संसारकै होचो हिमताल छिचोल्ने ‘केटू ट्रेल’
अढाई दशकअघि मात्रै बनेको क्हफुचे हिमतालले मन्त्रमुग्ध त बनाउँछ नै, त्यही बाटो भएर कोरीको यात्रा झन् रोमाञ्चक हुन्छ।
चिउली क्हयाल्सा अर्थात् चिउली राज्य। उहिलेको चिउली राज्य र अहिले पनि गुरुङ समुदायबीच चिउली नामले चर्चित पर्यटकीय गाउँ हो, सिक्लेस। जहाँका हरेक घर, रूख, बोटबिरुवा र ठाउँले गुरुङ समुदायको संस्कृति र इतिहासको गाथा बोकेको स्थानीय बासिन्दा सुनाउँछन्।
गुरुङ समुदायको उद्गमस्थल मानिने क्होलासोंथरबाट पहिलो राज्य सिक्लेसमा विस्तार भएकै कारण चिउली क्हयाल्सा अर्थात् सिक्लेस राज्य भन्ने गरिएको हो। त्यसैले त आज पनि गुरुङ समुदायमा सिक्लेस गाउँ जानेलाई चिउली नासा ह्याबा भनिन्छ। अहिले पनि सिक्लेस गाउँ गुरुङ समुदायबीच चिउली नामले नै परिचित छ।
गुरुङ समुदायको सभ्यता र संस्कृतिबारे बुझ्न होस् या प्रकृतिको समीप पुग्न, सिक्लेस गाउँ पुग्नै पर्छ। पर्यटकीय गाउँका रूपमा पहिचान बनाएसँगै सिक्लेसमा पर्यटकको आगमन पनि ह्वात्तै बढेको छ।
अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) अन्तर्गत पर्ने यस क्षेत्रमा गण्डकी प्रदेश सरकार र मादी गाउँपालिकासँगै वडा कार्यालयहरूले पनि पदमार्गको पहिचान र स्तरोन्नतिमा जोड दिएका छन्। जसले गर्दा थुप्रै पदमार्गको विकास र विस्तार गरिंदै छ।
चिउली क्हयाल्सा अर्थात् सिक्लेस गाउँ हुँदै जाने थुप्रै पदमार्गमध्ये एउटा हो, ‘केटू’ अर्थात क्हफुचे र कोरी। प्रकृति, संस्कृति र इतिहासका डोबहरू पछ्याउँदै क्हफुचे-कोरी पदमार्गमा यात्रा गर्न सकिन्छ।
केही वर्षअघि सिक्लेसदेखि क्हफुचे र सिक्लेसदेखि कोरी गरी दुई वटा पदमार्ग पहिचान गरिएका थिए। अहिले भने क्हफुचेदेखि कोरी एकै पटकमा पुग्न सकिने पदमार्गका रूपमा विकास गरिएको छ। जसको प्रवर्द्धनका लागि ‘केटू ट्रेल’ (‘के टू के ट्रेल’) नाम दिइएको छ।
कोरी र क्हफुचेको पहिलो अंग्रेजी अक्षर ‘के’ लाई जोडेर दुई वटा ‘के’ अर्थात ‘केटू’ पदमार्गको नामले प्रवर्द्धन भइरहेको छ। पर्यटकीय शहर पोखराबाट पदयात्रा शुरू गरी एकै दिनमा हिमालको नजीक पुग्न सकिने भएका कारण यो पदमार्ग विशेष पनि छ।
सिक्लेस गाउँ, अन्नपूर्ण दोस्रो, लमजुङ हिमाललाई नजीकबाट नियाल्न यो उत्कृष्ट पदमार्ग हो। जसले गर्दा आन्तरिक तथा बाह्य पर्यटकको आगमन दिनानुदिन बढिरहेको सिक्लेस रहेको मादी गाउँपालिका-१ का वडाध्यक्ष देवीजंग गुरुङ सुनाउँछन्। प्रदेश सरकारसँग सहकार्य गरेर पदमार्गको प्रवर्द्धनात्मक सामग्री निर्माण, सडक स्तरोन्नति गरेर क्हफुचे-कोरी पदमार्गको प्रचार गरिरहेको वडाध्यक्ष गुरुङ बताउँछन्।
