कस्तो थियो स्वस्थानीको मूलकथा?
खासमा आमा, छोरा र बुहारी तीन पात्रको कथा नै स्वस्थानीको मूलकथा हो। तर अहिले बजारमा पाइने स्वस्थानी व्रतकथामा अनेक कथा र उपकथा जोडिएका छन्।
१६३० साल अर्थात् आजभन्दा ४५० वर्षअघि संस्कृतमा लेखिएको पहिलो स्वस्थानी कथा आज पनि राष्ट्रिय अभिलेखालय, काठमाडौंमा सुरक्षित छ। तर योसँगै स्वस्थानी कथाका ६०० भन्दा बढी पुराना पुस्तक अभिलेखालयमा छन्।
पहिलो स्वस्थानी कथा जम्मा आठ पृष्ठको छ, तर अहिले बजारमा ४०० पृष्ठसम्मको व्रतकथा पाइन्छ। स्वस्थानी कथाका अनुसन्धाता काशीनाथ तमोटका अनुसार पहिलो स्वस्थानी कथा गोमा र नवराजको वरपर मात्र घुम्छ। १६६० सालमा नेवारी भाषामा अनुवाद हुँदासम्म उही कथा थियो। तर १८औं शताब्दीमा नेपालीमा अनुवाद भएपछि बिस्तारै यसको स्वरूप पनि बदलिंदै गयो। कथा-पटकथाहरू थपिंदै गएपछि यसका पृष्ठहरू पनि बढ्दै गए।
खासमा आठपत्रे स्वस्थानीको मूलकथा यस्तो थियो:
परापूर्वकालमा ब्रह्मपुरी नगरमा शिवभक्त ब्राह्मण र उनकी स्त्री सती सम्पत्ति कमाई गंगा तीरमा बसेका हुन्छन्। एक दिन अकस्मात् गाईको गोबरबाट कन्याको जन्म हुन्छ। उनको नाम गोमायजू राखिन्छ। उनको शीलस्वभाव र ब्राह्मण परिवारको दानदक्षिणाले इन्द्रासन नै लिन सक्ने देखेर इन्द्र कैलाशमा गएर रक्षाका लागि महादेवलाई अनुरोध गर्छन्।
कापालिक भेषमा महादेव ब्राह्मणको घरमा भिक्षा माग्न जान्छन्। फूलमा नांगै खेलिरहेकी गोमायजूले अन्न ल्याएर भिक्षा दिन्छिन्। महादेवले वस्त्रहीन भई भिक्षा दिएर अनादर गरेको भनी क्रुद्ध भएर आठ वर्षको उमेरमा बूढो लोग्ने पाओस् भन्ने श्राप दिन्छन्।
महादेव कैलाश पुग्दा पार्वतीले स्वस्थानी व्रत भर्खर सिध्याएकी थिइन्। पार्वतीका अगाडि महादेवले आसव नामका ऋषिलाई मर्त्यलोकमा गएर यो धर्मव्रत पालन गराउन अह्राराउँछन्।
गोमायजूको विवाहको वेला हुन लाग्दा पनि माग्न कोही आउँदैनन्। श्रापले गर्दा ८० वर्षका शिव शर्माले मागेर विवाह गर्छन्। उनी गर्भवती हुन्छिन्। शिव शर्मा महीना दिनभित्रै आउँछु भनी परदेश जान्छन्। त्यस वेला गोमायजूले नवराजलाई जन्म दिन्छिन्।
नवराजले आमासित आफ्नो पिताबारे सोध्छन् र खोजीका लागि परदेश जाँदा पिता मरेको थाहा पाई गंगामा श्राद्ध-तर्पण गरी फर्किन्छन्। नवराज परदेश लागेपछि यता उनकी पत्नी माइत जान्छिन्। गोमायजू लाजले नगर छोडी नदी किनार झुपडीमा बस्छिन्।
