चार वर्षीय बालक अपहरणको आरोपमा भियतनामी पक्राउ
चार वर्षीय बालकलाई अपहरण गरेको आरोपमा प्रहरीले एक जना २३ वर्षीय भियतनामी नागरिकलाई पक्राउ गरेको छ।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले कलंकीबाट बालकको उद्धार गरेको छ भने अपहरणमा संलग्न भियतनामी नागरिक मि ह्वाङ किनलानलाई पनि पक्राउ गरेको छ। अपहरणको कारण भने खुलिनसकेको अनुसन्धान कार्यालयका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) रमेश बस्नेतले हिमालखबरलाई बताए।
प्रारम्भिक सोधपुछमा भने बालकलाई उनका अभिभावकले कुटपिट गरेको देखेपछि माया लागेर शिशु स्याहार केन्द्रमा राख्न लगेको किनलानले बताएका छन्। माघ २४ गते ललितपुरको पाटन दरबार क्षेत्रबाट अपहरण गरी कलंकीको एक होटलमा बन्धक बनाएर राखेको भेटिएकाले उनको भनाइ बनावटी देखिने प्रहरीले जनाएको छ।
प्रहरीले किनलानबाट वीरगन्ज जाने बसको टिकट समेत बरामद गरेको छ। बालकलाई अपहरण गरेर लैजाने योजना रहेको हुन सक्ने प्रहरीको अनुमान छ। “मानव अंगका लागि यस्तो गरिएको हुन सक्ने हाम्रो प्रारम्भिक अनुमान छ,” अनुसन्धान कार्यालयका एक प्रहरी अधिकृतले भने, “अपहरणको खास उद्देश्य अझै खुलेको छैन।”
किनलान आठ महीनादेखि नेपालमा पर्यटक भिसामा बसिरहेका थिए। उनले नेपाली समेत बोल्ने गरेको एक प्रहरी अधिकृतले बताए। “मानव अंग वा मानव तस्करीका लागि बालकलाई कतै लैजान लागिएको हुन सक्ने देखिन्छ,” ती अधिकृतले भने।