क्हफुचे कथा
उहिल्यैदेखि सिक्लेसबाट भैंसीगोठ र भेडीगोठका लागि लेकमा जाने चलन थियो। गोठालाहरू क्हफुचे र त्योभन्दा माथिका उच्च भूभागमा पुगेर झारल लगायत वन्यजन्तुको शिकार गर्थे। भैंसी-भेडा गोठालाले नै नाम राखिदिएका थिए, क्हफुचे।
गुरुङ भाषामा बोलिने शब्द हो, क्हफुचे। क्हको अर्थ हिउँको ढिक्का, फुको अर्थ भत्किने र चेको अर्थ समथर ठाउँ हुन्छ। यसरी हिउँ भत्किएर (पग्लिएर) बनेको समथर ठाउँ अर्थात् क्हफुचे भनियो।
हिउँको ढिक्का भएको समथर ठाउँ क्हफुचेमा हिउँ पग्लिँदै गएपछि भने हिमताल बन्न पुग्यो। यो हिमताल अस्तित्वमा आएको २५ वर्षअघि मात्रै हो। विश्वकै होचो स्थानमा पर्ने हिमताल हो, क्हफुचे हिमताल। जुन समुद्री सतहबाट दुई हजार ४५० मिटरको उचाइमा छ।
क्हफुचे हिमतालका रूपमा देखिनुअघि हिउँले पुरिएको समथर ठाउँ थियो। अन्नपूर्ण दोस्रो हिमाल (७,९३७ मिटर)को फेदीमा रहेको क्हफुचे हिउँ पग्लिंदै गएपछि तालको रूपमा देखिन थालेको हो। ४० मिटर गहिरो क्हफुचे हिमताल ०.१२ वर्गकिलोमिटर क्षेत्रमा फैलिएको छ।
दुई दिनको यात्रापछि क्हफुचे हिमतालमा पुग्दा यात्राको गाह्रोसाह्रो बिर्सेर हिउँसँगै हराइन्छ। अर्कै संसारमा विचरण गरेको भान हुन्छ। हिमालसँगको सामीप्यले मनै प्रफुल्ल बनाउँछ। हिमताल छेउछाउमै बसिरहन मन लाग्छ।
हिमताललाई पर्यटनसँग जोड्न सम्भावनाको खोजी भएसँगै सिक्लेस-क्हफुचे पदमार्गको विकास गरिएको छ। क्हफुचे हिमतालमा हराउन आइपुग्ने आन्तरिक तथा बाह्य पर्यटकको संख्या बढ्दो छ। जसले गर्दा पर्यटकको सुविधाका लागि क्हफुचेमै अहिले ६ वटा अस्थायी होटल सञ्चालनमा छन्।
स्थानीय बासिन्दाका अनुसार क्हफुचे हिमतालमा ससाना हिमपहिरो खसिरहेकै हुन्छ। बर्खा याममा त सतर्कता अपनाउँदै क्हफुचेमा पदयात्रा बन्द नै गरिन्छ। कास्कीको मादी गाउँपालिका-१ मा पर्ने क्हफुचे हिमतालसम्म पुग्न सिक्लेस, इदी झरना हुँदै अल्का डाँडा, हुगुगोठ पार गर्नुपर्छ।
मध्यबिन्दुको महक
समतल खर्कको क्षेत्र हो, कोरी। समुद्री सतहबाट तीन हजार ८०० मिटर उचाइमा रहेको कोरी क्षेत्र अक्षांश र देशान्तरको आधारमा नेपालको मध्यबिन्दुमा पर्छ। यो क्षेत्र २८.४७ डिग्री अक्षांश र ८४.१६ डिग्री देशान्तरमा अवस्थित छ।
कोरी हुँदै दूधपोखरी, क्होलासाेंथर पुग्न सकिन्छ। उहिले स्थानीय बासिन्दा ओढारमा वास बस्दै कोरीकै बाटो भएर लमजुङको दूधपोखरी पुग्थे। “कोरी त हामीलाई पालेको ठाउँ हो। पुर्खाहरूले यही ठाउँ भएर नुन लिन जाने गरेका थिए,” स्थानीय बासिन्दा मनबहादुर गुरुङ भन्छन्।
