काठमाडौं टू मुक्कुमलुङ/पाथीभरा
अहो! तल आएपछि पो थाहा भो, हामीले अहिलेसम्म कैद गरेका दृश्य र अन्तर्वार्ता त माथि शिखरमै छुटेछ। माथि पुगेको खुशी यति बढेछ कि क्यामेरा त भुसुक्कै बिर्सिएछु।
माघ १२ गते पवित्र थलो मुक्कुमलुङ/पाथीभरामा सुरक्षाकर्मीको गोली लागी ३ जना गम्भीर घाईते भए। हामी त्यसैको रिपोर्टिङ गर्न माघ १४ गते घटनास्थलतर्फ लाग्यौं। काठमाण्डौबाट बिहान उड्यौं। धरानमा रिपोर्टिङ सकाएर बेलुकी साढे ५ बजेतिर लाग्यौं मुक्कुमलुङतर्फ। भोलिपल्टदेखि गोलीकाण्डको विरोधमा आन्दोलनकारीले बन्दको घोषणा गरिसकेको हुनाले रातभरमै गन्तव्यस्थलमा पुगिसक्नुपर्ने थियो।
ताप्लेजुङको सदरमुकाम फुङ्लिङ बजारमा बिहान १ बजे आइपुग्यौं। धुलाम्मे बाटो भएकाले हामी सबै सेता भइसकेका रहेछौं। थकानले लखतरान भए पनि थकाइ मार्ने छूट थिएन। बिहानैदेखि त्यहाँ भइरहेको आन्दोलनबारे कुरा गर्न स्थानीयहरूसँग भेट्न, कुराकानी गर्न थाल्यौं।
गोली चलेको ठाउँमा पुग्न गाडीमा डेढ घण्टा लामो यात्रा गर्नु थियो। प्रेस टाँसेर सबेरै ६ बजे हामी लाग्यौं मुक्कुमलुङ डाँडातिर। हिंड्न लागेका मात्र थियौं, एक पाका आन्दोलनकारी आएर केरकार गर्न शुरू गरिहाले।
पछि थाहा भो, त्यसरी सोधखोज गर्ने व्यक्ति त १२ गतेको भिडन्तमा सुरक्षाकर्मीको चुटाइ खाएका ७१ वर्षीय केन्द्रसिंह फुरुम्बो पो रहेछन्।
ठाउँ ठाउँमा भेटिएका सुरक्षाकर्मी अचम्म मान्दै हेर्थे। सोधपुछ गर्थे। पत्रकार भनेपछि अघि बढ्न दिन्थे।
बाटामा बन्दकर्ता त भेटेनौं, तर तिनले सडक छेउछाउका ढुंगा लडाएर सडक अवरुद्ध पारेका थिए। हामीे त्यसलाई पन्छाउँदै अगाडि बढ्यौं।
हामी काफ्लेपार्टी पुग्यौं। काफ्लेहरूको बसोबास भएकाले यो ठाउँको नामकरण भएको रहेछ। यसलाई तल्लोफेदी पनि भनिन्छ। लिम्बूभाषीले चाहिं यो ठाउँलाई माक्वरक् अर्थात् (कालो पोखरी भएको थलो) भन्दा रहेछन्।
यहाँ इन्द्र केदेम भेटिए। उनी केबलकार निर्माणका सब-ठेकेदार हुन्। उनले हामीलाई बनिरहेको केबलकारको बेस-स्टेशन देखाउन लगे। सशस्त्र प्रहरी बलको सुरक्षामा माघ ८ गतेदेखि यो स्टेशनको निर्माण शुरू भएको हो।
उनी दायाँ-बायाँ केही युवालाई साथ लिएर हिंडेका थिए। उनलाई सशस्त्र र जनपद प्रहरीले पनि सुरक्षा दिएका थिए। केदेमलाई वैशाख ३१ गते केबलकार विरोधीहरूले आक्रमण गरेकाले उनी सुरक्षाघेरामा हिंडिरहेका थिए। बाहिर दुई पक्षबीच वार्ताको कुरा चलिरहेको थियो, तर यहाँ धमाधम निर्माण चलिरहेको थियो।
