तराईका सुन्दरकुमारले देखेको सगरमाथा सपना
दाङ पर्सेनीका ६५ वर्षीय सुन्दरकुमार चौधरी हिमालसँग तराईको साइनो जोड्न र थारू समुदायको स्वास्थ्य समस्या उजागर गर्न अर्को वर्ष सगरमाथा आरोहण गर्ने तयारीमा छन्।
तराईका सबै ठाउँबाट हिमाल देखिंदैन। देखिने ठाउँबाट पनि हिमाली झल्को हेर्न मौसम छ्याङ्ग खुलेको हुनुपर्छ। भौगोलिक रूपमा टाढा भएकाले तराईवासीका लागि हिमाली भेग सुदूरको कुरा हो। यसै कारण तराईका कमै मानिसले मात्र हिमाललाई पछ्याएका छन्।
तिनै सीमित मानिसमध्ये पर्छन्, सुन्दरकुमार चौधरी (६५)। दाङको तुलसीपुर उपमहानगरपालिका-७, पर्सेनीका उनले उर्वर उमेर आफ्नो पेशागत काममा खर्चिए। ढल्कँदो उमेरमा उनी हिमालसँग हिमचिम गर्न जोशिएका छन्।
चौधरीको सपना छ, सगरमाथा आरोहण गर्ने। यसकै पूर्व तयारी स्वरूप उनले गत कात्तिक १५ गते ६,१४५ मिटर उचाइको लोबुचे हिमाल आरोहण गरिसके। यसै वर्ष ८,१६३ मिटर अग्लो मनास्लुको आरोहण गर्न लागेका छन्। यसपछि अर्को वर्ष सर्वोच्च शिखर सगरमाथा चढ्ने उनको योजना छ।
लोबुचे हिमाल आरोहणका क्रममा सुन्दरकुमार चौधरी।
हिमाल चढेपछि जीवनले नयाँ अर्थ पाएको झैं लागेको अनुभूति उनी सुनाउँछन्। “तराईबाट हिमालको चिसो वातावरणमा पुगें र अझ हिउँचुली नै चुमें, यो मेरो र सिंगो थारू समुदायका लागि अवसर र उपलब्धि हो जस्तो लाग्छ,” उनी भन्छन्।
थारू समुदायको प्रतिनिधित्व गर्दै तराईलाई हिमालसँग जोड्न आरोहणमा लागेको उनी बताउँछन्। “म थरुहट बस्तीमा जन्मिएँ हुर्किएँ, अब हिमालसँग तराईको साइनो जोड्नेतिर लागेको छु,” उनी भन्छन्।
मनास्लु आरोहणका लागि तालीम लिन आउँदो फागुनमा मनाङ जाने उनको तयारी छ। उनका अनुसार मनास्लु चढ्न १६ लाख रुपैयाँ खर्च हुने अनुमान छ। “तालीममा मात्रै ३०० डलर खर्च हुने रहेछ। आवश्यक पर्ने खर्च साथीभाइबाट सहयोग जुटिरहेको छ,” उनी भन्छन्।
उमेरले तीन बीस नाघिसकेका उनलाई कहिले र के कुराले हिमालतिर तान्यो त?
उनको छिमेकमा दुई दशकदेखि हिमाली भेगमा पथप्रदर्शकको काम गर्दै आएका शिव भण्डारी बस्छन्। तिनकै हुटहुटीले हिमाली पदयात्रामा गएको र त्यसपछि हिमाल चढ्ने रहरले कुतकुत्याएको उनले सुनाउँछन्।
उनी २०८० फागुनमा अन्नपूर्ण आधारशिविर (४,१२० मि.)को पदयात्रामा गएका थिए। यो नै उनको जीवनको पहिलो हिमाली पदयात्रा थियो। प्रतिकूल मौसमका कारण आधारशिविरमा पुग्न त उनी सकेनन्, तर त्यही पहिलो अनुभवले उनलाई हिमालतिर तान्यो।
पहिलो पदयात्राबारे उनी भन्छन्, “माछापुच्छ्रे आधारशिविर पुग्नै लाग्दा करीब ३,९०० मिटरको उचाइमा मौसम खराब भयो। अन्नपूर्ण आधारशिविर एक घण्टाको दूरीमा रहँदा हावाहुरी सहित हिउँ पर्यो, एकैछिनमा बाटो हराउने अवस्था भएपछि हामी फर्कनुपर्यो। यात्रा अधुरो भए पनि राम्रो अनुभव लिएर फर्कियौं।”
