रवि लामिछाने चितवन प्रहरीको हिरासतमा
सहकारी ठगी मुद्दामा थुनछेक बहस नसकिएपछि जिल्ला अदालत, चितवनले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई न्यायिक हिरासतमा पठाएको छ।
न्यायाधीश दयाराम ढकालको एकल इजलासले लामिछानेलाई हिरासतमा पठाउने आदेश दिएको जिल्ला अदालतका सूचना अधिकारी अमृत विश्वकर्माले बताए। “थुनछेक बहस सकिएको छैन, भोलि बिहान अदालतमा उपस्थित गराउने गरी प्रहरीको जिम्मा लगाउने आदेश भएको छ,” विश्वकर्माले हिमालखबरसँग भने।
पूर्व गृहमन्त्री लामिछाने आज जिल्ला प्रहरी कार्यालय, चितवनको हिरासतमा रहनेछन्। अदालतको आदेश अनुसार आज प्रहरी हिरासतमै राखिने जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक राजन लिम्बूले बताए। “अदालतले प्रहरीको जिम्मा लगाएको छ, त्यसैले आज राति प्रहरी हिरासतमै राख्छौं, भोलि बिहान अदालतमा उपस्थित गराउँछौं,” एसपी लिम्बूले भने।
सहकारी ठगी मुद्दामा आज बिहान लामिछाने अदालतमा उपस्थित भएका थिए। न्यायाधीश ढकालको इजलासमा उनको बयान भएको थियो।
त्यसपछि बुधबार दिउँसोदेखि थुनछेक बहस चलेको थियो। सरकारी वकीलको कार्यालयबाट तीन जनाले बहस गरेका थिए। त्यस्तै, जाहेरीवालाका तर्फबाट एक जना वकीलले बहस गरेको जिल्ला अदालतका सूचना अधिकारी विश्वकर्माले बताए।
बिहीबार जाहेरीवालाका तर्फबाट थप वकीलले बहस गर्नेछन्। त्यसपछि लामिछानेका तर्फबाट वकीलले बहस गर्ने विश्वकर्माले जानकारी दिए। थुनछेक बहस सकिएमा बिहीबार नै पुर्पक्षका लागि थुनामा राख्ने वा धरौटीमा छोड्ने भन्ने आदेश हुनेछ। यसअघि सहकारी ठगी मुद्दामा कास्की, काठमाडौं र रुपन्देही जिल्ला अदालतले धरौटीमा रिहा गरेका थिए।
लामिछाने सहित ३२ जना विरुद्ध सहारा चितवन बहुउद्देश्यीय सहकारी संस्थाको रकम अपचलन आरोपमा माघ २२ गते जिल्ला अदालतमा मुद्दा दर्ता भएको छ। सहकारीको ५२ करोड ३२ लाख ८५ हजार ३०८ रुपैयाँ अपचलन भएको पाइएको छ।
त्यसमध्ये अहिले ३८ करोड नौ लाख ७९ हजार १७७ रुपैयाँ अपचलन भएको जाहेरी परेको छ। जिल्ला अदालतमा दर्ता भएको अभियोगपत्रमा पनि त्यही बराबरको रकम भराउन मागदाबी गरिएको छ।
सहकारीबाट साढे तीन करोड रुपैयाँ गोर्खा मिडिया नेटवर्कमा आएको पाइएको छ। उक्त रकम हिनामिनामा लामिछाने संलग्न रहेको आरोप लागेको छ।