नेपाल नेदरल्यान्ड्ससँग १० विकेटले पराजित
त्रिदेशीय महिला टी-२० शृंखला अन्तर्गत नेदरल्यान्ड्ससँगको खेलमा नेपाल १० विकेटले पराजित भएको छ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा बुधबार भएको खेलमा नेपालले दिएको १४६ रनको लक्ष्य नेदरल्यान्ड्सले १९.४ ओभरमा सजिलै पूरा गरेको हो। नेदरल्यान्ड्सका लागि स्टेर कालिसले ९८ रन बनाइन्। उनले ६९ बलमा ११ चौका र दुई छक्का प्रहार गरिन्।
त्यस्तै, फेब मोकेन्बरले ४८ रन बनाइन्। उनले ४९ बलमा चार चौका प्रहार गरिन्। नेपालका सबै बलर महँगा सावित भए।
यसअघि ब्याटिङ गरेको नेपालले चार विकेटको क्षतिमा १४५ रन बनाएको थियो। नेपालका लागि पूजा महतोले अर्धशतक प्रहार गरिन्। उनले ५१ बलमा पाँच चौकाको मद्दतले ६२ रन बनाइन्। यो उनको पहिलो अर्धशतक हो।
त्यस्तै, कप्तान इन्दु बर्माले ३९, रुबिना क्षेत्रीले २० रन बनाए। नेदरल्यान्ड्सका लागि आइरिस विलिङले दुई, कर्लिन डि-ल्यान्ज र हेदर सिजर्सले एक-एक विकेट लिए।
यो हारसँगै नेपालको फाइनलको सम्भावना सकिएको छ। खेलमा जित हात परेपछि नेदरल्यान्ड्स पनि फाइनलमा पुगेको छ। थाइल्यान्ड यसअघि नै फाइनलमा पुगिसकेको छ।
नेपालले यस शृंखलाका पाँचै खेल हारेको छ। अब लिग चरणको अन्तिम खेलमा शुक्रबार थाइल्यान्डसँग प्रतिस्पर्धा गर्नेछ।