त्यसपछि घटनास्थलतर्फ उक्लियौँ। ३० मिनेटमा हामी बलुडाँडा पुग्यौँ। यो ठाउँलाई लिम्बूहरूले नामजाङ पनि भन्छन्। यसको अर्थ हुन्छ, घाम आउने ठाउँ। बलुडाँडा नपुग्दै सशस्त्र प्रहरीको स्टेशन छ। तिनीहरू पनि हाम्रो अघिअघि हिंडिरहेका थिए।
१२ गते गोली चलेको स्थान यही थियो। हामीले घटनाका प्रत्यक्षदर्शीसँग त्यस दिन के भएको थियो भनी करीब डेढ घण्टा जति कुराकानी ग¥यौं।
बाहिर जसरी हल्ला फैलाइएको थियो, वास्तविकता अर्कै थियो भन्ने कुरा स्थलगत रिपोर्टिङले दिंदो रहेछ भन्ने मनन गर्दै हामी माथिल्लो फेदी पुग्यौँ। यी होटल व्यवसाय गरिरहेका विरुद्ध सर्वाेच्च अदालतमा वनको जमीन प्रयोग गरिएको भन्दै मुद्दा दर्ता गरिएकाले यहाँका मान्छे बोल्नै डराउँदा रहेछन्। म एउटा होटलभित्र खुसुक्क छिरेर कुरा गर्दा तिनले डरका कारण बोल्न डराएको जवाफ दिए।
कान्छीथानबाट पूजाको प्रक्रिया शुरू हुन्छ। लिम्बुहरूले यो थलोलाई हाक्पारा भन्दा रहेछन्। केबलकार जाँदा त्यो प्रक्रिया छुट्छ। लिम्बू समुदायमा यो पूजा छुट्यो भने अपसगुन हुन्छ भन्ने मान्यता छ।
गुँरासका रूख वैशाख ३१ गते फँडानी गरिएको थियो। त्यति वेला दुई पक्षबीच झडप पनि भएको थियो। त्यही वेला हो, रूख काट्न रोक्नेहरूले ठेकेदार केदेनमाथि आक्रमण गरेका। यहाँ गोब्रे सल्ला, लौठ सल्ला, गुराँस लगायत धेरै वनस्पति पाइने रहेछन्।
बलु डाँडामा भेटिएका आन्दोलनकर्मी केदारजंग ताम्मादेन हामीसँगै थिए। कुनै वेला यो क्षेत्र केदारजंगका पुर्खाको किपट थियो। उनले अंगेरीको पात टिपे र युमा उराठिंदा गाउने हाक्पारे गीतको धुन बजाए। उनी यसलाई प्रतिरोधको भाषाका रूपमा व्याख्या गरिरहेका थिए।
केदारजंगले मुन्धुम पनि गाएर सुनाए। नबुझे पनि लिम्बू सभ्यताको वर्णन गर्ने यो गीत मलाई मीठो लाग्यो। मैले पनि लेघ्रो तानीतानी गाइदिएँ।
अहा ! कति शान्त र सुन्दर मुक्कुमलुङ अर्थात् पाथीभरा डाँडा। ३ डिग्री चिसोसँगै बगिरहेको सिरेटोले अघि उक्लिँदा पसिनाले निथ्रुक्क भएको शरीर चिसो हुँदै गइरहे पनि ध्यान कहाँ त्यता थियो र? हामी पवित्र थलोमा आई धन्य भएको महसूस गरिरहेका थियौं। त्यति नै वेला लिम्बूहरूले फक्ताङ्लुङ अर्थात् पवित्र पहाड भनी आराधना गर्ने कञ्चनजंघा हिमाल पनि खुलेर आयो।
हामीसँग आएका लिम्बू सहयात्रीहरू पूजा गर्न थालिसकेका थिए। आस्था कति शक्तिशाली हगि? त्यही आस्थाले त होला, उनीहरू साथीहरू गोलीले ढल्दा समेत संघर्षबाट पछाडि हटेका छैनन्?
