रवि लामिछानेको बयान २ नम्बर इजलासमा
जिल्ला अदालत, चितवनको २ नम्बर इजलासमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसँग बयान शुरू भएको छ।
इजलास नं. २ मा न्यायाधीश दयाराम ढकालको एकल इजलासमा बयान शुरू भएको जिल्ला अदालतका सूचना अधिकारी अमृत विश्वकर्माले जानकारी दिए। समयमै बयान सकिएमा आजै थुनछेक बहस पनि शुरू हुने विश्वकर्माले बताए।
लामिछाने सहित ३२ जना विरुद्ध सहारा चितवन बहुउद्देश्यीय सहकारी संस्थाको रकम अपचलन आरोपमा माघ २२ गते जिल्ला अदालतमा मुद्दा दर्ता भएको छ। सहकारीको ५२ करोड ३२ लाख ८५ हजार ३०८ रुपैयाँ अपचलन भएको पाइएको छ।
त्यसमध्ये अहिले ३८ करोड नौ लाख ७९ हजार १७७ रुपैयाँ अपचलन भएको जाहेरी परेको छ। जिल्ला अदालतमा दर्ता भएको अभियोगपत्रमा पनि त्यही बराबरको रकम भराउन मागदाबी गरिएको छ।
सहकारीबाट साढे तीन करोड रुपैयाँ गोर्खा मिडिया नेटवर्कमा आएको पाइएको छ। उक्त रकम हिनामिनामा लामिछाने संलग्न रहेको आरोप लागेको छ।
मुद्दा दर्ता भएपछि लामिछाने बुधबार बिहान आफैं जिल्ला अदालतमा उपस्थित भएका हुन्। यसअघि सहकारी ठगी मुद्दामा कास्की, काठमाडौं र रुपन्देही जिल्ला अदालतले धरौटीमा रिहा गरेका थिए।