मानवशास्त्री बिहारीकृष्ण श्रेष्ठको निधन
मानवशास्त्री एवं मदन पुरस्कार विजेता लेखक बिहारीकृष्ण श्रेष्ठको निधन भएको छ।
श्रेष्ठको शुक्रबार ८८ वर्षको उमेरमा ललितपुरको चाकुपाटस्थित निवासमा निधन भएको हो। उनी १९९३ साउन १० गते काठमाडौंको प्याफल टोलमा जन्मिएका थिए।
सरकारी सेवासँगै उनी अध्ययन र अनुसन्धानमा सक्रिय थिए। मानवशास्त्री श्रेष्ठको निधनले अध्ययन एवं अनुसन्धानको क्षेत्रमा अपूरणीय क्षति भएको विश्लेषक हरि शर्मा बताउँछन्। “अग्रज मानवशास्त्री बिहारीकृष्ण श्रेष्ठ खरो र स्पष्ट वक्ता हुनुहुन्थ्यो,” शर्मा भन्छन्।
अध्येता एवं अनुसन्धाता श्रेष्ठ सहितको टोलीले कर्णालीको स्थलगत अध्ययनपछि लेखेको कर्णाली लोक संस्कृति पुस्तकले २०२८ सालको मदन पुरस्कार पाएको थियो। उनीसँगै संस्कृतिविद्हरू सत्यमोहन जोशी, स्थिर जंगबहादुर सिंह, चूडामणि बन्धु र प्रदीप रिमालले पाँच खण्डमा कर्णाली लोक संस्कृति पुस्तक लेखेका थिए। पाँचै जनालाई संयुक्त रूपमा मदन पुरस्कार प्रदान गरिएको थियो।
सरकारी सेवामा तीन दशकभन्दा बढी खटिएका उनले अतिरिक्त सचिवबाट अवकाश पाएका थिए। सरकारी सेवामा रहँदा दीर्घकालीन प्रभाव पार्ने कार्यक्रमको शुरूआत गरेका थिए। अहिले ख्याति कमाएका वन उपभोक्ता समूह र आमा समूहका परिकल्पनाकार श्रेष्ठ नै थिए। उनी विकेन्द्रीकरणका पैरवीकर्ता पनि थिए।
यो पनि पढ्नुहोस् :