पहिला यो ठाउँमा एउटा मात्र ढुंगा थियो, जसमा पूजा हुन्थ्यो। २०५३ सालमा दुर्गा माताको मूर्ति स्थापना गरिएपछि यहाँ पक्की संरचनाहरू बन्न थालेछन्।
हामी डेढ घण्टा जति डाँडामा बस्यौँ। अब कठ्यांग्रिन थालिसकेका थियौं। दिन ढल्दै थियो। हामी तल ओर्लियौं।
अहो! तल आएपछि पो थाहा भो, हामीले अहिलेसम्म कैद गरेका दृश्य र अन्तर्वार्ता त माथि शिखरमै छुटेछ। माथि पुगेको खुशी यति बढेछ कि क्यामेरा त भुसुक्कै बिर्सिएछु। फर्किऊँ भने ३ घण्टा उकालो। रात र चिसो छिप्पिँदो छ। नजाऊँ त सबै सम्पत्ति त्यसैमा कैद छ। म त भाउन्न भएँ।
अन्ततः एउटा उपाय निस्कियो। स्थानीयले माथिका कर्मचारीलाई फोन गरेर बुझ्न लगाएपछि क्यामेरा भेटियो। आधा ढुक्क भइयो। आन्दोलनकर्मीहरूले भोलिपल्ट फुङलिङसम्म पुर्याइदिन्छौं भनेपछि हामी वासस्थान झर्यौँ। त्यहाँ पुग्दा ८ बजिसकेको थियो।
सरकारले माग सम्बोधन नगरेपछि माघ २० देखि आन्दोलनकारीहरूले नौ जिल्ला बन्द गर्ने घोषणा गरेका छन्। हामीले सीडीओ लगायत राज्य पक्षहरूसँग पनि कुराकानी गरिसकायौं। तर क्यामेरा अझै आइपुगेको थिएन। भोलि हिंड्नु छ, आज रातिसम्म क्यामेरा आएको छैन।
बिहानको २ बजे म र ड्राइभर फेरि बलुडाँडा जाँदै छांै। सीता (मादेम्बा) दिदी र जेबी (पुन मगर) दाइले २० भन्दा बढी पल्ट फोन गर्दै अपडेट लिइरहनुभएको छ- बाटामा पुलिसले त रोकेन भनेर। तल्लोफेदी पुग्दा सशस्त्र प्रहरीका दुई जवान आगो तापिरहेका थिए। उनीहरूले चिने। फेरि माथि जान लाग्नुभएको भनेर सोधे। सामान छुटेछ भन्दै माथि उक्लियौं। क्यामेरा हात पर्यो। युद्ध नै जितेको महसुस भयो।
होटलमा पुग्दा ४ बजिसकेको थियो। सबै तयारी पूरा गरी ६ बजे विराटनगरका निम्ति यात्रा शुरू गर्यौं। बाटामा आन्दोलनकारीले कम, प्रहरीले ज्यादा केरकार गरिरहेका थिए। पास खोजिरहेका थिए, कोही स्कर्टिङ गर्छौं भन्दै रोक्न खोज्दथे। ताप्लेजुङ र पाँचथरको सिमाना काबेली प्रहरी चौकीमा त भनाभन नै भयो।
जाँदा रातबिरात हिंडेका थियौं, तर फर्कंदा तमोर करिडोर मजाले हेर्न पायौं। पक्ष-विपक्ष र सर्वसाधारणका कुराकानी सुनी हामी ६ दिनको बसाइपछि काठमाडौं फर्कियौं।