तीन करोड घूस खाएको भन्दै सुनील पौडेल विरुद्ध भ्रष्टाचार मुद्दा दर्ता
राष्ट्रिय सूचना केन्द्रका पूर्व कार्यकारी निर्देशक सुनील पौडेलले सफ्टवेयर र नेटवर्किङ उपकरण खरीदको ठेक्कापट्टामा भ्रष्टाचार गरेको आरोपमा अर्को मुद्दा दर्ता भएको छ।
पौडेलले ठेक्काको दरभाउपत्र निर्धारणदेखि नै मिलेमतो र घूस लेनदेन गरेको संवादलाई प्रमाणका रूपमा राखेर अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा बिहीबार मुद्दा दर्ता गरेको हो। ठेक्का लिएको कम्पनी ‘एफ-५’ का नेपाल प्रतिनिधि दीपक आनन्द र पौडेलबीच दरभाउपत्र निर्धारणकै वेलादेखि संवाद भएको अभियोगपत्रमा उल्लेख छ।
अभियोगपत्रमा उल्लेख गरिएको संवाद अनुसार पौडेलले आफूलाई लागत अनुमानका आधारमा तीन वटा कम्पनीको दरभाउपत्र चाहिने बताउँछन् भने आनन्दले सोही अनुसार मिलाउँछन्। लागत अनुमान गर्नुअघि आनन्दले पौडेललाई लागत दर पठाउँछन्। त्यसपछि पौडेलले रातो मसीले सच्याएर पठाउँछन्। पछि सोही अनुसार लागत अनुमानको आधार तय गरिन्छ। यी सबै संवाद दुवै जनाबीच वाट्सएपमा भएको अख्तियारले खुलाएको छ।
वाट्सएपमा उनीहरूबीच खरीदका कागजात आदानप्रदान समेत हुने गरेको प्रमाणका रूपमा राखिएको छ। घूस लेनदेनको ‘डिल’ पनि वाट्सएपमै हुन्छ। आनन्दले यस बापत ककसले कति रकम पाउने भन्ने समेत पौडेललाई पठाउँछन्। मेसेजमा पौडेलले दुई लाख ७५ हजार अमेरिकी डलर परामर्श शुल्क पाउने भनिएको छ।
अभियोगपत्र अनुसार पौडेलले यो रकममा चित्त बुझाएका हुँदैनन्। आनन्दले तीन लाख अमेरिकी डलरसम्म मिलाउन सकिने बताउँछन्। दुवै जनाबीच बार्गेनिङ भएको मेसेजबाट खुलेको अख्तियारले उल्लेख गरेको छ।
अन्तिममा दुई लाख ८० हजार अमेरिकी डलर अर्थात् तीन करोड आठ लाख ५० हजार ४०० रुपैयाँमा डिल भएको अभियोगपत्रमा सामेल मेसेजमा छ। यही बिगो दाबी गरेर अख्तियारले मुद्दा दायर गरेको हो।
घूस रकम टुक्र्याएर भुक्तानी लिएको पनि अख्तियारको अनुसन्धानमा देखिएको छ। सिंगापुर, अमेरिकामा यसको लेनदेन भएको आरोप छ।