उनी दुःखी छिन् भन्ने गोठालाहरूबाट चाल पाई आसव ऋषिले उनलाई स्वस्थानीको व्रतविधि सिकाउँछन्। ऋषिको सत्कार गर्न घरमा केही नभएपछि गोमायजू पान किन्न जान्छिन्। त्यसै वेला ऋषिले पिरामुनि धन छोडी जान्छन् र त्यही धनले सामान जोडी व्रत पूरा गर्दा नवराज आइपुग्छन् र उनलाई नियम अनुसार आठ अक्षता र रोटी दिइन्छ।
केही कालपछि त्यस देशका अपुता राजा मर्छन् र राजचिह्न भएको एक प्रजा नवराजलाई आमा सहित राज्याभिषेक गरी राजा बनाइन्छ। राजा भएपछि आफ्नी बाहुनी (पत्नी)लाई लिन पठाउँछन्। बाहुनीले अप्सराहरूले स्वस्थानीको व्रत अनुष्ठान गरेकामा निन्दा गर्दा उनलाई नदीले बगाउँछ र पाप भोग्न नदीमै १२ वर्ष रहनुपर्छ।
१२ वर्षपछि माझीहरूले जाल हान्दा नवराजकी बाहुनी भेटिन्छिन्। १२ वर्ष बित्न लाग्दा राजा नवराजले सत्तल बनाएको उपलक्ष्यमा देशभरका ब्राह्मणलाई निमन्त्रणा गरेकामा कपिलदेव ब्राह्मणहरू आइरहँदा नदी किनारमा स्वस्थानी व्रत गर्न आतुर, तर विधि नजानेकी महिलालाई सिकाइदिन्छन्। ब्राह्मणहरूले सर्जामबारे भनिरहँदा नै उनीहरूले हेदाहेर्दै दिव्य सुन्दरीमा परिणत हुन्छिन्।
यो घटना राजालाई बताइँदा उनले आफ्नी हराएकी बाहुनी भनेर ठम्याई र वेदपाठ सहित स्वागत गरी राजदरबारमा भित्र्याउँछन्। विधिपूर्वक राजसिंहासनमा राखेर राज्याभिषेक गरी आमा, छोरा र बुहारी आनन्दले बस्न थाल्छन्।
खासमा आमा, छोरा र बुहारी तीन पात्रको कथा नै स्वस्थानीको मूलकथा हो। तर अहिले बजारमा पाइने स्वस्थानी व्रत कथामा महादेव-सतीदेवी कथा शृंखला, सतीदेवी उत्पत्ति, दक्षकन्या विवाह, सतीदेवी कैलाश दर्शन, त्रिपुर दहन, सतीदेवी यज्ञकुण्ड प्रवेश, दक्षसेना विध्वंस, महादेवको पृथ्वी भ्रमण, सतीदेवी पीठोत्पति, ज्योतिर्लिंगोत्पत्ति वर्णन, पार्वती विवाह, शिव कैलाशगमन, तारकासुर वध, पार्वतीको शरीरको मैलोबाट गणेशको जन्म र गणेशलाई हात्तीको शिर जोडिएको लगायत अनेक कथा र प्रसंग थपिएका छन् ।
रोचक त के छ भने, स्वस्थानी कथाका फरक फरक पुस्तकमा एउटै प्रसंगमा पनि फरक घटना पाइन्छ। एक स्वस्थानी पुस्तकका लेखक तथा वाल्मीकि विद्यापीठका सहप्राध्यापक जनकराज भट्टका अनुसार कतै शिवको क्रोधले गणेशको घाँटी काटिएपछि हात्तीको टाउको जोडिएको भनिएको त छ कतै शनिको दृष्टिले गणेशको शिर भस्म भएपछि महादेवले जोडेको उल्लेख छ।
विस्तृत पढ्न : साढे चार सय वर्षमा बदलिंदै आएको स्वस्थानी कथा