कोरी क्षेत्र प्राकृतिक रूपमा पनि सुन्दर रहेको उनी सुनाउँछन्। प्रतिनिधि सभाका सदस्य समेत रहेका गुरुङ भन्छन्, “कोरी प्रशस्त सम्भावना बोकेको ठाउँ हो। यो क्षेत्रको प्रचार अझै आवश्यक छ।”
सांसद गुरुङले भने झैं कोरीबाट हिमाल पनि नजीक देखिन्छन्। अझ ६ हजार ९८३ मिटर अग्लो लमजुङ हिमाललाई आँखैअघि हेर्न र नजीकबाट नियाल्न कोरी डाँडा उपयुक्त गन्तव्य हो। त्यस बाहेक कोरी डाँडाबाट अन्नपूर्ण हिमशृंखला, माछापुच्छ्रे हिमालको पनि दृश्यावलोकन गर्न सकिन्छ।
बर्खा याममा फुल्ने भुँइफूलले कोरीको दृश्य फेरिदिन्छन्। रंगीचंगी दृश्यमा रमाउन आन्तरिक पर्यटकको घुइँचो लाग्छ। पाँचऔंले, यार्सागुम्बा लगायत जडीबुटीका लागि पनि कोरी परिचित छ।
मादी गाउँपालिका-१ मा पर्ने कोरी क्षेत्र प्राकृतिक सुन्दरता र ऐतिहासिक हिसाबले महत्त्वपूर्ण ठाउँ हो। विशेषत: लमजुङ हिमालको समीप पुग्ने गन्तव्यका रूपमा कोरीलाई लिन सकिन्छ। पछिल्लो समय यो पदमार्ग आन्तरिक पर्यटकको रोजाइमा परिरहेको छ।
आगन्तुकको आगमन बढेसँगै बसोबासको पनि व्यवस्था गर्न थालिएको छ। उसै पनि सिक्लेसदेखि कोरीसम्म पदयात्राका क्रममा बसोबासका लागि प्रशस्त ठाउँ छन्। हाल कोरीमा तीन वटा अस्थायी होटलले सेवा दिइरहेका छन्।
रोजगारी सिर्जना
कोरीदेखि क्हफुचे अथवा क्हफुचेदेखि कोरीको यात्रा गर्न सकिन्छ। क्हफुचे पुगेर कोरी फर्किंदा भने हुगुगोठबाट पाँच घण्टाको हिंडाइपछि वास पाइने ठाउँ न्होंटा पुगिन्छ। भोलिपल्ट चार घण्टाको पैदल यात्रापछि कोरी भेटिन्छ।
त्यसरी नै कोरीबाट न्होंटा हुँदै तल झरेर एकै दिनमा हुगुगोठ आउन पनि सकिन्छ। कतिपय न्होंटामा विश्राम पनि गर्छन्। हुगुगोठदेखि कोरीसम्म बीच बाटामा वास बस्ने ठाउँ भनेकै न्होंटा हो। यो पदयात्रामा अन्य बसोबासको व्यवस्था छैन।
क्हफुचे र कोरी पदमार्ग प्राकृतिक सौन्दर्यले भरिपूर्ण रहेको मादी गाउँपालिका-१ का वडाध्यक्ष देवीजंग गुरुङ सुनाउँछन्। कम खर्चमा सहजै हिमालको नजीक पुगिने भएकाले आन्तरिक पर्यटकको रोजाइमा पर्न थालेको उनको भनाइ छ। “आन्तरिक पर्यटकको आगमन बढेसँगै पदमार्ग व्यवस्थापनमा लागिरहेका छौं,” वडाध्यक्ष गुरुङ भन्छन्।
क्हफुचे-कोरी पदमार्गले स्थानीय स्तरमा रोजगारी पनि सिर्जना गरिरहेको उनी सुनाउँछन्। जसले गर्दा स्थानीय युवा होटल तथा होमस्टे सञ्चालन गरेर आम्दानी गरिरहेका छन्। यस पदमार्गका होटलहरू सिक्लेस होटल व्यवस्थापन समिति अन्तर्गत सञ्चालित छन्। हाल यसमा ४७ होटल आबद्ध छन्। त्यस्तै, सिक्लेस सामुदायिक होमस्टे समिति अन्तर्गत ३७ होमस्टे छन्।
कसरी पुग्ने?
