बाहुनडाँगी छाडेर पश्चिमतिर पल्किएका हात्ती
बाहुनडाँगीले हात्तीसँग जुध्न छाडेर उसलाई मन नपर्ने चिया, तेजपत्ता, कागती आदि रोप्न थालेपछि तीन वर्षयता हात्तीको बथान सुन्दरहरैंचा र इटहरीतिर पस्न थालेको छ।
गत पुस १५ को बिहान दाउरा लिन घरछेउको जंगल गएकी मोरङको सुन्दरहरैंचा नगरपालिका-५, ऋषिदेव बस्तीकी चन्द्रकुमारी लिम्बू साँझसम्म नआएपछि छोराबुहारी आत्तिए। गाउँले बोलाएर खोज्न लाग्दै थिए, गड्याङगुडुङ गरेर रूख भाँच्दै हात्तीको बथान आइपुग्यो। ज्यान जोखिममा पर्ने भएपछि उनीहरू त्यस रात त्यत्तिकै बसे। भोलिपल्ट बिहान मात्र खोज्न निस्किए।
ऋषिदेव बस्तीसँगै जोडिएको नमूना सामुदायिक वन प्रवेश गर्नासाथ हात्तीका ठूल्ठूला पाइला भेटिए। त्यसलाई पछ्याउँदै थोरै अगाडि बढ्दा चन्द्रकुमारीको शव भेटियो। घाँसेहरू हिंड्ने बाटोको तल्लापट्टि सानो खोल्सीको किनारमा शव क्षतविक्षत थियो। दाउराको मुठा छेउमै लडिरहेको थियो, चप्पल अर्कातिर। बुहारी प्रिस्ना (२८) भन्छिन्, “यस्तो होला भन्ने कल्पना पनि थिएन।”
हात्तीको आक्रमणबाट मृत्यु भएकी सासूआमा चन्द्रकुमारी लिम्बूको तस्वीर देखाउँदै प्रिस्ना लिम्बू। तस्वीरहरू : राजकुमार श्रेष्ठ
मोरङको सुन्दरहरैंचा नगरपालिका-५ को यो बस्ती चारकोशे झाडी नजीकै भएकाले पहिले पनि वेलावेला हात्ती नआएका होइनन्। खेतबारीमा लगाएको बालीनाली खान्थे, जान्थे। तर पछिल्ला वर्ष यहाँ हात्तीको आउजाउ निकै बढेको छ। “हात्तीले एकदमै दुःख दिइरहेको छ। एक हप्ता हरायो भने अर्को दिन आइहाल्छ,” वडा सदस्य घनश्याम घले गुरुङ भन्छन्, “यो रैथाने होइन, भारततिरबाट आएको बगाल हो।”
जंगली हात्तीले सबभन्दा बढी प्रभावित झापाको बाहुनडाँगी क्षेत्र भने अहिले शान्त छ। भारतको आसामदेखि नेपालको दक्षिणी मैदानसम्म एशियाली हात्तीको परम्परागत रूट मानिन्छ। हात्तीका विषयमा अध्ययन गरेका अशोक रामका अनुसार भारततर्फबाट आएका हात्ती पानीघट्टाबाट मेची खोलामा झर्थे। अनि बाहुनडाँगीबाट नेपाल प्रवेश गर्थे।
बाहुनडाँगीमा बस्ती बढ्दै जाँदा मानव-जन्तु द्वन्द्व देखिन थाल्यो। २०५४/५५ सालदेखि दुई दशक बाहुनडाँगी हात्ती प्रभावित क्षेत्रकै रूपमा चिनियो। हात्तीको आक्रमणबाट १९ जनाले ज्यान गुमाए। घाइते र अंंगभंग भएकाको संख्या अझ धेरै छ।
हात्तीको आक्रमणबाट मृत्यु भएकी चन्द्रकुमारी लिम्बूको घर।
हात्ती धपाउन गाउँलेले करेन्ट लगाए, घरेलु हतियारले आक्रमण गरे। मेची किनारमा तारबार गरे, हात्ती छिर्ने गौंडामा गहिरो खाल्डो खने। २०६८ सालमा विश्व ब्यांकको सहयोगमा १८ किलोमिटर लामो विद्युतीय तारबार गरियो। यसले बाहुनडाँगी क्षेत्रमा हात्तीको आवागमन केही कम भए पनि वेलावेला तारबार भत्काएर बथान पसिरह्यो।
