क्याम्पिङ क्षेत्र र नेपाल ट्रस्ट बाराहीचोकको स्वामित्वमा रहेको जग्गामा सहमति प्रदान गरिसकेको र यहाँबाट पनि उक्त कार्यक्रम गर्न अनुमति दिइएको बेहोरा अनुरोध गरिन्छ।’
पोखराका ऐतिहासिक चौतारा र अन्य क्षेत्रमा भएका रूख काट्नमा पोखरा महानगरको वडा कार्यालय र नेपाल ट्रस्ट पनि संलग्न रहेको देखिन्छ। चौतर्फी आलोचना भएपछि भने पोखराका मेयर धनराज आचार्यले नेपाल ट्रस्टको गेटको ताला फोरेरै काठ जफत गरेका छन्। जग्मा गरेर राखिएको ५० ट्रक काठ महानगरले जफत गरेको हो।
फाउन्डेशनले यसको विरोध गरेको छ। पहिले आफैंले अनुमति दिने र अहिले प्रचारबाजी गर्न खोजेको भन्दै कोटिहोम आयोजकले आलोचना गरेका छन्। मेयर आचार्य भने यसको बचाउमा उत्रिएका छन्। कोटिहोमका लागि महानगरले अनुमति नदिएको र अनुमति नदिने उनको भनाइ छ।
स्थानीय सरकारले अनुमति नदिने भएपछि फाउन्डेशनका संस्थापक कृष्णमूर्तिले आइतबार पत्रकार सम्मेलन गरेर ऐतिहासिक श्रीगण्डकी शत कुण्डीय गायत्री कोटिहोम विराट् महायज्ञ, २०८२ को आउँदो चैत १७ देखि २०८२ वैशाख १७ गतेसम्म प्रचारात्मक कार्यक्रम रहेको जनाएका छन्। त्यस्तै, २०८२ वैशाख १७ देखि जेठ २६ गतेसम्म महायज्ञ आयोजना गर्ने बताएका छन्।
कोटिहोमबारे आइतबार पत्रकार सम्मेलन गरेर जानकारी दिंदै विवादित धर्मगुरु विजय कृष्णमूर्ति।
महानगरले अनुमति नदिइरहेको अवस्थामा फाउन्डेशनका संस्थापक कृष्णमूर्तिले भने जसरी पनि कोटिहोम लगाएरै छाड्ने चेतावनी दिएका छन्। “धर्मका लागि अधर्म गर्न पनि तयार छु, जुनसुकै परिस्थितिमा पनि यज्ञ रोकिंदैन,” कृष्णमूर्तिले भने।
तोकिएकै मिति, ठाउँमा कोटिहोम हुने बताउँदै बरु अझै विराट् रूपमा गर्ने उनले बताए। गण्डकी प्रदेशकै सर्वांगीण विकासका लागि यज्ञ गर्न लागिएको हुँदा अब कोटिहोम नलगाई आफू पोखराबाट नफर्कने उनको भनाइ छ।
कोटिहोमको उद्देश्य पोखरालाई मुक्तिद्वारका रूपमा चिनाउने र धार्मिक पर्यटनलाई प्रवर्द्धन गर्ने रहेको आयोजकको भनाइ छ। यसबाट हुने आम्दानीले गण्डकी प्रदेशभित्रका विपन्न, अभिभावकविहीन बालबालिका तथा असहाय ज्येष्ठ नागरिकको पालन र संरक्षण गरिने फाउन्डेशनले जनाएको छ।
कोटिहोमका लागि जम्मा गरिएको काठ नियन्त्रणमा लिंदै पोखरा महानगरको टोली।
यसअघि कृष्णमूर्तिले काठमाडौंको पशुपतिमा कोटिहोम लगाएका थिए। त्यसलाई लिएर पनि विवाद भएको थियो। पशुपतिको विवाद साम्य नहुँदै उनी पोखरा पुगेका हुन्। अहिले त्यहाँ पनि कोटिहोमको तयारी गर्दै विवादमा आएका छन्।
कोटिहोमका नाममा पोखराका ऐतिहासिक चौतारा र अन्य ठाउँका रूख ठुटै पारेर शहर कुरूप त बनाइएको छ नै, वातावरणप्रति संवेदनशील नभएको भन्दै संरक्षणकर्मीले आलोचना पनि गरिरहेका छन्। गण्डकी प्रदेश सरकारले २०७५ सालमै वरपीपल, शमी तथा चौतारो संरक्षण ऐन ल्याएको थियो। ऐन विपरीत चौतारा र वरपीपलका रूख काटिएका छन्। ऐनको कार्यान्वयन फितलो हुँदा कोटिहोमका नाममा रूख काटिएको संरक्षणकर्मीको भनाइ छ।
![kotihom pokhara (1).jpg](https://www.himalkhabar.com/uploads/editor/Local Government/pokhara/kotihom pokhara (1).jpg)
विवादित धर्मगुरु विजय कृष्णमूर्तिले मनपरी गरेपछि स्थानीय सरकारले भने कोटिहोम सञ्चालनका लागि अनुमति नदिने जनाएको छ। महानगर कार्यपालिकाको माघ २० गते बसेको ४२औं बैठकले मानव सेवा फाउन्डेशन नेपाललाई पोखराको लेकसाइडमा कोटिहोम सञ्चालनका लागि अनुमति नदिइएको उल्लेख गर्दै जग्गा भाडामा दिने नेपाल ट्रस्टको निर्णय समेत रद्द गर्न लेखी पठाउने निर्णय गरेको छ।
नेपाल ट्रस्टले कोटिहोमका लागि उपलब्ध गराएको भनिएको लेकसाइडस्थित जग्गा शहरको अतिव्यस्त स्थान, आन्तरिक तथा बाह्य पर्यटक आवतजावत र घुमफिर गर्ने मुख्य पर्यटकीय केन्द्र, विश्व रामसार सूचीमा सूचीकृत फेवा तालको किनार भएको जनाएको छ। पर्यटनको मुख्य सिजनमा एकै प्रकृतिको कार्यक्रम लामो समयसम्म गर्दा आवतजावत र भिडभाड बढ्न गई पर्यटकीय गतिविधिमा असर पर्ने हुनाले सुरक्षा संवेदनशीलतालाई मध्यनजर गरी जग्गा भाडामा दिने निर्णय रद्द गर्न नेपाल ट्रस्टलाई पत्राचार गरेको छ।