पूजाको अर्धशतकमा नेपालको १४५ रन
पूजा महतोले अर्धशतक प्रहार गरेपछि नेपालले नेदरल्यान्ड्सलाई १४६ रनको लक्ष्य दिएको छ।
त्रिदेशीय महिला टी-२० शृंखला अन्तर्गत बुधबार पहिले ब्याटिङ गरेको नेपालले चार विकेटको क्षतिमा १४५ रन बनाएको हो। नेपालका लागि पूजा महतोले अर्धशतक प्रहार गरिन्।
उनले ५१ बलमा पाँच चौकाको मद्दतले ६२ रन बनाइन्। यो उनको पहिलो अर्धशतक हो।
त्यस्तै, कप्तान इन्दु बर्माले ३९, रुबिना क्षेत्रीले २० रन बनाए। नेदरल्यान्ड्सका लागि आइरिस विलिङले दुई, कर्लिन डि-ल्यान्ज र हेदर सिजर्सले एक-एक विकेट लिए।
त्रिदेशीय शृंखलामा थाइल्यान्डले अहिलेसम्म खेलेका चारै खेल जितेर आठ अंक जोडेको छ। नेदरल्यान्ड्सको चार अंक छ भने नेपालले अहिलेसम्म जित हासिल गर्न सकेको छैन।