जति गर्दा पनि हात्ती धपाउन नसकिएपछि बाहुनडाँगीका बासिन्दा बद्लिएका छन्। अहिले उनीहरू हात्तीसँग जुध्नुको साटो मिलेर बस्न थालेका छन्। हात्ती बस्तीमा आइहाले चूपचाप घरभित्र पस्छन्। हात्तीलाई मन पर्ने फलफूल केरा, कटहरका रूखबिरुवा घर नजीक लगाउँदैनन्। खेतबारीमा मकै, धानको साटो हात्तीलाई मन नपर्ने चिया, तेजपत्ता, कागती जस्ता बाली लगाउँछन्। त्यसैले हात्तीले गर्ने उपद्रो पनि कम भएको छ।
पश्चिमी क्षेत्रमा भने जंगली हात्तीले पहिलेभन्दा बढी सताउन थालेको छ। सुन्दरहरैंचाका वडा नम्बर ५, ६ र ७ तथा सुनसरीको इटहरी उपमहानगरपालिकाका वडा नम्बर २, ३, १९ र २० मा हात्तीको आउजाउ निकै बढेको छ।
सुन्दरहरैंचामा त गत पुस १५ यता मात्र हात्तीले तीन जनाको ज्यान लिएको छ। स्थानीय तहले जंगलछेउका बस्तीमा साइरन राख्न थालेका छन्। हात्ती बस्तीतर्फ आउन थालेको देख्नासाथ स्थानीयले साइरन बजाउँछन्। तब सबै जना जम्मा भएर आगो बाल्ने, टिन ठटाउने जस्ता काम गर्छन्। “हात्तीले नटेरेपछि मेयरज्यूलाई भनेर दमकल ल्याएर समेत भगाएका छौं,” वडा सदस्य गुरुङ भन्छन्, “हात्तीले यस क्षेत्रका कसैलाई राम्ररी सुत्न दिएको छैन।”
हात्ती धपाउन राखिएको साइरन।
हात्ती गाउँ पस्न थालेकैले इटहरी उपमहानगरपालिका-२ को माथिल्लो क्षेत्रका मानिसको दिनचर्या खलबलिएको छ। शान्तिनगर सामुदायिक वन क्षेत्रसँग जोडिएका बस्तीमा हात्ती पसेर घर भत्काउने, अन्नबाली खाइदिने गर्छ। हात्ती आएको थाहा पाएपछि स्थानीय बासिन्दा जाग्राम बस्छन्। “साँझ ७ नबज्दै हात्ती गाउँ पस्छ,” इटहरी उपमहानगरपालिका-२ की वडा सदस्य चम्पा विक भन्छिन्।
वडाध्यक्ष माधव कोइरालाका अनुसार शान्तिनगर वन क्षेत्रमा पनि हात्तीको परम्परागत रूट पर्छ। नजीकै तरहरा कृषि फार्मले बीउबिजन उत्पादनका लागि मकै, धान लगायत अन्नबाली लगाउने भएकाले पनि हात्ती पल्किएका छन्।
हात्तीले दुःख दिन थालेपछि नगरपालिकाको सहयोगमा वडाले शान्तिनगर वन र बस्ती छुट्याउने सडकछेउ करीब १० फिट गहिरो खाडल खनेको थियो। तर यसले हात्ती रोकिंदैन भन्ने थाहा पाएपछि अहिले त्यसलाई पुरिएको छ। हात्ती हिंड्ने बाटो सबैले थाहा पाऊन् भनेर त्यो ठाउँलाई ‘हात्ती चोक’ नामकरण गरी हात्तीको चित्र भएको ठूलो बोर्ड टाँगिएको थियो।

तर यसो गर्दा हात्तीले दुःख दिने ठाउँ रहेछ भनेर जग्गा किन्नेहरू आउनै छाडे। वरिपरिका गाउँले त्यहाँ सकेसम्म छोरीचेली दिन छाडे। त्यसैले अहिले ‘हात्ती चोक’ लेखिएको बोर्ड हटाइएको छ।
शान्तिनगरकी राधा घिमिरे (४१) का अनुसार दुई-तीन वर्षयता हात्ती आउने क्रम एकदम बढेको छ। “दिउँसो चाहिं प्रायः आउँदैन। साँझ पर्दै गएपछि कति वेला आउँछ, थाहै हुन्न,” उनी भन्छिन्, “धुम्म परेको दिनमा ३/४ बजे नै पनि आइदिन्छ।”
राधा र उनको परिवारलाई वर्षौंदेखि बसोबास गर्दै आएको ठाउँ छोडेर जान मन छैन। बरु बस्तीमा आउने हात्ती नियन्त्रण होस् भन्ने चाहन्छिन्। आँगनमै आइपुगेका स्थानीय जनप्रतिनिधिलाई उनी प्रश्न गर्छिन्, “हात्तीलाई नियन्त्रण गर्ने तरीका के हो? गर्ने कसले, वडाले हो कि नगरले? नियन्त्रण गर्ने निकाय त होला नि!”
