यस्तो छ ‘नो केबलकार’ पक्ष र सरकारबीचको सहमति
पाथीभरा (मुक्कुमलुङ) केबलकार निर्माण विरुद्ध आन्दोलनरत पक्ष र सरकारबीच ६ बुँदे सहमति भएको छ।
दुई पक्षबीच मंगलबार राति अबेर सहमति भएको हो। सहमतिमा पाथीभरा केबलकारको स्टेशनमाथिको निर्माण कार्य स्थगन गर्ने र स्टेशनका सन्दर्भमा मिति २०८१ माघ २७ गते हुने वार्तामा विस्तृत छलफल गर्ने उल्लेख छ।
आन्दोलनका क्रममा घाइते भएकाहरूको निःशुल्क र प्रभावकारी रूपमा स्वास्थ्योपचार गरिने वार्ता सहजीकरण समितिका तर्फबाट सरस्वता सिंगक (सरु) र सरकारी वार्ता टोलीका संयोजक प्रेमप्रसाद भट्टराईद्वारा हस्ताक्षरित पत्रमा उल्लेख छ।
सहमति अनुसार आन्दोलनका क्रममा थुनामा रहेका बन्दीहरूको विना शर्त तत्काल रिहाइको प्रक्रिया प्रारम्भ गर्ने र मुक्कुमलुङ संरक्षक पक्षबाट अनिश्चितकालीन यातायात बन्द स्थगन गरिने भएको छ।
वार्ताका लागि अमर तुम्याहाङको संयोजकत्वमा अधिवक्ता शंकर लिम्बू, राम मादेन र सरस्वता सिंगक (सरु) सदस्य रहेको वार्ता सहजीकरण समिति बनेको थियो। त्यस्तै, सरकारका तर्फबाट गृह मन्त्रालयका सहसचिव प्रेमप्रसाद भट्टराईको नेतृत्वमा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र शहरी विकास मन्त्रालयका प्रतिनिधि सदस्य रहेको वार्ता समिति गठन गरिएको थियो।
सहमतिका प्रमुख बुँदा
- पाथीभरा केबलकारको स्टेशनमाथिको निर्माण कार्य स्थगन गर्ने र स्टेशनका सन्दर्भमा मिति २०८१ माघ २७ गते हुने वार्तामा विस्तृत छलफल गर्ने।
- सरकारले घोषणा गरे बमोजिम आन्दोलनका क्रममा घाइते भएकाहरूको निःशुल्क र प्रभावकारी रूपमा स्वास्थ्योपचार गर्ने।
- २०८१ माघ १२ गते भएको घटनाको विषयमा छानबिन गरी कानूनी कारबाही गर्ने।
- आन्दोलनका क्रममा थुनामा रहेका बन्दीहरूको विना शर्त तत्काल रिहाइको प्रक्रिया प्रारम्भ गर्ने।
- मुक्कुमलुङ संरक्षक पक्षबाट अनिश्चितकालीन यातायात बन्द स्थगन गर्ने।
- मुक्कुमलुङ संरक्षक पक्षधरहरूबाट वार्ताका दौरान माग भएका पाथीभरा केबलकार आयोजना निर्माणमा रहेका असहमति लगायत विषयका सम्बन्धमा विस्तृत छलफल गर्न मिति २०८१ माघ २७ गते बिहान ११ः०० बजे वार्तामा बस्ने।
सरस्वता सिंगक (सरु)
वार्ता सहजीकरण समितिका तर्फबाट
प्रेमप्रसाद भट्टराई
सहसचिव
वार्ता टोलीका संयोजक