पदयात्रीका लागि पनि उत्तम पदमार्ग हो, केटू। यो पदमार्गमा मध्यम खाले हिंडाइले पनि यात्रा गर्न सकिन्छ। ठाडो उकालो र केही ठाउँमा गाह्रो पनि हुने भएकाले वास बस्दै गन्तव्यमा पुग्नु उत्तम उपाय हो।
पोखराबाट ३८ किलोमिटर परको सिक्लेस गाउँमा सार्वजनिक बस अथवा साना गाडी रिजर्भ गरेर पुग्न सकिन्छ। सिक्लेसबाट पाँचदेखि ६ घण्टाको हिंडाइमा हुगुगोठ पुगिन्छ, जहाँ एक रात वास बस्दा हुन्छ। भोलिपल्ट दुई घण्टा उकालो चढेर क्हफुचे पुगिन्छ। हिंड्न सक्नेहरू भने सिक्लेसबाट एकै दिनमा क्हफुचे पुग्न सक्छन्।
त्यस्तै, सिक्लेसबाट पाँच घण्टाको ठाडो उकालो चढेर तसा पुगिन्छ। त्यहाँबाट दुई घण्टा हिंडेपछि कोरी आइपुग्छ। सिंढीको बाटो भएकाले यात्रा गर्न सहज पनि छ।
पदमार्गका चुनौती
सिक्लेसबाट क्हफुचे पुग्नुअघि अल्का डाँडामा पहिरो गएको छ। जसले गर्दा तल झरेर जलविद्युत् आयोजनाले निर्माण गरेको कच्ची सडकको बाटो हुँदै अहिले हुगुगोठ पुग्नुपर्छ। हुगुगोठ पुग्ने बाटामा खोला तर्न स्थानीय होटल व्यवसायीले बनाएको काठेपुल छ।
अर्को, केटू पदमार्गका बीचमा पर्याप्त रूपमा संकेत चिह्न राखिएको छैन। त्यसैले स्थानीय पथप्रदर्शकको सहयोग लिंदा राम्रो हुन्छ। नत्र बाटो बिराउने सम्भावना पनि उस्तै छ।
सुरक्षाको हिसाबले भने सिक्लेसदेखि क्हफुचे जाने बाटो अझ चुनौतीपूर्ण छ। त्यहाँ पुल निर्माणदेखि विपद्का लागि बलियो पूर्वाधारको आवश्यकता छ। टेलिफोनको ‘सिग्नल’ र विद्युत्को समस्या हुने भएकाले पदयात्रीले ब्याट्रीको व्यवस्था गर्नुपर्छ।
हिउँदमा कोरीले पानीको समस्या झेल्नुपर्छ। त्यसले पर्यटकलाई पनि सास्ती नै हुन्छ। पानीको समस्या सुल्झाउन सकियो भने कोरी बाह्रै महीना पर्यटकका लागि खुला रहन सक्छ। होटल व्यवसायीले पनि तलबाट पानी बोकेर लग्नुपर्छ।
एकातिर, पर्यटकको संख्या बढिरहेकाले स्थानीय बासिन्दा, व्यवसायी, जनप्रतिनिधि र सरकारले वातावरण संरक्षणका हिसाबले पनि सोच्नुपर्ने वेला आएको छ। पदयात्रीले फालेका प्लास्टिकका सामान, बोतल लगायत फोहोर पदमार्गमा भेटिन्छन्।
अर्कातिर, ऊर्जाका लागि स्थानीय व्यवसायी वनजंगलमै निर्भर रहनुपर्ने भएकाले तीव्र रूपमा रूख कटान पनि भइरहेको छ। यस क्षेत्रमा तीव्र रूपमा बनिरहेका जलविद्युत् आयोजना र सिक्लेस-कोरी केबुलकार आयोजनाले वातावरण संरक्षणमा चुनौती थप्ने नै छन्। क्हफुचे-कोरी पदमार्गको प्राकृतिक सौन्दर्यलाई जोगाउन सकिएन भने भौतिक संरचना हेर्न मात्र पर्यटक आउनेछैनन्।