उनी पदयात्रामा टोलीसँगै फटाफट हिंडे। त्यति उचाइमा पनि स्वास्थ्यमा कुनै समस्या आएन। त्यो देखेपछि छिमेकी भण्डारीले उनलाई हौस्याए, “यो उमेरमा पदयात्रा त गर्नुभयो, तपाईं हिमाल आरोहण पनि मजाले गर्न सक्नुहुन्छ। अघि बढ्नुस्।”
हिमालको स्वच्छता र शीतल स्पर्शले मुग्ध भएका उनलाई यस्तो हुटहुटीले प्रेरणा र हिम्मत भरिदियो। उनले हिमाल आरोहणको सोच बनाए। गत कात्तिकमा उनी सगरमाथा आधारशिविर पुगे। लोबुचे हिमालको सफल आरोहण, अब मनास्लु चढ्ने योजना र सगरमाथाको सपना पहिलो पदयात्रापछि पाएको प्रेरणाकै देन हुन्। सन् २०२६ अप्रिलमा सगरमाथा चढ्ने उनको तयारी छ।
सगरमाथा आधारशिविरमा सुन्दरकुमार चौधरी।
कतिपय आफन्त र साथीभाइले उनलाई उमेरको कारण हिमाल आरोहणमा समस्या हुन्छ भनेर चिन्ता र चासो देखाउने गरेका छन्। तर उनलाई यसको फिक्री छैन र डर पनि छैन। “स्वास्थ्यको हिसाबले म एकदम ठीक छु, स्वास्थ्य परीक्षण गराउँदा हिमाल चढ्न सकिन्छ भन्ने देखाइसकेको छ,” उनी भन्छन्।
थारू समुदायको समस्या सुनाउन चुचुरोमा
चौधरीले २०४० सालमा पुल्चोक इन्जिनीयरिङ क्याम्पसबाट सिभिल ओभरसियर उत्तीर्ण गरे। त्यसपछि लामो समय विभिन्न संघसंस्थामा ओभरसियरको काम गरे।
पेशागत जीवनमा लामो कालखण्ड घरको लम्बाइ, चौडाइ नापेको र अब सगरमाथाको उचाइ नाप्ने रहर पूरा गर्न लागेको उनले बताउँछन्। सर्वोच्च चुली पुग्ने रहर गर्नुमा उनका तीन उद्देश्य जोडिएका छन्।
“पहिलो उद्देश्य त थरुहटलाई हिमालसँग जोड्ने हो। दोस्रो, थारू समुदायलाई सिकलसेल एनिमियाले आक्रान्त पारेको छ, तर यसको सहज र प्रभावकारी उपचारमा ध्यान दिइएको छैन। तेस्रो, युवा पुस्ता लागुऔषधको दुर्व्यसनमा फसेका छन्। सिकलसेलको उपचार सहज बनाउनुपर्ने र युवालाई दुर्व्यसनबाट बचाउनुपर्ने सन्देश सगरमाथा आरोहणका क्रममा बोकेर सरकारको ध्यानाकर्षण गराउनेछु,” उनी भन्छन्।
सरकारले सिकलसेल एनिमियाका बिरामीलाई उपचारको नाममा तत्कालीन रोकथाम मात्र गरेको भन्दै उनी रोगको कारण खुट्याएर र यसलाई निर्मूल गर्ने गरी गहिरो अध्ययन–अनुसन्धान गर्न सरकारलाई सन्देश सुनाउन चाहन्छन्।
उनले आफूले गर्ने हिमाल आरोहणले सिंगो थरुहटको पहिचान, संस्कार र सांस्कृतिक विशेषता पनि उजागर हुने अपेक्षा गरेका छन्। “एकअर्कालाई सहयोग गर्नु, सहृदयी भाव राख्नु, अतिथिलाई खुला मनले स्वागत सत्कार गर्नु हाम्रो थारू समाजको विशेषता हो, थारूको छोरा हिमाल चढ्दा यी संस्कृति र पहिचान पनि बोकेको हुन्छु,” उनी भन्छन्।
यसकारण आफ्नो अभियानमा थारू समुदायसँगै तराईको समाजले सहयोग गरिरहेको उनको भनाइ छ। साथीभाइ र परिवारको साथ र उत्साहले पनि आफूलाई ऊर्जा थपेको उनी बताउँछन्।
तराईको मान्छेले हिमाल चढ्दा थारू समुदायसँगै पूरै तराईवासीका लागि प्रेरणा हुने उनको विश्वास छ। “मैले बुझे अनुसार अहिलेसम्म थारू समुदायका व्यक्तिले सगरमाथा चढेका छैनन्, म सफल भएँ भने कीर्तिमानको कुरो त छँदै छ, म जन्मेहुर्केको भूगोल र समाजले न्याय पाउनेछ भन्ने पनि आशा छ,” उनी उत्साह बाँड्छन्।