विपिन जाेशी : जसकाे कब्जामा छन्, उसैसँग गरिएन रिहाइकाे पहल
विपिनलाई छुटाउन इजरायल र मध्यस्थकर्ता देशसँग मात्र संवाद गरिरहेको सरकारले उनलाई बन्धक बनाउने हमाससँग भने एक पटक पनि पहल गरेको छैन।
प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले माघ २० गते आइतबार इजरायली राजदूत श्मुलिक आरिए बाससँगको भेटमा फलस्तीनी विद्रोही समूह हमासको नियन्त्रणमा रहेको ठानिएका नेपाली विद्यार्थी विपिन जोशीको रिहाइका लागि पहल गरिदिन आग्रह गरे।
७ अक्टोबर २०२३ मा हमासले इजरायलमा आक्रमण गर्दा थुप्रै व्यक्तिको ज्यान गयो। तिनमा १० नेपाली पनि छन्। आक्रमणपछि हमासले थुप्रै व्यक्तिलाई बन्धक बनाएको थियो। सोही आक्रमणयता नेपाली विद्यार्थी जोशी बेपत्ता छन्। यद्यपि माघ १६ गते इजरायल सरकारले सार्वजनिक गरेको सूचनालाई आधार बनाएर टाइम्स अफ इजरायलले हमासको कब्जामा रहेकामध्ये एक नेपाली पनि रहेको उल्लेख गरेको छ।
इजरायली राजदूत श्मुलिक आरिए बाससँगको भेटमा सभामुख देवराज घिमिरे। तस्वीर स्रोत : प्रतिनिधि सभा
यसअघि राष्ट्रपति रामचन्द्र पौडेलले कतारका अमीर तमिम विन हमाद अल थानीलाई विपिनको रिहाइका लागि पहल गरिदिन अपील गरेका थिए। परराष्ट्रमन्त्री आरजु राणा देउवाले पनि इजरायली राजदूत बाससँग पुस २४ मा यस्तै आग्रह गरिन्। त्यसअघि असोज ८ गते संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन न्यू योर्क पुग्दा विपिनको रिहाइको पहलका लागि आग्रह गरेकी उनले इजरायल, कतार, इजिप्ट लगायत देश तथा कूटनीतिक नियोगका प्रतिनिधिसँग टेलिफोन संवाद पनि गरेकी थिइन्। कतारका विदेश राज्यमन्त्री मोहम्मद बिन अब्दुलाजिज अल खुलाइफीसँगको फोनवार्तामा रिहाइको मध्यस्थताका लागि भनेकी थिइन्। खुलाइफी कतार सरकारका तर्फबाट हमाससँगको शान्तिवार्ताको प्रमुख मध्यस्थकर्तामध्ये एक हुन्।
हमासले यसबीच केही बन्धकलाई रिहा पनि गरिसकेको छ। अहिले इजरायल र हमासबीच युद्धविराम भएपछि थप व्यक्ति रिहा भएका छन्, तर हमासले छाड्नेको सूचीमा विपिनको नाम अझै छैन। सरकारले अहिलेसम्म विपिनलाई छुटाउन मुख्यगरी इजरायललाई मात्र गुहारिरहेको छ। उनलाई कब्जामा राखेको हमाससँग भने एक पटक पनि पहल गरेको पाइँदैन।
चीनका लागि नेपालका पूर्व राजदूत महेश मास्के विपिन नछुट्नुमा सरकारको पहल अपूर्ण हुनु र विश्व भूराजनीति पनि अनुकूल नहुनुलाई कारण मान्छन्। यद्यपि धनप्रसाद पण्डित राजदूतका रूपमा इजरायल गएपछि यसतर्फ केही सक्रियता बढेको उनी बताउँछन्। “सरकारबाट रिहाइका लागि जति सशक्त पहल हुनुपर्थ्यो, त्यो भएन,” मास्के भन्छन्, “केही निकायहरू खाली भएकाले पनि रिहाइको पहल गर्नमा केही समस्या परेको हुन सक्छ।”
![al thani paudel.jpg](https://www.himalkhabar.com/uploads/editor/diplomacy/al thani paudel.jpg)
मास्के विपिन रिहाइका लागि इजरायल सरकारको मात्र भर नपरी मध्यपूर्वका देशलाई पनि अपील गरिनुपर्ने बताउँछन्। “हाम्रो सम्बन्ध मध्यपूर्वका देशसँग पनि राम्रो छ। इजरायल र हमासबीच शान्तिवार्ता गराइराखेका देशहरूसँग अपील गरिनुपर्ने थियो जुन भएको देखिंदैन,” उनी भन्छन्।
पछिल्लो युद्धविरामयता पनि रिहाइमा नेपाली नागरिकलाई प्राथमिकता नदिइएकाले अब इजरायल र हमास दुवैतिरका सम्पर्कसूत्र प्रयोग गर्नुपर्ने र मध्यस्थकर्ता देशमा रहेका कूटनीतिक निकायलाई सक्रिय बनाउनुपर्नेमा उनी जोड दिन्छन्।
पत्रकार एवं अभियन्ता उषा तितिक्षू पनि मास्केको भनाइसँग सहमत छिन्। “नेपालले अहिलेसम्म इजरायल र मध्यस्थकर्ता देशसँग मात्र रिहाइका लागि पहल गरेको देखिन्छ। विद्रोही समूह हमाससँग किन पहल गरिराखेको छैन,” उनी प्रश्न गर्छिन्।
नेपाल सरकारले ७ अक्टोबर २०२३ मै इजरायली भूमिमा आतंकवादी हमला गरेको भन्दै विज्ञप्ति मार्फत हमासको आलोचना गरेको थियो। त्यसले गर्दा पनि नेपाललाई हमाससँग रिहाइको आग्रह गर्न गाह्रो भएको हुन सक्ने कतिपयको विश्लेषण छ।