राधा घिमिरे।
गत वर्ष सोही वडाका रविन खड्का (२८)को हात्तीको आक्रमणमा ज्यान गयो। वैदेशिक रोजगारबाट फर्किएका उनी बिजुली सम्बन्धी काम गर्थे। ऐलानी जग्गामा बसोबास गर्ने आठ जनाको परिवारमा कमाएर ल्याउने उनी सहित दुई जना मात्र थिए।
२०८० मंसीर १३ को साँझ तीन-चार वटा हात्ती बस्तीमा पसे। तिनलाई धपाउने क्रममा एउटाले आक्रमण गर्दा खड्काको ज्यान गयो। वर्षदिनको छोरालाई काखमा च्यापिरहेकी पत्नी रेणु अहिले पनि त्यो दिन सम्झिएर टोलाइरहन्छिन्। छोराछोरीलाई कसरी जोगाउने भनेर तनावमा छिन्। कतिवेला हात्ती आउने हुन् र उठिबास लगाउने हुन् भन्ने चिन्ता लाग्ने गरेको उनी सुनाउँछिन्।
रेणु खड्का।
तीन वर्षदेखि घुमिरहेको बथान
अध्येता रामका अनुसार यो क्षेत्र हात्तीको परम्परागत रूट रहेकाले आवागमन नयाँ होइन। आसाम तथा पश्चिम बंगाल क्षेत्रका हात्ती पानीघट्टाबाट नेपाल पसेपछि कोशी टप्पु, चितवन र पर्सा राष्ट्रिय निकुञ्जसम्म पुग्छन्। सामान्यतया हात्तीले हरेक वर्ष यसरी नै यात्रा गर्छन्। पछिल्ला तीन वर्षदेखि करीब ६५ वटा हात्ती नेपालमै घुमिरहेको रामको भनाइ छ।
सन् १९७४ मा पनि यसरी नै आएर सुन्दरहरैंचा र धरानको पटनाली क्षेत्रसम्म पुगेका ५० वटा हात्तीको समूहलाई फर्काउन सरकारले नै ‘शार्पशूटर’ नै बोलाएको राम बताउँछन्। कोशी टप्पु आरक्षण क्षेत्रका पूर्व प्रमुख तथा हाल बर्दियाका वरिष्ठ संरक्षण अधिकृत रहेका उनी भन्छन्, “त्यसपछि ठूलो समूह तीन वर्ष अगाडि छिर्यो। रेडियो कलर डेटाले आसामबाट पनि हात्ती नेपाल आएको देखाएको छ। तर आसाम धेरै टाढा छ। पश्चिम बंगालमा ४००-५०० वटा छन्। तीमध्ये ४०-५० वटा नेपाल आएका हुन सक्छन्।”
हात्तीका पदचाप।
उनका अनुसार पछिल्लो समय आसाम तथा पश्चिम बंगाल क्षेत्रका वन खण्डित भएको र बाँकी क्षेत्रमा पनि हात्तीले नखाने चिया खेती गर्ने गरिएकाले उनीहरू नेपालमै रमाएका हुन सक्छन्। “नेपालको वन क्षेत्र अलि सुरक्षित छ, खानेकुरा छ। वन क्षेत्रसँग जोडिएका बस्तीमा ठूलो मात्रामा मकै खेती हुन्छ। यसबाट वन र गाउँ दुवैतिर खानेकुरा भइदियो,” राम भन्छन्, “फर्किएर जान खोज्दा पनि सबैतिर अवरोध छ।”
सचेतना जरूरी
हात्तीको आक्रमण बढेपछि इटहरी उपमहानगरपालिका २, ३, १९ र २० का स्थानीय जनप्रतिनिधिले बाहुनडाँगीमा के उपाय अपनाइएको रहेछ भनेर सोधीखोजी गरे। हात्तीसँग मिलेर बस्ने अवधारणामा काम गरेका त्यहाँका वडाध्यक्ष अर्जुन कार्कीको टोलीलाई बोलाएर सुने। २० नम्बर वडाध्यक्ष मणिराम श्रेष्ठ भन्छन्, “हात्तीलाई ढुंगा नहान्नुहोस्, आफ्नो बाटोमा जान दिनुस् भनेर सिकाउनुभयो।”

श्रव्यदृश्य सामग्री सहित हात्तीलाई कस्तो व्यवहार गर्नुपर्छ भनेर सिकाएपछि अघिल्लो वर्षको तुलनामा दुर्घटना पनि कम भएको इटहरी-२० का वडा सदस्य तनुज गुरुङ बताउँछन्। “हात्तीलाई चलाउन नहुने रहेछ,” गुरुङ भन्छन्, “हात्तीलाई ढुंगा हान्ने, पुच्छर तान्ने गर्यौं भने त उसले पनि आफ्नो सुरक्षाका लागि आक्रमण गरिहाल्छ नि।”
हात्तीको आक्रमणमा सासू गुमाएकी प्रिस्ना पनि मानिस आफैं सचेत हुनुपर्ने बताउँछिन्। “जंगलमा केही खान नपाएपछि हात्ती खेतबारीमा आउने नै भयो,” उनी भन्छिन्, “कसरी जोगिने भनेर हामी आफैं सचेत हुनुपर्छ।”