यस्तो छ ६ बुँदे सहमति गर्न भएको दश घण्टे वार्ताको अन्तर्कथा
पाथीभरा केबलकार सम्बन्धी विवादमा सरकार र आन्दोलनकारीबीच भएको दश घण्टे लामो वार्ताले तत्काललाई राहत दिए पनि बाँधिएको गाँठो अझै खुलिसकेको छैन।
त्यो गाँठो फुकाउन पुनः माघ २७ गते तेस्रो चरणको वार्ता गर्ने सहमति भएको छ। हिजो (माघ २३) बिहान साढे ११ मा शुरू भई रातको साढे ९ बजे ६ बुँदे सहमति सहित २७ माघमा तेस्रो चरणको वार्ता गर्ने गरी वार्ता टुंगिएको छ। मुक्कुमलुङ/पाथीभरामा केबलकार बनाउने निर्णय भएदेखि नै त्यसको विरोधमा संघर्ष चल्दै आएकामा माघ १२ मा सुरक्षाकर्मीको गोली लागी तीन जना गम्भीर घाइते भएका थिए। त्यसपछि पूर्वी पहाडमा आन्दोलन चर्किएको थियो। सडक अवरुद्ध गरिएको थियो।
त्यही समस्याको निराकरण गर्न सरकारले गृह मन्त्रालयका सहसचिव प्रेमप्रसाद भट्टराईको संयोजकत्वमा चार सदस्यीय वार्ता टोली गठन गरेको थियो। त्यसैगरी, आन्दोलनकारीले पनि अमर तुम्याहाङको संयोजकत्वमा चार सदस्यीय वार्ता टोली बनाएका थिए। २२ माघमा बसेको चार घण्टा लामो पहिलो वार्तामा एउटा कुराले ‘हलो अड्काएको’ थियो। आन्दोलनकारीका तर्फबाट केबलकार निर्माण कार्य स्थगन गर्ने माग राख्दा त्यो गर्न नमानिएपछि वार्ता विना निष्कर्ष टुंगिएको थियो। तर हिजो भएको दोस्रो वार्तामा सरकार त्यसमा लचक भएपछि एक चरणको सहमति भएको छ।
हिजो दश घण्टा लामो वार्तामा चर्काचर्की पनि चल्यो। एउटा बुँदामा सहमतिमा पुग्न त तीन–तीन चोटि चिया ब्रेक गरीवरी चार घण्टामा टुंग्याइयो। त्यो कुन बुँदा थियो? बैठकमा अरू के के कुरा भए? कसले के भने? त्यसबारे हिमालखबरले वार्तामा सहभागीहरूबाट प्राप्त सूचनाका आधारमा तयार पारेको भिडिओ ब्रिफिङः